20240824

सुनकोसी नदीमा हाइलक्स गाडी खस्दा ३ जना बेपत्ता, मस्र्याङ्दी नदीमा बस खस्दा मृत्‍यु भएका २७ पर्यटकको लाश बुझाईयो, उता तराइमा सर्पको डसाइ र मृत्‍यु बढ्दै

 तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ । मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर आउनुभएको थियो । मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रजिअ यादवले बताउनुभयो । उहाँका अनुसार पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनी नजिकै सडकबाट मस्र्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ महिला, ११ पुरुष  र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।

प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिनुभयो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

यता विपि राजमार्ग अन्तरगत पर्ने सुनकोसी नदीमा हाइलक्स गाडी खस्दा ३ जना बेपत्ता भएका छ्न । सिन्धुलीको गोलन्जोर गाउपालिका १ कुडुलेबाट सुनकोसी नदिमा हाइलक्स गाडी खस्दा चालक सहित ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।


गाडीमा खस्दा भक्तपुर सुर्यबिनायक नगरपालिका जगाती बस्ने ३२ बर्सिय अबिन बके, ३० बर्सिय प्रनित स्यागु र ३७ बर्सिय बलराम घटुवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । खोटाङ हलेसीबाट मध्यपहाडी राजमार्ग हुँदै भक्तपुरतर्फ आउदै गरेको सवारी नम्बर नखुलेको गाडी सुनकोसी नदिमा खसेको उहाँले जानकारी दिनुभयो ।


उहाका अनुसार सोही गाडिमा सवारमध्ये भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिकास्थित जगाती बस्ने बर्ष २७ का शुशान्त कक्षपति प्रहरीको सम्पर्कमा आएका छ्न । शुशान्तको अबस्था मध्यम रहेको छ । बेपत्ताको खोजी गर्न नेपाल प्रहरी शसस्त्र प्रहरी घट्नास्थल गएको र गाडी खसेको स्थान अनुमान भएको र त्यसतर्फ खोजी सुरु भएको प्रहरीले जनाएको छ ।


उता कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेखोलामा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । आज फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पु¥याइएकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ ।


यसै बीच यता कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई सर्पले डसेको र उहाँको उपचार भइरहेको छ ।

मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिनुभयो । करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो । शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उहाँको हातमा समेत डसेको घटनास्थल पुग्नुभएका डगौरा थारूले बताउनुभयो ।


“सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते हुनुभएकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो”, वडाध्यक्ष डगौरा थारूले भन्नुभयो, “पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो ।”


घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए । बालिकाको बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्ला बाहिर रहनुभएको बताइएको छ । गर्मीयाममा खासगरी तराईका जिल्लामा विषालु सर्पको डसाइले धेरै व्यक्तिको मृत्यु हुने गरेको छ ।


सर्पले डसेपछि घरमै झारफुक गराउने र अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने कतिपय समुदायको प्रवृत्तिले सर्पको टोकाइका बिरामीको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउनुहुन्छ । अस्पतालमा सर्पको डसाइका बिरामीको निःशुल्क उपचार हुने गरेको छ । खानाको खोजीमा मानिसको घर वरिपरि आइपुग्ने सर्प काठ, इँटा वा ढुङ्गाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुकेर बस्ने गर्छ । घरवरिपरि सरसफाइ गर्नमा लापरवाही गर्दा लुकेर बसेको सर्पले मानिसलाई डस्ने जोखिम रहन्छ । हिउँदयाममा जमिनमुनि लुकेर बस्ने सर्प गर्मीयाममा जमिनको सतहमा निस्किने गर्दछ ।


सर्पको टोकाइबाट हुनसक्ने जोखिम कम गर्न धनगढी क्षेत्रमा उपमहानगरपालिका कार्यालयको प्रहरी टोली (रेस्क्यू टोली) ले नगरवासीको घरपरिसरमा फेला पर्ने सर्पलाई समातेर जङ्गलमा लगेर छाड्ने गरेको छ । टोलीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र खड्काले यो वर्षमात्र नगरपालिका क्षेत्रभित्र विभिन्न व्यक्तिको घरपरिसरबाट सात सयभन्दा बढी सर्प समातेर सुरक्षित रूपमा जङ्गलमा छोडिएको जानकारी दिनुभयो ।


“हालको गर्मी मौसममा बढीमा दैनिक आठ वटासम्म सर्प समातेर जङ्गलमा छाड्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “मानिसको घरको कोठा, काठको ¥याक, पुरानो फ्रिज, दराज र घरबारीमा भेटिने सर्प समात्ने गरेका छौँ ।” सर्प समात्नका लागि सम्बन्धित परिवारले अनुरोध गरेलगत्तै आवश्यक सामग्रीसहित आफूहरूको ‘रेस्क्यू टोली’ परिचालित हुने गरेको उहाँले बताउनुभयो । गर्मी मौसममा तराईका जिल्लामा गोमन, करेत, पानीसर्प, धामन, अजिङ्गर बिगबिगी हुने गर्छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक