स्थानीय समयअनुसार दिउँसो करिब १२ः३० बजे एट्लान्टिक एस्फाल्ट नामक ट्यांकरले नियन्त्रण गुमाएर बन्दरगाहमा रोकिराखिएको अमेरिकी क्रुज लाइन्सको अमेरिकन हेरिटेज नामक यात्रुवाहक जहाजलाई ठक्कर दिएको थियो।
दुर्घटनाका बेला जहाजमा करिब १२९ यात्रु र चालक दलका सदस्यहरू थिए। ठक्करपछि जहाज एकातिर ढल्किएर पानीमा डुब्न थालेको थियो। केही यात्रु ज्यान जोगाउन नदीमा हामफालेका थिए भने अन्यलाई उद्धारकर्मीहरूले लाइफ ज्याकेट र उद्धार डुंगाको सहायताले सुरक्षित स्थानमा पुर्याएका थिए।
न्यु अर्लिन्सकी मेयर हेलेना मोरेनोले सबै यात्रु तथा चालक दलका सदस्यहरूको अवस्था पहिचान भएको र कोही बेपत्ता नरहेको जानकारी दिएकी छन्। उनले भीषण दुर्घटनाका बाबजुद मानवीय क्षति नहुनुलाई ठूलो सौभाग्यको विषय बताएकी छन्।
दुर्घटनालगत्तै अमेरिकी कोस्ट गार्ड, प्रहरी, दमकल तथा आपत्कालीन उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो। सुरक्षाका लागि मिसिसिपी नदीको प्रभावित क्षेत्रमा जलयातायात अस्थायी रूपमा बन्द गरिएको थियो।
लुइजियानाका गभर्नर जेफ ल्यान्ड्रीले दुर्घटनास्थलनजिकै रहेको महत्त्वपूर्ण क्रिसेन्ट सिटी कनेक्सन पुलमा कुनै क्षति नपुगेको पुष्टि गरेका छन्। राज्यका यातायात अधिकारीहरूले पुलको निरीक्षण गरेका थिए।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनामा कसैको ज्यान नगएकोमा राहत व्यक्त गर्दै कोस्ट गार्ड, प्रहरी, उद्धारकर्मी तथा गभर्नर ल्यान्ड्रीको प्रशंसा गरेका छन्। उनले आपत्कालीन उद्धारमा संलग्न सबैलाई धन्यवाद दिएका छन्।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले अनुसन्धान टोली परिचालन गर्ने भएको छ। तर शुक्रबार अमेरिकाभर हवाई उडान रोकिएको घटनाका कारण अनुसन्धान टोली न्यु अर्लिन्स पुग्न ढिलाइ हुन सक्ने जनाइएको छ।
प्रारम्भिक विवरणमा ट्यांकरले नियन्त्रण गुमाएको उल्लेख भए पनि त्यसको प्राविधिक कारण, चालकको भूमिका र सम्भावित सुरक्षा कमजोरीबारे अनुसन्धानपछि मात्रै स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।
अमेरिकाको अत्यन्त व्यस्त जलमार्गमध्ये एक मिसिसिपी नदीमा भएको यो दुर्घटनाले यात्रुवाहक तथा व्यावसायिक जहाजहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। ठूलो दुर्घटनाका बाबजुद सबै यात्रुको ज्यान जोगिनुलाई अधिकारीहरूले चमत्कारपूर्ण उद्धारका रूपमा व्याख्या गरेका छन्।
प्रतिक्रिया