20240920

सहकारी : बचतकर्ताको १६ अर्ब रुपैयाँभन्दा बढी रकम दुरूपयोग

 गोर्खा मिडिया प्रा.लि.का अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले नेटवर्किङ्ग व्यवसायको नेटवर्क प्रयोग गरी सहकारी खोलेर बचतकर्ताको १६ अर्ब रुपैयाँभन्दा बढी रकम दुरूपयोग गरेको पाइएको छ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा सूर्यबहादुर थापा सभापति रहेको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । प्रतिवेदनमा नेटवर्किङ्ग व्यवसायसँग सहकारी ठगी जोडिएको जनाइएको छ । “गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्,” प्रतिवेदनमा उल्लेख छ ।


राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा ‘गोर्खा ग्रुप अफ कम्पनी’ खोलेको थिए ।  सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याएका थिए ।


तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी जीबी राई र उनको समूहले नेचर हर्ब्स, नेचर नेस्टलगायतका नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेको प्रतिवेदनमा जनाइएको छ ।

 

“सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत रकम गैरकानुनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राई समेतको गिरोह लामो समयदेखि नेटवर्किङ्ग व्यवसायमा रहेका र नेटवर्किड्ड शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको पाइन्छ,” प्रतिवेदनमा उल्लेख छ ।


त्यस्ता सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको बिस्तार गर्नुका साथै अरूको नाममा कर्जा खडा गरी आफैँले दुरूपयोग समेत गर्ने गरेको पाइएको छ । 


गोल्डक्वैष्टदेखि हर्बो हुँदै सहकारी


२०५६ सालदेखि २०५८ सालसम्म नेपालमा गोल्डक्वैष्ट भन्ने हङ्ककङबाट सञ्चालित कम्पनीले सुनको सिक्का प्रतिव्यक्ति ३७ हजार ५०० को दरले दिने भन्दै गैरकानुनीरूपमा नेटवर्किङ (प्रत्यक्ष बिक्री प्रणाली) गर्दै पैसा उठाएको थियो ।


त्यो व्यवसायमा जीबी राईले सुरुदेखि नै आफ्नो दाजु अनन्तबाबु राईको माध्यमबाट जोडिएका थिए । यस्तै नेटवर्क व्यापारमा लागेर सुरुदेखि नै नेतृत्व विकास भन्दै अनेक प्रशिक्षण र कला समेत सिकेका थिए । गोल्डक्वैष्टमा नेपाल सरकारले प्रतिबन्ध गरेपछि पनि उनी यस्तै गैरकानुनी धन्दामा रमाउन थालेको प्रतिवेदनमा भनिएको छ । 


यस्तैक्रममा स्वदेशी जडीबुटीजन्य वस्तुको व्यापार नेटवर्किङ तरिकाले गर्ने नाममा २०६१ सालमा हर्बोलगायत धेरै कम्पनीहरू खुल्छन् । अनन्तबाबु राई हर्बोको संस्थापक निर्देशक बन्छन् र उनैको साथमा उनका माइलो भाइ देबेन्द्रबाबु राई र कान्दो भाइ जीबी राई पनि हर्बो व्यापारमा लाग्ने र पढ्ने पढाउने र सङ्गठन बनाएर काम गर्न सुरु गर्छन् ।


त्यो व्यापारलाई व्यवस्थित गर्न सरकारले उपभोक्ता ऐनअन्तर्गत नेटवर्क मार्केटिङ् व्यवसायसम्बन्धी निर्देशिका जारी गरेको थियो । त्यही निर्देशिकाअन्तर्गत उनले चारवटा कम्पनीहरू सञ्चालन गर्छन् । अन्यले अनुमति लिन कोशिस गरिरहेकै बेला हर्बोले सरकारसँग मिलेर स्थायित्व दिन काम सुरु गछ । तर युनिटीलगायत कम्पनीले निर्देशिकाविपरीत हुने गरी वस्तुको व्यापार नगरेको देखिएको र पैसा उठाएर कमिसन दिने मात्र काम गरेकाले अनुमति पाउँदैन् र कारबाहीमा पर्छन् ।


यहीबीचमा देशी विदेशी कम्पनीका प्रतिनिधिहरूको पहलमा तत्कालीन वाणिज्य मन्त्री राजेन्द्र महतोको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका खारेजको सूचना निस्किन्छ । यो सूचना ‘सरोकारवालाको लगानी डुबाउने खेल र दुई पक्षीय छलफल नभई गरिएको निर्णय गलत छ’ भनेर हर्बोलगायत ४ वटा कम्पनी सर्वोच्चमा रिट हाल्छन् र न्यायाधीश खिलराज रेग्मीको इजालसले अन्तरिम आदेश दिएपछि काम सुचारु हुन्छ ।


यही समयमा जीबी राईको भगवती बम्जन (निशा बम्जन) सँग विवाह हुन्छ । गोर्खा सेभिङ्गससँग सम्बन्धित ज्ञानबहादुर बम्जनले आफ्ना धेरै सहकारीमध्ये पोखराको सूर्यदर्शनमा आफ्ना ज्वाई जिबीलाई काम गर्न लगाउँछन् र हर्बोको काम बीचमै ‘साइड बिजनेस’ बनाएर कर्मचारीको रूपमा काम गर्न पोखरा बस्न सुरु गरेको देखिन्छ । 


जीबी राईले हर्बोबाट उल्लेखनीय कमाइ गर्न नसकेको देखिन्छ । हर्बोमा जीबी राई सामान्य लिडर र हर्बोकाबारेमा प्रेजेन्टेसन गर्न सक्ने भूमिकामा मात्र देखिन्छन् ।


“यसरी नेटवर्क व्यापारबाट शिक्षित र दिक्षित बनेर जीबी राई सहकारीको क्षेत्रमा ससुरालीको सम्बन्ध प्रयोग गरेर छिरेको देखिन्छ र पछि त्यही सहकारी कब्जा गरेर देशैभरि नेटवर्क कम्पनी कै जस्तो गरी सहकारीको नेटवर्क बनाएको देखियो,” प्रतिवेदनमा भनिएको छ । 


सङ्गतबाट कामाद हुँदै स्वर्णलक्ष्मी


हर्बो इन्टरनेशलन प्रा.लि.मा कार्यकारी निर्देशक रहेका अनन्तबाबु राईले भाइ जीबी राईलाई मार्केटिङ्गमा जागिर लगाइदिएका थिए । पछि उनी सूर्यदर्शन सहकारी पोखरामा जागिर खान गए ।  उनै जीबी राईले हर्बो ग्रुप र साबिक हाम्रो ग्रुप हाल गोर्खा ग्रुप सञ्चालन गर्न २०६८ सालमा सङ्गत ग्रुप प्रा.लि.मा पुष्पराज पौडेलसँग मिली विभिन्न निर्णयहरू गरेका थिए ।


उक्त निर्णयअनुसार सबै सम्पत्ति र कम्पनीको हरहिसाब गरेर सङ्गत ग्रुपमा राख्ने भने तापनि सबै शेयर र जग्गा लिएपछि जीबी राई सम्पर्कविहीन भएर हिसाब नगरेको भन्ने सङ्गतकै अन्य सञ्चालकरूको दावी गरेको प्रतिवेदनमा उल्लेख छ ।


जीबी राई सम्पर्कमा नरहेपछि ती निर्णयहरू कार्यान्वयन हुन सकेनन् । कम्पनी सञ्चालनको विषय कम्पनी रजिस्ट्रारको कार्यालयको क्षेत्राधिकारभित्रको विषय देखिने प्रतिवेदनमा जनाइएको छ । आर्थिक वर्ष २०६२–६३ तिर पुष्पराजसहितले स्थापना गरेको कामाद सहकारीलाई पनि सञ्चालकहरूको इच्छाविपरीत कब्जा गरेर अरु सहकारीमा एकीकरण गराएको प्रतिवेदनमा उल्लेख छ ।


उनले कामाद सहकारीका अरू सञ्चालकहरूको शेयर आफुखुसी शून्य बनाइदिएको, बैङ्क खाताको पैसा पनि आफुखुसी चलाउने गरेका थिए । “सहकारी एकीकरणपछि कतिपय बचतकर्तालाई पासबुक पनि नबनाइदिएको वा पैसाको ग्राहकलाई हिसाब दिएका थिएनन्,” प्रतिवेदनमा भनिएको छ । 


शेयरधनी र बचतकर्ताको पनि छुट्याएर २/३ करोडको कारोबार नमिलाएको तर स्वर्णलक्ष्मी र प्रणोदयिनीका कानुनी समस्याहरू लुकाउन कामादको विधान प्रयोग गर्न एकतर्फी एकीकरण गरेर हिसाब नदिएको भन्ने निवेदन छानबिन समितिमा परेको थियो ।


हर्बोबाट गोर्खा ग्रुपसम्म, ९ सय शेयरधनी पीडित


हर्बो इन्टरनेसनल प्रा.लि. र साबिक हाम्रो ‘ग्रुप अफ कम्पनी’ हाल ‘गोर्खा ग्रुप अफ कम्पनी प्रा. लि.’ लाई आफ्नो हिसाब मिलाउन हर्बोका तत्कालीन अध्यक्ष गोकुल श्रेष्ठले जग्गा दिने निर्णय भएको तर कीर्ते कागज बनाएर जीबी राईले दुबै कम्पनीलाई ठगी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैले उक्त जग्गाहरूको विषय पनि विवादित छ ।


गोर्खा ग्रुप र हर्बोको नाममा जग्गा पास गरेको भनी लालपूर्जा ल्याएर दिने र जग्गा किन्ने कार्यलगायत कम्पनीको कारोबार सबै गोकुल श्रेष्ठले गर्ने गरेको देखिँदा गोकुल श्रेष्ठ र जीबी राई गोर्खा ग्रुपमा सञ्चालक समितिमा सँगै काम गरेका र अन्य कम्पनीमा पनि साझेदार रहेको ठहर समितिको छ ।


छानबिनका क्रममा जग्गा किन्न भनेर हर्बोको ४ करोडभन्दा बढी र जीबी राईबाट १ करोड २५ लाख रुपैयाँ पनि गोकुल श्रेष्ठले लगेको देखिएको छ । तर कम्पनीको नाममा उक्त जग्गा रहेको देखिँदैन । 


गितेन्द्रबाबु राई र गोकुल श्रेष्ठ दुबै जनाले कागजपत्र पनि नदिने, जानकारी पनि नदिने, हरहिसाब पनि नगर्ने गरेर पुष्पराज लगायत गोर्खा ग्रुपका ९०० भन्दा बढी शेयरधनीहरूलाई ठगी गरेको भन्ने अर्को छुट्टै विवाद रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 


नयाँ कम्पनीहरूको सञ्जाल, लगानी नगरी सेयर


जीबी राई सञ्चालक समितिमा आएपछि प्रणोदयिनी सहकारी र स्वर्णलक्ष्मी सहकारीबाट ऋण लिएर नेचरनेस्ट प्रा. लि., ८४ परिकार कम्पनी, कपास सटिङ एण्ड सुटिङ कम्पनी र कामद बहुउद्देश्यीय सहकारी लगायत सञ्चालन गरेका थिए । 


सबै कम्पनीको सम्पत्ति र सहकारी कब्जा गरेर लेखापरीक्षणमा कुनै हिसाब सम्म नदेखाएको, खिमानन्द कँडेल र पुष्पराजको नामबाट ऋण पनि नहटाएको तथा लगानी पनि हिसाब नगरिदिएको छानबिनमा देखिएको छ । 


“कम्पनी जिम्मा लिएपछि कम्पनीको ऋणधन पनि जिम्मा लिनेकै हुनुपर्ने हो तर जीबी राईले पैसा र शक्तिको दुरुपयोग गरे, तर हिसाब मिलाएनन्,” प्रतिवेदनमा भनिएको छ ।


जीबी राईले आफु खुसी कम्पनी चलाउन शेयरधनीबाट अवरोध भएपछि कानूनी झन्झटबाट बच्न आफ्ना कर्मचारीको नाममा शेयर पटक–पटक किनबेच र नामसारी गरेको पनि छानबिनका क्रममा देखिएको छ ।


“अझ पैसा नै नहाली कागजपत्र मिलाएर आफु खुसी आफ्नै ग्रुपको शेयर किर्ते गरी धेरै बनाएर बहुमत देखाएर कम्पनीहरू नियन्त्रण गरेको भन्ने पनि निवेदन आएकोले कारबाही चलाउनुपर्ने देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ ।


राईले तिनकुनेमा रहेको ९ आनामा बनेको २ वटा घर जग्गा, काभ्रे र मकवानपुर ठिङ्गनका लगभग ३०० रोपनी जग्गा, जयसङ्गत आश्रमको नाममा भएको गोदावरीको ६ रोपनीभन्दा बढी जग्गा, बाँडीगाउँको १४ रोपनी जग्गा, बडीखेलको २० रोपनी जग्गा र भक्तपुरको ५ रोपनीभन्दा बढी जग्गा लगायत अन्य सहयोगी सदस्यहरूको लगानी सम्पत्ति सबै विभिन्न नाममा नामसारी गरेको पाइएको छ ।


जोसँग मिलेर काम गर्यो उसैलाई धोका दिँदै सहकारीको रकम दुरुपयोग गरी विभिन्न व्यक्ति एवं कम्पनीको शेयर र सम्पत्ति कब्जा जीबी राईले गर्दै आएको प्रतिवेदनमा जनाइएको छ । 


“समग्रमा जीबी राईको समूहले हर्बो र गोरखा ग्रुपका हातहतका व्यक्ति र कम्पनीहमा सहकारीको पैसा ऋण दिने, ऋण दिएवापत बिनालगानी शेयर हिस्सा लिने, बिस्तारै सबै ऋणीहरुलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरुलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको छ,” प्रतिवेदनमा भनिएको छ । 


यता सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा ६ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको ‘संलग्नता’बारे नाम लिएका छन् ।

 

समितिले बयान लिने क्रममा गोरखा मिडिया प्रा.लि., पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. र बुटबलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. सँग आवद्ध व्यक्तिले लामिछानेको नाम लिएका हुन् । 


सहकारीको रकम हिनामिना भएको सम्बन्धमा समितिले विभिन्न व्यक्तिहरुसँग वयान लिएको थियो । तीमध्ये ६ जनाले लामिछानेको नाम लिएका थिए । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरुको बयान राखिएको छ । 


“सूर्यदर्शनबाट भएको कारोबारबारे मलाई जानकारी भएन तर सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करीब १ करोड ९० लाखको कृतिम ऋण खडा गरी करीब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करीब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो,” सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष कुमार रम्तेलले बयानमा भनेका छन् ।


Dabur Nepal

NIC Asia

ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य भएको र छविलाल बन्जाडे जोशी पूर्व नायव महानिरीक्षक भएको ठोकुवा रम्तेलले गरेका छन् । उक्त ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको पनि उनले बताएका छन् । 


“मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो । मैले चिनेको रवि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि. को खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिनसाथ भन्न सक्छु,” रम्तेलले बयानका क्रममा भनेका छन् ।

 

तर रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न आफूले नसक्ने उनले जनाएका छन् । 


रम्तेलले थप स्पष्ट पारेका छन्, “रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ ।” 


ग्यालेक्सी टीभीमा कम्तिमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा उनले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा रविले यस विषयमा गितेन्द्रबाबु (जीबी) राईसँग कुरा भइसकेको बताएको रम्तेलले जनएका छन् । 


हाल सहकारी ठगी मुद्दामा कारागारमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समितिको पूर्वसदस्य भविश्वर अर्यालले पनि रवि लामिछानेको नाम लिएका छन् । 


सूर्यदर्शनबाट पचास–पचास लाख गरी दुई पटक गोरखा मिडिया नेटवर्क प्रा. लि को नाममा १ करोड पेश्की देखाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को बैंक खातामा रकम जम्मा गरिएको बयानका क्रममा उनले बताएका छन् ।


“उल्लिखित रकमलाई रवि लामिछानेको नाममा ऋण बनाई गोरखा मिडिया नेटवर्क प्रा. लि. को नाममा भएको पेश्की फर्छ्यौट गरेको देखिन्छ । तत्पश्चात विभिन्न मितिमा ब्याजलाई पुँजीकृत गरी साँवा ब्याज दुबैलाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा कर्जा खडा गरी रवि लामिछाने नामको ऋण चुक्ता गरिएको देखिन्छ । उक्त कार्य किन गरिएको हो मलाई जानकारी भएन,” अर्यालले भनेका छन् ।

 

उक्त कार्य कानुनसम्मत् नभएको उनले जनाएका छन् । उनले बायनमा भनेका छन्, “निज रवि लामिछाने नाम गरेको व्यक्तिको नागरिकता र अरु प्रामाण कागजात नभेटिएको हुँदा पूर्व उपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाको माननीय सदस्य नै हो होइन, यकिन साथ भन्न सक्दिनँ तर गोरखा मिडिया नेटवर्क प्रा.लि. को खातामा रकम गएको देखिएकाले उँहा नै हुन सक्ने देखिन्छ ।”


कुमारीपाटी ललितपुरमा रहेको जी.बी. ग्रुप अफ कम्पनिजमा आफू नियमत कामका लागि जाँदा जी.बी. राईसँग रवि लामिछानेलाई बैठकमा देखिरहने गरेको समेत उनले बताएका छन् ।


गोरखा मिडिया नेटवर्क प्रा.लि.को एउटा बैठकमा गितेन्द्रबाबु राई, रवि लामिछाने र दिपेश पुनसँगै आफू पनि रहेको उनले खुलाएका छन् ।


“रवि लामिछानेले गोरखा मिडिया नेटवर्क प्रा.लि.बाट राजिनामा दिएर छाडेपछि सोही रकम गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा सारिनुले उक्त रवि लामिछाने भन्ने व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाका माननीय सदस्य हुन् कि भन्न सकिन्छ,” अर्यालले भनेका छन् । 


गोरखा मिडियाका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीले आफूले चिनेको रवि लामिछाने भनेको पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको सदस्य रवि लामिछाने भएको बताएका छन् ।

 

बयानका क्रममा गोरखा मिडियाका आफ्नो नाममा रहेको ५० प्रतिशत शेयरमध्ये १५ प्रतिशत रवि लामिछानेलाई दिएको उनले बताएका छन् । गोरखा मिडियामा जीबी राईको नाममा ५० प्रतिशत, आफ्नो नाममा ३५ प्रतिशत र रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर रहेको उनले उल्लेख गरेका छन् ।


कम्पनीका लागि ऋण लिने प्रक्रियामा नेपाल बैक लि.को न्युरोड शाखामा आफू, रवि लामिछाने र लेखा प्रतिनिधि गएको उनले जनाएका छन् । उक्त ऋण लिन श्रीमतीको नाममा रही नेचर हर्ब्स कम्पनीलाई भाडामा दिइएको घर धितो राख्ने प्रस्ताव जीबी राईले गरेपछि त्यसमा आफू असहमत भएको जोशीले जनाएका छन् । त्यसपछि गोरखा मिडियाबाट आफूले पूर्ण रुपमा बिदा भएको उनले उल्लेख गरेका छन् । 


“मैले चिनेको रवि लामिछाने भनेको पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने नै हो । म काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुखमा हुँदा स्टिङ अपरेसन गर्ने सिलसिलामा कहिलेकाहीँ प्रहरी चाहिएको हुँदा मैले केही प्रहरी पठाउने क्रममा रवि लामिछानेसँग चिनजान भएको थियो,” जोशीले बताएका छन् । 


टेलिभिजन खोल्ने सिलसिलामा एपीवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी पौडेलले आफूहरुसँग लामिछानेको चिनजान गराएको भनाई उनको छ । त्यसपछि रवि लामिछाने शेयर होल्डर, म्यानेजिङ् डिरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा भएको जोशीले जनाएका छन् ।

 

गोरखा मिडिया नेटवर्क प्रा.लि.बाट आर्थिक वर्ष २०७७/०७८ व्याजवापत १ करोड ५५ लाख भुक्तानी गरेको देखिन्छ । उक्त रकम कसलाई र कुन ऋणवापत दिनुभएको हो ? भनी समितिले सोधेको प्रश्नमा जोशीले भनेका छन्, “कि प्रभुले जानुन्, कि जि.बी. राई र रवि लामिछानेले जानुन् । मलाई जानकारी भएन ।”


लाओ एसिया प्योसिफक सेटलाइट कम्पनी लिमिटेडबाट सन् २०२२ जुन १४ मा गोरखा मिडियाले ५५ लाख १७ हजार ७२३ रुपैयाँ लिएको देखिन्छ । उक्त ऋण किन र कसरी लिइयो भन्नेबारे जीबी राई र रवि लामिछानेलाई थाहा हुने उनले बताएका छन् । 


सहकारीहरूले गोरखा मिडियालाई दिएको ऋण रकम र गोरखा मिडियामा दाखिला भएको ऋणको औचित्यबारे पनि जीबी राई र रवि लामिछानेसँग जानकारी हुने उनले जनाएका छन् । 


बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.को क्यासियर रोशनी गुरुङले २०७७ चैत १८ गते सहकारीको सफ्टवेयर प्रणालीमा रवि लामिछानेको नाम इन्ट्री गरेकी थिइन् । समितिले छानबिनका क्रममा उनलाई ‘के कागजातका आधारमा लामिछानेको नाम इन्ट्री गरेको ?’ भनी प्रश्न गरेको थियो । 


जवाफ दिने क्रममा रोशनी गुरुङले भनेकी छन्, “व्यवस्थापक सागर के.सी.ले फाराम फिलअप नभरी ‘रवि लामिछाने’को नाममा खाता खोल्ने र ठेगाना ‘डट डट’ राखी छिटो उक्त खाता नं. मलाई दिनु भन्नुभएको थियो । मैले ठेगाना, कागजात, नागरिकता, सम्पर्क नं. मा के लेख्न भन्दा ‘डट डट’ मात्रै लेख्नु भन्नुभएको थियो ।”

  

यस्तै प्रक्रिया छविलाल जोशीकोमा पनि गरिएको थियो । यसप्रकारका खाता अन्य केही व्यक्तिहरूको पनि गरिएको उनले जनाएकी छन् । 


आफूले इन्ट्री गरेको ‘रवि लामिछाने’ भन्ने व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभाका सदस्य रवि लामिछाने हो वा होइन भन्ने बारे भने आफू यकिन नरहेको उनले बयानमा बताएकी छन् । “त्यस विषयमा मलाई जानकारी भएन । रवि लामिछानेको नाममा खाता खोल्न लगाउनुभयो, मैले खाता खोलेको थिएँ । उक्त खातावाला को हुन् मलाई थाहा भएन,” रोशनी गुरुङले भनिन् । 


बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हाल सहकारी ठगी मुद्दामा कारागारमा रहेका ओमप्रकाश गुरुङसँग पनि समितिले बयान लिएको थियो । 


समितिले ओमप्रकाश गुरुङलाई सोधेको थियो, “रवि लामिछानेको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइ.एम.ई. बैङ्कमा भएको खातामा मिति २०७७ चैत १८ मा २ करोड रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो के हो ?” 


उनले उक्त कार्य प्रमुख संरक्षक जीबी राई राई र कार्यकारी प्रमुख सागर के. सी. को मिलेमतोमा भएको बताएका छन् । आफू पक्राउ परेपछि मात्र उक्त कुरा अनुसन्धानबाट आफूले थाहा पाएको उनले जनाएका छन् । 


“निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने नै हो । कसरी भने गोरखा मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजन अध्यक्ष गितेन्द्रबाबु राई र प्रबन्ध निर्देशक रवि लामिछाने र सुप्रिम सहकारीबाट गोरखा मिडियामा जम्मा भएको रकमबाट नै रवि लामिछानेको ग्यालेक्सी टेलिभिजनमा सेयर कायम भएको प्रहरीको अनुसन्धानबाट मैले थाहा पाएकोले निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने नै हुन् भन्ने मलाई लाग्छ,” ओमप्रकाश गुरुङले भनेका छन् ।


गोरखा मिडिया नेटवर्क प्रा.लि.मा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष एवं सुप्रिम सहकारीका प्रमुख संरक्षक जीबी राई, सुप्रिम सहकारीका कार्यकारी प्रमुख सागर के. सी. र ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछानेको मिलेमतोमा ठूलो रकम लगानी भएको उनले बताएका छन् ।


“सुप्रिम सहकारीका कार्यकारी प्रमुख सागर के.सी.लाई म पक्राउ पर्नुभन्दा २ महिनाअगाडि इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरी पाऊँ भनी निवेदन दिएता पनि हालसम्म कुनै सुनुवाई भएको छैन,” बयानमा उनले भनेका छन्, “गितेन्द्रबाबु (जीबी) राईद्वारा सञ्चालित ७ वटा सहकारीको सञ्चालक तथा कार्यकारी प्रमुखहरूको नाममा करोडांै ऋणहरू देखिदा पनि पक्राउ नपर्नु शंकाको विषय देखिन्छ ।” 


ईलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.बाट अन्दाजी १२ करोड रकम गोरखा मिडियाको खातामा गएको देखिएको उनले जनाएका छन् । 


गोरखा मेडिया नेटवर्क प्रा.लि. का अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख संरक्षक गितेन्द्रबाबु (जीबी) राई, कार्यकारी प्रमुख सागर के.सी. भएको हुनाले ती सबै रकम सहकारीमार्फत गएर लगानी भएको हुनाले यी तीन जना व्यक्तिहरुको सरसल्लाहबाट सहकारीको रकम उक्त संस्थामा लगानी भएको दाबी उनले गरेका छन् । 


सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.का पूर्वसचिव दिपेशकुमार पुनसँग पनि समितिले बयान लिएको थियो । 


बयान लिने क्रममा समितिले सोधेको थियो, “रवि लामिछानेको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा मिति २०७७ चैत १८ मा २ करोड रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो के हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? निज ऋणी पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछाने हो, होइन खुलाइदिनुहोस् ।”


यस विषयमा आफूले समाचरहरूमा सुनेका तर के–कसरी भएको हो आफूलाई जानकारी नभएको पुनले बताएका छन् । 

ग्यालेक्सी टेलिभिजनमा काम गरेका पाँच जना रास्वपाका पदाधिकारी, दुई केन्द्रीय सदस्य 

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक र प्रबन्ध निर्देशकसहित सात जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा छन् । जसमध्ये पाँच जना पदाधिकारी र दुई केन्द्रीय सदस्य छन् । 

पार्टी सभापति रवि लामिछाने गोर्खा मिडियाका पूर्वसञ्चालक र प्रबन्ध निर्देशक हुन् । सहमहामन्त्री विपिनकुमार आचार्य, सहकोषाध्यक्ष दीपकराज बोहोरा, सहप्रवक्ताद्वय प्रतिभा रावल र रमेश प्रसाईं, केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल र विनिता कठायत गोर्खा मिडियमा आबद्ध थिए ।


कठायत प्रतिनिधिसभाको समानुपातिक सांसद पनि हुन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उनीहरूले ०७७/७८ र २०७८/०७९ मा बुझेको तलब उल्लेख गरिएको छ । जसअनुसार लामिछानेले एक करोडभन्दा बढी तलब लिएको खुलेको छ ।

कसले कति तलब लिए ? 

 

Talab-RSP-1726833410.png
गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका सम्पादक रहेका प्रमोद न्यौपाने हाल पार्टी सभापति लामिछानेको सचिवालयमा छन् । उनले आठ लाख ९ हजार ४५६ रुपैयाँ तलब बुझेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

ग्यालेक्सी टेलिभिजनमै काम गरेका पत्रकार नवराज पाण्डे लामिछाने पहिलोपटक गृहमन्त्री बन्दा नै प्रेस सहयोगी बनेका थिए । सहकोषाध्यक्ष बोहोरा पनि सचिवालयमा रहे । ग्यालेक्सीमै काम गरेका पत्रकारहरू पनि रास्वपाको प्रदेशसहित विभिन्न समितिमा आबद्ध छन् ।

सहकारी छानबिन संसदीय समितिले गोर्खा मिडियामा प्रवाह भएको ६५ करोड सबै सहकारीबाट नै आएको तथ्य सार्वजनिक गरेको छ । त्यस्तै, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलनमा सहभागी भएको भन्दै कारबाही सिफारिस गरेको छ ।- बाह्रखरी 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक