नेपालको राजनीति अहिले एउटा गहिरो मोडमा उभिएको छ, जहाँ पुराना शक्ति केन्द्रहरू क्रमशः कमजोर हुँदै गएका छन् र नयाँ शक्तिहरूले स्थान लिँदै छन्। तर यस परिवर्तनको बीचमा देखिएको सबैभन्दा गम्भीर पक्ष भनेको पुराना दलहरूको आन्तरिक अवस्था हो, जसले उनीहरू किन कमजोर भए भन्ने कुरालाई अझ स्पष्ट बनाइरहेको छ। यही सन्दर्भमा नेकपा (एमाले) भित्रको पछिल्लो नेतृत्व चयन प्रक्रिया केवल संगठनात्मक घटना मात्र होइन, एउटा गहिरो राजनीतिक र नैतिक संकटको प्रतिविम्ब हो।
सुहाङ नेम्वाङजस्ता अपेक्षा गरिएका एमालेका नयाँ र आशा गरिएका नेता प्रस्तावक र समर्थक जुटाउन नसक्ने अवस्थामा पुगे र अन्ततः राम बहादुर थापा ‘बादल’ निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन हुनु सामान्य घटना होइन। यो परिणाम कुनै आकस्मिक संयोग होइन, बरु लामो समयदेखि विकसित हुँदै आएको आन्तरिक संरचना, गुटबन्दी र शक्ति केन्द्रित राजनीतिका परिणाम हो। अझ महत्वपूर्ण कुरा के हो भने, एमालेजस्तो पार्टी, जसले आफूलाई लोकतान्त्रिक मूल्य र विचारधाराको प्रतिनिधि ठान्दै आएको थियो, त्यही पार्टीभित्र प्रतिस्पर्धाविहीन नेतृत्व चयन हुनु आफैंमा गम्भीर प्रश्न हो।
राम बहादुर थापा ‘बादल’ को राजनीतिक पृष्ठभूमि विवादरहित छैन। उनी तत्कालीन माओवादी जनयुद्धका प्रमुख पात्रमध्ये एक थिए र पछि एमालेमा समाहित भएका नेता हुन्। भुटानी शरणार्थी काण्ड देखि माओबादीका कैयौं कन्दै काण्डका यस्तो पृष्ठभूमि भएको व्यक्तिलाई कुनै प्रतिस्पर्धा बिना नेतृत्वमा पुर्याउनु भनेको एमालेले आफ्नो ऐतिहासिक पहिचान र वैचारिक स्पष्टतालाई कुन हदसम्म त्यागिसकेको छ भन्ने संकेत हो। यो केवल व्यक्ति चयनको प्रश्न होइन, पार्टीले आफ्नो आधारभूत दिशा नै बदल्दै गएको संकेत हो।

यस घटनाले एमालेभित्रको आन्तरिक लोकतन्त्रको अवस्था पनि उजागर गरेको छ। कुनै पनि राजनीतिक दलको जीवन शक्ति भनेको भित्रको बहस, प्रतिस्पर्धा र वैकल्पिक विचारहरूको सम्मान हो। तर जब नेतृत्व चयनमा कुनै प्रतिस्पर्धा हुँदैन, जब वैकल्पिक उम्मेदवारसमेत उठ्न सक्दैनन्, त्यतिबेला त्यो दलभित्रको लोकतन्त्र केवल कागजमा सीमित भएको मान्न सकिन्छ। सुहाङ नेम्वाङले प्रस्तावकसमेत नपाउनु व्यक्तिगत असफलता मात्र होइन, त्यो पार्टीभित्रको वातावरण कस्तो छ भन्ने स्पष्ट संकेत हो जहाँ स्वतन्त्र निर्णयभन्दा निर्देशन हावी छ, र जहाँ असहमति राख्ने साहस क्रमशः हराउँदै गएको छ।
यो घटनालाई व्यापक राजनीतिक सन्दर्भबाट अलग गरेर हेर्न मिल्दैन। पछिल्ला निर्वाचन परिणामहरूले देखाइसकेको छ कि जनताले पुराना दलहरूप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। नयाँ शक्ति उदाएको छ, र पुराना दलहरू सत्ताबाट बाहिर धकेलिएका छन्। यस्तो अवस्थामा अपेक्षा के थियो भने, ती दलहरूले आत्मालोचना गर्नेछन्, संरचनात्मक सुधार गर्नेछन् र नयाँ नेतृत्वलाई अगाडि ल्याउनेछन्। तर एमालेभित्र देखिएको पछिल्लो घटनाक्रमले उल्टै सन्देश दिन्छ – पार्टी अझै पनि पुरानै शैलीमा, बन्द कोठाभित्र निर्णय गर्दै अघि बढिरहेको छ।
यसको सबैभन्दा ठूलो असर इमान्दार कार्यकर्तामाथि पर्छ। वर्षौंसम्म पार्टीको झण्डा बोकेर, विचारमा विश्वास गरेर, संघर्ष गरेर बसेका कार्यकर्ताका लागि यस्तो निर्णय गहिरो नैतिक आघात हो। जब पार्टीले योग्यताभन्दा निष्ठा, विचारभन्दा समीकरण र प्रतिस्पर्धाभन्दा सहमतिको नाममा एकपक्षीय निर्णयलाई प्राथमिकता दिन्छ, तब कार्यकर्तामा निराशा पैदा हुनु स्वाभाविक हुन्छ। त्यो निराशा विस्तारै संगठनको ऊर्जा घटाउने, र अन्ततः विघटनतर्फ लैजाने कारक बन्छ।
आज एमालेको संकट कुनै एक व्यक्तिको चयन वा असफलतामा सीमित छैन। यो संरचनात्मक समस्या हो जहाँ निर्णय प्रक्रिया केन्द्रित छ, जहाँ गुटगत राजनीति संस्थागत भइसकेको छ, जहाँ नयाँ पुस्तालाई स्थान दिन अनिच्छा छ, र जहाँ विचारधारात्मक स्पष्टता कमजोर हुँदै गएको छ। राम बहादुर थापा ‘बादल’ को निर्विरोध चयन त्यसको प्रत्यक्ष परिणाम मात्र हो, कारण होइन।
एमालेजस्तो ऐतिहासिक पार्टी यति छिटो यस अवस्थामा पुग्ला भन्ने धेरैले सोचेका थिएनन्। तर राजनीति स्थिर हुँदैन, समयसँगै परिवर्तन हुन्छ, र परिवर्तनसँगै आफूलाई रूपान्तरण गर्न नसक्ने शक्ति क्रमशः कमजोर हुँदै जान्छ। आजको अवस्था त्यही प्रक्रियाको परिणाम हो। यदि अब पनि गम्भीर आत्ममूल्यांकन, सुधार र पुनर्निर्माणको बाटो रोजिएन भने केपी ओलीको पतन संगै एमाले पनि पतन हुने देखिन्छ ।
एमाले भित्र इमान्दार जमातबाट आशा गरिएका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावक नपाएपछि, बिना चुनाव पूर्व “माओबादी हत्या आतंकका अर्का एक डिजाइनर” भनेर चिनिने राम बहादुर थापा उर्फ माओबादी उपनाम “बादल” एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको यो क्षणले एमाले जस्तो पार्टी यति छिटो, यसरी पतन होला भन्ने कसैले सोंचेका थिएनन । इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र ! आगे एमाले जनाहरुकै जो मर्जी । भीरमा जाने गोरुलाई राम राम मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न ।
प्रतिक्रिया