20241020

म्याद थप : पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने ६ दिन हिरासतमा रहनु पर्ने

"केपी ओली नेतृत्वको सरकार रहिरहे देशले धेरै दु:ख पाउने छ, सरकारविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु" - रवि लामिछाने

 पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने ६ दिन हिरासतमा रहनु पर्ने भएको छ। शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको थियो । अब कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ। कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो। पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ पर्नुभएको हो। संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औंल्याउँदै आवश्यक छानबिन र कारवाही गर्न सिफारिस गरेको थियो । 

शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि सुरुवाती कारबाही सुरु भएको बताएका छन । आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुवाती कारबाही सुरु भएको बताए । समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिलाई पक्राउ गरिएको उनको दाबी थियो ।

यसै बिच सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरूसँग लामिछानेले अदालतबाट न्याय पाउनेमा आफू निर्धक्क रहेको बताए । "मलाई न्याय अदालतले दिने छ, म त्यसमा निर्धक्क छु," लामिछानेले भने । 

उनले सरकारविरुद्ध भने प्रदर्शन जारी राख्न आह्नान गरेका छन् । केपी ओली नेतृत्वको सरकार रहिरहे देशले धेरै दु:ख पाउने उनको भनाइ छ ।

"यो सरकारविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरा लागि होइन । अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ," उनले भने । उनले आफूलाई झुटो मुद्दामा फसाइएको पनि जिकिर गरे । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक