20250102

रवि लामिछानेकै विषयमा थप कसुर पनि आकर्षित हुने तर्क, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझायो


 सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथिको थुनछेक बहसमा सरकारी वकिल र जाहेरवालातर्फका कानुन व्यवसायीको बहस सकिएको छ । बिहीबार जाहेरवालाका तर्फबाट दुई वरिष्ठ अधिवक्ता र चारजना अधिवक्ताले बहस गरे । अधिवक्ताहरू बेदबहादुर विष्ट, हरि कट्टेल, आरसी गौतम, युवराज पराजुली र वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्दै अभियोगपत्रमा दाबी भएअनुसारको सजाय हुनुपर्ने जिकिर गरे । गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा खातामा गएको रकम र व्यक्तिगत खातामा जम्मा भएको रकमबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थाहा नहुने विषय कानुनतः भन्न नमिल्ने तर्क कानुन व्यवसायीहरूको छ । लामिछानेकै विषयमा उनीहरूले थप कसुर पनि आकर्षित हुने तर्क गरेका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार भएको बहसबारे अधिवक्ता युवराज पराजुलीले भने, “सहकारीबाट गोर्खा मिडिया प्रालिमा गएको रकम अपचलन गर्ने कुरामा रवि लामिछाने, छविलाल जोशी समेतको महत्त्वपूर्ण हात छ ।”

नेचर हब्सको सञ्चालक भएका कारण पनि छविलालले सहकारीबाट गएको रकम अपचलनको जिम्मेवारी लिनुपर्ने तर्क उनले गरेका थिए ।

लामिछानेसहितका व्यक्तिहरू संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा मागदाबी बमोजिम नै सजाय हुनुपर्ने र पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने तर्क जाहेरवालातर्फका कानुन व्यवसायीले गरे ।

“कम्पनीको प्रबन्ध निर्देशक, सञ्चालक भएको व्यक्तिले व्यक्तिगत खातामा गएको रकम, सहकारीबाट आएको रकम कहाँबाट आयो, कुन स्रोतबाट आयो थाहा भएन भनेर कानुनतः भन्न मिल्ने अवस्था होइन । यसमा उन्मुक्ति दिने अवस्था होइन,” पराजुलीले भने, “संगठित अपराधको प्रकृति नै यस्तै हुन्छ । पार्टपार्टको कुरा हुन्छ, पैसा आयो, त्यो कुरा मलाई थाहा छैन, कसले लिएर आएको हो भन्ने कुरा संगठित अपराधको प्रकृति नै त्यही हो ।”

सहकारीको रकम अपचलन गरेर, ठगी गरेर, त्यो रकमलाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने, एउटा खातादेखि अर्कोमा पठाउने, जग्गा खरिद गर्दै जाने र यसलाई जसरी शुद्धीकरण गर्न खोजिएको छ, यो क्षम्य नहुने उनले बताए ।

उनले बहसका क्रममा प्रतिवादीहरूको बैंक खातामा देखिएको कारोबारको स्रोत नखुलेको हुँदा त्यसमा पनि कारबाही गर्नुपर्ने माग गरे ।

“रवि लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनालको हकमा जुन पैसा उनीहरूको खातामा देखिएको छ, जुन सम्पत्ति देखिएको छ, चलअचल सम्पत्तिको स्रोत खुलाउन नसकेको कारणले गर्दा उनीहरू संगठित तरिकाले चलेको, संगठित अपराधमा संलग्न भएको र त्यसबाट आयआर्जन गर्न खोजेको, त्यो आयआर्जनलाई शुद्धीकरण गर्न खोजेको देखिन्छ, यो गम्भीर प्रकृतिको कसुर हो,” उनले भने ।

पूर्वउपप्रधान तथा गृहमन्त्री भइसकेको व्यक्ति जनताको अपेक्षा पूरा गर्नतर्फ नलागेर रकम अपचलन प्रकरणमा जोडिएका लामिछानेले सामाजिक अपराध समेत गरेको उनले तर्क गरे ।

“संगठित अपराध हुँदै हो, सहकारी ठगी पनि हुँदै हो, सम्पत्ति शुद्धकिरणको विषय पनि हुँदै हो, साथसाथै यो सामाजिक अपराध पनि हो,” पराजुलीले भने, “राज्यको जिम्मेवार तहमा भएका व्यक्तिहरू, उपप्रधान तथा गृहमन्त्री भएको व्यक्ति, दुईपटक निर्वाचित व्यक्तिबाट जनताले जुन अपेक्षा गरेका हुन्छन्, त्यो अपेक्षा अनुसारको काम गर्नुपर्नेमा जिम्मेवार व्यक्ति संगठित अपराध, सहकारीको रकम अपचलन गर्ने र सम्पत्ति शुद्धीकरणतर्फ जाने कुरा के हो भने थप कसुर आकर्षित हुने विषय हो ।”

जाहेरवालातर्फका कानुन व्यवसायीहरूले अभियोजन मागदाबी बमोजिमको सजाय हुनुपर्ने र थुनामा राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने माग राखे । यसअघि मंगलबार र बुधबार सरकारी वकिलहरूले बहस गरेका थिए ।

सरकारी वकिल र जाहेरवालातर्फका कानुन व्यवसायीको बहस सकिएपछि शुक्रबारदेखि लामिछानेसहितका प्रतिवादीका तर्फबाट बहस हुनेछ ।

लामिछानेका तर्फबाट बहस गर्न १५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् । लामिछानेका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताहरू पनि पोखरा आएका छन् ।

लामिछानेसहित पूर्वडीआईजी जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतबारे थुनछेक बहस भइरहेको हा । जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ । यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।

यसै बिच काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७०  रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ । 

कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप–समिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् । रवि लामिछाने र पूर्व डीआईजी जोशी कास्की प्रहरीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् । अन्य प्रतिवादीहरूलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ । स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक