20240925

अमेरिकामा परराष्ट्रमन्त्री आरजु राणा देउवाका भेटबार्ताहरु

 वासिङटन डिसी / संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुई देशबीच दशकौँदेखि रहँदै आएको सहकार्यलाई उच्चस्तरीय भेटघाटको आदानप्रदानले थप मजबुत बनाउन सहयोगी हुने विश्वास व्यक्त गरिएको थियो ।

सो अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उहाँहरुको छलफल भएको थियो । नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको थियो ।

मन्त्री राणाले दुई देशबीच विगत वर्षहरुमा हुँदै आएका विभिन्न तहको भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन प्रेरक भूमिका खेलेको बताउनुभयो । उहाँले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्नेगरी प्याकेज कार्यक्रमसम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्नुहुँदै सहयोग निरन्तररुपमा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

हालै काठमाडौँमा दुई देशबीच सातौँ व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई सरल परिवर्तन रणनीति अङ्गीकार गरेको र यो ऐतिहासिक कोसेढुङ्गाालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

यसैगरी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल– कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।

त्यसैगरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल– कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो ।

भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उहाँले सराहना गर्नुभएको थियो ।

मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गर्नुभएको थियो । नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको दक्षिण कोरिया प्रमुख देश हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो ।

नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गर्नुभएको थियो ।

त्यसैगरी, मन्त्री देउवाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो । त्यस क्रममा उहाँहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो । साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, र सुरक्षा परिषद्मा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गर्नुभयो ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक