- डा. बालकृष्ण चापागाईँ
हाम्रो पूर्वीय वैदिक सभ्यता अनुसार आमा र जन्मभूमिलाई ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्दै अत्यन्तै उच्च स्थानमा राखिएको छ । हामीले बाल्यकालमा विद्यालयमा पढ्दा ‘हाम्रो भाषा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनी विभिन्न दिवसका अवसरमा चर्को चर्को स्वरमा गुरुहरुको आदेशमा नारा लगाउँदा निकै रमाइलो महसुस हुन्थ्यो । यद्यपि हामीले त्यतिबेला ती शब्द र वाक्यको राम्रोसंग अर्थ बुझेका हुँदैनथ्यौं । अहिले आएर त्यो नाराको वास्तविक अर्थबोध हुन थालेको छ । हामीले अबोध अवस्थामा त्यतिबेला लगाएको त्यो नारा साँचो अर्थमा गहन र महत्वपूर्ण रहेछ । यस प्रकारको नारा अहिले विद्यालयहरुमा खासै सुन्न पाईदैन । यसो हुनुको कारण कतै नेपाली राष्ट्रियता कमजोर हुँदै गएको त छैन ? मलाई यो प्रश्नले आजभोलि गम्भीर बनाउने गर्छ । आफ्नो देश र आफ्नो भाषा भनेको त निकै महत्वपूर्ण चिज पो रहेछ भन्ने बोध हुन्छ । भाषा भनेको जीवनको आधार रहेछ । यसलाई अलग राखेर जीवनको परिभाषा नै बन्न सक्दो रहेनछ । यो त मानवीय सभ्यताको प्रस्थानविन्दु र प्रमुख आधार रहेछ । भाषालाई सामान्य परिभाषाको रुपमा बुझ्दा मानिसले आफ्नो भाव या विचार अरूसँग पु¥याउने एउटा सार्थक शब्द वा वाक्यहरूको समूह रहेछ । यसलाई यादृच्छिक वाक्प्रतीकहरूको
व्यवस्थाको रुपमा हामीले बुझ्न सक्छौं । कुनै पनि भाषाको आफ्नै शब्द भण्डार हुँदो रहेछ । जुन भाषामा जति बढी शब्द हुन्छन्, त्यति नै त्यो भाषा सम्पन्न हुनु स्वभाविक हुँदो रहेछ । कुनै पनि भाषामा अर्थ दिने शक्ति विद्यमान रहन्छ । खासगरी दुई वा दुईभन्दा बढी व्यक्ति, समुदाय वा समाजले त्यो भाषा बुझेको हुनुपर्छ । यथार्थमा भाषा भन्नाले परम्परादेखि जुन वस्तुलाई जे नामले अर्कोलाई बुझाउने गरिएको हुन्छ, यो नै भाषिक व्यवस्था हो । भाषा मानवीय हुन्छ । अन्य प्राणीभन्दा मानिस भिन्न र उच्च छ भन्ने यथार्थ बोध गराउने पनि भाषा नै हो । अर्थ निर्माण गर्ने र व्यक्त गर्ने एउटा सशक्त माध्यम हो भाषा । कुनै पनि भाषाले भाषिक समुदायको संस्कृति, जीवनपद्धति र विशेष परिस्थितिलाई प्रतिविम्बित र त्यसलाई नियमित गर्दछ । भाषाको मुख्य काम मानवीय समाजको आवश्यकता पूर्ति गर्नु नै हो । भाषाकै माध्यमबाट समाज र व्यक्तिका भावना व्यक्त हुन्छन् । भाषाको काम भाव सञ्चार गर्नु, सूचना प्रवाह गर्नु र अभिव्यक्तिलाई प्रखर पार्नु नै हो । भाषा जति सरल, बोधगम्य र भाव सम्प्रेषणीय हुन्छ त्यति नै प्रभावकारी पनि हुन्छ । नेपाली भाषामा मौलिक र आगन्तुक गरी डेढ लाखभन्दा बढी शब्दभण्डार रहेको अनुमान गरिएको छ ।मानवीय भाषालाई वाणीका उच्चतम् तह मानिएको पाइन्छ । ऋग्वेदका अनुसार ध्वनिका चार रूप हुन्छन् – परा, पश्यन्ती, मध्यमा, वैखरी । परा वाणी भनेको अस्पष्ट वाणी हो । यसअन्तर्गत कीरा, फट्याङ्ग्रा आदिका अस्पष्ट ध्वनि पर्दछन् । त्यसैगरी पशुहरूले उच्चारण गर्ने ध्वनिलाई पश्यन्ती वाणीका रूपमा लिइन्छ । मध्यमा चराचुरुङ्गीको ध्वनि हो, जुन ध्वनि तपस्वीले समेत पत्ता लगाउन सक्छन् । अन्तिम वाणी वैखरी हो, जुन मानिसमा मात्र सम्भव हुन्छ । अतः मानिसले मात्र उच्चारण गर्न सक्ने वैखरी वाणी नै विचार विनिमयको सशक्त माध्यम हो ।
भाषाको प्रयोग मान्छेले भाव सम्प्रेषणका निम्ति गर्छ र भावको सम्प्रेषणका क्रममा प्रयोग गरिएका भाषिक रूपहरू सधैँ एकनासले एकै अवस्थामा रहिरहँदैनन् । कथ्य लेख्यरूपमा प्रयोग हुने भिन्नभिन्न शब्द, पदावली, वाक्य आदि सबै भाषिक एकाइहरूले भाव सम्प्रेषण त गरिरहेकै हुन्छन्, तर ती भाषिक एकाइहरू बोलाइ र सुनाइका विभिन्न सन्दर्भमा निर्भर गर्छन् । भाषाका प्रयोक्ता वा वक्ताले प्रयोग गरेका भाषिक एकाइहरूले पनि पेशा, धर्म, उमेर, लिङ्ग, जाति, वर्ग र स्थान आदिका सन्दर्भअनुसार अलग–अलग प्रकारले भाव सम्प्रेषण गर्छन् । एउटा स्थानकै भाषामा पनि विविधता हुन सक्छ भने भौगोलिक स्थिति तथा स्थानीय आधारमा पनि नेपाली भाषाका अलग अलग रूप र भिन्न भिन्न भाषिक भेद हुन्छन् ।
मानिससँग आफ्नो ज्ञान र अनुभव व्यक्त गर्ने सार्थक शब्दभण्डार छ । मानिसको पहिचान ज्ञानका कारणले नै भएको हो । ज्ञानको प्रकटीकरण, वितरण, ग्रहण र परिष्कार भाषिक माध्यमबाटै भएको हो । भाषाबाट नै एउटा पुस्ताको ज्ञान र विचार अर्कोमा सर्दै गएको हो । यदि भाषिक शब्द हुँदैनथ्यो भने मानिस सभ्यताको युगमा प्रवेश गर्न र ज्ञान विज्ञानको क्षेत्रमा अहिलेको उपलब्धि हासिल गर्न सक्ने थिएन ।
भाषाले विचार, राजनीति, दर्शन, विज्ञान, मूल्य र मान्यता सबैलाई डो¥याएको हुन्छ । मानव समाजमा करुणा, प्रेम र नैतिकताको शिक्षा पनि भाषिक शब्दकै माध्यमबाट भएको पाइन्छ । समाजको प्रगति र अग्रगमनको मूल पहिल्याउँदै जाने हो भने त्यहाँ पनि शब्द र भाषाकै खेल छ ।
हाम्रो संस्कार, सोचाइ, व्यवहार, व्यक्तित्व र समग्र जीवनशैलीलाई नै भाषिक शब्दले निर्देशित गरेको हुन्छ । शब्दले जस्तो बनाउँछ, हामी त्यस्तै बन्दै जान्छौँ । हाम्रो सभ्यताको इतिहास भाषिक शब्दबाट नै सुरु भएको हो ।
समाज विकासको क्रमसँगै मानव मस्तिष्कले समेट्ने ज्ञान–विज्ञान, तर्क–कल्पनालगायत विषयलाई अभिव्यक्त गर्न भाषिक शब्द नै चाहिन्छ । अभिव्यक्तिको सबैभन्दा सशक्त र उपयुक्त माध्यम शब्द नै हो । सार्थक शब्द र तिनले बनेका सार्थक वाक्यहरूको असीम समूह हो– भाषा । बोलिने भएकाले यसलाई भाषा मानिएको हो । हजारौँ वर्षसम्म मानिसले बोलेर मात्र काम चलायो । त्यसपछि उच्चारण गरिने ध्वनिलाई सङ्केत गर्न विभिन्न रेखा कोर्न थाल्यो । कालान्तरमा त्यसले लिपिको रूप लियो र भाषाले लेख्य रूप प्राप्त ग¥यो । कस्तो ध्वनि वा ध्वनि समूह अर्थात् शब्दबाट के अर्थ बुझ्ने अथवा कस्ता रेखाकृतिले कुन ध्वनि वा वर्णको प्रतिनिधित्व गरेको मान्ने भन्ने कुरालाई भाषाका रूपमा स्थापित हुन सयौं, हजारौं वर्ष लागेको पाइन्छ । एक भाषाले अर्को भाषाबाट शब्द ग्रहण गर्ने प्रक्रिया पनि निरन्तर चलिरहेको देखिन्छ । समाजको विकास र गतिशीलतासँगै भाषाको पनि विकास हुँदै आएको पाइन्छ । संसारमा असङ्ख्य भाषा आवश्यकताअनुसार जन्मेर समयक्रममा लोप पनि हुँदै आएका छन् ।
भाषिक मौलिकताको रक्षा राष्ट्रको अस्मितासँग जोडिएको हुन्छ । आमसञ्चारका माध्यममा नेपाली भाषाको प्रयोगसँग नेपालको मौलिक पहिचान पनि गाँसिएको छ । नेपाली भाषाको आफ्नै शब्द सामथ्र्य छ, आफ्नै व्याकरण, नियम र पद्धति पनि छ । सूचनाको संवाहक स्रोत भाषा भएकाले भाषिक प्रयोगमा दक्षता, शुद्धता र स्तरीयताको आवश्यकता पर्दछ । सूचना, विचार, अवधारणा प्रस्तुत गर्दा शुद्ध, स्तरीय र मर्यादित भाषा पनि त्यति नै उच्च हुन्छ । आमसञ्चारको विकास हुनु भनेको सूचना प्रक्षेपण र भाषिक व्यवहारमा समेत प्रभाव पार्नु हो ।
स्तरीय भाषाको प्रयोगविना पत्रकारिताको स्तर पनि माथि उठ्न सक्दैन । स्तरीय पत्रकारिताले राष्ट्रको गौरव र प्रतिष्ठा माथि उठाउँछ । त्यसैले पत्रकारिता सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक विकास र सकारात्मक रूपान्तरणका लागि महत्वपूर्ण सूचक हो । मानव समाजको आधुनिकीकरणको संवाहक स्रोत पनि हो ।
समाज विकाससँगै भाषाको पनि विकास हुँदै आएको छ र पत्रकारिताको विकासले भाषाको विस्तार र विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
भाषाको महत्व कति छ भन्नेमा प्रख्यात चिनियाँ दार्शनिक कम्फ्युसियसको भनाइ मननयोग्य रहेको छ । उनलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ भनेर सोध्दा भने– निःसन्देह, पहिलो काम भाषाको सुधार हुनेछ किनकि भाषा ठिक भएन भने जे भन्न खोजिएको हो, त्यो अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम हुन पनि पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छन् । परिणामस्वरूप न्याय व्यवस्थापनको स्थिति बिग्रन्छ र मानिसहरू भयावह अन्योलमा पर्छन् । त्यसो हुँदा, जे भनिने हो त्यसमा स्वेच्छाचारिता अपनाइनु हुँदैन । उनले सबैभन्दा बढी महत्वपूर्ण कुरा शुद्ध भाषाको प्रयोग हो भनेका छन् । त्यसैले हामी नेपालीहरुले आफ्नो भाषा,संस्कृति र सभ्यतालाई आत्मसाथ गरी अगाडि बढौं ।
भवतु सब्ब मंगलम् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक