देशकै प्रतिष्ठित भनेर परिचित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्ञानप्रसाद रिमालको मृत्यु भएपछि उनको परिवार न्यायको खोजिमा हिडेको छ । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका घर भई, पछि धेरै बर्ष सम्म अमेरिकाको बाल्टिमोरमा बस्दै आएका ब्यबसायी रिमाल नेपाल गएका बेला भएको यो घटनाले धेरैको आँखा खोल्न सक्छ । धादिङ जिल्ला बिकास समितिकाका पूर्व उपसभापति समेत रहेका ज्ञानप्रसाद रिमालका छोरा बुहारी हरु बुझ्ने भएकाले यो घटना बाहिर ल्याए तर मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका ज्ञानप्रसाद
रिमाल समयमै उचित उपचार नपाएर र चिकित्सक र नर्स हरुको लापर्वाहीले गर्दा संसार छोड्न वाध्य भए । उपचारको क्रममा चिकित्सकले गलत औषधिको प्रयोग गरेको र उपचारमा लापरबाहीसमेत गरी अकालमा मृत्यु भएको भन्दै उनका छोरा प्रताप रिमालले अस्पताल विरुद्ध मुद्धासमेत दायर गरेका छन् । देशकै प्रतिष्ठित भनेर परिचित मेडिसिटी अस्पतालमा उपचारमा लापर्वाहीका कारण यसै गरी धेरैको ज्यान गएका खबर बेला बेला आइरहन्छन । हेर्नुस यो घटनाको एउटा सानो भिडियो रिमालकै छोरा बुहारी र परिवारजनले यसरी सार्वजनिक गरेका छन । स्वर्गीय ज्ञानप्रसाद रिमाल प्रति हार्दिक श्रध्दान्जली, शोक शान्ताप्त परिवार प्रति समबेदना सहित स्वर्गीय रिमालले अकालमा भोग्नु परेको यो अन्याय र मृत्युबरणमा रिमाल परिवारलाई न्याय मिलोस हामी पनि कामना गर्दछौं ।यसरी पर्यो अदालत मुद्धा
उपचारका लागि भर्ना भएको बिरामीको चिकित्सकीय लापर्बाहीका कारण मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् ।
ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले अस्पतालविरुद्ध मुद्दा दायर गरेका हुन् ।
अमेरिकामा बसोबास गर्दै आएका रिमाल मुटुको उपचार र किड्नीको डायलासिसका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । तर हातमा भएको सङ्क्रमण लगायतका कारण उनको मृत्यु भएपछि अस्पतालविरुद्ध परिवारले क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेको हो ।
रिमाल गत असोज १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । परिवारका अनुसार सुरुमा उनलार्ई मुटुको इसीजी गराइएको थियो । बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएको थियो ।
असोज २ गते डा रञ्जितकुमार शर्माको टोलीले इन्जीयोग्राम सफलतापूर्वक सम्पन्न गरेर १ बजे आइसीयुमा सारेको जानकारी परिवारलाई गराएका थिए । परिवारका सदस्यहरूलाई पनि उक्त समयमा भेट गर्न दिइएको बताइएको छ ।
बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्केका थिए । असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा उल्लेख छ ।
परिवारका अनुसार सोही दिन राति नौ बजेदेखि बिरामीको हातमा फोका देखा पर्न थालेको थियो । रातभरि बिरामीको अपडेट नपाएपछि परिवार भोलिपल्ट बिहान ६ बजे अस्पताल पुग्दा हातमा टेपको एलर्जी भएको र रगत बगेको भनेर जानकारी गराएको तर हात पूरै फोकाले समस्याग्रस्त भएको कुरा अस्पतालले लुकाएको फिरादपत्रमा उल्लेख छ ।
बिरामीलाई एन्जीयोप्लास्ट गरिसकेपछि आइसीयूमा राख्दा बेलुका ५ बजे नै हात सुन्निएको, फोका उठेको देखेर डा. किशोरले कस्सिएर बाँधिएको हातको टेप खुकुलो बनाउने भनेर लेखे पनि अस्पतालले उक्त कार्य नगरी लापर्बाही गरेको फिरादपत्रमा जिकिर गरिएको छ ।
बिरामीले दुख्यो भनी गुनासो गर्दा राम्ररी वास्ता नगरीकन रातको १० बजे धेरै दुख्यो भनेका कारणले फेन्टाइल दिइएको, सोपछि ३ घण्टा केही वास्ता नगरी फेरि पनि पटकपटक यही औषधि दिएर ओभरडोज भएको दाबी फिरादपत्रमा गरिएको छ ।
रातको १ः३० बजे, २ः१० बजे, बिहान ६ः१० बजे, ६ः३० बजे पनि ‘फेन्टाइल’ मात्र दिइ अरू विशेषज्ञ डाक्टरलाई नबोलाइकन बिरामीको स्वास्थ्यप्रति लापर्बाही गरिएको, जसका कारण हात नै ड्यामेज भएको मुद्दामा उल्लेख छ ।
उपचारको अरु कुनै विकल्प नभएपछि हातको अप्रेसन गरेको र उक्त अप्रेसनपछि अत्यधिक रक्तस्राव भएर बिरामीको मृत्यु भएको परिवारजनको दाबी छ । हातमा देखिएको फोकाकै कारण मृत्यु भएको भनी रिपोर्ट लेखिएको र अस्पतालले आफ्नो लापर्बाहीले मृत्यु भएपछि परिवारसँग कुनै पनि शुल्क नलिइ शव पठाएको र सात लाख रुपैयाँ गलत उपचारका कारण छुट गरेर घटना लुकाउन खोजेको फिरादपत्रमा उल्लेख छ ।
‘बिरामीको असोज ४ गते चिकित्सकीय लापर्बाहीकै कारणले मृत्यु भयो । रातभर जति रोइकराइ गर्दा पनि हातको उपचार नगरेको, बढी मात्रामा फेन्टाइल दिएको देखिन्छ,’ फिरादपत्रमा भनिएको छ, ‘तत्काल गर्नुपर्ने उपचार नगरी चिकित्सकीय लापर्बाहीका कारण बिरामीको मृत्यु भयो । मर्नु अगाडि बिरामीले डाक्टरहरूले गर्दा म मर्न लागेँ, रातभर मेरो वास्ता गरेनन्, बढी डोजको औषधि दियो, त्यसैले मेरो हातको हालत यस्तो भयो भन्दा उल्टै अस्पतालबाट धम्की आएको थियो ।’
उक्त फिरादपत्रमा पहिलो सुनुवाइ गर्दै जिल्ला न्यायाधीश रिताकुमार बख्रेलको इजलासले अदालती शुल्क सुविधा पाउँ भनी दिएको निवेदनमा ५ लाख १६ हजार ५ सय रुपैयाँको आधा रकम पछि दाखिला गर्ने गरी सुविधा प्रदान गर्ने आदेश गरेको छ । यो मुद्दामा अब जिल्ला अदालतले अस्पतालसँग जवाफ माग गर्नेछ । अदालतले जवाफ पेस गरेसँगै पेसी तोकेर सुनुवाइ गर्नेछ ।
रिमालकी छोरी ज्योति रिमाल आफै चिकित्सक भएका कारण अस्पतालले उपचारमा लापर्बाही गरेको तथ्य खुलेको थियो । अमेरिका बस्दै आएकी डा ज्योतिले गलत उपचार र पटकपटक दुखाइ कम गर्ने भन्दै हाइडोजको औषधि किन प्रयोग गरियो भनी सोध्दा गलत उपचार भएको रहस्य खुलासा भएको थियो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक