20240307

प्रधानमन्त्री प्रचण्डको पाँचौँ ‘युटर्न’, चमेरो र वालुवाटार !

- पुरुषोत्तम दाहाल 

संयोग नै भन्नुपर्छ २१ चैतका दिन माओवादीले क्रूरतापूर्वक हत्या गरेको रुकुमका एमाले नेता यदु गौतमको स्मृति दिवस मनाउँदै गर्दा र मालेका पाँच नेताको सुखानीमा निर्दलीय पञ्चायती सत्ताले गरेको निर्मम हत्याको स्मृति गर्दै गर्दा एमाले र माओवादीबीच सत्ता समीकरण हुन पुगेको छ । नाटकीय रूपमा सत्ताको अर्को पहेली सुरु भएको छ । चितवन र गोरखातिरका बाल्यकालीन सहकर्मीहरूका अनुसार पुष्पकमल दाहाल तासका खेल (किट्टी, फरास, जुटपत्ती) खेल्न सिपालु हुनुहुन्थ्यो । उहाँ जसरी हुन्छ जित्ने कलामा निपूर्ण । सिधा पत्तीले नभए लुकाई, फकाई जसरी भए पनि आफ्नै पक्षमा विजय घोषित गर्नुहुन्थ्यो । यो कति सत्य हो, पंक्तिकारलाई जानकारी छैन । तर, पत्ताको खेल नभए पनि अन्तिम सत्य सत्ता भन्ने खेलमा उहाँ सही अर्थमा निपूर्ण देखिनुभएको छ । यसै पनि ठूला दुई दलको अहंकारले माओवादीलाई दुवै हातमा लड्डु सुम्पिएको अवस्था छ । नेपाली कांग्रेसको ८८ संख्या जसरी खोटो सिक्का भएको छ एमालेको ७८ संख्या पनि खोटो सिक्कामा नै परिणत भएको छ । यी दुई पार्टीको नेतृत्व खोटा सिक्काको नायक भएका छन् । तिनै खोटा सिक्कालाई आफ्ना पक्षमा उपयोग गर्दै माओवादी अध्यक्ष दाहाल समृद्ध भइरहनु भएको छ ।

(१) समीकरणको पृष्ठभूमि :
पछिल्लो चरणमा ०७४ को निर्वाचनको पूर्व-सन्ध्याबाट अराजक उपयोगितावादी राजनीति अवलम्बन हुन थालेको हो । एमालेको गठबन्धन तोडेर मााओवादी अध्यक्ष दाहाल कांग्रेससँग सहकार्यमा पुग्नुभयो । त्यो खेल अत्यन्त नाटकीय थियो । निर्वाचनपूर्व त्यस्तै नाटकीय ढंगले एमाले र माओवादी पार्टीबीच एकता भयो र नेपालमा ‘न भूतो न भविष्यति’ हुनेगरी कम्युनिष्ट पार्टीको बहुमत सहितको सरकार बन्यो । तर, ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै उनीहरूबीच साँध सीमा लाग्न थाल्यो र प्रधानमन्त्री ओलीले दुई पल्टसम्म संसद् विघटनको सिफारिस गर्नुभयो । एमालेमा समेत विभाजन भयो, माओवादी पुरानै नाममा बस्नुप¥यो । दुवैपटक माओवादी र कांग्रेस मिलेर त्यो विघटनलाई चुनौती दिएपछि सर्वोच्च अदालतले पुनःस्थापन ग¥यो र देउवाको नेतृत्वमा गठित सरकारले ०७९ मा निर्वाचन गरायो । यहाँसम्म दाहालले दुईपटक तम्बू परिवर्तन गरेको देखिन्छ ।

(२) प्रधानमन्त्रीमा दाहाल र ‘युटर्न’ :
अब यो देशमा रूख र हँसिया फरक नभएर एउटै हुन् भन्दै निर्वाचनमा साथ रहेको नेपाली कांग्रेस ठूलो दलको नाताले प्रधानमन्त्री पद दाबी गरेपछि अनायास पुष्पकमल दाहाल पुनः तेस्रो छलाङ मार्न पुग्नुभयो एमालेको काखमा । त्यसबेला एमाले, राप्रपा, रास्वपा, जसपा जस्ता दलहरू पनि गठबन्धनको हिस्सा बन्न पुगे । तर, दाहालको चौथो क्रमभंगता दुई महिना नपुग्दै राष्ट्रपतिको निर्वाचनमा हुन पुग्यो । उहाँले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्नुभयो, एमाले, राप्रपा, रास्वपासँगको सहकार्य तोड्नुभयो र नेपाली कांग्रेससँग हातेमालो गर्नुभयो । दुई महिनाभित्र दुईवटा छलाङ देखियो । यो छलाङ एक वर्ष नपुग्दै अर्कातिर युटर्न हुन पुगेको छ । नेपाली कांग्रेससँगको सहकार्य तोडेर पुनः एमालेको काँधमा उहाँ पुग्नुभएको छ । एक वर्षअघि दाहालले हिर्काएर उकुच पल्टेको घाउ देखाउँदै बसेको एमाले त्यही घाउमा औषधिमूलो गर्न पुनः दाहाललाई स्वागत गर्दै छ । राजनीतिमा यो नमुनालायक, उदाहरणीय वेश्यावृत्तिबाहेक केही होइन । एमालेको र माओवादीको यो अत्याधुनिक सम्मानजनक वेश्यावृत्तिलाई सम्भवतः कांग्रेस नेतृत्वले अर्को साल पुनः निरन्तरता दिनेछ र दाहालको नेतृत्वमा नै अर्को व्यापार व्यवसाय चलाउनेछ । अर्थात् ०७२ को संविधान निर्माणपछिको राजनीति रातिमा चमेरो जस्तो उत्तानो टाङ लगाएर झुण्डिने र दिनमा छेपारो जस्तो रङ फेर्दै भ्रमित तुल्याउने हुन पुगेको छ ।

(३) कांग्रेसका गल्ती के हुन् ?
नेपाली कांग्रेसले विचार नमिल्नेहरूसँग चुनावी गठबन्धन गर्नु सिद्धान्तमाथि बलात्कार थियो । जनतामा पुगेर आत्म निरीक्षण र शक्ति परीक्षण गर्ने अवसरलाई लोकतान्त्रिक मानिन्छ । र, त्यो अवसर निर्वाचन नै हो । कांग्रेस जस्तो लोकतन्त्रको मियो मान्ने पार्टीले सत्ताको खेल मात्रै निर्वाचनलाई बुझ्नु गलत हो । तर, यसरी गठबन्धन गरिसकेपछि अर्को ठूलो पार्टी एमालेसँग सहकार्य गर्ने सहमति गर्नुको साटो तेस्रो शक्तिलाई अगाडि लाएर सत्ताको स्वाद लिने प्रयास गर्नु कांग्रेसको महाभूल थियो ।

त्यो महाभूल सच्याउन कांग्रेसले पीडाबोध गर्दै भए पनि माओवादीलाई विश्वासको मत दियो र राष्ट्रपति पद आफ्नो पोल्टामा पा¥यो । राष्ट्रपति पदकै निहुँमा एमाले माओवादी मतभेद चर्कियो र एक वर्षसम्म कांग्रेस सत्तामा साझेदार रहृयो । तर, यसबीचमा आएका केही सतहका कुराहरूले पुनः कांग्रेस सत्ताविमुख हुन विवश भएको छ । महासमिति बैठकमा बेमौसमको बाजा जस्तो गरी गठबन्धन तोड्ने महामन्त्रीको प्रस्ताव, रफ्फु गर्ने क्रममा अहिले नभएर ०८४ को चुनावमा एक्लै लड्ने निष्कर्ष, महासमिति बैठकमा धर्म सापेक्ष अर्थात् हिन्दू राष्ट्रको एजेण्डाको प्रवेश । योसँगै माओवादीको सशस्त्र हिंसालाई अनावश्यक युद्ध भन्ने तर्क । बुद्धिमतापूर्वक शब्द चयन गर्न नसक्नुले विवाद देखापर्‍यो । जसलाई सही मान्न सकिँदैन । हिन्दू राष्ट्रको मुद्दाभन्दा पनि गठबन्धनका विषयमा कांग्रेसले बखेडा खडा गर्नु अर्को भूल मानिन्छ ।

(४) माओवादीको तर्क :
प्रधानमन्त्रीका कुरा सुन्ने हो भने : (१) देउवाका पोष्यपुत्र जस्ता देखिने अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई सहयोग गरेनन् । उनका कारण पहिलो असन्तुष्टि हुन पुग्यो । (२) कतिपय ठूला मुद्दाहरूमा तहसम्म पुगेर अनुसन्धान गर्न खोजिए पनि रोक्ने काम भयो र सरकार बदनाम भयो । (३) कोशी प्रदेशबाट राष्ट्रिय सभाका लागि एमालेको गुन तिर्दै कांग्रेसले माओवादीको उम्मेदवारलाई हराउन सहयोग पुर्‍यायो (४) राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई जसरी पनि उठाउने र बढी संख्या भएको मओवादीलाई सहयोग नगर्ने अडान लियो । (५) केही मन्त्री परिवर्तन गर्ने प्रधानमन्त्रीको आग्रहलाई कांग्रेसले अस्वीकार गर्‍यो । योभन्दा पनि माओवादीले : नेपाली कांग्रेसको केही दिन पहिले सम्पन्न महासमिति बैठकमा दुईवटा गम्भीर विषयको उठान भयो । त्यो हो, गठबन्धनको प्रश्न र माओवादीको जनयुद्धको दाबीलाई अस्वीकृति । माओवादीका तर्क कति जायज हुन् ? त्यो कांग्रेसबाट आउने प्रतिक्रिया र समयले दिने उत्तरमा निर्भर रहनेछ ।

(५) एमालेको सफल रणनीति :
नेपाली कांग्रेसले सोझो तरिकाले विवेकको वाणी बोल्दै अब अर्को वर्षको प्रधानमन्त्री माधवकुमार नेपाललाई बनाउने बहस सुरु ग¥यो । अत्यन्त ईखालु एमाले अध्यक्ष केपी ओलीका लागि यो कुनै हालतमा पाच्य थिएन । उहाँ कल, छल, बल सबैको प्रयोग गरी माधवको सम्भावनालाई अन्त्य गर्न चाहनुहुन्छ । गत वर्ष राष्ट्रपति पदमा गरेको घातको पैँचो फेर्न कांग्रेसविरुद्ध माओवादी अध्यक्षलाई प्रयोग गर्दा माओवादीको तेजोबध गर्ने र कांग्रेसलाई सत्ताच्युत गर्ने अवसरसमेत एमालेले पायो । एक वर्षभरि प्रचण्डविरुद्ध गरेको विषवमन सिनित्त आफ्नै कटौरामा थाप्दै र एमालेविरुद्ध माओवादीको विषवमनलाई उतैतिर फर्काउन एमाले रणनीति सफल भयो । यो खेलमा अब्बल खेलाडी केपी ओली नै शिद्ध हुनुभयो भने सत्ता पाए पनि दाहाल नैतिक रूपमा विजयी देखिनुभएन ।

(६) खाली हात शक्तिशाली :
३२ स्थानको माओवादीले खेल जितिरहेको छ । नेपाली कांग्रेस र एमाले जस्ता दुईवटा शक्तिशाली खेलाडीहरू रित्तो हात लिएर खालमा कहिले जम्ने, कहिले च्याँखे दाउ हेर्ने, पाए घप्पु थाप्ने देखिनु नेपाली राजनीतिको दुःखान्त पक्ष हो । बालुवाटार वृत्तको सत्ता राजनीति पहिले भनिएजस्तो चमेरो र छेपारो प्रवृत्तिको द्योतक हुन पुगेको छ । भोलिका दिनमा यो अर्को खेलको परिणाम हेर्नलायक हुनेछन् कि सम्झनलायक समयले नै बताउनेछ ।

(७) अनुद्घाटित पक्ष :
केही जानकारहरूका तर्कमा नेपाली कांग्रेसले हिन्दू राष्ट्रको मुद्दालाई बहसमा उतारेपछि नेपाललाई विगतमा धर्म निरपेक्ष गराउन र वर्तमानमा धर्म परिवर्तनको व्यपक अभियानलाई सुरक्षित गर्न उद्यत् सबै शक्तिहरू गोलबद्ध भए र समीकरण परिवर्तनको भित्री खेल सुरु भयो । योसँगै, एमसिसीको कार्यान्वयनको प्रश्न पनि जोडिएको छ । नेपाली कांग्रेस एमसिसीको स्वाभाविक सहयोगी हो । तर, विरोधमा रहेकाहरूलाई नसमटेसम्म कार्यान्वयन हुने सम्भावना न्यून हुनसक्छ । यसैकारण चुलो चौकोमा बस्नेहरूको नवीन समीकरण तयार भएको हो । यो तर्क पनि कति वजनदार छ, अहिले नै भन्न सकिँदैन । दाहालको नवीन खेल र ओली रणनीतिले देश र जनताका पक्षमा काम गर्ने हो कि, आफ्ना र आफन्तका पक्षमा मात्र ? हेर्ने विषय यो पनि हो । सफलताको कामना गर्नु पहिले आशा गरौँ, देश, जनता र परिवर्तनका पक्षमा सरकारले काम गर्नेछ ।


आजको कविताको शीर्षक : चमेरो र वालुवाटार !

अँधेरेा हुनासाथ उत्तानो पर्ने र झुण्डिने कला छ,

 उसमा,

सबैलाई लाग्छ चमेरो हो 

हुँदै हो ,ऊ चमेरो ।

तर उज्यालो देख्ने बित्तिकै रङ्ग बदल्न खप्पिस छ ऊ,

छेपारो भन्छन् 

मान्छेहरु 

राती बालुवाटारकाे वटवृक्षका हाँगामा मस्त सुत्छ ।

पखेटाले बिख जोड्जाड् गर्छ र  चुच्चोबाट मान्छेलाई ठुङ्ने गर्छ ।

भुतुक्क पार्ने योजना छ उसको ।

दिनभरि ऊ

वित्ता वित्तामा रङ्ग फेर्दै 

कहिले बाल्कोट ,

कहिले बुढानीलकण्ठ ,

कहिले लैनचौर 

कहिले भाटभटेनी

पानीपोखरी र महाराजगन्जमा पनि झुल्करहेको देखिन्छ ।

कहिले यता ,कहिले उता,

सडक नापी रहेको हुन्छ,

कति वित्ता, कतिपाइला

 कति हात, कति मिटर, 

 कति किलोमिटर 

र कति माइल,

ऊ यसरी नै नाप्ने गर्छ ।

सडकमा हिड्दा हिड्दै 

कहिले दक्षिणको ओरालोतिर भेटिन्छ ।

कहिले उत्तर उकालोमा सास्ती खेपिरहेको हुन्छ ।

कहिले सुनका पोका बोक्छ

कहिले नोटका विट्टा ।

देख्नेहरु भन्छन् 

अब त दिशा वदल्येा यात्राकाे ,

पश्चिम कुदिरहेको देखेछन् कतिले ।

त्येा वालुवाटारकाे कालाे काेठामा 

कहिले वालुवा विक्री हुन्छ,

कहिले मान्छे । 

किन्न र बेच्न सिपालु  छ वालुवाटार ,

आफैले आफैंलाई बेचिरहेको हुन्छ कहिले ।

कुनै दिन आफूलाई र कहिले  अरुलाई बेच्न मोल तोकिरहेको हुन्छ उसले ।

वालुवाटारमा लाग्ने व्यभिचारी बजार त हाे ।

कहिले  भद्रगोलमा भेटिन्छ ऊ ।

कहिले वालुवाटारकै भित्तालाई   भद्रगोल बनाइ रहेको हुन्छ ।

राती हेर्यो चमेरो

दिनमा हेर्यो छेपारो

बुझिनसक्नु छ वालुवाटारकाे यात्रा ।

( चिन्तन र चिन्ता नभई आलस्यको सिर्जना  )

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक