दुई लाख भन्दा बढी नेपाली बसेको ठाऊँमा यतिका समयपछि एउटा यस्तो घटना हुनु क्राइम रेटको हिसाबले हामी नेपाली समुदायमा एकदमै न्यून हो । तर यो न्यून हो भनेर चित्त बुझाउने घटना भने होइन । यो बहुतै दर्दनाक र दुखद कुरा हो तर यो घटनालाई लिंगीय मुद्दा बनाऊँदै अरूलाई डिभोर्स गर्न सल्लाह दिने अझ उक्साउने भावका मान्छेहरू धेरै निस्किए । तर डिभोर्स त्यति सजिलो विषय होइन । डिभोर्स गर्न त सजिलो होला तर डिभोर्स पछि चाहीं सबै ठीक हुन्छ भन्ने पनि छैन । डिभोर्स पछि पनि मान्छेहरूले दु:ख पाइरहेकै छन् । त्यसपछि पनि समस्या आइरहेकै हुन्छन् ।
सम्बन्धमा एउटा मोडमा कुरा मिल्दैनै । बिबाद हुन्छ । सुझबुझ पुग्दैन । बोलचालै बन्द होला । तर पनि समयसँगै फेरी सबै ठीक हुँदै जान्छ । मान्छेको सोच बिचार परिवर्तन हुँदै जान्छ । सम्बन्ध सुध्रिंदै जान्छ । र फेरि पनि ऊनिहरू संसारका सुखी दम्पती भएर जीवन काटिरहेका हुन्छन् । निश्चय नै : झगडा सँधै झगडाका लागि मात्र हुँदैन, राम्रोको लागि पनि झगडा गर्नुपर्छ । सबैभन्दा बढी झगडा त प्रेमको लागि नै हुन्छ । अनि प्रेमको लागि भएको झगडाको समाधान कसरी डिभोर्स हुन्छ ?
हाम्रा संसारका सुन्दर डेमोक्रेटिक प्रणालीहरू सबै डिबेटमा आधारित छन् । लोकतन्त्रको भर्खर भर्खर अभ्यास गर्दै गरेका नेपाल जस्ता मुलुकहरूमा कहिलेकाहीं तीं डिबेटमा रहेका मुद्दाहरू पनि सडकसम्म जान्छन् र ढुंगा हानाहान समेत गर्छन् । प्रहरीको लाठी चार्ज र आगजनीमा परिणत हुन्छन् । फेरि पनि त्यसले एउटा निकास पाऊँछ । एउटा सहमती पाऊँछ ।
ममता काफ्लेले पनि यसरी नै आफ्नो सम्बन्ध एकदिन त राम्रो होला भन्ने सोच्दा सोच्दै, ऊनले यस धर्तीमा जन्म लिएर एउटा दुखद निष्कर्षमा आफूलाई टुंग्याउनु पर्यो । अब अहिले आएर दुर्घटना पछिको दृष्य हेरेर यसो गरेको भए हुने थियो, उसो गरेको भए हुनेथियो भन्दै सालाखाला प्रतिक्रियामा आफूलाई ब्यक्त गर्दै हिंड्नेहरू धेरै छन्, तर ऊनिहरूलाई नै थाहा छैन कि अहिले ऊनिहरूले चाहीं आफ्नो जीवनमा के निर्णय गर्दा सही हुने हो । ‘अलिकति यसो गरेको भए दुर्घटना हुने थिएन’ - यो अक्सर दुर्घटना पछि आउने प्रतिक्रिया हो । जस्तो: ‘पहिरो आउने दिन छिमेकीकोमा गएर बसेको भए पनि त बाँच्ने रहेछ ! छिमेकीको घर त बगाएनछ !’
जीवन एउटा अन्नोन टनलमा अघि बढिरहेको हुन्छ । कतिले शहनशील भएर युद्द जितेका छन् त कसैले लडाईं गरेर । कसैले डिभोर्स गरेर पनि राम्रो गरेका छन् त कसैले सम्बन्ध जोगाएर । यति धेरै कन्फ्युजन छ यो दुनियाँमा कि बिचरा ममता पनि त्यहीं कन्फ्युजनमा थिइन् जो तपाईंहामी अहिले सबैभन्दा जान्ने जो भएका छौं । अरूलाई सल्लाह दिन जस्तो सजिलो, अरूलाई करेक्सन गर्न जति सजिलो आफूमाथि हुँदैन ।
मानसिक स्वास्थ्य माथि कोही चिन्तित देखिएनन् । गाली गरेरै समस्या सामाधान हुन्छ भनेर गाली गरेर बसिरहेछन् मान्छेहरू । ममता पनि डिप्रेसन हुने स्थितिसम्म पुगेकी रहिछन् र सद्दे त उनका श्रीमान समेत देखिएनन् । र यस्तै घटनाहरू अमेरिकी भुटनिज नेपाली समुदायमा पनि घट्दै आएका छन् । बरू यसरी यस्ता घटना नेपालको सरनार्थी क्याम्पमा त्यति घटेका थिएनन् ।
काम र पैसा हुँदाहुँदै पनि विकसित मुलुकको जीवनशैलीले पारिवारिक जीवनलाई डोमिनेट गरिरहेको कुरा बस्तुसत्य हो । कतै हामीले त्यहीं पारिवारिक मुल्य यहाँपनि जोगाइराख्न कोसिस गर्दा सर्टसर्किट भइरहेको त छैन ? त्यहींबाट अँध्यारोको सुरूवात त भएको छैन, जहाँ सबैभन्दा बढी उज्यालो हामीले आशा गरेका थियौं ? यो त एउटा उदाहरण मात्र । अरू कति कुराहरूमा हामी एडजस्ट हुन नसकेका त हैनौ? हामीले हिप्पोक्रेटिक भएर हाम्रा बाहिरी देखावटी कुराहरूको राम्रो विज्ञापन गरिरहँदा हाम्रो आत्माको रोदन नसुनिरहेका त छैनौं ? खोक्रो छाती लिएर हामी मन र मुटुका कुरामा दुनियाँको बादशाह हुन खोजिरहेका त छैनौं ? अर्थात् त्यसका, त्यसका र त्यसका कुरा सुनेर जोसँग जीवन बाँच्न सम्बन्ध गाँसिएको हो उसका कुरा नसुनिरहेका त छैनौं ?
अफवाहमा रमाऊँछ अक्सर मान्छे । तीललाई पहाड बनाएर त्यहीं पहाडले किचिएर मरेको अनुभूतिमा आनन्द लिन्छ । नकारात्मक चिन्तन एडिक्सन नै भएका मान्छेहरूको संख्या कम छैन । यसरी लेख्न थाले की अमेरिकामा भएका हरेक केटामान्छे अपराधी नै हुन् । यो लहर चलेको छ । केही बर्ष अघि न्युयेर्कमा केही श्रीमानहरू श्रीमतीहरूबाट यति पीडित छन् कि ऊनिहरू जीवन होइन मृत्यु बाँचिरहेका छन् । आत्महत्या गर्ने स्थितिमा छन् भन्ने कुरा आएको थियो । अझ नेपाल र अन्यतिरबाट यसरी प्रतिक्रिया आइरहेछन् कि मानौं ऊनिहरू अब झुक्केर पनि डिभी भर्ने छैनन् । झुक्केर पनि अमेरिकामा छोरी विवाह गरेर दिने छैनन् । हो यो पीडादायी घटना हो । सुधारेर पनि सुधार्न नसकिने, सुन्दा हेर्दा मात्र हातगोडा पानी हुने, हृदयविदारक घटना हो । तर यहीं घटनालाई सामान्यीकरण गरेर अर्को नकरात्मक खेती गरेर आनन्द लिनु चाहीं फेरि हाम्रो अर्को मानसिक दुर्बलता हो । अस्वास्थ्यता हो । यसले हाम्रो सामाजिक मनोविज्ञानको अर्को एउटा पाटोको उजागर गरेको छ । जुन सुधारिनु पर्छ ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक