20240222

नयाँ भिसी नियुक्ति र त्रिवि सुधारको बहस - सूर्यराज आचार्य

 1. हामीकहाँ समस्या र समाधानका बारेमा चर्को बहस चल्छ। तर समस्याको जरोमा पुगेर समाधान दिने किसिमको गृहकार्य गर्ने चासो कमैलाई छ। यस्तो बहस अक्सर समस्या प्रतिको सतही प्रतिक्रिया र 'झिल्के' हल्ला-खल्लामा सिमित हुन्छ। त्रिविको भिसी नियुक्ति प्रकरणमा पनि यस्तै भयो।

2. त्रिवि प्रणालीमा गंभिर समस्या छन्। यी समस्या पछिल्लो २-४ वर्षमा सिर्जना भएका समस्या हैनन्। कतिपय समस्याको जरो त्रिवि स्थापना काल मै पुग्न सक्छ। शिक्षा किन/कसरी भन्ने कुरालाई केन्द्रमा राखी समग्र शिक्षा प्रणालीको गंभिर समीक्षा गर्नु पर्ने देखिएको छ, तर त्यसो हुन सकेको छैन।

3. उच्च शिक्षाका लागि भनेर लाखौंको संख्यामा विद्यार्थी बाहिर जाने, र देश भित्रका क्याम्पसमा विद्यार्थी संख्या नपुग्ने! पछिल्लो चरणमा त विद्यार्थीका लागि आकर्षक ठानिएका प्राविधिक विषयका क्याम्पसमा समेत विद्यार्थी संख्या नपुगेको समाचारले राजनीतिक तहमा पनि दबाव सिर्जना गर्यो।

4. प्रम स्वयंले त्रिवि सुधारको आवस्यकता र यस पटक भिसी नियुक्तिमा सुधारमुखी 'नयाँपन' देखाउने सार्वजनिक प्रतिवद्धता व्यक्त गरे। प्रमको चासोले गर्दा पनि यो एजेन्डा माथि अलि फराकिलो वृत्तमा बहस शुरू भयो। देशको सबै भन्दा जेठो र ठूलो त्रिविमा उल्लेख्य सुधार हुनुपर्नेमा सबैको एकमत!

5. त्रिविको परिणाममुखी सुधारको ठोस 'मार्ग-चित्र' के हो भन्नेमा गजबको अलमल देखियो। बास्तवमा योग्य र सक्षम भिसी नियुक्ति सुधारको प्याकेजको यौटा पाटो मात्र हो। त्रिविको समस्या यति जटिल बनिसकेको छ कि भिसी मात्र जस्तो सुकै भए पनि ब्यापक संरचनात्मक सुधार बिना अपेक्षित सुधार सहज छैन।

6. त्यसैले भिसी नियुक्तिको 'ठिकठाक' प्रक्रियाबाट सुधारको अपेक्षा गर्नु अघि त्रिविको समग्र प्रणालीमा समस्या के के हुन्? तीनको समाधानका लागि कस्तो नीतिगत हस्तक्षेप र ब्यवस्थापकीय उपाय? भन्नेमा गृहकार्य हुन जरूरी थियो। त्यसका लागि कति अधिकारको कस्तो भिसी? भन्ने एकीन हुन्थ्यो।

7. उच्च शिक्षा सुधारका लागि अपनाउनु पर्ने नीति/कार्यशैली सिफारिस गर्न सन् १९९७ मा सिंगापुर सरकारले विदेशी विविका मुर्धन्य प्राज्ञ सम्मिलित एक International Academic Advisory Panel (IAAP) गठन गरेको थियो। IAAP को रिपोर्ट सिंगापुरको उच्चशिक्षा सुधारमा निकै सहयोगि बनेको थियो।

8. IPPP को रिपोर्ट समेतका आधारमा सिँगापुरले उच्चशिक्षामा सुरु गरेको सुधारका पहलले गर्दा १५-२० वर्षमा नै National University of Singapore संसार कै 'टप' विश्वविद्यालयको सुचीमा उक्लिन सक्यो। गुणस्तरीय उच्च शिक्षाले 'नलेज-इकनमी' मार्फत सिंगापुरलाई विश्व प्रतिस्पर्धि हुन सघायो।

9. त्रिविको नयाँ भिसीको नियुक्तिका लागि चलेको बहस र आनागरिकको चासो उच्चशिक्षा सुधारका लागि सिंगापुरले अपनाएको जस्तो गंभिर गृहकार्यको बाटोतर्फ मोडिनु पर्थ्यो। त्रिविको परिणाममुखी सुधारको नेतृत्व गर्ने भिसी शिक्षा मन्त्रालयले विज्ञापन गरेर भेटिन्न भन्ने कुरा सहज ज्ञानको विषय हो।

10. त्रिविको अहिलेको अवस्थामा त्रिविलाई आवस्यक क्षमतावान व्यक्ति भिसीको 'जागिर' का लागि निवेदन हाल्न जाँदैन। अन्यत्र पनि भिसी जस्तो महत्वपूर्ण पदका लागि 'खोज्ने' र 'छान्ने' दुवै प्रक्रिया अवलम्बन गरिन्छ। सहकर्मी समुहको तेस्रो पक्षलाई उपयुक्त पात्रलाई सिफारिसको अनुरोध गरिन्छ।

11. त्रिविको नयाँ नियुक्तिको चर्चा चल्ने बित्तिकै प्राज्ञिक समुदाय, मिडिया र संसदीय बहस समेतमा 'खुला-प्रतिस्पर्धा' बाट भिसी नियुक्ति भयो भने त्रिविका सबै समस्या 'छु-मन्तर' हुने किसिमको भाष्य सिर्जना भयो। दलीय भागबण्डालाई चिर्न खुला-प्रतिस्पर्धा एक उपाय हो, तर सबै समाधान हैन।

12. तथापी नयाँ भिसी नियुक्ति र त्रिवि सुधारको छलफल मुल:त 'खुला-प्रतिस्पर्धा' वरपर रह्यो। बहसका क्रममा कतिपय प्राज्ञ र शिक्षाविद्का 'त्रिविको समस्यालाई आवस्यक भन्दा बढि उछालिएको' भन्ने दावि समेत थिए। कानुन निर्माण र नीतिगत तहमा पनि त्रिविको खास समस्या बारेमा ठुलै अलमल देखियो।

13. त्रिविको विसंगति आम जनचासोको विषय बनेको र त्रिवि प्रणालीमा उल्लेख्य सुधार गर्नु पर्ने दबावमा रहेको राजनीतिक नेतृत्वले राष्ट्रिय बहसमा निकै महत्वका साथ उठाईएको 'खुला-प्रतिस्पर्धा' को मुद्दा समातेर सहज बाटो अख्तियार गरेको छ। त्रिविले भने परिणामुखी सुधारको अवसर गुमाएको छ।

14. किनभने 'खुला-प्रतिस्पर्धा' को माग अनुसार खुला आवेदनका लागि सरकारले विज्ञापन गर्‍यो। आवेदन परे। स्कोरिंग गरियो। सर्ट-लिस्टिंग गरियो। प्रिजेन्टेसन गर्न लगाइयो। अन्तरवार्ता लिइयो। खुला प्रतिस्पर्धाका सवै विधी पुगे। भिसी छानियो। सुधार होला? कि 'हात्तिआयो, हात्ति आयो फुस्सा' को अवस्था हो?

15. त्रिविको प्राज्ञिक कार्यक्रमको संरचना, त्रिवि प्रणालीमा कलेजियट-भावनाको अभ्यास, पाठ्यक्रम, शिक्षण विधि, अुनसन्धान, मौजुदा फ्याकल्टीको प्राज्ञिक योग्यता र कार्यसम्पादनको स्तर, स्रोत-साधनको अवस्था लगायतका समग्र पक्ष समेटिनेगरी नेपाल सरकारले यस्तै IAAP गठन गरोस्।

16. IAAP ले माथि उल्लेखित पक्ष समेटेर वस्तुगत संमीक्षा सहित सुधारका उपाय सुझाओस्। उच्च राजनीतिक तहले त्रिवि तथा उच्चशिक्षाको सुधार कसरी भन्नेमा चिन्तन र बहस सहित सुधारको स्पष्ट रोडम्याप निर्धारण गरोस। नत्र हालको जस्तो सतही बहसले समस्या ज्युँकात्युँ रहने छ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक