म्याड्रिड, स्पेन, अक्टोबर २८। युरोपेली मुलुक स्पेनमा बुधबार बिहान दुईवटा तीव्रगतिका यात्रुवाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। राजधानी म्याड्रिडबाट सेभियतर्फ जाँदै गरेका दुई रेलमध्ये एउटा प्राविधिक समस्याका कारण लिकमै रोकिएको अवस्थामा पछाडिबाट आएको अर्को रेलले ठक्कर दिँदा यो भीषण दुर्घटना भएको हो।
स्पेनको राजधानी म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा र लस येबेनेस क्षेत्रबीच स्थानीय समयअनुसार बिहान करिब ९ बजे दुर्घटना भएको थियो। ठक्कर अत्यन्त शक्तिशाली हुँदा रेलका केही डिब्बा लिकबाट उछिट्टिएर सडकभन्दा तलको भिरालो क्षेत्रमा खसेका थिए भने केही डिब्बा नराम्ररी क्षतिग्रस्त भएका छन्।
दुर्घटनामा निजी रेल कम्पनी इरियोद्वारा सञ्चालित रेलमा १४७ जना र सरकारी स्वामित्वको रेन्फे कम्पनीको रेलमा ३९७ जना यात्रु सवार थिए। दुर्घटनाका बेला दुवै रेल एउटै दिशामा यात्रा गरिरहेका थिए। घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले क्षतिग्रस्त डिब्बाभित्र फसेका यात्रुलाई बाहिर निकाल्न ठूलो कठिनाइ सामना गर्नुपरेको बताएका छन्।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले प्रारम्भिक अनुसन्धानबाट कम्प्युटरमा आएको खराबी र त्यसपछि रेल सञ्चालन नियन्त्रण केन्द्रबाट भएको गलत निर्णय दुर्घटनाको प्रमुख कारण देखिएको बताएका छन्। उनका अनुसार रेलको सुरक्षा प्रणालीमा समस्या आएपछि म्याड्रिडस्थित केन्द्रीय नियन्त्रण कक्षले रेल सञ्चालनको जिम्मेवारी लिएको थियो। तर अगाडि अर्को रेल रोकिएको अवस्थामा समेत पछाडिको रेललाई गति सीमित नगरी अगाडि बढ्न अनुमति दिइनु गम्भीर र अकल्पनीय त्रुटि भएको उनको भनाइ छ।
दुर्घटनाबाट जोगिएका यात्रुहरूले घटनास्थलको अवस्था अत्यन्त भयावह रहेको बताएका छन्। रेल ठोक्किएलगत्तै यात्रुहरू सिटबाट उछिट्टिएका थिए भने सामानहरू चारैतिर छरिएका थिए। कतिपय यात्रु सिट र फलामका संरचनाबीच च्यापिएका थिए। केहीले झ्यालका सिसा फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए।
रेन्फेको रेलमा यात्रा गरिरहेका ६२ वर्षीय साल्भाडोर अरिजाले ठक्कर यति शक्तिशाली भएको कि यात्रुहरू एकअर्कामाथि पछारिएको बताएका छन्। उनका अनुसार केही यात्रु घाइते भएर चल्नसमेत नसक्ने अवस्थामा थिए।
इरियो रेलका २२ वर्षीय यात्रु ताङ्गुई बिनियरले दुर्घटनापछि डिब्बाभित्र धुवाँ फैलिएको, यात्रुहरू चिच्याइरहेको र बाहिर निस्किँदा रेलका डिब्बा पल्टिएको देखेको बताएका छन्। उनका बुबाले कम्मरको हड्डी भाँचिएकी एक बालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए। घटनास्थलमा देखिएका दर्दनाक दृश्य जीवनभर बिर्सन नसक्ने उनको भनाइ छ।
अर्का यात्रु तथा पत्रकार एन्टोनियो जिमेनेज बार्काले दुर्घटनाको क्षणमा आफू पछाडिबाट शक्तिशाली धक्का लागेर भुइँमा पछारिएको र टाउकोमा गम्भीर चोट लागेको बताएका छन्। दुर्घटनापछि रेलभित्र रगताम्य यात्रुहरू छटपटाइरहेका थिए।
दुर्घटनाको जानकारी पाएलगत्तै दर्जनौँ एम्बुलेन्स, अग्निनियन्त्रक, प्रहरी र स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएका थिए। गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएको छ। क्षतिग्रस्त डिब्बाभित्र थप यात्रु फसेको आशंकामा खोज तथा उद्धार कार्य जारी राखिएको छ। अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्।
कतिपय शवको पहिचान गर्न कठिनाइ भएपछि स्पेनको सिभिल गार्डले मृतकका आफन्तबाट डीएनए नमुना संकलन गर्ने तयारी गरेको छ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनास्थलको निरीक्षण गर्दै यो घटनाले सम्पूर्ण देशलाई गहिरो शोकमा डुबाएको बताएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष र विस्तृत अनुसन्धान गरिने प्रतिबद्धता जनाएका छन्।
यसै वर्षको जनवरीमा स्पेनको कोर्डोबा नजिक भएको अर्को रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो। एकै वर्षमा दुईवटा ठूला रेल दुर्घटना भएपछि स्पेनको रेल यातायात प्रणाली, सुरक्षा संयन्त्र र सरकारी निगरानीमाथि गम्भीर प्रश्न उठेका छन्।
सन् २०१३ मा स्पेनको सान्तियागो डे कम्पोस्टेला नजिक रेल दुर्घटना हुँदा ८० जनाको मृत्यु भएको थियो। त्यसयता बुधबार भएको यो दुर्घटना स्पेनकै सबैभन्दा ठूलो रेल दुर्घटना बनेको छ।
विपक्षी दल पिपुल्स पार्टीका नेता अल्बेर्तो नुनेज फेइहोले देशको रेल पूर्वाधार र यात्रु सुरक्षाको अवस्थाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। कर्मचारी संगठनहरूले समेत दुर्घटनाको सम्पूर्ण जिम्मेवारी नियन्त्रण कक्षका कर्मचारीमाथि मात्र थोपर्न नहुने भन्दै उच्च तहबाट जवाफदेहिता खोजिनुपर्ने बताएका छन्।
यसैबीच, प्रधानमन्त्री सान्चेजसहित प्रमुख राजनीतिक नेताहरूले आफ्ना सार्वजनिक कार्यक्रम स्थगित गरेका छन्। सरकारले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।
आधुनिक प्रविधि र तीव्रगतिको रेल सेवाका लागि प्रसिद्ध स्पेनमा छोटो अवधिमै भएका यी दुई ठूला दुर्घटनाले यात्रु सुरक्षामाथि गम्भीर चिन्ता थपेको छ। सरकारले प्राविधिक खराबी, मानवीय लापरबाही तथा सुरक्षा प्रणालीमा सम्भावित कमजोरीबारे विस्तृत अनुसन्धान गर्ने जनाएको छ।
प्रतिक्रिया