अझै पनि ग्रामीण क्षेत्रमा कात्तिक स्नान गर्ने परम्परा रहेको छ । कात्तिक स्नान गर्ने श्रद्धालुहरु असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म हरेक बिहान सूर्योदय हुनुपूर्व नै स्नान गर्ने तथा महिनाभर साकाहार भोजन गर्दछन् ।कात्तिक स्नानको समापन गंगामा गर्दा पूर्ण फल प्राप्त हुने विश्वास रहेको छ ।
कात्तिक महिनाभर कुनै कारणले स्नान गर्न नसकेमा पूर्णिमाको दिन नदी किनारमा निष्ठापूर्वक जाग्राम बसी गंगा सेवन गरेमा पनि कात्तिक स्नानको पुण्य प्राप्त हुने लोकविश्वास रहेको छ ।
कात्तिक पूर्णिमाको दिन गंगा स्नान गर्न रौतहट र सर्लाहीबाट अझै पनि पटनादेखि अयोध्यासम्म मानिसहरु जाने गरेका छन् । कतै जान नसक्नेहरु गंगा नदीमा गएर मिसिने बागमतीमा स्नान गर्दछन् । बागमती नदीका साथै बकैया र अन्य सहायक नदीमा एकै दिन हजारौँले स्नान गरेका छन् ।
केही दिनदेखि मौसम खराब भएर अत्यधिक चिसो भए पनि आस्थावान सर्वसाधारणले कठांग्रिँदो जाडोमा पनि गंगा सेवन र गंगा स्नान गरेका छन् । रौतहट र सर्लाहीमा दुई दिनदेखि घाम नलागी बाक्लो कुहिरो लागेको छ ।
गंगा स्नानका लागि बागमती नदीको रौतहट तथा सर्लाहीतिरका दुई दर्जनभन्दा बढी घाटका साथै बकैया, लमाहा र अन्य सानातिना खोलाहरुमा हजारौँ ट्रयाक्टर, जिप, मोटरसाइकलहरु पुगेका थिए । यातायातको साधनको उपलब्धता तथा सडकको सहज पहुँच भएपछि कात्तिक पूर्णिमा स्नान गर्नेको संख्यामा हरेक वर्ष वृद्धि हुँदै गएको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।
कात्तिक स्नान हाम्रो समाजको संस्कृति रहेको र गंगा स्नान गर्ने श्रद्धालुको संख्यामा हरेक वर्ष वृद्धि भइरहेको स्थानीय कामेश्वर सहनीको भनाइ छ । बागमती नदीको चिसो सिरेटोको कुनै परवाह नगरी हजारौँ श्रद्धालु रातभर नदी किनारमा जाग्राम बसेको तथा आस्थाको डुबुल्की लगाएर पुण्य प्राप्ति गरेको सहनीको भनाइ छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक