20241204

सात बच्चाको हत्या गरेको अभियोगमा आजीवन जेल सजाय भोगिरहेकी नर्समाथि फेरि अनुसन्धान सुरु, "मैले तिनीहरूलाई जानाजान मारेकी हुँ । किनभने तिनीहरूको स्याहार गर्न म त्यति सक्षम थिइनँ । म भयानक राक्षस हुँ ।’ - लुसी लेटबी

 सात बच्चाको हत्या गरेको अभियोगमा आजीवन जेल सजाय भोगिरहेकी नर्समाथि फेरि अनुसन्धान सुरु भएको छ । बेलायतको एउटा अस्पतालमा नवजात शिशुको उपचारमा संलग्न लुसी लेटबी नामक नर्सले अरू पनि बच्चाहरू मारेको हुन सक्ने आशंकामा फेरि अनुसन्धान थालिएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, उनले सात बच्चा मारेको प्रमाणित भए पनि उनले अरू पनि बच्चा मारेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

३४ वर्षीया लुसी सन् २०१५ देखि २०१६ को अवधिमा उत्तर पश्चिम इंग्ल्यान्डको काउन्टेस चेस्टर अस्पतालमा कार्यरत थिइन् । यस अवधिमा उनले सात नवजात शिशुको हत्या गरिन् । र, थप सात वटा शिशुको हत्या गर्ने प्रयास गरिन् । सन् २०२३ को अगस्टमा उनलाई सातवटा नवजात शिशुको हत्या गरेको अभियोगमा आजीवन काराबासको सजाय सुनाइएको थियो ।

अनुसन्धानमा देखिएअनुसार उनी प्रमाण फेला नपर्ने गरी बच्चाको हत्या गर्थिन् । अस्पतालमा भर्ना गरिएका नवजात शिशुको रगत/नशामा उनी सुईमार्फत हावा पठाउँथिन् । श्वासप्रश्वासका लागि बच्चाहरूको नाकमा लगाउने ट्युबमार्फत उनी हावा र दूध पेटमा पठाउँथिन् । यतिमात्र होइन, बच्चाहरूलाई दिइने इन्सुलिनमा उनी जहर हाल्थिन् र सास फेर्न लगाइएको ट्युबमा छेडखानी गर्थिन् ।

बिरामी र कमजोर बच्चालाई उनले आफ्नो शिकार बनाउने गरेको अनुसन्धानले देखाएको छ । बच्चाको हत्या गरे पनि उनी बच्चाका अभिभावकका अगाडि रोएको नाटक गर्थिन् । आफूले मारेको बच्चालाई नुहाइदिएर उनी अभिभावकलाई दिन्थिन् ।

अहिले अनुसन्धानकर्मीहरूले लुसी अस्पतालमा कार्यरत रहँदा चेस्टर अस्पतालमा उपचार गराएका चारहजार बालबालिकको उपचारको प्रक्रियामाथि अनुसन्धान गरिरहेका छन् । ती बच्चाहरूको चेकजाँच र उनीहरूलाई के–कस्तो उपाचार गरियो भनेर अनुसन्धान सुरु भएको छ ।

अदालतले अस्पतालमाथि पनि प्रश्न गरेको छ । बच्चाहरूको मृत्यु हुन थालेपछि नवजात शिशुको उपचार र स्याहारमा संलग्न कर्मचारी फेरबदल नगर्नु अस्पतालको पनि गल्ती भएको अदालतको भनाइ छ ।

काउन्टेस अफ चेस्टर अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. स्टिफन ब्रेअरीका अनुसार, सन् २०१५ को जुन महिनामा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाको हत्या गरेकी थिइन् । डा. स्टिफन पनि लुसीले अरू पनि बच्चाको हत्या गरेको हुन सक्ने शंका गर्छन् ।

बेलातयतमा आजीवन काराबासको सजाय पाउने लुसी तेस्रो महिला हुन् ।

इनभिट्रो प्रविधिबाट गर्भधारण गरेर जुम्ल्याहा बच्च पाएकी एक आमा भन्छिन्, "संसारमा मैले जति धेरे बच्चा कसले चाहन्थ्यो र ?"

तर, लुसीले उनका दुई बच्चामध्ये एकको हत्या गरिन् । र्कोलाई इन्सुलिनमार्फत विष दिएर आजीवन कमजोर हुने बनाइन् ।

लुसीले अस्पतालमा आफूले मारेका बच्चाहरूको अस्पताल रेकर्ड आफ्नो घरमा ल्याउने गर्थिन् । यसबाहेक उनले आफूले हत्या गरेका बच्चाका आमा बुबाका बारेमा अनलाइनमा खोज्ने गरेको पनि फेला परेको छ । प्रहरीले लुसीको घरबाट एउटा नोट पनि फेला पारेको थियो, जसमा लेखिएको थियो, "मैले तिनीहरूलाई जानाजान मारेकी हुँ । किनभने तिनीहरूको स्याहार गर्न म त्यति सक्षम थिइनँ । म भयानक राक्षस हुँ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक