20241005

Breaking News : इजरेली हवाई आक्रमणहरू बढे, लेबननमा पछिल्ला दुई सातादेखि इजरेलको भीषण क्षेप्यास्त्र हमला हुँदा १,१०० भन्दा धेरै मानिसहरूले ज्यान गुमाए

लेबननमा पछिल्ला दुई सातादेखि इजरेलको भीषण क्षेप्यास्त्र हमला हुँदा १,१०० भन्दा धेरै मानिसहरूले ज्यान गुमाएका छन् भने लेबननको भूमिमा इजरेली फौजले कब्जा जमाएका छन्। यो अवस्था लेबननको एउटा राजनीति दल तथा लडाकु समूह हिज्बुल्लाह र इजरेल बीचको द्वन्द्वका कारण आएको हो। हिज्बुल्लाह लडाकु समूह लेबननको राष्ट्रिय सेनाभन्दा बढ्ता शक्तिशाली छ। उक्त समूहलाई खासगरी त्यहाँका सिया मुस्लिमहरूको व्यापक साथ रहेको छ।

 
लेबनन / बेइरुतमा इजरेली हमला हुँदा झन्डै १५ वर्षदेखि लेबननमा काम गरिरहेकी कास्कीकी सरु गुरुङलाई आफू बसेको घरमा बम खसेको जस्तो लाग्यो। बेइरुतबाट उनले बीबीसीसँग कुरा गर्दै भनिन्, “एकदमै ठूलो आवाज आयो। मैले हामी बसेकै क्षेत्रमा, हाम्रो घरमा नै आक्रमण भएछ भन्ने ठानेँ। अब मर्ने नै भइयो भनेर हात खुट्टा लगलग काँपिरहेको थियो। पाँच सात मिनेटसम्म घर नै हल्लिरहेको जस्तो लाग्यो। मुटु पनि ढुकढुक भइरहेको थियो।” मध्यरात आसपास बेइरुतको दक्षिणमा पर्ने दहिया क्षेत्रमा शृङ्खलाबद्ध विस्फोटन हुँदा उनी सुत्नलाग्दै थिइन्।

विस्फोटन केही रोकिए लगत्तै समाचार हेरेको बताउने उनले त्यसपछि मात्रै केही राहतको सास फेरेकी थिइन्।

उनी भन्छिन्, “डर त्रास जति भए पनि केही भइहाल्यो भने मरिने नै हो। सास हुन्जेल आशा हुन्छ। कहाँ रहेछ, के रहेछ भनेर समाचार हेर्न थालेँ। केही भइहालेको रहेछ भने तुरुन्तै गाडी बोलाएर बाहिर गइहाल्नुपर्‍यो भन्ने पनि महसुस गरेँ। पहिलाकै ठाउँतिर पड्काएको रहेछ भन्ने समाचारमा देखाएपछि अलिकति ढुक्क भयो।”

हिज्बुल्लाहका निशानाहरूलाई लक्षित गर्दै इजरेलले बेइरुतमाथि आक्रमण गरेपछि लेबननमा वैदेशिक रोजगारीमा गएका सिता गुरुङलगायत कैयौँको दैनिकी प्रत्यक्ष रूपमा नै खल्बलिएको छ।

अघिल्लो साता इजरेली सैन्य कारबाहीमा हिज्बुल्लाहका सैन्य कमान्डर हसन नस्रल्लाह मारिएका थिए।

उक्त आक्रमण गरिएको साँझ सरु बेरुतको उत्तर पूर्वमा पर्ने दोरा क्षेत्रमा रहेको आफ्नो कोठामा नै थिइन्।

उनी भन्छिन्, “त्यत्ति बेला शायद साढे ६ बजेतिर आक्रमण भयो। त्यो बेला म भान्सामा खाना बनाइरहेकी थिएँ। एकदमै ठूलो आवाज आयो। घर नै हल्लियो। के गर्ने कता जाने सोच्न पनि सकिएन।”

इजरेलले लेबननमा सिया मुलमानहरूको प्रभाव रहेको क्षेत्रमा जसमा हिज्बुल्लाहको प्रभाव रहेको ठानिन्छ त्यसलाई प्रमुख निशाना बनाइरहेको छ।

तर आफूजस्ता धेरै कामदारहरू इसाई बहुल क्षेत्रमा बस्ने गरेकाले ‘डर र त्रास’मा बसे पनि जोखिममा भने नपरेको गुरुङजस्ता कामदारहरू ठान्छन्।

उनले भनिन्, “हामी बसेको ठाउँबाट बम खसिरहेको ठाउँमा २०-२५ मिनेटमा पुग्न सकिन्छ। हाम्रोले थोरै उत्तर र थोरै दक्षिण क्षेत्र भेट्छ। इसाई क्षेत्र भएकाले सुरक्षित नै छ। तर पछि के हुन्छ थाहा छैन्।”

सरुका अनुसार उनी र उनकी अर्की एक साथी काममा जान छाडेको लगभग दुई हप्ता पुग्यो। कार्यालयहरू बन्द रहेका छन्। यो बीचमा सुरक्षाको कारण देखाउँदै अन्य चार जना साथीहरू पनि उनीहरूसँगै आएर बसेका छन्।

सरुले थपिन्, “कार्यालय बन्द भएकाले बाहिरफेर पनि निस्किरहेका छैनौँ। दिउसोचाहिँ एक दुई चोटि बम पड्केको आवाज सुनिन्छ। तर रात भर बम पडकिन्छ। सुत्नै पाइँदैन।”

नेपाली अधिकारीहरू के भन्छन्?

बेइरुतमा निरन्तर भएका हवाई आक्रमणपछि त्यहाँ सुरक्षा जोखिम बढेको छ र लेबननको यात्रा नगर्न संयुक्त राज्य अमेरिकासहित कयौँ देशहरूले ट्राभल एडभाइजरी जारी गरेका छन्। कतिपय पश्चिमा देशहरूले आफ्ना नागरिकहरूको उद्धार अघि बढाएका छन्।

लेबनन पनि हेर्ने इजिप्टस्थित नेपाली राजदूत सुशील लम्सालले लेबननमा रहेका धेरै नेपालीहरूले पछिल्लो द्वन्द्वले आफूहरूलाई खासै प्रभाव नपारिरहेको धारणा राख्ने गरेको बताउँछन्।

उनले भने, “इजरेली सेना र हिज्बुल्लाहबीचको द्वन्द्व सीया बहुल क्षेत्रमा दक्षिणी लेबननमा छ। बेइरुतमा पनि छ। नेपालीहरू इसाई र सुन्नी मुसलमानहरू भएको क्षेत्रमा बढी रहेकाले त्यत्ति धेरै असर परेको छैन भन्ने कुरा उहाँहरूको छ।”

तर आफूहरूले लेबननको अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले केही नेपालीहरूले बेइरुतबाट फर्कन टिकट काटेको भएपनि विमानस्थलबाट उडान ज्यादै न्यून भइरहेको हुँदा उक्त योजना प्रभावित हुनसक्ने जनाए।

उनले अहिलेको अवस्था हेर्दा लेबननबाट नेपालीहरूको तत्कालै उद्धार गर्नुपर्ने अवस्था नदेखिएको जनाए।

“तर आवश्यकता परेमा हामीले त्यो व्यवस्था गर्नुपर्छ। हामी गर्छौँ।”

इजिप्टस्थित नेपाली राजदूतावासका अनुसार लेबननमा झन्डै १२ सय नेपाली कार्यरत छन् जसमध्ये अधिकांश घरेलु कामदारका रूपमा काम गर्ने गर्छन्। अन्य कतिपय उद्योग, रेस्टुराँ लगायतका क्षेत्रमा पनि काम गर्छन्।

यसै हप्ता नेपालको परराष्ट्र मन्त्रालयले लेबननमा विकसित घटनाक्रमका कारण नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको भन्दै त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको थियो।

परराष्ट्र मन्त्रालयले मन्त्रालयले नेपालीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाउँदै अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको थियो।

मन्त्रालयले लेबननमा रहेका नेपाली र तीनका आफन्तका लागि सहयोग एवं जानकारी उपलब्ध गराउने उद्देश्यले टेलिफोन नम्बरहरू सार्वजनिक गरेपनि त्यसमा एकाध व्यक्तिहरूले मात्रै सम्पर्क गरेको अधिकारीहरू बताउँछन्।

राजदूत लम्सालले द्वन्द्वको पृष्ठभूमि र आफ्ना लागि उपयुक्त हुने कदमबारे केही व्यक्तिहरूले सोधपुछ गरेको जानकारी दिए।

सरुले नेपालस्थित परिवारका सदस्यहरूसँग निरन्तर कुरा गरिरहेको जनाउँदै आफन्तहरूले घर फर्कन भन्ने गरेको उल्लेख गरिन्।

त्यसको जबाफमा उनले चाहिँ काम राम्रो रहेको, फर्किएको अवस्थामा फेरि उक्त देश जान पाइने या नपाइने अन्योल रहेको र आफूहरू बसेको ठाउँ सुरक्षित नै रहेको जस्ता जबाफ दिने गरेकी छन्।

उनले भनिन्, “देशलाई होइन यहाँको एउटा समूहलाई निशाना बनाएको हो भनेर मानिसहरूले भनिरहेका छन्। सबै जना बस्नु भइरहेको छ। त्यही भएर बसौँ न त भन्ने पनि हुन्छ। तर अन्योल पनि भइरहेको छ। छाडेर गएपछि फेरि अर्को ठाउँमा जानु पर्‍यो, पैसा लाग्छ, समय लाग्छ। यस्तै कारणले हामीले यो ठाउँ छाड्न सकेका छैनौँ।”

उनले आफूहरू नेपाली सरकारी निकाय र आप्रवासीसम्बद्ध सङ्घ संस्थाहरूको पनि सम्पर्कमा रहेको जनाइन्।

उनका अनुसार आपत्कालीन उद्धार चाहिएको खण्डमा नेपाल सरकारले त्यसका लागि पहल गर्ने अपेक्षा आफूहरूले गरेको पनि सुनाइन्।

उनी भन्छिन्, “हामी एक दुई जनाले डरलाग्दो छैन भनेर हुँदैन। कतिपय साथीहरू डराइरहनुभएको होला। आज भोलि नै घर जान पाए हुन्थ्यो भएको होला, सरकारले त्यस्तो घर जान चाहनेहरूलाई उद्धार गरिदिए हुन्थ्यो।”

शान्ति सैनिकहरूको अवस्था के छ?

शान्ति सेनाले स्थानीय समुदायलाई सहयोग गर्ने काम पनि गर्छतस्बिर स्रोत,UNIFIL/Twitter

तस्बिरको क्याप्शन,शान्ति सेनाले स्थानीय समुदायलाई सहयोग गर्ने काम पनि गर्छ

लेबननस्थित राष्ट्रसङ्घीय मिसनमा ८७७ नेपाली शान्ति सैनिक कार्यरत रहेका छन्। उनीहरूमध्ये धेरै जना बङ्करमा बस्न बाध्य भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बीबीसीलाई बताए।

उनले भने, “यूनिफिलतर्फका शान्ति सैनिकहरू हिजो (बिहीवार) झन्डै २१ घण्टासम्म निरन्तर बङ्करमा नै बस्नुपर्‍यो। संयुक्त राष्ट्रसङ्घले सुरक्षा जोखिमको तह ३ मा पुर्‍याएको थियो। त्यसपछि हिँडडुल लगायत सबै बाह्य गतिविधि बन्द रहेको छ।”

शान्ति सैनिकहरू तैनाथ रहेको क्षेत्रमा जोखिम बढेको खण्डमा उनीहरूलाई सुरक्षित तुल्याउन चाल्ने कदमबारे संयुक्त राष्ट्रसङ्घले निर्णय लिने नेपाली सेनाका प्रवक्ताले बताए।

उक्त क्षेत्र नजिकै सिरियासँगको सिमानामा पनि अनडोफ भनिने राष्ट्रसङ्घीय मिसन अन्तर्गत ४५० भन्दा बढी नेपाली शान्ति सैनिक कार्यरत छन्।

यूनिफिलका प्रवक्ता अन्ड्रेया टेनेन्टीले बीबीसीसँग कुरा गर्दै शान्ति सैनिकको सुरक्षा उच्च महत्वको विषय रहेको बताए।

उनी भन्छन्, “अहिलेको क्षणमा नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्। उनीहरू ब्लू लाइन (इजरेल र लेबननलाई छुट्याउने काल्पनिक सीमा रेखा)मा तैनाथ छन्। दक्षिण लेबननको तनाव कम गर्न सघाउन उनीहरू अझै पनि प्रतिबद्ध रहेका छन्। उनीहरूको र अन्य सबै कन्टीन्जेन्टहरूको अनुगमन क्षमता ज्यादै सीमित भएको छ।”

उनले हाल शिविरभित्र रहेका शान्ति सैनिकको सुरक्षा उच्च महत्त्वको रहेको जनाए।

उनी थप्छन्, “यदि हिंसा चुलियो र मिसनलाई प्रस्ताव नम्बर १७०१ अनुसार आफ्नो म्यान्डेट पूरा गर्न सम्भव भएन भने के गर्ने भनेर सुरक्षा परिषद्ले छलफल गरेर निर्णय लिनुपर्ने हुन्छ।”

१२ महिनादेखि निरन्तर गोलाबारी भइरहेको क्षेत्रको अनुगमन गर्न र त्यहाँ अन्तर्राष्ट्रिय उपस्थिति जनाउन आफूहरूले बस्ने निर्णय लिएको उनले सुनाए।

उनी भन्छन्, “शान्ति सैनिकहरू त्यहाँबाट फिर्ता गर्ने कुरा सधैँ एउटा विकल्प रहने गर्छ। हामीसँग सबै आकस्मिक सुरक्षाका विकल्पहरू छन्। तर मैलै भनिसकेँ, मिसनले आफ्नो क्षेत्राधिकार भएको ठाउँमा काम गर्न सम्भव नै नहुने बिन्दुमा पुगेपछिको अवस्थामा त्यसबारे विचार गरिनेछ।"

इजरेलले दक्षिण लेबननका विभिन्न ठाउँमा आक्रमण गरिरहँदा हिज्बुल्लाह र इरानले पनि इजरेलमाथि हमलाहरू गरेका छन्।

यसै साता इरानले इजरेलतर्फ झन्डै १८० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो जसमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिएको इजरेली अधिकारीहरूले बताएका थिए।

गएको अक्टोबरमा इजरेलमाथि हमास समूहले आक्रमण गरेयता उक्त मुलुक नेपाली कामदारका लागि सुरक्षित श्रम गन्तव्य नरहेको आवाज उठ्ने गरेको छ।

त्यसको ठ्याक्कै एक वर्ष पुग्न लाग्दा लेबननमा रहेका नेपालीहरूको सुरक्षाबारे पनि त्यस्तै चिन्ताहरू व्यक्त भइरहेका छन्।

तत्काल सुरक्षित रहेको भएपनि भविष्यलाई लिएर लेबननमा रहेका सरुजस्ता अन्य नेपाली श्रमिकहरू अन्योलमा रहेको बुझ्न सकिन्छ।

“हामी आफैँले तीजको अनि दशैँको कार्यक्रमहरू समेत गर्ने गर्थ्यौँ। तर अब यस्तो डर र त्रासको स्थितिमा नगर्ने भन्ने कुरा यो पाली छ। आआफ्नो घरमा बसेर नै हामीले आफ्नो महान् चाड यो पाली मनाउने कि भन्ने सोचिरहेका छौँ।”

लेबननमा पछिल्ला दुई सातादेखि इजरेलको भीषण क्षेप्यास्त्र हमला हुँदा १,१०० भन्दा धेरै मानिसहरूले ज्यान गुमाएका छन् भने लेबननको भूमिमा इजरेली फौजले कब्जा जमाएका छन्।

यो अवस्था लेबननको एउटा राजनीति दल तथा लडाकु समूह हिज्बुल्लाह र इजरेल बीचको द्वन्द्वका कारण आएको हो।

हिज्बुल्लाह लडाकु समूह लेबननको राष्ट्रिय सेनाभन्दा बढ्ता शक्तिशाली छ। उक्त समूहलाई खासगरी त्यहाँका सिया मुस्लिमहरूको व्यापक साथ रहेको छ।
लेबनका राजनीतिक शक्तिहरू त्यहाँका विभिन्न धार्मिक समूह र सम्प्रदायबीच विभाजित छन्।

फ्रान्सबाट स्वतन्त्र हुँदा सन् १९४३ मा सहमति गरिएको एउटा सन्धिअनुसार त्यहाँका राष्ट्रपति मेरोनाइट सम्प्रदायका इसाई, प्रधानमन्त्री सुन्नी मुस्लिम समूहका र सभामुख सिया मुस्लिम समूहका हुनुपर्छ।

यसले लेबननमा उतिबेलाको विभिन्न धार्मिक समुदायको तुलनात्मक आकार झल्काउँछ।
त्यसबेला इसाईहरूको जनसङ्ख्या सुन्नी र सिया मुस्लिमभन्दा धेरै आधाभन्दा बढी थियो।

यद्यपि धेरैले यतिखेर उक्त सन्धिको औचित्य सकिएको ठान्छन्।

अहिले त्यहाँ इसाईहरूको जनसङ्ख्या सिया र सुन्नी मुस्लिमहरूको जनसङ्ख्याभन्दा ३० प्रतिशतभन्दा केही बढी मात्र रहेको अनुमान गरिएको छ।
उक्त सन्धिअनुसार इसाई र मुस्लिमको संसद्‍मा बराबर सीट सङ्ख्या हुनुपर्छ। यद्यपि लेबनन हाल मुस्लिमबहुल देश बनेको छ।

व्यवहारमा भने लेबननमा कुनै एउटा दल वा धार्मिक सम्प्रदायले समग्र शक्ति हासिल गर्दैन।

संसदीय गठबन्धनसाथ सरकारहरू बन्छन् र ठूला निर्णयहरू सहमतिका आधारमा लिइन्छन्।

त्यसले प्राय: राजनीतिक रूपमा निष्क्रिय अवस्था उत्पन्न गर्छ।
हिज्बुल्लाह सिया मुस्लिम लडाकु समूहका रूपमा सन् १९८२ मा बनेको थियो।

लेबननी गृहयुद्धका बेला सोही वर्ष दक्षिण लेबननमा इजरेली फौजले कब्जा जमाएपछि त्यससँग जुझ्न उक्त समूह तयार पारिएको थियो।

इरानबाट आर्थिक सहयोग पाएको यस समूहसँग व्यापक अस्त्र छ। अरबीक शब्द हिज्बुल्लाहको अर्थ “ईश्वरको दल” भन्ने हुन्छ।
औपचारिक रूपमा सन् १९८५ मा स्थापना भएको घोषणा गर्दै हिज्बुल्लाहले इरानमा जस्तै लेबननमा समेत इस्लामिक गणतन्त्र स्थापना गर्न चाहेको जनाएको थियो।

उसले दक्षिण लेबनन र प्यालेस्टिनी भूभागबाट इजरेली कब्जा अन्त्य गर्ने बाचा गरेको थियो।

लेबनन र आसपासका क्षेत्र
सन् २००९ मा उसले जारी गरेको नयाँ घोषणापत्रमा इस्लामिक गणतन्त्र स्थापनाको कुरा उल्लेख छैन। तर आफू इजरेलविरुद्ध रहेको कुरामा उक्त सङ्गठन अडिग छ।

सन् १९९० मा लेबननी गृहयुद्ध अन्त्य हुँदा सबै युद्धरत पक्षले आफ्ना लडाकु समूह भङ्ग गरे पनि हिज्बुल्लाहले त्यसलाई कायमै राख्यो।

उसले देशको दक्षिणमा इजरेली कब्जाविरुद्ध लड्न आफ्नो भूमिका आवश्यक रहेको भन्दै त्यसलाई भङ्ग गरेन।

सन् २००० मा इजरेल अन्ततः उक्त क्षेत्रबाट पछि हट्यो र हिज्बुल्लाले त्यसलाई जितका रूपमा दाबी गर्‍यो।

सन् १९९२ देखि हिज्बुल्लाहले संसद्‍का लागि आफ्ना उम्मेदवार अघि सार्न थालेको थियो।

अहिले लेबननको संसद्‌मा हिज्बुल्लाहका कैयौँ सांसद र सरकारमा मन्त्रीहरू पनि छन्।
उक्त समूह लेबननका अधिकांश सिया समुदायको बसोबास रहेको क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा संलग्न छ।

लेबननमा अन्य दलहरूले समेत आफ्ना प्रभाव क्षेत्रमा त्यस्ता सेवा प्रदान गर्ने भए पनि हिज्बुल्लाहको सञ्जाल त्यस्ता कार्यमा व्यापक रहेको ठानिन्छ।

हिज्बुल्लाह कसरी शक्तिशाली बन्यो?
हिज्बुल्लाहका लडाकुहरू संसारमै सबैभन्दा शक्तिशाली गैरराज्य पक्षका सैनिक मानिन्छन्।

तस्बिरको क्याप्शन,हिज्बुल्लाहका लडाकुहरू लेबननका सैनिकभन्दा शक्तिशाली मानिन्छन्
हिज्बुल्लाहका लडाकुहरू संसारमै सबैभन्दा शक्तिशाली गैरराज्य पक्षका सैनिक मानिन्छन्।

लेबननमा हिज्बुल्लाह त्यति धेरै शक्तिशाली हुनु पछाडिको एउटा कारण उसका लडाकुहरू हुन्।

उसले आफ्ना लडाकुको सङ्ख्या करिब १ लाख रहेको बताए पनि स्वतन्त्र अनुमानमा उक्त सङ्ख्या २० हजार देखि ५० हजार बीचमा रहेको ठानिन्छ।

अस्त्रका हिसाबले समेत हिज्बुल्लाहसँग १,२०,००० देखि २,००,००० लाख बीचमा रकेट र क्षेप्यास्त्र रहेको अमेरिकी थिङ्क ट्याङ्क द सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरन्याश्नल स्टडिज्‌ले जनाएको छ।
हिज्बुल्लाहका लडाकुहरू लेबननका राष्ट्रिय सैनिक भन्दा निकै शक्तिशाली मानिन्छन्।

उक्त समूहले लेबननको राष्ट्रिय सरकारको कमजोरीको समेत लाभ उठाइरहेको छ।

उदाहरणका लागि राजनीतिक दलहरू सहमतिमा आउन नसकेकै कारण सन् २०२२ यता त्यहाँ राष्ट्रपति छैनन्।

केन्द्र सरकार हिज्बुल्लाहलाई उसकै आफ्नै मुद्दामा अगाडि बढ्नबाट रोक्न सक्ने गरी बलियो छैन। - BBC


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक