अमेरिकाको भर्जिनिया राज्यमा दुई वर्षभन्दा बढी समयअघि रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ चौथो हप्तामा प्रवेश गरेको छ। प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा अक्टोबर ५ देखि सुरु भएको सुनुवाइमा सरकारी वकिलहरूले रगतका नमुना, विद्युतीय आरा, कपालका रेसा, सुरक्षा क्यामेराका दृश्य, मोबाइल फोन तथा टेस्ला कारका डिजिटल विवरणसहित विभिन्न परिस्थितिजन्य प्रमाण प्रस्तुत गरिरहेका छन्। ममताको शव अहिलेसम्म फेला परेको छैन भने नरेशले आफूमाथि लगाइएका सबै अभियोग अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्।
एबीसी न्यूज ७ का अनुसार तीन हप्ताभन्दा बढी अवधिमा अदालतमा ४२ जनाभन्दा बढी साक्षीले बयान दिइसकेका छन्। प्रहरीले अनुसन्धानका क्रममा संकलन गरेका घण्टौँ लामा सुरक्षा क्यामेराका दृश्य, अनुसन्धान अधिकारीसँग भएका कुराकानीका अभिलेख, घरभित्र भेटिएका रगतका सम्भावित दाग र विभिन्न स्थानमा फोहोरका झोला फालिएका भिडियोहरू निर्णायक मण्डलसमक्ष प्रस्तुत गरिएका छन्।
सन् २०२४ जुलाई २७ मा अन्तिमपटक अस्पतालको काममा देखिएकी २८ वर्षीया ममताले जुलाई २९ मा नेपालस्थित आफ्नी आमासँग भिडियो कुराकानी गरेकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भइन्। अगस्ट १ मा अस्पतालको ड्युटीमा उपस्थित नभएपछि सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी मनासस पार्कस्थित उनको घर पुगेको थियो। त्यसबेला नरेशले पत्नी अलग बस्ने तयारीमा रहेको र आफन्त भेट्न गएको हुन सक्ने बताएका थिए। अगस्ट ५ मा उनले औपचारिक रूपमा पत्नी हराएको सूचना प्रहरीमा दिएका थिए।
प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा घरको मुख्य शयनकक्ष, बाथरुम र कार्पेटमा रगतको आशंका गरिएका दाग फेला परेका थिए। त्यसपछि अगस्ट २२, २०२४ मा नरेशलाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको थियो। डिसेम्बर २, २०२४ मा ग्रान्ड जुरीले उनीविरुद्ध प्रथम श्रेणीको हत्या र शवको अपमानजनक विखण्डनसम्बन्धी थप अभियोग लगाएको थियो। धरौटीमा रिहा गर्ने आग्रह अस्वीकार भएपछि उनी निरन्तर हिरासतमा रहेका छन्।
सुरुमा सन् २०२४ को डिसेम्बरमै सुनुवाइ गर्ने तयारी भए पनि थप अभियोग, ठूलो परिमाणका प्रमाण, वैज्ञानिक परीक्षण र प्रतिरक्षाको तयारीका कारण मुद्दा पटकपटक पछि सरेको थियो। सन् २०२५ मा समेत सुनुवाइ स्थगित भएपछि अन्ततः अक्टोबर २०२६ मा मुख्य सुनुवाइ सुरु भएको हो। न्यायाधीश किम्बर्ली इर्भिङको इजलासमा १२ मुख्य र पाँच वैकल्पिक गरी १७ सदस्यीय निर्णायक मण्डल छनोट गरिएको थियो।
अक्टोबर ७ देखि भएको साक्षी परीक्षणमा ममताकी आमा गीता काफ्लेले छोरीसँग नियमित भिडियो कुराकानी हुने गरेको र सानो बच्चालाई छाडेर परिवारसँग सम्पर्क नै नगरी बेपत्ता हुने सम्भावना नरहेको बयान दिएकी थिइन्। ममताकी साथी सरिता न्यौपानेले दम्पतीबीच विगतमा विवाद हुने गरेको र ममताले आफूमाथि हिंसा भएको बताएको जानकारी अदालतलाई दिएकी थिइन्। यद्यपि, प्रतिरक्षा पक्षको जिरहमा उनले नरेशले ममतालाई कुटेको घटना आफूले प्रत्यक्ष नदेखेको स्वीकार गरेकी थिइन्।
अक्टोबर १३ देखि १५ सम्मका सुनुवाइमा अनुसन्धान अधिकारीहरूले घरभित्र रगत पत्ता लगाउन प्रयोग गरिएको रासायनिक परीक्षणका नतिजा प्रस्तुत गरेका थिए। शयनकक्ष र बाथरुमका धेरै भागमा रगतको सम्भावित संकेत देखिएको बताइएको थियो। अभियोजन पक्षले घरबाट निकालिएको करिब आठ बाइ दस फिटको कार्पेटसमेत अदालतमा प्रस्तुत गरेको थियो। अनुसन्धानकर्ताले उक्त कार्पेटमा रगत भेटिएको परीक्षणबारे बयान दिएका थिए।
अक्टोबर १९ देखि २२ सम्मका सुनुवाइमा विभिन्न स्थानका सुरक्षा क्यामेराबाट प्राप्त दृश्य देखाइएका थिए। ती दृश्यमा अभियोजन पक्षले नरेश भएको दाबी गरेका व्यक्ति घरबाट टाढाका अपार्टमेन्ट परिसरमा ठूला फोहोरका झोला फालिरहेको देखिन्छ। केही दृश्यमा सेतो पन्जा लगाएर झोला उठाएको समेत देखाइएको थियो। सरकारी वकिलहरूले ती झोलामा शवका अवशेष वा घटनास्थल सफा गर्न प्रयोग गरिएका सामग्री हुन सक्ने आशंका व्यक्त गरेका छन्। तर ती झोलाभित्र वास्तवमा के थियो भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छैन।
यसै क्रममा घाँस काट्ने काम गर्ने जोसे आयालाले नरेशले कामको पारिश्रमिकस्वरूप आफूलाई विद्युतीय आरा दिएको बयान दिएका थिए। ममता बेपत्ता भएको घटना सार्वजनिक भएपछि उनले उक्त आरा प्रहरीलाई बुझाएका थिए। अनुसन्धानमा आरामा भेटिएको रगतको डीएनए ममताको कपाल कोर्ने ब्रसबाट प्राप्त डीएनएसँग मेल खाएको अभियोजन पक्षको दाबी छ। अप्रिल २०२६ को थप वैज्ञानिक प्रतिवेदनमा उक्त आराबाट तीनवटा मानव कपाल र १३ वटा कपालका टुक्रा बरामद भएको उल्लेख गरिएको थियो।
अभियोजन पक्षले नरेशले विभिन्न पसलबाट चक्कु, पन्जा, ठूला झोला तथा सफाइका सामग्री खरिद गरेको विवरण पनि प्रस्तुत गरेको छ। मोबाइल फोन, सवारीसाधनको जीपीएस र टेस्ला कारको यात्रासम्बन्धी तथ्यांकबाट उनको गतिविधि पुनर्निर्माण गर्ने प्रयास गरिएको छ। सरकारी वकिल म्याथ्यु स्वीटको नेतृत्वमा रहेको टोलीले जुलाई ३०, २०२४ तिर घरभित्र हत्या गरी शव टुक्र्याएर विभिन्न स्थानमा फालिएको आरोप प्रमाणित गर्न खोजिरहेको छ।
यसैबीच, अक्टोबर २६ सोमबारदेखि चौथो हप्तामा प्रवेश गरेको सुनुवाइमा थप महत्वपूर्ण प्रमाण र अनुसन्धान अधिकारीहरूको बयान अदालतमा प्रस्तुत गरिएको छ। लाउडन काउन्टी शेरिफ कार्यालयका अपराधस्थल अनुसन्धानकर्ता ड्यानियल म्याक्सफिल्डले सन् २०२४ अगस्टमा चान्टिलीस्थित लिटिल रिभर टर्नपाइकमा रहेको लिबर्टी ग्यास स्टेसनबाहिरका दुईवटा कपडा दान गर्ने बाकसमा गरिएको अनुसन्धानबारे बयान दिए। तीमध्ये एउटा बाकसभित्र कपडा, जुत्ता र अन्य सामग्री रहेका फोहोरका झोला भेटिएको उनले बताए। ती वस्तुहरूको तस्बिर खिचेर, संकलन गरेर सुरक्षित रूपमा प्याक गरी मनासस पार्क प्रहरीका अनुसन्धान अधिकारीलाई बुझाइएको जानकारी उनले अदालतलाई दिएका थिए।
त्यस्तै, प्रिन्स विलियम काउन्टी प्रहरी विभागका अनुसन्धानकर्ता अलेक्जेन्डर कोर्डनरले नरेशको घरको ग्यारेजमा रहेको फोहोरको डब्बामा रगतको सम्भावित उपस्थिति पत्ता लगाउन ब्लूस्टार नामक रसायन प्रयोग गरिएको बताए। उक्त रसायन प्रयोग गर्दा डब्बाको भित्री र बाहिरी भागका केही स्थानमा निलो चमक देखिएको थियो। तर प्रतिरक्षा पक्षले उक्त रसायनले रगतबाहेक अन्य पदार्थसँग पनि प्रतिक्रिया दिन सक्ने भन्दै परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
यसैगरी, प्रमुख अपराधस्थल अनुसन्धानकर्ता एन्ड्रिया फेल्डम्यानले हरियो रङको रियोबी विद्युतीय आराको भित्री भाग खोलेर निरीक्षण गर्दा रातो र खैरो रङका दाग तथा कपालका रेसा फेला परेको बयान दिइन्। आराको ह्यान्डल र हावा जाने प्वालनजिक रगतजस्ता दाग तथा अगाडि र बीचको भागमा एकदेखि दुई इन्च लम्बाइका कपालका रेसा भेटिएको उनले बताइन्। प्रहरीले ती सामग्री वैज्ञानिक परीक्षणका लागि सुरक्षित गरेको थियो।
सोमबारको सुनुवाइमा नरेशले सन् २०२४ अगस्टमा आफ्नो निलो रङको टेस्ला कार कारम्याक्सलाई बिक्री गरेको र पछि प्रहरीले उक्त कार नियन्त्रणमा लिएर फरेन्सिक परीक्षण गरेको विषय पनि उठाइएको थियो। अनुसन्धानकर्ताहरूले कारको गतिविधि, त्यसमा हुन सक्ने भौतिक प्रमाण र घटनासँग सम्भावित सम्बन्धको अध्ययन गरेका थिए।
अर्कोतर्फ, नरेशकी प्रमुख प्रतिरक्षा वकिल ट्रेसी लेनोक्सले अभियोजन पक्षको निष्कर्षलाई निरन्तर चुनौती दिँदै आएकी छन्। ममताको शव फेला नपरेको, मृत्युको वास्तविक कारण स्थापित नभएको र प्रस्तुत परिस्थितिजन्य प्रमाणले मात्रै हत्या प्रमाणित नहुने उनको तर्क छ। प्रतिरक्षा पक्षले प्रहरी अनुसन्धानका केही प्रक्रिया, साक्षीका बयानमा देखिएका भिन्नता र रगत पत्ता लगाउने परीक्षणको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ।
मुद्दाको सुनुवाइ अपेक्षाभन्दा लम्बिन सक्ने सम्भावनालाई लिएर न्यायाधीश किम्बर्ली इर्भिङले पनि चासो व्यक्त गरेकी छन्। गत हप्ता उनले अभियोजन पक्षलाई सुरुमा निर्धारण गरिएको सात हप्ताको समयसीमाभित्र सबै प्रमाण प्रस्तुत गर्न सकिनेमा आफू पूर्ण विश्वस्त नरहेको बताएकी थिइन्। प्रतिरक्षा पक्षलाई समेत पर्याप्त समय उपलब्ध गराउनुपर्ने भएकाले सुनुवाइको व्यवस्थापनमा ध्यान दिन उनले सचेत गराएकी छन्।
ममताको शव दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि फेला परेको छैन। शवबिनाको यस मुद्दामा डीएनए, रगतका नमुना, डिजिटल विवरण, सुरक्षा क्यामेराका दृश्य र साक्षीहरूको बयान कत्तिको विश्वसनीय ठहरिन्छन् भन्ने विषय निर्णायक बन्ने देखिएको छ। नेपाल र अमेरिकामा रहेका ममताका परिवारजन तथा नेपाली समुदायले घटनाको वास्तविकता सार्वजनिक भएर न्यायिक निष्कर्ष आउने अपेक्षा गरेका छन्। अदालतमा प्रमाण र बयान प्रस्तुत गर्ने क्रम जारी रहेकाले नरेश भट्टविरुद्धका अभियोगमा अन्तिम फैसला भएको छैन।
प्रतिक्रिया