वासिङ्टन डीसी, नोभेम्बर १, २०२६। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको दुई दिनअघि महत्त्वपूर्ण प्रतिस्पर्धात्मक राज्य मिचिगनमा डेमोक्र्याटिक पार्टीभित्र गम्भीर विवाद चर्किएको छ। डेमोक्र्याटिक सांसद हेली स्टिभेन्सले आफ्नै पार्टीका सिनेट उम्मेदवार अब्दुल एल–सयदलाई अस्वीकार गर्दै रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई समर्थन गरेपछि अमेरिकी राजनीतिमा नयाँ तरंग पैदा भएको हो।
अगस्टमा सम्पन्न डेमोक्र्याटिक प्रारम्भिक निर्वाचनमा एल–सयदसँग पराजित भएकी स्टिभेन्स आइतबार डेट्रोइटस्थित एक चर्चमा रिपब्लिकन उम्मेदवार रोजर्ससँगै सार्वजनिक कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसलगत्तै उनले सामाजिक सञ्जालमार्फत रोजर्सलाई औपचारिक समर्थन घोषणा गरिन्।
स्टिभेन्सले एल–सयदको चुनावी अभियानमा आफूलाई स्वागत नगरिएको आरोप लगाउँदै उनको राजनीतिक शैली र विचारसँग असहमति जनाएकी छन्। आफू अझै डेमोक्र्याट नै रहेको बताउँदै उनले मिचिगनको हितका लागि रोजर्सलाई समर्थन गरेको दाबी गरिन्।
यो विवादको पृष्ठभूमिमा इजरायलप्रतिको अमेरिकी नीति, यहुदीविरोधी अभिव्यक्तिसम्बन्धी आरोप र महँगीलाई इजरायलसँग जोडेर बनाइएको एक स्वतन्त्र राजनीतिक समूहको चुनावी विज्ञापन रहेका छन्। एल–सयदले उक्त विज्ञापन आफ्नो अभियानले नबनाएको र त्यसको विषयवस्तुसँग सहमत नरहेको स्पष्ट पारेका छन्।
डेमोक्र्याटभित्रको यो विद्रोहलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन्। उनले स्टिभेन्सको निर्णयलाई मिचिगनका जनताप्रतिको साहसिक निष्ठाको उदाहरण बताएका छन्। रिपब्लिकन उम्मेदवार रोजर्सले पनि उनको समर्थनले आफ्नो अभियानलाई थप उत्साह दिएको प्रतिक्रिया दिएका छन्।
तर डेमोक्र्याटिक नेतृत्व भने आक्रोशित बनेको छ। सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले स्टिभेन्सको कदमलाई पार्टीप्रतिको घोर विश्वासघातको संज्ञा दिएका छन्। मिचिगन डेमोक्र्याटिक पार्टीका अध्यक्ष कर्टिस हर्टेलले उनले आफ्नै राजनीतिक मूल्य र प्रतिबद्धता त्यागेको आरोप लगाएका छन्।
स्टिभेन्सको निर्णयपछि उनका लामो समयदेखिका प्रमुख सहयोगीले पदबाट राजीनामा दिएका छन् भने अन्य कर्मचारीले समेत असन्तुष्टि जनाएका छन्।
यता एल–सयदले आफू व्यक्तिगत विवादमा अल्झिन नचाहेको बताउँदै मिचिगनका नागरिकले भोगिरहेका महँगी, जीवनयापनको खर्च र आर्थिक समस्यामा केन्द्रित रहेको प्रतिक्रिया दिएका छन्।
मिचिगनको सिनेट निर्वाचन यसपटक देशकै सबैभन्दा प्रतिस्पर्धात्मक चुनावमध्ये एक मानिएको छ। डेमोक्र्याटिक सिनेटर ग्यारी पिटर्सले अवकाश लिन लागेकाले रिक्त हुन लागेको उक्त सिट जोगाउनु डेमोक्र्याटका लागि अत्यन्त महत्त्वपूर्ण छ।
सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनलाई समर्थन गरेको मिचिगनले सन् २०२४ मा डोनाल्ड ट्रम्पलाई जिताएको थियो। त्यसैले यो राज्यमा स्वतन्त्र तथा मध्यमार्गी मतदाताको भूमिका निर्णायक मानिन्छ।
शुक्रबारसम्म मिचिगनमा १८ लाखभन्दा बढी मतदाताले अग्रिम मतदान गरिसकेका थिए। यस्तो अवस्थामा अन्तिम समयमा भएको पार्टीभित्रको विभाजनले बाँकी मतदातालाई कति प्रभावित पार्छ भन्ने अझै स्पष्ट छैन।
राजनीतिक विश्लेषणका दृष्टिले मिचिगनको यो विवाद एउटा राज्यको चुनावमा मात्र सीमित छैन। यसले डेमोक्र्याटिक पार्टीभित्र मध्यमार्गी र प्रगतिशील धारबीच बढ्दो वैचारिक टकरावलाई समेत उजागर गरेको छ।
रिपब्लिकनहरू यस घटनालाई डेमोक्र्याटिक कमजोरीका रूपमा प्रस्तुत गर्दै राजनीतिक लाभ उठाउने प्रयासमा छन्। डेमोक्र्याटहरू भने आन्तरिक विवादका बाबजुद आफ्नो सिट जोगाउने चुनौतीमा छन्।
अब नोभेम्बर ३ को मतदानले मिचिगनको सिनेट सिट कसले जित्छ भन्ने मात्र होइन, अमेरिकी सिनेटको शक्ति सन्तुलन र राष्ट्रपति ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशालाई समेत प्रभावित पार्न सक्नेछ।
प्रतिक्रिया