(सँस्मरण आलेख) : आज म " सर्पका टाउको टेक्दै हिंडे गणेस रसिक" शिर्षकको मेरो आलेखलाई बीट मार्ने कांटमा पुगेको छु। आज वसन्त पञ्चमीको दिन। लेकालीको प्रादुर्भाव भएको शुभदिन!आम्मै ! ५६ बर्ष भनेको यां हो? समय, गणेश रसिकको पिखुवा खोला बनेर बगेको बगेकै छ।समय, भोजपुरको शेरा खोला बनेर सुसाको सुसाकै छ। आज म लेकालीका दिवङ्गत इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ र शशि भण्डारीहरूलाई हार्दिकताका साथ सम्झंदै छु। बांकि रहेका लेकाली पनि लाखापाखा लागे। सबैको एकमुष्ट भेटघाट हुन सम्भव छैन।आज म सम्झंदैछु उइलेका गणेश रसिकलाई।
समयका सिस्नुहरू टेक्तैटेक्तै बबण्डरका बबण्डर हण्डर खानसम्म खाएका गणेसरसिक विसं २०२३ सालतिर काठमाडौं खाल्डो छिरे र हामीमाझ आइपुगे। म ढाक्रे। रसिक ढाक्रे। उर्मिला मात्र जागिरे।लेकाली लेकाली बन्न अघिदेखि नै हरेक भने जसो सांझ उर्मिलाको घर असनको त्यौडमा हामी भेला हुन्थ्यौं। खाजा खान्थ्यौँ। पैलो काम क्षुधातृप्ति!
उमेर भनेको उमेरै हुंदो रैछ। दिनभरि अपिसमा अन्धाधुन्ध कामपछि पनि उर्मिलामा
जांगर मर्दैनथ्यो। भान्सामा पसेर पकाउथिन कैले राङा मासुको झुर्झुरे। खाजा बजी
झुर्झुरे!कैले ख्वाउथिन् आलुबजी त कैले छोयलाबजी।
भोकको मुखमा बूझो लागिसकेपछि रसिक हार्बिन समात्थे। म खुंडे गितार समात्थें। अनि त रिहर्सल।अन्धाधुन्ध।घन्टौंसम्म। उर्मिला श्रेष्ठ। निर्मला श्रेष्ठ। गणेस रसिक। हिरण्य भोजपुरे। अनि पछिपछि थपिए शशि भण्डारी, इन्द्रनारायण, कमला, नवीन किशोर नीरा र न्हुच्छेहरू। शायद हामीबीच एउटा 'जुनून' ले जन्म लिन्थ्यो!अनि त्यो 'जुनून' जुनकिरी बन्दै मनचरीले मदमात,मदहोशी अनि आनन्दको उपल्लो आधारतिर उज्यालाका अनन्त आंखा-झिल्काहरू छरपस्ट पार्दै जाने गर्दथ्यो। तेई ताका गणेस रसिकले जीवन्त, ऐतिहासिक अनि अत्यन्त कञ्चन गीतहरू रचे:
'ए है, है!आज भेंडबाख्रा कता लाने?/...
यो गाउंले संवाद गीत हो। खास गरेर पूर्ब भोच्चुरतिरको। अज खास भन्ने हो भने भोच्चुर छिनामखु-दिल्पा भेगको।ं नागि,चरन, चौतारी भीरको। यो गीत रेडियो नेपालबाट बज्न सम्म बज्यो, घन्कनसम्म घन्कियो। हिरण्य भोजपुरे र गणेश रसिकको जोर स्वर! हिरण्य भोजपुरेलाई गायक बनाएको गीत। गणेश रसिकलाई गणेश रसिक बनाएको पैलो रचना-स्वर बन-फूल! तेस्तै, उर्मिला श्रेष्ठ र निर्मला श्रेष्ठ लाई गायिकाको रुपमा स्धापित गरेको
गीत हो:
'रनबन घुमी बनबन डुली
काफल पाक्यो, काफल पाक्यो
बोल्छ चरीले.....!'-
शब्द: गणेश रसिक। सङ्गीत: भोजपुरे -रसिक।
लेकाली उब्जनु अघि नै मैले गीत 'ट्याम्के डांडा' लेखें।संगीत जोर भाइ मिलेर कथ्यौं।ट्यमके डांडा प्रतिकगीत हो। ट्याम्के प्रतिति गीत हो।!प्रयोग गीतको प्रतिति हो।गद्यगीत हो। 'सेमाइ'सद्य गद्यगीत हो। हामी लेकाली बनेपछि गणेस रसिक र म भएर थुप्रै गद्यगीतसंगीतसमेत बनायौं र गायौं। गणेश रसिक जति पद्यगीतमा परिपञ्चयुक्त छन् तेति नै अथवा अझ बेलामौकामा उनी गद्यगीतमा बढी सटिक छन्। हेमहमालको गीत....
'यो शहर छोडीजानुभन्दा पैले....'लेकालीको सांगातिक सिर्जनामा सर्वोत्कृष्ट सङ्गीत मध्यमा पर्छ। यो गीत लेकालीद्वारा प्रस्तुत उपत्यका कार्यक्रममा प्रस्तुत भएको हो। यस गीतमा गणेस रसिकको सांगीतिक उच्चताको मापन गर्न गारो छ। उनको गीतसंगीत, ....'न लगाइदेउ हामी हामीमा पिंजडाका पर्खालहरू!....'पनि परम्परागत शब्द र संगीत भन्दा निकै परको परिष्कृत गीत हो भन्ने म ठान्दछु।
' कतिदिन बांच्नुयो हुस्सुले छोपेको शहरमा....' एउटा उच्चस्तरिय गीतसंगीतको दरिलो उदाहरण हो। मेरो सांगुरी भन्ज्याङ,.....' गीत सुन्दा त म भुतुक्कै हुन्छु।
गणेश रसिक। तिम्रा गीतसँगीत मभरि भरि छन्। तिम्रा गीतसँगीत भकारीभरिका भारवाहक म। तिमी जति पनि दिन्छौ बोझ कलाका म कलाजीवि
बनेर तिमीमै मुस्कुराउँछु। तिमी हँसाऊ म हाँस्छु।तिमी 'रुलाउ' म रुन्छु। ओहो तिम्रो त्यौ गित.....'मेरो साँगुरी भञ्ज्यङ.....'सधैँ यसले मलाई बतास दिएको छ।सुस्केरा देको छ। क्षुधा देको छ।तिर्खा उकासेको छ।
तेसै म गणेश रसिकको 'फ्यान' भएको छैन।उनको गीत सङ्गीतमा अपत्यारिलो पाराले मनहुंडल्ने तिखो 'दर्द' छिप्छिपिएको हुन्छ र त्यो छिपछिपाहटै उनको जीवन दर्शनको 'मर्म' हो अनि तेही 'चूरो' नै रसिकको श्रीगणेश हो र उनको गणेश नाउं हो। 'मेरो सांगुरी भञ्ज्याङ....' भन्ने गीतको शब्दसङ्गीतभित्र भाबबिम्बबिधान, करुण अनि अति कमलो काब्यकथन सितिमिति अरुतिर देख्न र सुन्न पाइंदैन!
मलाई त लेकाली सक्रियरहँदा ताकाका उनका गीतसँगीत बढी उम्दा लाग्दछन्। नवबान्कि र नवशौष्ठवका कारणले।भाव,भाषा र भाकामा पाइने प्रछन्न पाइनका कारणले। प्रस्तर पनि पगालुँलाझैँ गर्ने झम्झमाउँदोअत्यन्त करुण, कोमल अनि कल्कलाउँदा साँगितिकभाबबिम्बका हिसापले पनि!
उसो त वर्तमानसम्ममा आइपुग्दा पनि गणेश रसिकको साँगितिक सक्रियता त्यत्तिकै बरकरार छँदै छ। र उनका कृतिको उच्चतामा कमि आको देखिँदैन। वर्तमानमा
रचित रसिकका दुइटा गीतलाई भने म उनकै रचनाका ऐतिहासिक गीत भन्न रुचाउँछु। ती गीति कृतिमा सांगीतिक उच्चताको उन्नत उद्भूति छ। र त
गणेश रसिक नवीनतावोधका अनि प्रयोगधर्मिताका पनि शिर्ष प्रतिबिम्बपुरुष हुन् भन्न मैले हिच्किचाउन पर्दैन!
"-तिम्रो सुन्दर रुपमा बस्छु म
-यो रुप नै कुरूप भए के गर्छौ?"...
" -म हेर्दै छु तिमीलाई, पश्चिम को घाम भएर....
-म हेर्दै छु तिमीलाई पूर्वको जुन भएर"....
यि दुई गीतहरूलाई म वर्तमान समयधारकै अत्यन्त समुन्नत अनि उत्कृष्टतम् सांगीतिक गीति कृति हो भन्ने ठानदछु र मान्दछु। यि दुबै गीत दोहोरी संस्कारका हुन्।
दोहोरीलाई पूर्वी भेगतिर जुहारी भन्ने चलन छ। यस्ता द्वैधालापका गीतहरू उइले मित्रसेनकै पालादेखि हुर्हुरिंदै न आको हैन। र पनि गणेश रसिकले यस खाले कृतिको बूनोटमा यौटा नितान्त नौलो आकृति, प्रकृति अनि अनन्य अनुकृति भित्र्याइदिए।
झ्वाम्म! झन्झनाएर मनै विथोल्ने करुण अनि आनन्ददायक पाराले। यी दुबै गीतमा
उच्च सांगीतिक विलक्षणता छ। यी उडानमा रसिक कहिं रम्दै, कहिं स्मृति र विस्मृतिमा वहंदै, रुंदै नोटहरुमा विचरण गर्नसम्म गरेका छन्। नोटका कण-कम्पनले
अपत्यारिलो अनि असाध्य स्थानहरू समेत छुन पुगेको साक्ष्य ठाउंठाउं फेला पर्दछन्। स्वर सुग्घर छ, माझिएको छ,अनि अति मनमोहित पार्ने पाराको छ।झुमाको नारी स्वर मधुर, सुरिलो र मनै लट्ठ पार्ने खालको छ।
रसिकको स्वर ज्यादै स्वादिलो,गम्भीर, भावुक र भावनामय छ।
"तिम्रो सुन्दर रुपमा बस्छु म ...."-.भन्ने गीत त लाग्छ अतुलनीय छ।दोहोरीगीत अर्थात द्वैधालापका गीतहरू हाम्रो संगीत सङ्कायमा असङ्ख्य होलान्। तर रसिकको यो सांगीतिक अभिव्यञ्जना अभूतपूर्व छ। एउटा मीथकलाई गीतमा
ढालेर शब्द, स्वर र संगीतलाई यस्तो मीठो अनि कमनीय पाराले 'पिरोइएको' कलामाला मैले अरुतिर देखेको छैन। गीत प्रश्न-उत्तरको ढांचामा ढालिएको छ।
रसिकको स्वरलाई झुमा लिम्बुको स्वर औधि स्वाएको छ। द्वैधालापमा मीठो गरेर वहंदैवहंदैगरेको गीत एक्कासी एकालापमा थेग्रिन पूग्दछ। गीतको अन्त्य अन्त्यतिर गणेश रसिकको
गम्भीर र ओजिलो स्वर गद्यमा गुञ्जिरहेको हुन्छ। पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवतीका सुन्दर मूर्तिहरू बनाएबापत आफ्ना हात-खुट्टा अर्पण गर्ने महान मूर्ति कलाकारप्रति रसिक अनन्त पाराले पग्लेका र पग्रेका छन्। विनित
भएर नतमस्तक बनेका छन्।
आज फोन आयो गणेश रसिकको। फोन त कति आए आए उनका! एक साता अगी मात्र नि आएथ्यो, म अम्रीका छंदा।
बल्ल म मेरो मुलूक छिरें, वि सं. २०७९ साल मङ्सीरको 9 गते। मुलुक छिरेपछि मुलुकभरिकै यो पैलो फोन थियो। रसीकको स्वर बलियो, सुश्पष्ट र खिरिलो छ।ती तेस्तै छन र त म सधैं ऊनिसीत खुलस्त छु।
उनले कैले कुनै गुह्य खोलेनन्। खोल्ने कांटका बोझ बोकुवा हैनन् पनि ति।ति तिक्तता बिझ्दै आफ्नो बोझ आफैले बोक्तै उकालो उक्लदै ओरालो ओर्लंदै खूइइय पनि नगरी उर्लने अनुभूति हुन्! हामी यता छिरेको शायद भोलीपल्टै होला रसिकजीको फोन आको?उनले भने: भोजपुरे जी,सन्चै हुनुहुन्छ? अनि उर्मिला दिदी नि! मैलै हामी निकानन्द छौं,भनें। मैले, "तपाईं कता नि "-भन्दा रसिकले रुनुपर्थ्यो, रोएनन्। बरु फुर्तिसाथ भने, "म त दिल्ली मा पो छु त हौ भोजपुरे जी! राजीव गान्धी अस्पतालमा'! म झसङ्ग भएं ! दिल्लीको राजीव गान्धी अस्पताल त क्यान्सर अस्पताल पो! उहीले उर्मिलाको पनि शल्यक्रिया भएको। ब्रेस्ट क्यान्सरको।
'किन, के भो र त्यां?' -मैले एक सासमा सोधेछु। अनि पो उनले बिस्तारै गूह्य खोले.... मोबाइलबाटै।
मूर्धन्य गायक, सङ्गीतकार, साहित्यकार गणेश रसिकलाई क्यान्सर भको रे। 'प्रोस्टेट' को। अपरेसन पनि भैसकेको रे! तीन बर्ष अघि नै। ऐले त्यै जोखिम
बल्झेर दिल्लीको राजिव गान्धी अस्पताल पून: धाको रे!
आम्मै! तीन बर्ष भैसकेछ! गोप्य पनि कस्तो गोप्य यो? अचाक्ली को! "ए है...!"
छैन। ..."है!..." मात्र छ।..."... कुखुरी छैन...!..."कां ..."मात्र छ! -"हामी त जोर
भाइ छंदैछौं..."-मा एक भाइलाई पाखो पारे जस्तो....!
" किन यस्तो?" भनेर सोध्दा रसिकजीले गम्भीर स्वरमा भने,"सके सबैलाई
सुख बाड्न सकुं। दुख बांडेर अरुलाई पनि किन विक्षिप्तता दिने, भनेर हो भोजपुरेजी। यसलाई अन्यथा नमान्नु होला....!" यसमा मैले के अन्यथा मान्नु र! भन्न मनलाग्यो.... "आफ्ना प्रियपात्रले आफ्ना अनन्यसित दर्द पनि बांटे निको हुने हो। हैन र....!"
अब भने लाग्यो गणेश रसिक सिस्नुहरु टेकतै हिंड्दै छैनन्। अब त उनी डरलाग्दा सर्पका टाउको टेक्दै हिंड्दै छन्। क्यान्सरका किराहरू सर्पका टाउकाभन्दा कम जोखिमपूर्ण हुंदैनन्। र पनि आज क्यान्सर 'कमन' भैसकेको छ। म मेरी कान्छी बैनीलाई सम्झन्छु।क्यान्सर भाको। त्यो पनि लास्ट स्टेज रे! ऐले सम्म ठमठम हिडिराकी नै छन्। अब त दुइ दशकै नाघि सक्यो उनलाई क्यान्सरले झट्को दिएको।
! बैनी नन्दिका पांच वर्ष पछि डा.प्रकाश सायमीलाई चेक गराउन जांदा डा.सायमी धुरुधुरु रोए रे, त्यस्तो असाध्य स्थितिको रोगीलाई बचाउन सकें भनेर। डा.प्रकाश सायमी प्रखर साहित्यकार धुस्वां सायमीका प्रथम पुत्र! बीस बर्ष बितिसक्यो उर्मीलालाई निकानन्द नै छ। हालसालै छोरी सितु भोजपुरे लाई ....क्यान्सरले गांजेछ। उपचार हुंदैछ।डाग्डरले अभय दान दिएका छन्। बैनी नीरा रसिकै पनि त क्यान्सरबाट पार पाइसकेकी हुन्। पापिस्ट कोरोनाले पो उनलाई झुक्याएर
लगेछ त!
"भोजपुर छिनामखुकोएक समपन्न र सम्भ्रान्त परिवारमा जन्मेका गणेश रसिक।
बालकालमा उनका थुप्रै मनपर्ने मान्छे हुन्छन्। उनलाई मनपराउने थुप्रै मनहरू हुन्छन्।पिखुवाको कलकलसंग स्वयं पलपल क्रीडा गर्दै आफ्नो बाल्यकाल मनको महसंग,मनकै रह र वहसंग बिताउदै गरेका हुन्छन् उनले।त्यो पिखुवा त्यसै बखत
स्थिर भइदिएको भए बेस हुन्थ्यो। तर खोलालाई बग्नु थियो, बगिरह्यो। यो बगाइले
उनका धेरै मनपर्ने मान्छेहरूलाइ बगाएर लग्यो। आफुलाई जन्मदिने आमालाई
बगाएर लग्यो। उनी सानैमा मातृ विहीन बबुरा बने, टुहुरा बने। केही अन्तरालमा
त्यसैको बाढीले बाबालाई बगायो। अब त झन् उनी आमा र बाबा विहीन टुहुरो बन्न पुगे। त्यतिले नपुगेर पिखुवा अनवरत बगिरहेर नै आफ्नै आंत जस्ता लाग्ने भाइहरूलाई पनि कालको कात्रो ओढाइदिंदै वहावले ओरालीतिर ओराल्दै लग्यो।....
"गणेश रसिक 'जब सिस्नुहरूटेक्दै हिडें' मा पिखुवाको सेरोफेरोसंगै सुसाइरहन्छन्।
पिखुवा को सानिध्यमा बांच्ने र बित्ने आफन्तहरूको विगतमा बगिरहेका हुन्छन, बगि रहन्छन्....
"सिस्नु टेक्दैटेक्दै हिंडेकाले नै आज गणेश रसिकका खुट्टा आगोमा हिड्न सक्ने
बनेका छन। हिउंमा कुद्न सक्ने भ एका छन्.....
"गणेश रसिकहरूले सिस्नुहरू टेक्दै टेक्दै हिंडेकै हुनुपर्दछ।
पिखुवा बगिरहेको छ। पिखुवालाई बग्न दिइरहनुपर्दछ।...."
गणेश रशिकको पुस्तक:"जब सिस्नुहरू टेक्दै हिंडें" बाट साभार!
अहं म मान्दिन।आज आएर म मेरै कुरालाई काट्छु। गणेश रसिकहरूले हर्दम
सिस्नु टेकेरै हिंडिरहनुपर्छ भन्ने छैन। पिखुवा बग्छ भने बगिराखोस्। मानिस
पानि मात्र होइन। मानिस बतास मात्र पनि होइन। हामी चूरोमा सम्वेदना हौं।
गणेश रसिकको संवेदनाले पनि सुख खोज्छ र उसले पाउंछ पनि। ऊ भित्रैदेखि दरिलो छ। उसको उर्जाले उसको खिरिलोपनको धारमा खिया पर्न दिंदैन।
अब गणेश रसिकलाई दुखले पनि दुख दिन सक्तैन। दुखले उनलाई दुख दिन खोज्यो भने दुखलाई नै दुख्छ।सर्प जाबोको के कुरो!गणेश रसिकले टेकेको सर्पको टाउकोलाई टेक्दा सर्पको टाउको नै निस्तेज बन्छ। चोटले उनलाई चोटिलो भन्दा चोटिलो चोट दिंदा दिंदा चोट नै थेत्तरबनिसकेको छ। अब त चोट र पीडाले उनि पिडितलाई उर्जा पो दिन्छ। रसिकको धैर्यले, आत्मविश्वासले अनि अमर्त्यआत्मवललेगर्दा 'मै हुं' भन्ने सुकेनाश र पिनासहरूले पनि उनलाई लछारपाटो लाउन सक्तैनन्। बरु रसिक भन्न रुचाउँछन् "....सुकेनाशले हैन हजूर प्रेमले दीर्घ रोगि बनायो..!
यही दीर्घरोग बोकेर वाङ्मयबीर गणेश रसिक दीर्घ उमेर बांचिरहेकाछन्,बांचिरहन्छन्,बांचिरहनुपर्छ!!!
श्रीपञ्चमी,
माघ १२, २०७९, सुनाकोठी, ललितपुर।
click on this logo for home page
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक