काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण पनि बढिरहेको छ । जाडो बढेसँगै काठमाडौं उपत्यकाको आकाश खुल्न छोडेको छ । प्रदूषणका कारण केही दिनदेखि काठमाडौं धुम्म परेको छ । वायु प्रदूषणका कारण केही दिनयता बिहान आकाश धुम्मिने गरेको छ । बिहान मात्रै होइन दिउँसो पनि राम्ररी घाम लाग्ने गरेको छैन । काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा तुँवालो लाग्ने गरेको छ । काठमाडौंमा मात्रै होइन देशका अन्य भागमा पनि प्रदूषणको असर देखिएको छ । पश्चिम तराईंका केही स्थानमा कुहिरो र पूर्वी तराईका भूभागमा हल्का हुस्सु लाग्ने गरेको छ ।
वायुमण्डलमा पिएम २.५ लगायत वायुमण्डल प्रदूषित गर्ने कण र ग्यासहरू बढ्दै गएको वातावरण विज्ञ बताउँछन् । हिउँद याममा चिसो मौसम बढेपछि सूर्यको ताप कम हुन गई त्यस्तो प्रदूषण जमिन नजिकैको वायुमण्डलीय तहमा रहने हुँदा वायु प्रदूषण अझ बढी देखिने गरेको उनीहरूको भनाइ छ । विशेषगरी काठमाडौंको रत्नपार्क, शंखपार्क, ललितपुरको खुलटार, भैँसेपाटी क्षेत्रको वायु बढी अस्वस्थकर हुने गरेको छ । मंगलबार पनि यी ठाउँको वायुको गुणस्तर कमजोर देखिएको थियो । काठमाडौंको खुमलटारमा मंगलबार दिउँसो एक्युआई १७० पुगेको थियो । जुन संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । यसैगरी, मंगलबार दिउँसो रत्नपार्क क्षेत्रको एक्युआई पनि १५० कटेको थियो । महाराजगञ्ज क्षेत्रमा पनि हावाको गुणस्तर एक्युआई १५० कटेको थियो ।
पछिल्लो समय न्यूनतम र अधिकतम तापक्रम निरन्तर घटिरहेकाले वायुमण्डमा रहेको धुवाँ, धुलो उडेर अन्यत्र जान नसकेको विभागले जनाएको छ । विभागका अनुसार अहिले नेपालको वायुमण्डलमा दिल्लीको प्रदूषणको असर पनि देखिएको छ । वातावरण विभागले देशभरका स्टेसनमार्फत वायुको गुणस्तर मापन गर्दै आएको छ । काठमाडौंको रत्नपार्क, चितवनको भरतपुर, ललितपुरको खुमलटारमा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्युआई) अस्वस्थ बनेको छ । यसैगरी, भक्तपुर, नेपालगञ्ज, धनकुटामा वायुको गुणस्तर केही संवेदनशील समूहका लागि अस्वस्थ रहेको छ भने अछाम र शंखपार्कको हावाको अवस्था मध्यम खालको छ । २०७७ सालमा काठमाडौं विश्वमै सबैभन्दा बढी प्रदूषित शहर बनेको थियो । त्यतिबेला एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४०० नाघेको थियो ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्समा मापन गरिन्छ । एयर क्वालिटी इन्डेक्स ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई ठिकै मानिन्छ । तर, १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । तीन पुग्नु भनेको जोखिमपूर्ण हो । तीन सयभन्दा माथि जानु भनेको स्वास्थ्यका लागि घातक मानिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा मृत्युको एक प्रमुख कारक भनेको वायु प्रदूषण हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष वायु प्रदूषणका कारण संसारभर करिब ७० लाख व्यक्तिको मृत्यु हुने गरेको छ । विश्वमा हरेक दशमध्ये नौजनाले प्रदूषित हावामा सास फेर्ने गर्दछन् ।
भारत-पाकिस्तानमा फैलिएको प्रदूषणको असर
हिउँदमा हावा कम चल्ने र पानी पनि कम पर्ने हुँदा प्रदूषणको मात्रा बढ्ने विज्ञ बताउँछन् । तत्काल पानी पर्ने सम्भावना नरहेकाले पनि वायुमण्डलमा भएका धुलो र धुवाँका कण हट्ने देखिएको छैन । यद्यपि, आज (बुधबार)देखि प्रदूषण केही घट्ने अनुमान गरिएको छ । वातावरण विभागका अनुसार वायु प्रदूषणको मुख्य कारणको रूपमा उद्योग कलकारखाना र सवारीसाधनबाट निष्काशन हुने धुवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन् ।
दुई सातादेखि भारतका पञ्जाब, हरियाणा र उत्तर प्रदेशबाट फैलिएको वायु प्रदूषणको असर नेपालसम्मै पनि आइपुगेको छ । त्यहाँका किसानले बालीनाली थन्क्याएपछि लगाउने डढेलो, इँटाभट्टा र उच्च इन्धन खपतका कारण हरेक वर्ष हिउँद लागेसँगै वायु प्रदूषण उत्कर्षमा पुग्ने गरेको हो । पछिल्ला केही सातादेखि भारतको नयाँदिल्ली र पाकिस्तानको लाहोरसहित विभिन्न शहरहरूमा वर्षकै सबैभन्दा उच्च वायु प्रदूषण रेकर्ड भएको छ । जसको प्रभाव नेपालको तराई र काठमाडौं उपत्यकासम्म पनि परेको हो ।
सावधानी अपनाउन आग्रह
वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन रूपमा असर गर्ने अध्ययनको निष्कर्ष छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, श्वास प्रश्वास, मुटु रोगी, दीर्घ रोगी साथै गर्भावस्थाको महिला बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । वायू प्रदूषणका असरहरू विकराल छन् । तर, तिनलाई कम गर्ने उपायहरू नभएका भने होइनन् । प्रदूषित वायुमण्डलमा व्यक्तिगत तवरबाट जोगिन एउटा महत्वपूर्ण उपाय भनेको उपयुक्त मास्क लगाउनु हो । मास्क बिरामीले मात्र होइन, सबैले लगाउनुपर्छ, किनभने मास्कले पिएम २.५ कणहरू रोक्न सक्छ । बाहिरको दाँजोमा घरभित्र प्रदूषण कम हुने गर्दछ त्यसैले जब प्रदूषण बढी हुने बेला घरमा नै बस्न चिकित्सकहरू सुझाउँछन् । यीबाहेक नियमित रूपमा आफ्ना सवारीसाधनको परीक्षण तथा मर्मत गरेर पनि यातायात क्षेत्रबाट हुने प्रदूषण कम गर्न सकिन्छ । यसका अलवा खनिज इन्धनमा आधारित सवारीको साँटो साइकल वा विद्युतीय सवारी प्रयोग गर्न सकिन्छ । सार्वजनिक यातायात सेवा उपयोग गरी निजी सवारीको चाप कम गर्न सकिन्छ । यसका साथै आफ्नो घर वरिपरिका बोट विरुवाको हेरचाह गरेर पनि प्रदूषण नियन्त्रणमा सघाउन सकिन्छ ।
प्लाष्टिकजन्य फोहोर र कृषिजन्य अवशेषहरू नजलाउन अपिल
वातावरण विभागले वायु प्रदूषण हुन नदिन सावधानी अपनाउन अपिल गरेको छ । नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै विभागले सार्वजनिक सूचनामार्फत सावधानी अपनाउन अपिल गरेको हो । उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धुवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलो आदिका कारण प्रदूषण बढ्ने भएकाले प्रदूषणका त्यस्ता कारकहरू उत्सर्जन नगर्न र नगराउनतर्फ जोड दिन विभागले आग्रह गरेको छ । विभागले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्न ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । त्यस्तै, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न अपिल गरेको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक