20240925

यही तरिकाले बढ्दै गएमा दसैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन, पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलियो !

नेपालमा पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलिएको छ।  यही तरिकाले बढ्दै गएमा दसैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो।  ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १२ हजार ६४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकाे छ भने छ जनाको मृत्यु भएको छ।  ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबै भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ।  त्यसपछि तनहुँ, काठमाडौँ र पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ।  

दाहालका अनुसार कास्कीमा एक हजार ९०३, तनहुँमा एक हजार ६४५, काठमाडौँमा एक हजार ५४०, पर्वतमा एक हजार ११० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।  त्यसैगरी, चितवनमा ७३३, गोरखामा ४५१ ,ललितपुरमा ३४७, बागलुङमा २८५, स्याङ्जामा २३४, कैलालीमा २१५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।  प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ।  


गण्डकी प्रदेशमा पाँच हजार ९७१, बागमती प्रदेशमा तीन हजार ६०२, कोशी प्रदेशमा एक हजार १९३ जनामा डेंगु पुष्टि भएको छ।  यसैगरी, लुम्बिनी प्रदेशमा ८१९, कर्णाली प्रदेशमा १७३, मधेश प्रदेशमा २४५ र सुदूरपश्चिम प्रदेशमा ६३८ जनामा डेंगु पुष्टि भएको छ।  अझै तीन सात डेंगुको जोखिम कायमै रहेकोले सचेत रहन डा. दाहालको आग्रह छ।  

डेंगु कस्तो रोग हो ?

डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो।  

उहाँ भन्नुहुन्छ, “डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ। ” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन्।   सङ्क्रमण भएको चारदेखि १० दिनसम्म सामान्यतया डेंगुका लक्षण देखिन्छन्।  

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।   डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा.पुन बताउनुहुन्छ। डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो।  

डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्ने डा. पुनको सुझाव छ।  बिरामीलाई असाध्यै जोर्नीमा अत्यन्त दुः खाइ भएमा, तारन्तार वान्त भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा. पुनको सुझाव छ।  

घरमानै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जीउ दुख्न कम गर्नको लागि प्यारासिटामोल खान डा. पुनको सुझाव छ।  बिरामीले झोलिलो खानेकुरा प्रशस्त खान उहाँको आग्रह छ।  लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ।  - सिर्जना खत्री 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक