20240805

बेलायत पनि सुरक्षित रहेन अब, गृहमन्त्री इभेट कुपरले त्यहाँका हिंसात्मक अवस्थालाई "एकदमै घृणायोग्य" बताउँदै "सबैभन्दा कडा कदम" चालिने घोषणा

PM Sir Keir Starmer condemns 'far-right thuggery' of UK riots.


  यूकेका विभिन्न शहरहरूमा हिंसात्मक घटनाहरूमाझ सप्ताहन्तमा १५० जना भन्दाबढी मानिसहरूलाई पक्राउ गरिएपछि एउटा आपतकालीन प्रतिक्रिया बैठक बस्न लागेको त्यहाँको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ। रोदरम नगरमा शरणार्थीहरूलाई राखिएको एउटा होटेलमा भएको आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री किअर स्टारमरले उक्त घटनामा संलग्नहरूले "कानुनको पूर्ण शक्तिको सामना गर्नु पर्ने" बताएपछि त्यस्तो बैठक बस्न लागेको हो। आइतबार रोदरम, मिडल्सबर, बोल्टन र यूकेका अन्य शहरहरूमा हिंसात्मक घटनाहरू भएपछि प्रहरीले प्रतिक्रिया जनाउनु परेको थियो।

'कोब्रा मिटिङ्ग' भनेर चिनिने आपत्कालिन प्रकृतिको त्यस्तो बैठक यूकेमा हालैका वर्षहरूमा भएकाभन्दा खराब प्रकृतिको दङ्गाहरूपछि बस्दैछ। ह्वाइटहलमा अवस्थित बैठक कक्षमा को अंग्रेजी नाम 'क्याबिनेट अफिस ब्रिफिङ रूम ए' को छोटकरी रूप "कोब्रा" का आधारमा त्यस्ता आपत्कालिन बैठकलाई सम्बोधन गर्ने गरिएको छ।

गत हप्ता साउथपोर्ट नगरमा तीनजना बालिकाहरूको छुरी हानेर हत्या गरिएको घटनापछि देशका विभिन्न भागमा हिंसात्मक दङ्गाहरू हुन थालेका छन्।

'एक जना आप्रवासीले धेरै जनालाई छुरा प्रहार गरेको' भनेर चरम दक्षिणपन्थी समूहहरूले अनलाइनका सामाजिक सञ्जालहरूमा गलत हल्ला फैलाएर तनाव भड्काउने प्रयास गरिरहेको भनेर राजनितीकर्मीहरूले बताएका छन्।

आइतवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले "बदमासहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक सब थोक गर्ने" बताएका थिए।

कोब्रा बैठक आपत्कालीन प्रतिक्रिया जनाउने समितिको बैठक हो जसमा मन्त्री, कर्मचारी, प्रहरी, गुप्तचर अधिकारी र विषयसँग संलग्न अन्य उपयुक्त व्यक्तिहरू सहभागी हुने गर्छन्।

आपत्कालीन समितिको सोमबारको बैठकमा सरकारलाई सप्ताहान्त हिंस्रक घटनाका पछिल्लो अवस्थाको जानकारी दिने र आउँदा दिनमा गरिने प्रतिक्रियात्मक कार्वाहीका बारेमा कुराकानी हुनेछ।

त्यस बैठकमा सम्बन्धित मन्त्रीहरू एवं प्रहरी प्रतिनिधिहरू सहभागी हुनेछन्।

स्रोतहरूका अनुसार यसअघि नै भएका विभिन्न बैठकहरूको सन्दर्भमा 'कोब्रा' को यो बैठकलाई लिनु पर्दछ। उदाहरणका लागि गत बिहीवार प्रधानमन्त्री र प्रहरी प्रमुखहरूको बैठक भएको थियो भने शनिवार वरिष्ठ मन्त्रीहरूको एउटा बैठक बसेको थियो।

टेलिभिजनमार्फत प्रसारित आफ्नो आइतबारको सम्बोधनमा प्रधानमन्त्री स्टार्मरले ती घटनाहरूमा संलग्न भएकाहरूले त्यसका लागि "पछुताउनु पर्ने" बताएका थिए।

"यो देशमा मानिसहरूलाई सुरक्षित हुने हक छ, र पनि हामीले मुस्लिम समुदायहरूलाई निशाना तुल्याएको, मस्जिदहरूमा हमला गरिएको देखेका छौँ," प्रधानमन्त्रीको भनाइ थियो।

"अन्य अल्पसङ्ख्यक समुदायलाई पनि निशानामा पार्ने, सडकमा नाजीहरूको शैलीको सलाम गर्ने , प्रहरीलाई हमला गर्ने, नस्लवादी अभिव्यक्तिसहितका जथाभावी हिंसा जस्ता गतिविधिहरू भएका छन्- त्यसैले म त्यसलाई जे हो त्यो भन्न हिचकिचाउँदिनँ: त्यो उग्र दक्षिणपन्थी बदमासी हो।"

एक विज्ञप्तिमार्फत यूकेको गृह मन्त्रालयले मस्जिदहरूलाई नयाँ प्रक्रियाको एक भाग स्वरूप अझ धेरै सुरक्षा प्रदान गरिने प्रस्ताव गरेको छ।

जुन प्रकृया अन्तरगत छिटोभन्दा छिटो प्रार्थना लगायतका धार्मिक गतिविधि पुनः सञ्चालन गर्नका लागि "तीब्र गतिमा सुरक्षाको व्यवस्था" गर्नका लागि अनुरोध गर्न सकिने त्यसमा उल्लेख छ।

प्रदर्शनकारीहरूले रोदरममा प्रहरीहरूलाई काठका फल्याकले हिर्काउने र आगो निभाउन प्रयोग हुने फायर एक्स्टिङ्गुइशर छर्केर आक्रमण गरेपछि कम्तीमा दश जना प्रहरी अधिकृतहरू घाइते भएको र ती मध्ये एकजना अचेत अवस्थामा पुगेको साउथ योर्कशर प्रहरीले जनाएको छ।

होलिडे इन एक्सप्रेस होटलमा प्रवेश गर्नका लागि उक्त समूहका केही सदस्यहरूले झ्याल तोडफोड गरेका थिए र फोहर राख्ने एउटा ठूलो ढ्वाङमा आगो लगाइदिएका थिए।

अचेत बनेका प्रहरी अधिकृतको टाउकोमा चोट लागेको रअन्य दुई जनाको हड्डी भाँचिएको आशंका गरिएको छ।

प्रहरीका अनुसार होटलका कर्मचारी र केही शरण माग्ने प्रक्रियामा रहेका त्यहाँ बसिरहेकाहरू "एकदमै त्रसित अवस्थामा रहेका थिए" तर कसैलाई पनि चोटपटक लागेको छैन।

गृहमन्त्री इभेट कुपरले त्यहाँका हिंसात्मक अवस्थालाई "एकदमै घृणायोग्य" बताउँदै "सबैभन्दा कडा कदम" चाल्नका लागि प्रहरीलाई सरकारको साथ रहेको बताए। BBC का अनुसार ट्यामवर्थस्थित अर्को होटलमा आइतवार साँझ "बदमास व्यक्तिहरूको हिंस्रक गतिविधि" को सामना गर्न परेको पनि अधिकारीहरूले बताएका छन्। - टमस म्याकिन्टोश र लुसी क्लार्क-बिलिङ्स,बीबीसी न्यूज

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक