20240925

के के गर्दैछन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा, हेर्नुस् आजका थप अपडेटहरु

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

यता अर्को एक कार्यक्रमामा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताउनुभएको हो ।

“धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता रहेको छ । आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो,“प्राप्त स्रोत साधनबीच नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सबैलाई आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्यका साथ काम गरिरहेको छ । हामी यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्दछौँ ।”


प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्ने भन्दा पनि बिरामी नै हुन नदिने गरी निरोगी नेपालको अभियान सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै यो अभियान ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको एक अङ्ग भएको बताउनुभयो ।


“निरोगी नेपालको नीति र अठोटभित्र शुद्ध र सन्तुलित खानाका साथै बच्चैदेखि मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने सोच रहेको छ । विश्वमा आधुनिक चिकित्साको विकास हुनुपूर्व नेपालका पुर्खाहरूले परम्परागत र आयुर्वेदिक उपचार पद्धतिको विकास गरेका थिए”, उहाँले स्मरण गर्नुभयो ।


नेपालले मातृशिशु मृत्युदरमा उल्लेख गिरावट ल्याउनेलगायत सुधारका काम गरेको तर स्रोतसाधनको अपर्याप्तताका कारण हुनुपर्ने जति स्वास्थ पूर्वाधार विकास नभएको स्पष्ट गर्नुहुदै प्रधानमन्त्री ओलीको जिकिर थियो ।


“गुणस्तरीय र सहज जीवनयापनका लागि स्वस्थ्य रहनु अनिवार्य छ । त्यसैले दिगो विकासका लक्ष्यहरूको कार्यान्वयनका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भए पनि आधुनिक र पूर्वाधारसम्पन्न स्वास्थ्य सेवाका लागि अन्तर्राष्ट्रिय समुदायको साझेदारी आवश्यक छ”, उहाँले भन्नुभयो,“नेपालको स्वास्थ्य क्षेत्रमा सघाउन माउन्ट सिनाइ अस्पतालले तालिम, अनुसन्धान, स्रोत परिचालनमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएकामा म धन्यवाद व्यक्त गर्न चाहन्छु ।”


धुलिखेल अस्पतालका अनुसन्धान निर्देशक डा राजीव श्रेष्ठले नेपालमा ७० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारण हुने गरेको सन्दर्भमा एम्प्याथले मुटु, मिर्गाैला र क्यान्सरजस्ता रोगको उपचारमा विशेषज्ञ विधाहरू वृद्धि गरी सहकार्य गर्दै आएको जानकारी दिनुभयो ।


यसै गरी ओलीले आज ‘वल्र्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उक्त स्मारकलाई ९/११ स्मारकका रूपमा चिनिन्छ ।


सन् २००१ मा अल क्वाइदासम्बद्ध आतङ्ककारी समूहले अपहरण गरेको दुई वटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद् निधन भएको थियो ।


उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ । स्मारकमा मारिकाहरू सबैको तस्बिर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ ।


प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य उक्त स्थानमा पुग्नुभएको थियो ।


प्रधानमन्त्री ओलीलाई सङ्ग्रहालयका अधिकारीहरूले उक्त आततायी घटना र त्यसका अवशेषहरू समेटेर बनाइएको अत्याधुनिक सङ्ग्रहालयबारे अवगत गराउनुभएको थियो ।

उता संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।


अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी हुनुभएको हो ।


न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ रहनुभएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।


संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताउनुभयो ।


समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै उहाँले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो ।


प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । “हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ”, उहाँले भन्नुभयो,“ आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।”


यसैबीच प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गर्नुभएको छ । उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउनुहुँदै उहाँले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोडदार माग गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक