20240816

बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगायो, वर्षातविना नै आएको बाढीको कारण बारे अनुसन्धान हुँदै


सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकानुसार बाढीले थामेका सात घर, पाँच होटल, एउटा विद्यालय र एउटा क्लीनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । नदी कटानका कारण तटीय क्षेत्रका बस्ती जोखिममा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ । वर्षातविना नै आएको बाढीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ ।

खुम्बु बाढीबारे प्रजिअ पाण्डेसँगको संवाद 

blog

सोलुखुम्बुको खुम्बु क्षेत्रम गएको पहिरो, सोलुमुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) देवी पाण्डे र उद्धारमा सक्रिय सुरक्षाकर्मी । तस्बिरः नेपाल प्रहरी

 सोलुखुम्बुको खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरमा क्षति पुगेको छ ।  बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे केही घरहरू बगाएको छ । बाढीले गाउँ नै बगरमा परिणत भएको छ । यस सन्दर्भमा त्यस क्षेत्रको पछिल्लो अवस्थाबारे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) देवी पाण्डे (खत्री) सँग गोरखापत्र अनलाइनले गरेको टेलिफोन वार्ता :



हिमताल वा हिमपहिरो के रहेछ ?

पछिल्लो समय त्यसको अझै पनि यकिन हुन सकेको छैन ।  सुख्खा पहिरोले खोला पुरिएको हो कि भन्ने पनि एउटा अनुमान भएको छ । तीन-चार दिन अगाडि पानी परिरहेको अवस्थामा पानीले हिउँ जमेको हो वा आज दिउँसो धेरै तातो घाम लाग्दा साना–साना हिउँहरु जमेको ठाउँबाट त्यो पग्लेर बगेको हो कि भन्ने अनुमान छ । हिमतालै हो अथवा हिमपहिरो हो, या सुख्खा पहिरो हो अथवा स–साना जमेको हिउँ पग्लेर हो ? त्यसको यथार्थ विवरण हामीले प्राप्त गर्न सकेका छैनौं । 

 कति मानवीय र भौतिक क्षति भयो ?

अहिलेसम्म घर र होटल गरेर १२ वटा पूर्ण क्षति भएका छन् । हिमालय ट्रस्टको एउटा क्लिनिकमा क्षति भएको छ । एउटा विद्यालयमा पूर्ण क्षति भएको छ । सात वटा घर चाहिँ उच्च जोखिममा छन् । एक जना हराएको आशंका गरिएको छ । त्यसैगरी अन्य मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन । त्यहाँ भएका बुढाबुढी, केटाकेटीलाई नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरिसकेको छ । थप कोही छ कि भनेर नेपाल प्रहरी र नेपाली सेनाले खोजिरहेको छ । जनताको बहुमूल्य सम्पत्ति संरक्षण गर्न र सुरक्षित रुपमा ल्याउनका लागि नेपाली सेना र नेपाल प्रहरीले घर-घरमा गएर ल्याएर सम्बन्धित व्यक्तिलाई दिने काम गरिरहेको छ । 

उद्धार र राहतका लागि के प्रयास भए ?

अहिले राहतको कुरो भएन । हामी अहिले उद्धारको काममा छौं । सुरक्षित होटलमा उहाँहरुलाई उद्धार गरिराखेका छौं । त्यो भएन भने राष्ट्रिय निकुञ्जको कार्यालय छ त्यहाँ राख्ने भन्ने छ ।  राहतका लागि उद्धारपछि मात्रै के कति गर्न सकिन्छ भनेर गर्छौं । अर्को कुरा सदरमुकामबाट हिँडेर जाँदा चार, पाँच दिन लाग्ने, धेरै टाढा भएको हुँदा तत्काल राहतका लागि भन्दा उद्धारको काममा लागिरहेका छौं । 



प्रदेश तथा केन्द्र सरकारले सहयोग गरेको छ वा छैन ?

केन्द्रीय सरकार र प्रदेश सरकारले त आवश्यकता अनुसार समन्वय गरिहाल्छ, सहयोग पनि गर्छ । केन्द्रीय सरकार त हामी नै भइहाल्यौं । प्रदेश सरकारसँग पनि समन्वय छ । तत्काल अब उद्धारका लागि यहाँ जे जति जनशक्ति छ खटिन्छ । भोलि केन्द्रीय सरकारबाट पनि रक्षामन्त्रीसहित नेपाली सेनाको टोली राहतको सामाग्रीसहित टोली आउने जानकारी भएको छ । प्रदेशसँग पनि समन्वय गरेपछि सामग्री आउँछ र हामी त्यो वितरण गर्छौं ।

तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउने सम्भावना कति छ ?

त्यो हामीले पूर्वानुमान गरेर तल्लो तटीय क्षेत्रका जनतालाई सतर्कता बनाएका थियौं । अहिले  बहाबले अलिअलि कटान गरेको छ । त्यति ठूलो क्षति नहोला भन्ने अपेक्षा छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक