20240802

हिज्बुल्लाह भन्छ, 'इजरेलसँगको लडाइँ नयाँ चरणमा'



 हिज्बुल्लाहको गढ मानिने बेइरुतको दक्षिणी भागमा अवस्थित दाहियामा कालो कपडा लगाएका मानिसहरू ठूलो सङ्ख्यामा भेला भए। उनीहरू लेबननको शक्तिशाली मिलिशिया तथा राजनीतिक अभियानका वरिष्ठ कमान्डर फुआद शुकरको अन्तिम संस्कारमा सहभागी हुन त्यहाँ पुगेका थिए। दुई पक्षबीच द्वन्द्व बढेकै बेला इजरेलद्वारा हत्या गरिएका उनी सबैभन्दा उच्च तहका हिज्बुल्लाह सदस्य थिए।

ती मानिसले शुकरको अनुहार देखिने तस्बिर अङ्कित प्ल्याकार्ड बोकेका थिए। उनीहरूले पहेँलो र हरियो रङ्ग भएको हिज्बुल्लाहको झण्डा फहराउँदै र बेलाबेलामा मुट्ठी कसेर माथि उठाउँदै उक्त समूहसँग सम्बन्धित नारा लगाए। इजरेली सेनाले गत शनिवार इजरेलको अधीनमा रहेको गोलन हाइट्सस्थित एउटा फुटबल मैदानमा बालबालिकासहित १२ जनानको ज्यान जाने गरी भएको क्षेप्यास्त्र आक्रमणमा शुकरको हात रहेको आरोप लगाएको छ। हिज्बुल्लाहले उक्त घटनामा आफ्नो समूहको संलग्नता अस्वीकार गरेको छ। यद्यपि उसले उक्त स्थाननजिकैको सैन्य आधारशिविरमा आक्रमण गरेको दाबी गरेको थियो।

त्यसैले उक्त क्षेप्यास्त्र पनि हिज्बुल्लाहको लक्ष्यभन्दा बाहिर गएको हुन सक्ने सम्भावना भएको कतिपयको विश्लेषण छ। अल-हज मोहसिन पनि भनिने शुकर हिज्बुल्लाह नेता हसन नस्रल्लाहका निकट सल्लाहकार मानिन्थे र उनी लामो समयदेखि उक्त समूहमा आबद्ध थिए। मानिसहरू भेला भएपछि नस्रल्लाहले टेलिभिजनबाट सम्बोधन गरे। त्यसलाई हिज्बुल्लाहको सम्भावित अर्को कदमको कुनै पनि सङ्केतका रूपमा धेरैले चासोपूर्वक हेरेका थिए।उनले गोप्य स्थानबाट बोल्दै इजरेलसँगको द्वन्द्व "नयाँ चरण"मा प्रवेश गरेको उद्घोष गरे। सुरक्षाका कारण उनले सधैँ त्यसरी सम्बोधन गर्छन्।

नस्रल्लाहले "अवश्यम्भावी प्रतिक्रिया" कुर्न इजरेललाई चेतावनी दिए। शत्रुपक्षले "सीमा" नाघेकाले त्यसको मूल्य चुकाउनुपर्ने उनले बताए। इजरेलले गैरसैनिक भवनलाई लक्षित गरेर हमला गरेको बताउँदै उनले हिज्बुल्लाहले पनि समान खालको प्रतिक्रिया दिन सक्ने सङ्केत गरे।

उनको सम्बोधनको भाकाले इजरेलसँग अर्को ठूलो युद्धमा उक्त समूहले चासो नदेखाएको सङ्केत गरेको जस्तो देखिन्छ। तर त्यो उनीहरूको रणनीति पनि हुन सक्ने ठानिएको छ।

“म युद्धदेखि डराउँदिनँ। शेख नस्रल्लाहले जे निर्णय गर्छन्, त्यसका लागि हामी तयार छौँ,’ उक्त समूहमा रहेका एक जनाले मसँग भने।

के हिज्बुल्लाहले हत्याको बदला लेला त भन्ने प्रश्नमा अर्का एक जनाले अरबी भाषामा "ईश्वरको जो इच्छा" भने।

शुकरको गत मङ्गलवार हत्या भएको थियो। त्यस क्रममा दुई बालकसहित अन्य छ जनाको पनि ज्यान गएको थियो।

आफ्ना सैन्य नेता मारिएपछि हिज्बुल्लाह र इजरेलबीच पुन: द्वन्द्व चर्किने र त्यो मध्यपूर्वभरि फैलिन सक्ने चिन्ताहरू उत्पन्न भएका छन्।

गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको भोलिपल्टदेखि हिज्बुल्लाहले पनि इजरेललक्षित हमलाहरू सुरु गरेको थियो।

उसले आफ्नो अभियान गाजास्थित प्यालेस्टिनीहरूको समर्थन चलाइएको बताएको छ।

अहिलेसम्म उक्त समूहका अधिकांश आक्रमण र इजरेलको प्रत्याक्रमण लेबनन र इजरेलका सीमावर्ती क्षेत्रमा सीमित छन्।

इरानको समर्थन पाएको हिज्बुल्लाहलाई इजरेलले हमासभन्दा धेरै शक्तिशाली शत्रुको रूपमा हेर्दै आएको छ।

उक्त समूहसँग उन्नत अस्त्रहरूको ठूलो भण्डार छ। त्यस्ता अस्त्रहरूमा ड्रोनहरू र इजरेली भूमिभित्र प्रहार गर्न सकिने खालका उच्चस्तरीय प्रविधिमा आधारित क्षेप्यास्त्रहरू पनि छन्।

हिज्बुल्लाहसँग द्वन्द्व बढेमा इरानको समर्थन पाएका उक्त क्षेत्रका अन्य समूह पनि त्यसमा संलग्न हुन सक्छन्।

ती समूहहरूको अनौपचारिक सैन्य गठबन्धनलाई तेहरानले "एक्सिस अफ रेजिस्टन्स"भन्ने गर्छ। त्यस्ता समूहमा यमनको हूथी र इराकका लडाकु समूहहरू पनि पर्छन्।

इरानले पनि आफ्ना नयाँ राष्ट्रपतिले पदभार गर्ने दिन आयोजित विशेष समारोहमा सहभागी हुन तेहरान भ्रमणमा रहेका बेला बुधवार मारिएका हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याको जबाफ दिने वाचा गरेको छ।

उक्त हत्यामा इजरेलको संलग्नता हरेको इरान र हमासले आरोप लगाएका छन्। इजरेल भने मौन बसेको छ।

उक्त हत्याले गाजामा युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्नका लागि जारी वार्तालाई अन्योलमा पारिदिएको छ।

हिज्बुल्लाहसँगको तनाव कम पार्ने उपाय भनेको कूटनीति मात्र हो।

हमास र हिज्बुल्लाहका दुई नेताहरूको मृत्युपछि उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिका लागि आफूहरू तयारी अवस्थामा रहेको इजरेली सेनाले बताएको छ।

नस्रल्लाहका शब्दहरू इजरेलविरुद्ध कडा भए पनि तत्कालै यी दुई पक्षबीच भीषण युद्ध भइहाल्ला भन्ने सङ्केत दिने खालका चाहिँ थिएनन्। - BBC

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक