अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुने नेपाली सञ्चारमाध्यम खसोखासलाई एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ। उक्त पुरस्कार र सम्मानका लागि खसोखासका प्रधान सम्पादक किशोर पन्थी सहित समस्त टिमलाई नेपाल मदर डट कम बधाई ज्ञापन गर्दछ । यसै सन्दर्भमा पन्थीसँग नेपाल मदरले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ :
किशोरजी, तपाईंको सम्पादनमा प्रकाशन हुने खसोखास पत्रिकालाई एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ । सर्ब प्रथम बधाई । यो कस्तो पुरस्कार हो ? कसरी प्राप्त भयो ?
- हाम्रो प्रकाशन खसोखास १ लाख डलरको प्रेस फरवार्ड ग्रान्टबाट पुरस्कृत भएको छ । यो स्थानीय पत्रकारितालाई सुदृढ गर्न र समुदायमा समाचार कभरेजको खाडलहरू बन्द गर्न प्रदान गरिन्छ। हामीले यो रकम हाम्रो समुदायमा महत्त्वपूर्ण समाचार र स्रोतहरू प्रदान गर्न गरेको समर्पण र प्रयासको लागि प्राप्त गरेका हौं। निशर्त प्रदान गरिएको यो रकमले हामीलाई हाम्रो मिशनलाई जारी राख्न र अझ प्रभावकारी रूपमा सेवा गर्न सशक्त बनाउनेछ । अमेरिकाका स्थानीय संचारमाध्यमका ९ सयभन्दा बढी प्रस्तावहरुबाट संचारमाध्यमहरुलाई छनौट गरिएको हो । १ मिलियन डलरभन्दा कम बजेट भएका संचारमाध्यमहरुबाट पुरस्कृत हुने संचारमाध्यमहरु छनौट गरिएको हो । जसमा न्युयोर्क सिटीमा रहेका कुल ५ वटा संचारमाध्यहरुलाई प्रदान गरिएकोमा त्यसमध्ये खसोखास एक हो ।
पुरस्कार दाता संस्थाका बारेमा के जानकारी छ ?
- प्रेस फर्वार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउण्डेशनबाट संचालित राष्ट्रिय अभियान हो। यो स्थानीय समाचार कक्षहरू सुदृढ गर्न, पत्रकारिता कभरेजमा लामो समयदेखि रहेको खाडलहरू बन्द गर्न, स्थानीय समाचारहरूमा पहुँच विस्तार गर्ने सार्वजनिक नीतिलाई अगाडि बढाउन र स्थानीय पत्रकारितामा फस्टाउन आवश्यक पूर्वाधारको मापन गर्न ४ सय मिलियन डलरभन्दा बढी लगानी गर्ने राष्ट्रिय गठबन्धन हो, जसमा नाइट फाउण्डेशन, लुमिना फाण्डेशन, फोर्ड फाउण्डेशन, डेमोक्रेशी फण्ड जस्ता अमेरिकाका ६० भन्दा बढी प्रतिष्ठित र चर्चित दातृसंस्थाहरु समावेश छन् ।
यो पुरस्कार प्राप्त गर्दै गर्दा कस्तो अनुभुती भैरहेको छ ?
- यो खसोखासका लागिमात्र होइन, अमेरिकामा रहेको सम्पूर्ण नेपाली समुदायका लागि सम्मान र गौरवको कुरा हो । नेपाली भाषामा १३ बर्षदेखि प्रकाशित हुने खसोखास १ लाख डलरबाट पुरस्कृत हुनु अमेरिकामा नेपाली समुदाय र नेपाली भाषा पुरस्कृत हुनु समेत हो । अमेरिकामा नेपाली समुदायको संख्या बढ्दो रहेको छ । बढ्दो नेपाली समुदायका आवश्यकता र समस्याहरु पनि अनगिन्ती रहेका छन् । नेपाली समुदायका कथाहरु भन्न र नेपाली समुदायलाई समाचार श्रोतहरु प्रदान गर्न दिगो, स्वतन्त्र र व्यवसायिक संचारमाध्यमको खाँचो अझ बढ्दै गएको छ । नेपाली समुदायका कथा र उपलब्धीहरु भन्नका लागि समुदायको आफ्नै सञ्चारमाध्यमको महत्वलाई यो सम्मानले अझ स्थापित गरिदिएको छ ।
पत्रकारितामा लागे देखी प्राप्त यो पुरस्कार पहिलो हो कि अरु पनि छन ?
- पत्रकारितामा २ दशकभन्दा लामो समयदेखि सकृय रहने क्रममा मैले कहिलेपनि कुनै पुरस्कार वा सम्मानको अपेक्षा गरिन । सोसफोर्स लगाएर र आफै रकम तिरेर प्राप्त गरिने पुरस्कारप्रति पनि मेरो कहिल्यै रुची भएन । आजसम्म पत्रकारितामा कुनै दलगत पत्रकारका संस्थामा सदस्य बनेको पनि रेकर्ड छैन । त्यसैले नेपालको सन्दर्भमा पत्रारितामा पुरस्कारका लागि समेत राजनीतिक दल वा दलगत पत्रकारिताका संस्थाका सिफारिस आवश्यक पर्ने भएकाले त्यतातिर पनि कहिले लागिएन । पाठक र दर्शकहरुले गरेको सम्मान र विश्वास नै मेरालागि सबैभन्दा ठूलो पुरस्कार हो । अमेरिकामा सिटी युनिभर्सिटी अफ न्युयोर्क अन्तरगत संचालित शिक्षा, ब्यापार र चुनाव सम्बन्धित ५ वटा फेलोसिपहरु प्राप्त गर्न सफल भएको छु भने अमेरिकाको प्रतिष्ठित संस्था सोसाइटी अफ प्रोफेशनल जर्नालिष्टको डाइभर्सिर्टी लिडरसिप फेलोका रुपमा छनौट हुने गौरव समेत प्राप्त भएको छ । अमेरिकाका पत्रकारिताका चर्चित संस्थाहरु ७७ बर्ष पुरानो एजुकेशन राइटर्स एसोसिएसन र अनलाईन संचारमाध्यमको सबैभन्दा बृहत संस्था अनलाइन न्युज एसोसिएसनबाट प्राप्त स्कलरसिपहरुलाई पनि मैले सम्मानका रुपमा ग्रहण गरेको छु । अमेरिकाका स्थानीय मिडिया प्रकाशकहरुको बृहत संस्था लायन पब्लिसर्सको सदस्यका रुपमा गुगल न्युज इनिसियटिभको सहयोगमा संचालित कार्यक्रममा पनि खसोखास छनौट भएको थियो । यी सबैका बाबजुत पाठक र दर्शकको माया र विश्वास नै सबैभन्दा ठूलो पुरस्कार हो ।
अमेरिकामा बसेर तपाईंले पत्रकारिता गरिरहँदा के कस्ता अनुभब बटुल्नुभएको छ ?
- अमेरिकामा विगत १३ बर्षदेखि म पूर्णकालिन नेपाली सामुदायिक पत्रकारितामा संलग्न रहेको छु । यो दौरान सामना गरेका चुनौती र समस्याहरुको फेहरिस्त निकै लामो रहेको छ । नेपाली समुदाय आर्थिक रुपमा कमजोर रहेका कारण आर्थिक रुपमा सहयोग गरेर संचारमाध्यम धान्नसक्ने अवस्था छैन । त्यसैले आर्थिक चुनौतीको पाटो सबैभन्दा कठिन पाटो रह्यो । विगतमा नेपाली सामुदायिक संचारमाध्यमले समुदायका हाइपरलोकल गतिविधिमात्र कभर गर्ने प्रचलनलाई बदलेर खसोखासले नेपाली समुदायका लागि जीवनयापनकै लागि अत्यावश्यक श्रोत र जानकारीहरु दिन सुरुवात गरेको हो । अध्यागमन, ट्याक्स, हाउजिंग, स्वास्थ्य लगायत समुदायका लागि आवश्यक पर्ने श्रोतहरुसहित खसोखासले रिसोर्स सेन्टर नै स्थापना गरेको छ । अध्यागमन लगायतका सामान्य जानकारी लिनसमेत समुदायमा पहुचको अभाव रहेको र सामान्य जानकारीका लागि समेत चर्को शुल्क तिनुपर्ने बाध्यकारी अवस्थालाई कम गर्न खसोखासले समुदायका लागि श्रोतकेन्द्रका रुपमा काम गर्ने प्रयास गरिरहेको छ । कोरोना महामारीका बेलामा खसोखासले कोरोना श्रोत केन्द्र स्थापना गरेर स्वास्थ्य, भ्याक्सिन, बेरोजगारीविमा, सरकारी ऋण र अनुदानहरुका सन्दर्भमा मिहिन तरिकाले श्रोतहरु प्रदान गरेको थियो, जसले गर्दा समुदाय प्रत्यक्ष रुपमा लाभान्वीत हुन पुग्यो । त्यो बाहेक समुदायका महत्वपूर्ण मुद्दाहरुलाई मुलधारसँग जोड्नका लागि खसोखासले गरेको प्रयत्नपनि सर्वविदितै छ । अमेरिकी राजनीति र समाजसँग नेपाली समाजको एकीकरणका लागि खसोखासले पुलको रुपमा काम गर्ने प्रयत्न गरिरहेको छ ।
कस्तो छ अहिले अमेरिकामा नेपाली पत्रकारिताको अवस्था ?
- अमेरिकामा नेपाली पत्रकारिता निकै कमजोर अवस्थामा रहेको छ । नेपाली समुदायले आर्थिक रुपमा नेपाली संचारमाध्यम धान्नसक्ने अवस्था छैन भने दिगोपनका लागि नेपाली सामुदायिक संचारमाध्यमले बहुमुखी आम्दानीका बाटोहरु अबलम्बन गर्न सकेका छैनन् । आर्थिक रुपमा समुदायमा मात्र भर परेर अगाडि बढ्दा कैयन नेपाली संचारमाध्यमहरु बन्द हुने अवस्थामा पुगेका छन् । कुनैबेला आधादर्जन नेपाली छापामाध्यमहरु रहेको न्युयोर्कमा अहिले एउटा पनि छापामाध्यम संचालनमा नहुनुको मुख्य कारण त्यही हो । त्यसैले नेपाली समुदायबाट सक्दो सहयोग लिदै आम्दानीका श्रोतहरुमा विविधता बनाउनु नेपाली संचारमाध्यमहरुका लागि चुनौतिका विषय हो । नेपाली समुदायमामात्र भर पर्नुको साटो आम्दानीका श्रोतहरुमा विविधता ल्याएर नेपाली समुदायलाई सेवा गर्नु र शशक्त बनाउने आवश्यकतालाई नेपाली संचारमाध्यमहरुले बेलैमा बुझ्नुपर्छ ।
आगामी दिनका तपाईंका योजनाहरु के छन ?
- आगामी दिनमा नेपाली समुदायलाई श्रोत र समाचारहरु प्रदान गर्ने तथा नेपाली समुदायका मुद्दाहरुलाई मुलधारमा ल्याउने प्रयास निरन्तर जारी रहनेछ । पछिल्लो समयमा विकाश भएका प्रविधिहरुलाई लागु गर्दै र समाचार प्रशारणलाई परम्परागत रुपमाभन्दा माथि उठेर रि डिफाइन अर्थात् पुर्नपरिभाषित गर्दै आगामी दिनमा अगाडि बढ्नुपर्छ । समाचारमा एआईको प्रयोगसँगै बढेको दुश्प्रचार र अफवाहहरुलाई चिरेर अगाडि बढ्नु अबका दिनमा संचारमाध्यमहरुका लागि थप चुनौतिपूर्ण रहेको छ । पाठक र दर्शकहरुले सहजरुपमा सत्य समाचार प्राप्त गर्न पाठकहरुसम्म पुग्ने माध्यममा पनि विविधता आवश्यक भएको सन्दर्भमा उक्त विविधतालाई आत्मसाथ गरेर समाजलाई सुचित गर्ने र शशक्त बनाउने मिशनमा हामी निरन्तर लागिरहनेछौं ।
खसोखास नाम कसरी छानु भयो र तपाईंको प्राथमिकता ?
- खसाखोस पश्चिम नेपालमा प्रचलित स्थानीय शब्द हो, जसको अर्थ खास कुरा वा प्रामाणिक सत्य भन्ने हुन्छ । सत्य समाचार दिने मिशनलाई यो शब्दले सम्पूर्ण रुपमा प्रतिबिम्बित गर्छ । साथै नेपाली मौलिक शब्दबाट राखिएको यो नामले खसोखासको मौलिकतालाई समेत झल्काउँछ । त्यसैले हामीले १२ बर्ष अगाडि यो नाम छनौट गरेका हौं । सुरुमा यो नाम उच्चारण गर्न पाठकहरुलाई केही गाह्रो भएतापनि पाठकको मनमा बसिसकेपछि उहाँहरुका लागि यो नाम प्रिय बनेको छ ।
अन्त्यमा छुट केही भन्न चाहनुहुन्छ कि ?
- अन्त्यमा, खसोखास र मेरो पत्रकारितायात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा समेत सोही सहयोग र विश्वासको अपेक्षा गर्दछु । खसोखासको अमेरिकामा रहेको र नेपालमा रहेको टिमको अथक मिहिनेतका लागि नतमस्तक छु । खसोखासका सहयोगी, शुभचिन्तक, पाठक र विज्ञापनदाता सबैबाट निरन्तरत साथ सहयोगको अपेक्षा गर्दछु ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक