20241112

चीनको जुखाईस्थित एउटा रङ्गशालामा व्यायाम गरिरहेका मानिसहरूको भिडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्‍यु, ४३ जना घाइते

 चीनको जुखाईस्थित एउटा रङ्गशालामा व्यायाम गरिरहेका मानिसहरूको भिडमा कार जोतिँदा कम्तीमा ३५ जनाको ज्यान गएको छ। सोमवारको घटनामा अरू ४३ जना घाइते भएका अधिकारीहरूले बताएका छन्। विवरणमा जनाइएअनुसार फान थर भएका ६२ वर्षीय चालकले अवरोधलाई तोड्दै एसयूभीलाई जुखाई स्पोर्ट्स सेन्टरभित्र छिराएका थिए। स्थानीय प्रहरीले घटनालाई “गम्भीर तथा अमानवीय आक्रमण” भनेका छन्।  सञ्चारमाध्यमका अनुसार घटनामा घाइते हुनेहरूमा वृद्धवृद्धा, युवा र बालबालिका पनि छन्। घटनापछि भाग्न खोजेका चालकलाई प्रहरीले पक्राउ गरेको थियो।

एउटा महत्त्वपूर्ण गैरसैनिक तथा सैनिक हवाई प्रदर्शनीको आयोजना भइरहेको जुखाईमा कडा सुरक्षा व्यवस्था मिलाइएका बेला घटना भएको हो।

प्रहरीका अनुसार ती कारचालक हालै भएको सम्बन्धविच्छेदको घटनामा सम्पत्ति बाँड्न परेकोमा दुःखी थिए।

यद्यपि आफैँले आफ्नो घाँटी काटेका उनी अहिले कोमामा छन्। त्यो भएर प्रहरीले उनलाई सोधपुछ गर्न सक्ने अवस्था छैन।

चेन नाम गरेका एक प्रत्यक्षदर्शीले चिनियाँ म्यागजीन 'साइसिन'लाई बताएअनुसार घटना हुने बेला कम्तीमा छवटा समूह नियमित हिँडाइका लागि उपस्थित थिए।

चेनका अनुसार उनको समूहका सदस्यहरूले रङ्गशालामा तीन राउन्ड हिँडाइ पूरा गरेको समयमा तीव्र गतिमा आएको कार अचानक भिडमा जोतिएको थियो, जसले “धेरै जनालाई लडायो”।

अनुसन्धान जारी

रङ्गशालादेखि ४० किलोमिटर मात्र टाढा मङ्गलवार सुरु भएको ‘एअरशो चाइना’ सँग घटनाको सम्बन्ध रहे वा नरहेको स्पष्ट हुन सकेको छैन।

उक्त प्रदर्शनीमा चीनले आफ्ना नयाँ लडाकु विमान तथा ड्रोनहरूको प्रदर्शन गर्दै छ। कार्यक्रममा उच्च रुसी अधिकारी सेर्गेई शोइगु सहभागी हुने अपेक्षा गरिएको छ।

जुखाई स्पोर्ट्स सेन्टरको व्यवस्थापनका अनुसार हवाई प्रदर्शनीलाई ध्यानमा राखी उक्त केन्द्रका विभिन्न आगमन तथा बहिर्गमन बिन्दुहरू बन्द गरिएका छन्।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नछाड्न निर्देशन दिएका छन्। साथै उनले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन्।

जवाफस्वरूप केन्द्र सरकारको तर्फबाट एउटा टोली परिचालन गरिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

चीनमा पछिल्ला महिनाहरूमा सार्वजनिक स्थानहरूमा कैयौँ हिंसाका घटना भएका छन्।

गत सेप्टेम्बरमा एक व्यक्तिले साङ्घाईस्थित एउटा किनमेल केन्द्रमा चक्कु प्रहार गरी तीन जनाको हत्या गरेका थिए भने कैयौँलाई घाइते बनाएका थिए।

सोही महिना दक्षिणी चीनमा आफ्नो विद्यालयनजिक चक्कु हमलामा परेका एक १० वर्षीय जापानी विद्यार्थीको आक्रमणमा परेको एक दिनपछि मृत्यु भएको थियो।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक