20241203

स्मृति परीक्षा : अधुरो रेखाचित्रले तान्यो राजनीतिक यात्रामा-२ र ३


स्मृति परीक्षा : अधुरो रेखाचित्रले तान्यो राजनीतिक यात्रामा-२

 - प्रा. पुरुषोत्तम दाहाल

(क) वैदारबाको कुर्सीर तीन युवाको आकर्षण :

बैदारबा प्रधानको कुर्सीमा, फणीन्द्र काका अर्को कुर्सीमा र यसै गरी ठूलाबडाहरू लामो बेञ्चमा बसेका थिए । हामी चउरमा पलेटी कसेर अरू नागरिकसरह बसेका थियौं । सभामा वार्षिक आयव्ययको रिपोर्ट हुँदैथियो । त्यही समयमा तीनजना युवाहरू अकस्मात् सभामा देखिनुभयो । सबै मुखामुख गर्न लागे । तीमध्ये तीनैजनाले आफूहरूले समेत सभामा बोल्न पाउनुपर्ने माग गर्नुभयो । चटक्क मिलेका सफा लुगा, पत्लुन, कमिज, चप्पल लगाएका, जुल्फी कोरेका, पढालिखा, चट्ट परेका, बोलक्कड युवाहरूका अगाडि त्यो गोठाले गाउँमा बोल्ने कसैको आँट थिएन । बैदारबाले परिचय माग्नुभएपछि तीन जनामध्ये गोरो, पातलो र आकर्षक युवा बोले : म पीताम्बर दाहाल । पण्डित भानुभक्त दाहालको छोरा, प्राप्चा मेरो घर म काठ्माडौंमा पढ्दैछु ।


अर्का बोले म गुरूप्रसाद पोख्रेल, घर प्राप्चा, काठमाडौंमा नै छु र सबैभन्दा लिखिरा बोले : म मीनकुमार दाहाल घर प्राप्चा, अहिले काठमाडौंमा पढ्दैछु । यसभन्दा केही समय पहिले चन्द्रकान्त दाहाल कुनै सभामा आउँदा हामीले राजनीतिक नयाँ मान्छे देखेका थियौँ । त्यसपछि पिडिओ भएर बिगुटार आउनुभएका सेर्नाका घटराज भट्टराईको अत्यन्त साहित्यिक, धाराप्रवाह भाषण सुनेका थियौँ । त्यसबेला भट्टराईले भन्नुभएको ः हामी छहरा, झर्ना कलकल गर्दै गरेका खोलानाला र पाखापखेरा पार गर्दै तपाईंहरूको सुन्दर गाउँ बिगुटार आएका छौं भन्ने यो वाक्य मेरा लागि अभिव्यक्तिको सपना देख्न उत्प्रेरक बनेको छ । चन्द्रकान्त नजिकै लामिडाँडाको भए पनि उहाँका बारे कांग्रेस भन्ने हल्ला थियो । त्यस बेला सायद किसान संगठनमा हुनुहुन्थ्यो कि जस्तो लाग्छ ।


म करिब तीन वर्ष कम्युनिष्टहरूसँग रहेँ । रानीपोखरी संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने बाहुनपुत्रहरू करिब नब्बे प्रतिशत विपन्नताले दलित हुने गरेका छन् । दलितको अर्थ जातमात्रै होइन भूगोलले ठगिएका, गरिबी र अनेक चरम मनोवैज्ञानिक यातना सहनेहरू पनि दलित नै हुन् ।


तर, आज फरक तस्वीर छ । झलझलाउँदा तीन युवाको व्यक्तित्वको प्रभाव सभामा व्यापक देखियो । हामी साना बालकहरूका लागि त एक प्रकारले रोलमोडल जस्ता हुन पुगे । उनीहरू जस्तै हुने कल्पना मेरा मनमा व्याप्त भयो । गुरूप्रसाद र मीनकुमारको भाषणमा निर्दलीय पञ्चायतको खरो विरोध थियो । पञ्चहरू मौन थिए । हामीलाई के हो पञ्चायत र किन विरोध भन्ने थाहै भएन । पालो आयो पीताम्बरको । उहाँले प्रजातन्त्र र बीपीको जेलको चर्चा गर्नुभयो । अनि आयव्ययका विषयमा प्रश्न उठाउनुभयो । उहाँका प्रश्नको उत्तर दिन सक्नुभएन बैदारबाले । केही थोरै रूपैयाँको हिसाब मिलेको रहेनछ । त्यही विषयमा विवाद भयो र प्रधानपञ्च पदबाट बैदारबाले राजीनामा दिनुभयो । हामी छक्क प¥यौं । प्रधानलाई राजीनामा गर्न बाध्य पार्ने कस्तो सामथ्र्य ? पञ्चहरू भन्दै थिए : कांग्रेसहरू बिगुटार पसेर हाम्रो बेइज्जती गरे तर बोल्ने साहस कसैमा देखिएन ।


(ग) सुरेन्द्र दाजुको बाहुला सुकाइ :

अर्को एउटा घटना मेरो स्मृतिपटलमा आइरहेको छ । हामी भाषा पाठशालामा पढ्न जान्थ्यौँ दिउँसो र राति गुरुबासँग । त्यसदिन विद्यालयबाट छाप्रालीबाको घरको बाटो हुँदै आएका थियौँ । चाम्बटे बारीको मुखमा सभा रहेछ । त्यहाँ ठूलाघरेबा, महाजन काकाहरूसहित अरू ठूलाबडाहरू पनि थिए । कुनै जग्गाको, खरबारीको अथवा घुस आदि बारे चर्को विवाद रहेछ । हाम्रा बडाबाका छोरा सुरेन्द्र दाहाल कमिजका बाहुला सुर्काउँदै असाध्य चर्को स्वरमा ती ठूलाबडाहरूको भण्डाफोर गर्दै भाषण गरिरहनु भएको रहेछ । सानो कदको, गोरो, सेतो पाइन्ट, सेतो गञ्जी र सेता चप्पल लगाएका ती दाजु सेनामा काम गर्दै कलेजमा पढ्दै गरेको सुनेका थियौं ।


हामीले त देखेको पनि थिएन । बडाबाका घरबाट सुरेन्द्र दाजु, चोलाराज दाजु, ढुण्डीराज र कलानिधिहरू निकै प्रखर मानिन्थे पढ्न । कलानिधि त हामीसँगै थिए । ठूलदाजु खिलानाथ पण्डित थिए, पुराण आदि भन्थे । साइलो दाजु सुरेन्द्रलाई देखेको थिएन । निकै पहिले जागिरमा हिँड्नु भएको होला । उहाँको भाषणले ठूलाबडाका गालामा पसिना चुहेका थिए, केही उत्तर दिन नसकेर नतमस्तक भएको दृश्य बडो रोमाञ्चक थियो । मलाई लाग्यो पढ्न सके त सुरेन्द्र दाइ जस्तै ठूलाबडाको सातो उडाउन सकिने रहेछ । यी सबै प्रसंग मेरो राजनीतिक विचारका जगमा छन् । जुन समयमा ममा कुनै पनि राजनीतिक चेतना थिएन ।


(३) राजधानीमा राजनीतिको चस्का :

म काठमाडौं आएपछि जीवनको अर्को आयाम सुरु भयो । किशोर बयको सिँढीमा उक्लदै गरेको उमेर, विपन्नता र अभावको उत्कर्ष भोगिरहेको समय, कुनै जागिरयोग्य डिग्रीको उकालो चढ्न अध्ययनको खुड्किलोमा चढ्ने उत्कट चाहनाले अभिभूत करिब चार वर्षको कठोर दिनचर्याबाट गुज्रने समय राजनीतिको रसमा चुर्लुम्म हुन पुगेछु । किन हो थाहा छैन स्वतन्त्रताको अमूर्त चाहना हो कि समानताको सपना हो, अनि तत्कालीन शासकीय चरित्र विरोधी घृणा हो कि थाहा भएन मलाई । तर, म सानैदेखि परिवर्तनको सपनाग्रस्त थिएँ र आज पनि मेरो सपना मूर्त हुन सकेको छैन ।


(क) मुक्तिको खोजीमा कम्युनिष्ट :

म करिब तीन वर्ष कम्युनिष्टहरूसँग रहेँ । रानीपोखरी संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने बाहुनपुत्रहरू करिब नब्बे प्रतिशत विपन्नताले दलित हुने गरेका छन् । दलितको अर्थ जातमात्रै होइन भूगोलले ठगिएका, गरिबी र अनेक चरम मनोवैज्ञानिक यातना सहनेहरू पनि दलित नै हुन् । निःशुल्क पढ्न पाइने, कक्षा आठमा राम्रो गर्न सके कक्षा नौदेखि आचार्य तहसम्म निःशुल्क बस्न, खान, प्रत्येक ६/६ महिनामा धोती, कमिज सुरुवालको कपडा पाइने हुनाले विपन्न बालक, किशोर युवा सबैको आकर्षण हुने गथ्र्यो संस्कृत छात्रावास र रानीपोखरी संस्कृत माध्यमिक विद्यालय । पुराना विद्यार्थीहरू कस्ता थिए थाहा भएन तर हाम्रो पुस्ताको अवस्था यही नै थियो ।


कक्षा ६ मा पढ्ने विपन्न परिवारको विद्यार्थी, पहाडबाट आएर कहिले कसका भान्सा, कहिले कसका भान्सा चहार्नुपर्ने, सडकपेटीको बास हुने श्रम गर्दै पढ्नुपर्ने म जस्ताहरू मिलेर कम्युनिष्ट साहित्यको अध्ययन गर्न लाग्यौं । भोटाहिटीमा निरञ्जन गोविन्द वैद्यको पसलमा पाइने चीन पत्रिकादेखि माओ सेतुङका रेडबुकहरू दुई तीन पैसामा नै दिन्थे हामीलाई । चीन पत्रिकाको अर्को आकर्षण थियो : सुन्दर सुकन्याहरूका पोटिला राता गालाहरू । स्याउका सुन्दर दानाहरूको रंगीन तस्वीर । अनि चीनले गरेका प्रगति र माओका विचारहरू । गरिबहरूको मसिहा विचार ।


कक्षामा करिब पैसट्ठी जना थियौं । तीमध्ये केही थोरैमात्र आफ्ना घरको सामल ल्याएर खान्थे र कोठा भाडामा बस्थे । पचासजना जति हुनुपर्छ हामी अरूको भातभान्सामा काम गर्दै पढ्नेहरू थियौं । केही केटीहरू थिए ती काठमाडौं, भक्तपुरका रैथाने बाहुनका छोरीहरू र थोरै नेवार कन्याहरू । उनीहरू घरैबाट धाउँथे । हामी नजानी नजानी कम्युनिष्ट विचारप्रति जोडिँदै गयौं । कक्षाका पैसट्ठी जनामध्ये करिब साठीजनालाई हामीले एउटा कापीमा नाम लेख्दै कम्युनिष्ट बनायौं । हामीलाई अनेरास्ववियुबारे थाहा थिएन । नेपाल विद्यार्थी संघ स्थापना भएको र धेरैजना जेल परेको हल्ला सुनेका थियौं ।


म काठमाडौं गएकै साल वैशाख ६ गते नेपाल विद्यार्थी संघ गठन भएको रहेछ । संस्कृत छात्रावासमा बसेका र रानीपोखरीमा पढ्ने करिब नब्बे प्रतिशत नेपाल विद्यार्थी संघसँग निकट रहेछन् । मेरा बडाबाका छोरा ढुण्डिराजसहित ओखलढुंगातिरबाट आएका माथिल्लो कक्षामा पढ्ने सबैजना नेविसंघमा नै रहेछन् तर हामीहरू कम्युनिष्ट । प्रायः हामी काम गर्दै पढ्नेका मालिकहरू कम्युनिष्टहरू नै थिए । उनीहरूले पनि हामीलाई निरन्तर स्कुलिङ गर्न लागे ।


(ख) निरन्तरको कम्युनिष्ट प्रशिक्षण :

२०२७/०२८ माझापा काण्ड भयो । त्यो काण्डका भूमिगतहरू पनि काठमाडौंमा थिए । उनीहरूले पनि पढाउन लागे । नाम भने हामीलाई थाहा हुँदैनथ्यो । हामी फुर्सदका समयमा कक्षा कोठामा कहिले वक्तृत्व, कहिले वादविवाद र कहिले कविता प्रतियोगिता चलाउँदै निरञ्जन गोविन्दको पसलबाट राता पुस्तकहरू पुरस्कारमा वितरण गर्दथ्यौँ । त्यो समय कांग्रेसको, बीपीको नाम लिनेहरू जेल पुग्थे तर माक्र्स, लेनिन, स्टालिन, माओका विचार, किमका विचार, काकाहोका विचारहरू घरघरमा पुग्थे । पसलमा बिक्री हुन्थे । खुला छुट थियो कम्युनिष्ट साहित्यको बिक्रीवितरणमा तर नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक विचारक पुष्पलाल पनि बीपी जस्तै बर्जित थिए नेपाली शासकीय सोचमा ।


(ग) बल्लभमणिको विचार र कम्युनिष्ट चरित्र :

एक दिनको रमाइलो घटनाको स्मरण भइरहेको छ, एकजना दुब्ला पातला, चिटिक्क सर्ट पाइन्ट मिलाएर लाएका, हसमुख मानिस कमलपोखरीको हामी बस्ने कोठामा आए । मैले पकाउने भान्साको मेसमा करिब चौध पन्ध्र जनामध्ये उहाँका भाइ पर्ने तारामणि दाहाल पनि रहेछन् । भुँइमा मेरो बिच्छ्यौना थियो । भित्र पराल राखेर बाहिर अररो डोरीमा कसेर बनाएको बाक्लो बिच्छ्यौना । मेरा सिरानको भित्तोमा पहिलेदेखि नै राजा त्रिभुवनको ठूलो फोटो झुण्डिएको थियो ।


धेरै कम्युनिष्ट नेताहरू श्रमजीवीका, सर्वहाराका, शोषित पीडितका कुरा गर्थे । तिनीहरूको मुक्तिको कुरा गर्थे । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, दलाल पुँजीवाद, भियतनामको मुक्ति आन्दोलन अनेक विषय हुन्थे । चेग्वेरादेखि फिदेल क्यास्त्रोसम्मका वीरताका कथा हुन्थे ।


उनी ढोकाबाट पस्नासाथ मलाई सोधे तिमी सुत्ने ठाउँ हो यो ? मैले हो भने । उनले सोधे तिम्रो नाम के हो ? मैले भनेँ पुरुषोत्तम दाहाल । उनले त्यो फोटो झिकेर धरर च्याते र चर्को स्वरमा भने : दाहाल भएर पनि राजाको फोटो सिरानमा राख्ने ? वास्तवमा म कम्युनिष्ट भए पनि मलाई फोटाबारे कुनै चासो थिएन । उहाँ हुनुहुँदो रहेछ पूर्वका साम्यवादी विद्वान र साम्यवादी कारखाना सञ्चालक सबैका सर प्रा.वल्लभमणि दाहाल । नियतिले पछि उहाँ पञ्चायतको नियन्त्रणकारी संस्था पञ्चायत नीति तथा जाँचबुझ समितिको शक्तिशाली सदस्य सचिव हुन पुग्नुभयो ।


(घ) संगठन निर्माण :

२०२८ को झापा काण्डपछि भने निकै कडाइ सुरु भयो । हामीले संमाविमा सानो कमिटी पनि बनाएका थियौँ तर त्यसबारे औपचारिक केही थिएन । कुन पार्टीसँगको निकटता हुने हो हाम्रो केही थाहा थिएन । कम्युनिष्ट भए पनि कम्युष्टि पार्टी छ वा छन् भन्ने जान्दैनथ्यौं । बिस्तारै हामीलाई कम्युनिष्ट भएको भन्दै माथिल्लो कक्षाका विद्यार्थीहरू आलोचना गर्न लागे । हामी साथीहरू आफ्नै प्रकारले सक्रिय भयौं । दुईजना साथीहरू मुकुन्द नेपाल र रामप्रसाद सेढाईलाई भने हामीले समूहमा जोड्न सकेनौं । कक्षामा मणिकर्णिका पोख्रेल र केही केटीहरू थिए । उनीहरूमा यस्ता कुराप्रति कुनै रुचि थिएन ।


वाल्मीकिमा पढ्ने कम्युनिष्ट नेताहरू हामीसँग आउन लागे । गाढा सम्बन्ध भएन । कहिले धोबीधारा, कहिले बागबजार, कहिले डिल्लीबजारतिर राति कक्षा चल्थ्यो । लुकेर पढाइहुन्थ्यो । साँझबिहान काम गर्ने, दिउँसो पढ्न जाने अनि राति केही छिन् कम्युनिष्ट विचार पढ्ने हुन लाग्यो । धेरै कम्युनिष्ट नेताहरू श्रमजीवीका, सर्वहाराका, शोषित पीडितका कुरा गर्थे । तिनीहरूको मुक्तिको कुरा गर्थे । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, दलाल पुँजीवाद, भियतनामको मुक्ति आन्दोलन अनेक विषय हुन्थे । चेग्वेरादेखि फिदेल क्यास्त्रोसम्मका वीरताका कथा हुन्थे । अक्टोबर क्रान्ति, लेनिन, स्टालिनको प्रशंसामा शब्द खर्च गर्दै, सोभियत सुधारवादविरुद्ध चर्चा हुन्थे । चारु मजुमदार र कानु सान्थ्यालका चर्चा हुन्थे । लु स्युनका कथाहरू वाचन हुन्थे । राल्फालीहरूले गाउने गरेको ‘गाउँगाउँबाट उठ बस्तीवस्तीबाट उठ’ को विमर्श चल्थ्यो ।


तर, व्यवहारमा हामीलाई पढाउने ती अधिकांश कम्युनिष्ट नेताहरू आफू रक्सी, जाँड टन्न पिउने, कुखुराको मासु नभई भाग नबस्ने, मुखमा गरुड वा क्राइवन नपाए आसा चुरोट नछुट्ने, आइरन गरेका चिटिक्क परेका लुगा लाउने, जुल्फी कोरेर ढल्किदै हिँड्नुपर्ने, कुनै नयाँ सिनेमा लाग्यो कि हलमा पुग्नैपर्ने खालका थिए ।


जेल पर्नेहरूको दुःख फरक थियो होला, पहाड कुनाकन्दरामा बस्नेहरूको अवस्था अर्कै थियो होला तर शहरमा बसेर श्रम गर्ने हामीलाई भियतनामी स्वतन्त्रता आन्दोलन र अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र बेलायती पुँजीवाद, नेपालका बीपी र कांग्रेसबारे पढाउनेहरू फरक थिए । उनीहरू नेपालको कम्युनिष्ट आन्दोलनबारे केही भन्दैनथे । बीपी र कांग्रेसविरुद्ध मात्रै पढाउने काम गर्थे । त्यस समय मैले पढेको पहिलो कृति ‘ग्नु येन भान ट्वाई’ हो । यो कृति अमेरिकी हस्तक्षेपविरुद्ध भियतनामी स्वतन्त्रता आन्दोलनको नायकका विषयमा लेखिएको हो । यो कृति पढ्दै गर्दा मेरा आँसु थामिँदैनथे । असाध्य भावुक हुन्थेँ म ।


स्मृति परीक्षा : अधुरो रेखाचित्रले तान्यो राजनीतिक यात्रामा-३

(ङ) तीन वर्षमा नै परित्यक्त कम्युनिष्ट विचार :

म वार्षिक परीक्षा दिएर घर जाने तयारीमा थिएंँ । राति कम्युनिष्ट काम्रेडसँग पुग्नै थियो । बिहान सानो घटना भयो । म दूध र तरकारी लिन जाँदैथिएँ पसलतिर । हामीसँग राति पढ्ने पूर्वतिर कतैको राई भाइ अलिकति सागको मुठा र चिसो दूधको बोतल काखी च्यापेर आउँदै रहेछ । चप्पल थिएनन् खुट्टामा, आङमा फाटेको कमिजमात्रै थियो । भयानक चिसो थियो मंसिर पुसको दिन । मैले उनलाई सोधेँ : कान्छा तिमी किन चप्पलसमेत नलाई हिँडेको ? उसले भन्यो : सरहरूलाई भन्यो उहाँहरू नोकरले पनि चप्पल लाउने हो र भन्नुहुन्छ । जाडो भयोभन्दा पनि त्यसै भन्नुहुन्छ तर आफू चाहिँ रक्सी र मासु टन्न धोक्नुहुन्छ ।


बेलुका त्यो भाइ पनि कोठामा थियो पढ्ने हारमा । बिजुली सारै मधुरो हुने भएकाले मट्टितेलको धिप्री पनि बालेको थियो । संयोगबस त्यही राई बालक बसेको काम्रेड मालिक मास्टर त्यस दिन पढाउन आउनुभएछ । मैले उठेर त्यो बच्चाको कुरा उठाउँदै भनेँ : हामी श्रमिक, गरिब, कामदारहरूले कहिले नयाँ लुगा र चप्पल लाउन पाउने हो र तपाईंहरू कुखुराका साप्रा चपाउँदै, रक्सी खाँदै, क्राइवन चुरोटको सर्को तान्दै हामीलाई शोषित, पीडित, श्रमजीवीहरूको मुक्तिका कथा पढाइरहने हो काम्रेड ? के यही हो साम्यवाद ? कहिले र कसबाट हुन्छ हाम्रो मुक्ति ?

मेरो प्रश्नले ती गुरु काम्रेड क्रूद्ध भएर मलाई तुरुन्त भने : गेट आउट । यस्तो प्रश्न यहाँ सोध्ने होइन । त्यसपछि म त्यो कम्युनिष्ट ढोकाबाट बाहिर निस्केँ र त्यो कम्युनिष्ट नामको स्वप्नजीवी भ्रमको बन्दी ढोकाभित्र कहिल्यै प्रवेश गरिनँ । मलाई अहिले लाग्न लागेको छ स्वर्ग र नर्कको अलौकिक कथा बताएर गरिने कर्मकाण्ड, साम्यवादको सपना देखाएर लिइने सत्तामोज र भोज समान हुन् । यिनमा कुनै तात्विक अन्तर छैन । व्यक्त गर्ने शैली र साधनमात्रै फरक हुन् ।


हाम्रो भेलामा अकस्मात् मण्डलेहरूको जमात हलभित्र पस्यो र भकाभक हामीलाई पिट्न सुरु गरेँ । बागबजारका एकजना फोटो स्टुडियोको मालिक, ल क्याम्पसका निरन्जन थापा, अरू कुनै क्याम्पसका पदम ठकुराठी, उत्तम राई, दीपक बोहोरा, धोवीधाराका नामुद मण्डले गुण्डा कुनै पौडेलहरूले हातमा फलामका छड लिएर पिट्न लागे ।


एक वर्षसम्म स्वतन्त्रताको, साम्यवादको, नेपालमा नेपाली कांग्रेस र कम्युनिष्टहरू बारे थोरै पढेपछि मैले २०३१ सालमा औपचारिक रूपले नेपाल विद्यार्थी संघको सदस्यता लिएको हूँ । त्यसबेला संस्कृत छात्रावासमा बस्ने बडाबाका छोरा ढुण्डीराज, लक्ष्मीनारायण न्यौपाने (डोल्पा) इन्द्रमणि अधिकारी (काभ्रेपलाञ्चोक) हरि अधिकारी (धादिङ), शिवप्रसाद भट्टराई ( काठमाडौं गैरीधारा) केशव अधिकारी (रौतहट), श्याम न्यौपाने (ललितपुर) मिलेर मलाई सदस्यता दिएका हुन् । त्यसपछि जतिसुकै दुःख र कष्ट भोग्नुपरे पनि मेरो लोकतान्त्रिक आन्दोलन, मानव अधिकार, प्रेस स्वतन्त्रताको यात्रा निरन्तर छ । यी पंक्ति लेख्दै गर्दा लोकतान्त्रिक आन्दोलनमा व्यतीत मेरो समयले पचास वर्ष पूरा गरेको छ ।


तर, साम्यवादी कित्ताको विचार, आन्दोलनमा सहानुभूति र समर्थन गर्ने धेरै मेरा आदरणीय छन् । यसै बेला असल मानिस त्रिलोचन मैनाली, लक्ष्मीप्रसाद, प्रेम मैनाली, खेमनाथ दाहाल, वसन्त श्रेष्ठ, रमेशचन्द्र पौडेल, नारायण भट्टराई (तेह्रथुम), तोयनाथ भट्टराई, मदन दाहालहरूसँग मेरो संगत भयो । परिचय त एन.के.प्रसाईंसँग पनि भयो । राजनीतिमा स्वतन्त्रताका पक्षधर केही विद्वानहरू वासुदेव उप्रेती, अभि सुवेदी, एकराज आचार्यहरू पनि यसै सन्दर्भमा परिचित हुनुभएको थियो । हाम्रो जिल्लाबाट प्रखर मानिनु हुने तुलसी भट्टराई, मणि भट्टराई, दुर्योधन गिरिहरूसँग पनि मेरो परिचय भएको थियो ।


(६) मण्डलेको गोदाइ र टाउकाको चोट :

म कक्षा नौमा पढ्न लागेपछिका दुईवटा घटनाहरू मेरो स्मृतिमा छन् । पहिलोमा उपत्यका छात्र कार्य समितिको सम्मेलनको आयोजन हुने भए छ । सभापति रहेछन् दीपकराज जोशी । उनी कानुन क्याम्पसमा पढ्दै थिए (पछि सर्वोच्च अदालतको कार्यवाहक प्रधानन्यायाधीश भएर सेवानिवृत्त भए) । रानीपोखरीबाट प्रतिनिधिमा श्रीराम अधिकारी ( धादिङ) ले मलाई पनि समावेश गरेछन् । उनी रानीपोखरी संस्कृत पाठशाला छात्र कार्यसमितिका सभापति थिए । उपत्यका छात्र कार्यसमितिका कोषाध्यक्ष पनि उनी रहेछन् । सबैतिर राजनीतिक विद्यार्थी समितिहरूमाथि निषेध गरिएको भए पनि संस्कृत माध्यमिक विद्यालयमा भने हरेक दुई वर्षमा निर्वाचन भएर कार्य समिति बन्ने गथ्र्यो ।


शिवप्रसाद भट्टराई (न्यायशास्त्रका प्रख्यात विद्वान् पदमप्रसाद भट्टराईका छोरा) इन्द्रमणि अधिकारी, विश्वनाथ गौतम, श्याम न्यौपाने र श्रीराम अधिकारीसहित म पनि सम्मेलनस्थल पद्मोदय माध्यमिक विद्यालयको सिरान तलाको हलमा पुग्यौं (अब त त्यो भवन र हल छैन, नयाँ भवन बनेको छ २०७२ को भूकम्पपश्चात्) सबैको नाम रजिस्ट्रेसन हुँदै थियो । मैले दीपकलाई एक वर्ष पहिले नै चिनेको थिएँ कुनै सन्दर्भमा । शान्ति विद्यागृह हो वा जुद्धोदयमा पढ्ने मुकुन्द सिटौला (नुवाकोट), भरत पुडासैनी काठमाडौंसहितका अनेक साथीहरू भेला भएका थिए । अकस्मात् मण्डलेहरूको जमात हलभित्र पस्यो र भकाभक हामीलाई पिट्न सुरु गरेँ । बागबजारका एकजना फोटो स्टुडियोको मालिक, ल क्याम्पसका निरन्जन थापा, अरू कुनै क्याम्पसका पदम ठकुराठी, उत्तम राई, दीपक बोहोरा, धोवीधाराका नामुद मण्डले गुण्डा कुनै पौडेलहरूले हातमा फलामका छड लिएर पिट्न लागे ।


हामी सबै निरीह भयौँ । हामीसँग कलमबाहेक केही पनि थिएन । साथीहरूले निकै पिटाइ खानुभयो । मेरो पछाडिपट्टि टाउकोमा घाउ भएछ, रगत बग्न लाग्यो र कसैले नजिकैको मेडिकल हलमा लगेर औषधि गराए । त्यो घाउको डोब अझै छ मेरा टाउकोमा । यस बेला म कमलपोखरीमा झापाका पुरुकुमार थापा, लक्ष्मीप्रसाद मैनाली र प्रेमप्रसाद मैनालीसँग बस्थे । उहाँहरू असाध्य सहृदयी हुनुहुन्थ्यो । म घाइते भएर आएपछि भन्नुभयो : राजनीतिको चस्का तिमीलाई धेरै भएछ । अनि भातभान्सा र भोजन पानीको काम उहाँहरू आफैँले केही दिन गर्नुभयो । मलाई असाध्य सेवा गर्नुभयो बिरामी भएको समयमा । असल मानिसको स्वभाव र गुण कहिल्यै बिर्सिँदो रहेनछ ।


(७) पहिलो संस्थागत राजनीतिमा सचिव :

यसको लगत्तै छात्र कार्यसमितिको निर्वाचन भयो, सायद २०३० सालमा हुनुपर्छ । शंकर अधिकारी सभापति पदमा उठे । हामी सहपाठी थियौं । मलाई उनले सचिवमा उठ्न भने र म पनि उम्मेदवार भएँ । हामीले पहिले कम्युनिष्ट बनाएका कक्षाका साथीहरूमध्ये एकजनाबाहेक सबै नेविसंघमा संलग्न भएपछि हामी सजिलै विजयी भयौँ तर ती एकजना साथीले हरक्षण मलाई सहयोग गरेँ । कलेजमा त उनको गुन निकै रहृयो मलाई । ती थिए हरि सुवेदी । कक्षा ६ बाट शम्भु पोख्रेल निर्वाचित भएका थिए । उनी काठमाडौंको नगर राजनीतिमा निकै चर्चित महामूर्ख टंकप्रसादका छोरा रहेछन् । उनी समयान्तरमा मेरा ससुरालीतिर मामा हुन पुगे । यी पंक्ति लेखिँदै गर्दा उनको देहावसान भएको जानकारी पाएको छु । नुवाकोटका मुकुन्द नेपाल पनि समितिमा थिए । उनी पछिल्ला दिनमा त्यति सक्रिय देखिएनन् ।


रानीपोखरी संमावि छात्र कार्यसमितिको सचिव भएपछि मेरो राजनीतिक यात्रा संस्थागत हुँदै गयो । छात्र कार्यसमितिले वादविवाद, कविता, वक्तृत्व, खेलकुद प्रतियोगिता गरिरहन्थ्यो । विद्यालयको जन्मदिन मनाउँथ्यो । कक्षाका साथीहरू सुदर्शन आचार्य (गोलढुंगा), जीवनाथ लामिछाने, हेमनिधि नेपाल, कृष्णप्रसाद भट्टराई, होमप्रसाद गृहस्थी, प्रेमप्रसाद गैरे, दामोदर पोख्रेल, जयराम पोख्रेल, मुकुन्द पौडेल (फर्पिङ), वासुदेव रेग्मी, बद्रीनाथ अधिकारी, अच्युत रिजाल, मुकुन्द गौतम, अच्युत गौतम, गोकुल सापकोटा (काभ्रे), नारायण सापकोटा सिन्धु, अनन्त सापकोटा, राममणि लुइँटेलहरू निकै सक्रिय थिए ।


हामी छात्र कार्यसमितिमा भएको समय विद्यालयको वार्षिकोत्सवमा र उपयुक्त समयमा कार्यक्रमहरू हुने गर्थे । विद्यालयको वार्षिकोत्सवमा बालकृष्ण सम, माधव घिमिरे, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, सूर्यविक्रम ज्ञवाली जस्ता साहित्यकारदेखि त्यस समयका शासकीय पदाधिकारीहरू पनि आउने गर्थे । खेलकुद, वादविवाद, कविता, निबन्ध, वक्तृत्वकला प्रतियोगिताहरू सहित हाजिरी जवाफ भइरहन्थे ।


विद्यालयको जन्मदिनमा तल्लो कक्षाका साथीहरूलाई पनि हामी प्रेरित गरिरहेका हुन्थ्यौँ । त्यसबेला रमा आचार्य, यशोदा गौतम, यशोदा अधिकारी, कृष्णा श्रेष्ठ, सुशीलासहित अनेक नामका केटीहरू पनि पढ्थे । हामीसँगै कक्षा आठसम्म पढेकी मणिकर्णिका पोख्रेल भने विद्यालय परिवर्तन गरेर कतै गएकी थिइन् सायद लेब्रोटरी मावितिर हो कि । यादव भण्डारी पनि भानुमा गएका थिए । कक्षा ६ मा पढ्न आएका प्रतिभाशाली चूडा निरौला पनि अन्तै हिँडेका थिए । तनहूँ, लमजुङ र गोरखाबाट कक्षा आठ पूरा गरी आएका विष्णुहरि पौडेल, सुदर्शन सुवेदी, सूर्यमोहन काफ्ले, तीर्थराज अधिकारी, टुकनाथ अधिकारी, रामनाथ काफ्ले, विष्णुभक्त पौडेल, जीवन अधिकारी, चन्द्रमणि अधिकारी, रामराज सुवेदी, पूर्वतिरबाट आएका हरि पौडेल जस्ता साथीहरूको ठूलो पंक्ति थियो । भोजपुरबाट आएका देवेन्द्र न्यौपाने भने राल्फा आन्दोलनबाट प्रभावित थिए । तैपनि हामीलाई सहयोग गर्थे ।


हामी छात्र कार्यसमितिमा भएको समय विद्यालयको वार्षिकोत्सवमा र उपयुक्त समयमा कार्यक्रमहरू हुने गर्थे । विद्यालयको वार्षिकोत्सवमा बालकृष्ण सम, माधव घिमिरे, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, सूर्यविक्रम ज्ञवाली जस्ता साहित्यकारदेखि त्यस समयका शासकीय पदाधिकारीहरू पनि आउने गर्थे । खेलकुद, वादविवाद, कविता, निबन्ध, वक्तृत्वकला प्रतियोगितासहित हाजिरी जवाफ भइरहन्थे ।


सुरुमा विश्वनाथ पोख्रेल, अनि विष्णुप्रसाद न्यौपाने र तेजकेशरी शर्मा प्रधानाध्यापक हुनुभयो । अध्यापन गराउनेमा पाका गुरुहरू बद्रीनाथ शर्मा, इन्दुनाथ प्याकुर्‍याल, साहित्यकार गोमा, शुकदेव पौडेलदेखि भरतमणि रिसाल, सिद्धिनाथ गौतम, दामोदर ढकाल, साम्वराज आचार्य, श्रीकृष्ण अधिकारी, दुर्गाप्रसाद दाहाल, विदुरप्रसाद पौडेल, उपेन्द्र ढुंगाना, दामोदरनाथ लोहनी, कृष्णचन्द्र न्यौपाने, अंग्रेजीमा मल्ल सर आदि हुनुहुन्थ्यो । इन्दुनाथ गुरु र कृष्णचन्द्र गुरु असाध्य रमाइलो । शुकदेव गुरु हिन्दी र संस्कृतमा मात्रै सम्वाद गर्नुहुन्थ्यो । समयान्तरमा अरू गुरुहरू पनि आउनुभयो मेरो स्मृतिमा त्यति रहनुभएको छैन । तेजकेशरी शर्मा दार्शनिक जस्तो हुनुहुन्थ्यो, विष्णु गुरु वेदान्ती, विश्वनाथ गुरु विद्यार्थीका असाध्य सहयोगी पनि । पछि यीमध्ये धेरैजना वाल्मीकि विद्यापीठमा प्राध्यापनमा पुग्नुभयो भने भरतमणि, दामोदरनाथसहित केही सरकारी सेवामा । उहाँहरू कसैले पनि हाम्रा राजनीतिक र सांगठनिक अभ्यासलाई निषेध गर्नुभएन, बरू प्रोत्साहित नै गर्नुभयो ।


(८) तीनधारा संस्कृत छात्रावास प्रवेश :

यहीबीचमा संस्कृत छात्रावासमा केही सिट खाली भएछन् र अन्तर्वार्ता हुनेभयो । व्याकरण विषयका प्रकाण्ड विद्वान् शुकदेव पौडेल गुरुको स्नेह र ढुण्डीराज दाजुको सहयोगले म छात्रावासमा पुग्ने भएँ । सरासरमा त मेरो नाउँ थिएन तर प्रतीक्षा सूचीको १३ नं मा परेको थिएँ । सायद प्रतीक्षासूचीमा तीसजना जति थिए । कमलपोखरीबाट पुरु दाइ, लक्ष्मी दाइ र प्रेम दाइले छात्रावासमा प्रवेश गर्दा पनि आवश्यक सामान आदिका लागि सहयोग गर्नुभयो । १२ जना प्रतीक्षासूचीका छात्रावास पुगेपछि मेरो पालो आयो । सरकारको अधिकृत पदमा लोकसेवा दिएर उत्तीर्ण ध्रुव वाग्ले हुनुहुँदो रहेछ । कसैले मलाई भने : गोरखाका ती वाग्ले दाजुसँग कुरा गरिस् भने उहाँले तुरुन्त सिट खाली गरिदिनुहुनेछ । नत्र अरू एक महिना लाग्न सक्छ ।


मैले ध्रुव वाग्लेसँग कुरा गरेँ । उहाँले भन्नुभयो : ल भाइ रहेछ । म आजै राजीनामा दिन्छु । तिमी भोलि नै छात्रावासमा लुगाफाटो बोकेर र ग्लास र थालका डिपोजिट राख्ने पैसा ल्याउन नबिर्सनू । त्यो डिपोजिट छात्रावासबाट निस्केका समयमा फिर्ता पाइने हुन्छ । म तुरुन्त कमलपोखरी पुगेर लक्ष्मी दाजुहरूलाई जानकारी दिएँ । उहाँहरूले केही लुगा किन्ने, डिपोजिट राख्ने र केही थप पैसासमेत दिनुभयो । छात्रावास निर्दलीय पञ्चायतविरोधी राजनीतिको मियो जस्तै थियो त्यस बेला पनि । त्यहाँ वैचारिक रूपले पनि दीक्षित हुने अवसर मिल्नेमा म ढुक्क थिएँ । क्रमशः


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक