20241004

प्रकृतिको संरक्षण, समानता, स्वतन्त्रता, विवेक सम्मत आचरण र व्यवहार, न्याय सद्भाव र सहिष्णुता विश्वशान्तिका लागि अपरिहार्य तत्व

 - डा.बालकृष्ण चापागाईं 

मानव सभ्यतामा प्रकोप र त्यसबाट उत्पन्न हुने विपदले ठूलो प्रभाव पार्दै आएको छ । कतिपय प्रकोपका घटना खगोलीय तथा पृथ्वीको विशिष्ट अवस्थिति र स्वभावका कारण हुने गरेका छन् भने कतिपय प्रकोपहरु मानव सिर्जित छन् । विश्वमा मानव सभ्यता, विकास र समृद्धिको चर्चा हुँदै गर्दा पछिल्लो समयमा तीव्रगतिमा देखा परेको जलवायु परिवर्तनसंगै अनेकौ प्रकारका प्राकृतिक विपत्तिले कस्तो दुष्परिणाम निम्त्याउने हो ? भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको छ । जलवायु परिवर्तनको असरका रुपमा हिमाल, पहाड, विशेषगरी चुरेक्षेत्र र तराईका कतिपय स्थलहरुमा पहिरो र बाढीबाट भएको ठूलो क्षति सबैको चिन्ताको विषय भएको छ । २०८१ असोज ११ र १२ गते नेपालका विभिन्न ठाउँमा भएको पानीको अतिवृष्टि बाढी र पहिरोले समस्त नेपालीलाई तर्साएको छ, झस्काएको छ, र अत्यन्तै दुःखित बनाएको छ । जनधनको अपुरणीय क्षति भएको छ । राष्ट्र यतिबेला शोकाकुल अवस्थामा छ ।

निसले पृथ्वी र वायुमण्डललाई क्षतविक्षत र प्रदूषित गर्दा शान्तिका लागि निकै ठूलो खतरा उत्पन्न भइरहेको छ । पृथ्वी, सागर र आकाशको कुनै पनि भागलाई क्षतविक्षत बनाउँदा अशान्तिको स्थिति सिर्जना हुन्छ । यसका लागि मानिस समयमै सजग हुनु आवश्यक देखिन्छ । बाढी,पहिरो र भूकम्पलगाएतका प्रकृति प्रकोपले मानव–सभ्यतामाथि नै सङ्कट उत्पन्न हुन्छ । अझ त्यसमा पनि मानव जातिले आपसी स्वार्थका कारण आणविक युद्ध वा विनाश निम्त्याएर पृथ्वीको सुन्दरता र विविधतालाई नष्ट गर्ने हो भने शान्तिका लागि यो भन्दा ठूलो विडम्बना अरु केही हुन सक्दैन । त्यसैले प्रकृतिको विनास र क्षयीकरण हुनबाट जोगाउनु पर्दछ । यत्रतत्र बाटो खन्ने कार्य, भूमि प्रयोगमा असावधानी र लापर्बाही तथा जनसंख्या वृद्धि बाढी र पहिरो जोखिमका मुख्य कारणहरु बन्न पुगेका छन् । जमिन र माटोको विशेषता, भिरालोपना र मानवजातिका गतिविधिले त्यसलाई प्रभाव पारिरहेको छ । भौतिक विकासका तरिका, सडक सञ्जालको निर्माण गर्दा कति ध्यान पु¥याईयो ? यस विषयमा पनि गम्भीर हुनुपर्ने स्थिति सिर्जना भएको छ ।

प्रकृति र मानव सभ्यता माथि नै ठूलो नोक्सानी पुग्ने गरी हुने वस्ती विकास र शहरीकरणले झनै ठूलो संकट उत्पन्न गराएको हुन्छ । शान्तिका लागि वाधक तत्वको रूपमा आर्थिक, राजनीतिक एवम् सामाजिक भेदभाव, शोषण, दमन र अत्याचार पनि विशेष कारणका रुपमा रहेका हुन्छन् । प्रकृतिको संरक्षण गर्नु मानवजातिको पहिलो कर्तव्य हो । तर यसलाई मानिसले क्षतविक्षत बनाईरहेको हुँदा बाढी,पहिरो र बेलाबेलामा भूकम्पजस्ता विपद्का घटनाहरु दोहोरिरहेका छन् । समाजमा अशान्ति हुनुका कारणहरु मध्ये स्वतन्त्रता प्राप्त नहुनु, जातीय भेदभाव रहनु, समान अवसर प्राप्त नहुनु, चरम गरिबी, भोकमरी र अराजकताको स्थितिबाट समाज आक्रान्त हुनु मुख्य रहेका हुन्छन् । समग्रमा अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरू, पृथ्वी, जल थल र आकाश, अन्तराष्ट्रिय, क्षेत्रीय, देश, समाज र विभिन्न समुदाय, परिवार र व्यक्तिमा अशान्तिको वातावरण निर्माण हुनु शान्तिका लागि बाधक तत्वको रुपमा रहेका हुन्छन् ।

शान्तिका लागि मनुष्य र समस्त प्राणीजातिले आश्रय लिइरहेको पृथ्वी सुरक्षित र शान्त रहिरहनु पर्छ । पृथ्वीसँग जोडिएका अन्य ग्रह, ब्रम्हाण्डीय चट्टान र नक्षत्रहरू बीच टकारावको स्थिति उत्पन्न हुन गयो भने पनि शान्तिका लागि गम्भीर समस्या उत्पन्न हुन्छ । मानिसको उत्पत्ति भए यता जीवनयापन, उत्पादन र विकासका नाममा पृथ्वी माथि भएको दोहन र अतिक्रमणले पारेको नकात्मक प्रभावका कारण त्यसले निम्त्याउने वातावरणीय सङ्कटले पनि शान्तिका लागि नकारात्मक असर पार्दछ । मानिसमा शील (सदाचार), समाधि (चित्त एकाग्रता) र प्रज्ञा (बुद्धि–विवेक) ले शान्ति पाप्त हुन सक्छ । सम्यक दृष्टि (ठीक समझदारी), सम्यक संकल्प (ठीक नियत र सोचाइ), सम्यक वचन (ठीक बोली) ले समाजमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्छ । शान्ति भनेको कसैलाई कुनै काम गर्नका लागि अवरोध नभइकन स्वतन्त्रपूर्वक कार्य गर्न पाउने वातावरण हो । प्रकृतिलाई पनि आफ्नो नियम अनुसार अघि बढ्न अवरोध गर्दा अशान्ति निम्तिने खतरा रहिरहन्छ । प्रकृतिमैत्री र जनमैत्री व्यवहार शान्तिका आधार हुन् । शान्ति, समृद्धि, सिर्जना र विकास एक अर्काका परिपूरक छन् ।

मानव समाजमा प्रकृतिमैत्री वातावरण, सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसँग अन्तर्सम्बन्धित छन् । मानवीय जीवनमा मन र विचारको अन्तद्र्वन्द्व भइरहन्छ । मनले स्वतन्त्र विचरण गर्न खोज्छ । यसलाई लगाम लगाएर हिँडाउने काम विचारले गरेको हुन्छ । मानव सभ्यताको विकास पनि विचारको सञ्चारकै कारण हुँदै आएको हो । विचार पनि विविध प्रकारका हुन्छन् र रहेका छन् । विविध विचार मध्ये समाजमा शान्ति स्थापनाका लागि गौतम बुद्धका विचार महत्वपूर्ण रहेका छन् । विश्वमा शान्तिको चर्चा गर्दा बौद्ध धर्म–दर्शनलाई निकै महत्वका साथ लिने गरिन्छ । बौद्ध दर्शनको मूल आधार प्रकृतिमैत्री, समाजमैत्री, सद्भाव, सहिष्णुता, समझदारी र समभावका आधारमा शान्ति स्थापना गर्नु मै रहेको छ ।

मनोपुब्बंगम धम्मा, मनोसेट्टा मनोमया ।

मनसा चे पदुट्टेन, भासति वा करोति वा,

ततो नं दुक्खमन्वेति चक्कं व वहतो पदं । । १.१ । ।

अर्थात्ः मन सबै प्रवृतिको अगुवा हो । मनबाट नै विभिन्न खालका इच्छाहरू उत्पन्न हुन्छन् । कुनै दूषित मनबाट कार्य गरिन्छ भने पापकर्म भएको हुन्छ । त्यसले दुःख निम्त्याउँछ । गाडीको चक्का जसले चलाउने जिम्मा प्राप्त गरेको छ, जसले चलाउँछ उसकै आधारमा चलेको हुन्छ । यसको अर्थ हो, मन शुद्ध हुनुप¥यो, शुद्ध मनले गरेको काम मात्र कल्याणकारी हुन सक्छ । गौतम बुद्धका यी उपदेशहरू विश्वशान्तिका लागि अत्यन्तै उपयोगी देखिन्छ । विश्वशान्तिका लागि पनि मानिसको मन शान्तिको पक्षमा हुनु पर्छ तब मात्र शान्ति स्थापना हुन्छ । विश्वमा विभिन्न स्वार्थ, अज्ञानता र विवेकहीनताका कारणले नै हिंसा र युद्धका घटनाहरू बढ्दै गएको देखिन्छ । पछिल्लो समयमा हिंसा र युद्धलाई रोक्ने र विश्वशान्ति स्थापना गर्ने उद्देश्यले नै राष्ट्रहरू बीच आपसी सहयोगको अभिवृद्धि गर्नका लागि अन्तर्राष्ट्रिय सङ्गठनको स्थापना भएको छ । त्यसैका लागि सन् १९४५ मा संयुक्त राष्ट्र सङ्घको स्थापना र सन् १९४८ मा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा गरिएको छ ।

यस्तै सन् १९५० मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित शान्तिका लागि एकता प्रस्ताव विशेष रूपले उल्लेखनीय छ । अहिंसात्मक जीवन पद्धतिले शान्ति स्थापनामा योगदान पु¥याउँछ । हिंसाको आरम्भ नहुनु नै शान्तिको आधार हो । शान्ति सिर्जनाको आधार शत्रुता विनाको अवस्था हो । मानिसहरू भयरहित अवस्थामा जीवनयापन गर्न पाउनु नै शान्ति हो । तनावरहित जीवन, सद्भाव, सहिष्णुता, न्याय, सम्मान र समझदारी शान्तिसँग अन्तर्सम्बन्धित छन् । प्रथमतः शान्ति मानिसको मनमा स्थापित भएको हुनुपर्छ । यही आधारमा शान्ति अङ्कुरित भई क्रमशः अगाडि बढेको हुन्छ । शान्तिले उज्यालोको सङ्केत गर्छ । यसका लागि सत्चरित्र र संस्कारको पनि आवश्यकता पर्दछ । शान्ति संस्कृतिको निर्माण,सुशासन र कानुनी शासन,मानव अधिकारको प्राप्ति, संरक्षण र सम्मान आवश्यक पर्दछ । प्रकृतिको संरक्षण, समानता, स्वतन्त्रता, विवेक सम्मत आचरण र व्यवहार, न्याय सद्भाव र सहिष्णुता विश्वशान्तिका लागि अपरिहार्य तत्व हुन् ।  भवतु सब्ब मंगलम् ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक