20240807

Breaking News: शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिए, ५० जना प्रहरी मारिए, चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना

 
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् । सबै प्रहरी ज्यान जोगाउन डराएर भागेका छन् । अवामी लिगसँग आवद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ । देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ । 


बंगलादेशको जोशोरस्थित अवामी लिगका नेताको आलिशान होटलमा आगजनी गरिएको छ । यसमा २९ जना जिउँदै जलेका थिए । जसमा इन्डोनेसियाका एक व्यक्ति पनि परेका छन् । ढाकाको धानमण्डीमा चर्चित बंगाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा आगजनी भएको छ । जलाउनुअघि उनको घर पनि लुटिएको थियो ।


आनन्द, उनकी श्रीमती र छोरा आक्रमणबाट बच्न सफल भएको बताइएको छ । आगलागीबाट राहुलको घरमा राखिएका ३ हजार वाद्ययन्त्र जलेर नष्ट भएका छन् ।


त्यस्तै बंगलादेशी अभिनेता शान्तो खान र उनका निर्माता बुबा सलीम खानलाई भीडले कुटपिट गरी हत्या गरेको छ । सलिम हसिनाको पार्टी अवामी लिगसँग आवद्ध थिए । उनले हसिनाका बुबा मुजीब-उर-रहमानमा आधारित फिल्म निर्माण गरेका थिए । ढाका ट्रिब्यूनको रिपोर्टका अनुसार उनी सोमबार घरबाट भागिरहेका थिए । उनलाई फरक्काबाद बजारमा भीडले घेरेको थियो । त्यसपछि उनीहरूले गोली चलाएर आफूलाई बचाए तर पछि घेरिए । शान्तो खानले ‘बाबुजान’, ‘तुंगीपारा मिया भाइ’ र ‘बिक्सोभ’ जस्ता बंगाली फिल्ममा काम गरेका थिए । उनीमाथि सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलिरहेको थियो ।


बंगलादेशमा मङ्गलबार अवामी लिगका नेता र उनीहरुका परिवारका कम्तीमा २९ जनाको शव फेला परेको छ । यसमा अवामी लिगका २० नेता पनि छन् ।


अवामी लिग सम्बद्ध पूर्व काउन्सिलर मोहम्मद शाह आलमको अशोकतलामा रहेको तीन तले घरमा आतङ्ककारीहरूले आगजनी गरेका थिए जसमा ६ जनाको मृत्यु भएको थियो ।


त्यस्तै नेटोर–२ का सांसद शफिकुल इस्लाम शिमुलको घरमा भीडले आक्रमण गरी आगजनी गरेको छ । जसमा ४ जनाको मृत्यु भएको छ ।


त्यस्तै लालमोनिरहटमा अवामी लिगका नेता सुमन खानको घरमा मानिसहरूले आगजनी गरेका छन् । उनको घरबाट ६ जनाको शव भेटिएको थियो । अवामी लिगको सहयोगी जुबा लिगका नेता मुस्फिकुर रहिमको शव सोनागाजी उपजिल्लाको पुलमुनि फेला परेको छ । उनी युवा लिगमा सचिव पदमा थिए । फेनी जिल्लामा अर्का युवा नेता बादशाह मियाँको शव बिहान फेला परेको छ ।


यसैबीच नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् ।


सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना अहिले भारतमा रहेकी छन् । अमेरिकाले उनको भिसा अस्वीकृत गरेको बताइएको छ भने उनले बेलायतमा शरण मागेको र यसको प्रक्रिया चलिरहेको बताइएको छ ।


यता बंगलादेशबाट बाहिरिएकी पूर्वप्रधानमन्त्री शेख हसिना बाजेदको अन्तिम गन्तव्य कता हो भन्ने अझै टुंगो नलागेको बताइएको छ । अमेरिकाले उनको भिसा रद्द गरेको छ भने बेलायतले पनि उनलाई शरण दिन नखोजेको स्रोतहरूले बताएको भारतको हिन्दु दैनिकले जनाएको छ । 


उनका नजिकका नातेदार बस्ने गरेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारतभन्दा पनि अब यूएई र साउदी अरेबियाको विकल्पबारेमा छलफल गर्न थालिएको बताइएको छ ।


सोमबार ढाकाबाट भारत गएकी उनी अहिले बहिनी शेख रेहनासँग भारतको ‘सेफ हाउस’मा बस्दै आएकी छन् । उनी लामो समयसम्म भारतमा बस्दा बंगलादेशसँगको सम्बन्धमा असर गर्न सक्ने भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वकोे सरकार चिन्तित रहेको बताइएको छ ।


उता बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए)का अध्यक्ष एम महबुब उद्धिन खोकोनले पूर्वप्रधानमन्त्री शेख हसिना बाजेद र उनकी बहिनी शेख रेहनालाई पक्राउ गरेर फिर्ता पठाउन भारतलाई आग्रह गरेका छन् ।


उनले हसिनाले बंगलादेशमा धेरै मानिसको हत्या गरेको स्मरण गराएका छन् ।


बंगलादेशको पत्रिका डेली स्टारले जनाएअनुसार उनले एक वक्तव्य जारी गरी आफूहरूले भारतीय जनतासँग राम्रो सम्बन्ध कायम राख्न चाहेको पनि बताएका छन् ।


बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का संयुक्त महासचिव पनि रहेका खोकोनले बंगलादेशी अधिकारीहरूलाई देशमा संकटकाल नलगाउन आग्रह समेत गरेका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक