संघीय उड्डयन प्रशासन (एफएए) का विभिन्न केन्द्रमा दिउँसो ३ः३६ बजेदेखि सञ्चार समस्या देखिएपछि सुरक्षाका लागि सबै विमानस्थलबाट नयाँ उडान रोकिएको थियो। त्यसबेला अमेरिकी आकाशमा ३ हजार ५ सयभन्दा बढी विमान उडिरहेका थिए। तीमध्ये अधिकांशलाई सुरक्षित अवतरण गराइएको थियो।
यस घटनाका कारण करिब १० हजार उडानमा ढिलाइ र झन्डै ५ हजार उडान रद्द भएको विवरण सार्वजनिक भएको छ। युरोपका विभिन्न मुलुकबाट अमेरिकातर्फ आउने उडानसमेत रोकिएका थिए। हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन्।
अमेरिकी होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण नभेटिएको स्पष्ट पारेका छन्। प्रारम्भिक विवरणमा पुरानो सञ्चार प्रविधि र उपकरणको समस्यातर्फ संकेत गरिएको छ। वास्तविक कारणबारे अनुसन्धान जारी छ।
अमेरिकी इतिहासमा सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछिकै सबैभन्दा लामो देशव्यापी उडान अवरोधका रूपमा यो घटना देखिएको छ। यसअघि सन् २०२३ मा पनि देशव्यापी उडान रोकिएको थियो।
यातायातमन्त्री डफीले प्रतिबन्ध हटे पनि हवाई सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्ने र शनिबारसमेत उडानमा ढिलाइ तथा रद्द हुने समस्या जारी रहन सक्ने बताएका छन्।
प्रतिक्रिया