20231120

बैंकहरूले मंसिरका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरे


 बैंकिङ कारोबार गर्दा निक्षेपको ब्याजदर सक्दो बढी भएकोमा र कर्जाको ब्याजदर सकभर कम भएको बैंकमा ग्राहकको आकर्षण हुन्छ। यतिबेला बैंकहरूले एकातिर मंसिरका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिकसँगै लागू गरेका छन्। यस महिना वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३ प्रतिशत बिन्दुले बढीले घटेको देखिन्छ। गत कात्तिकमा व्यक्तिगत निक्षेपतर्फ औसत ९.९६ प्रतिशत रहेकोमा मंसिरमा ९.६३ प्रतिशतमा सीमित छ। सञ्चालित २० वाणिज्य बैंकमध्ये यस महिना बढी निक्षेपको ब्याजदर हुनेमा माछापुच्छ्रे, हिमालयन र नेपाल एसबीआई छन्। यी ३ वटैको जसले ब्याजदर १०.६० प्रतिशत छ। तर, ६ बैंकको ब्याजदर स्थिर छ। जसमा सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी, प्राइम कमर्सियल र नेपाल बैंक पर्छन्। यसबाहेकका १३ वटाले ब्याजदर घटाएका छन्। 

ऋणीका लागि पनि ब्याजदर थोरै घट्ने भएको छ। वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) गत असारको तुलनामा थोरै मात्रामा घटेको छ। सेयर मार्जिन प्रकृतिको धितोकर्जा होस् वा घरजग्गा कर्जा, गाडी, आवासीयलगायतका कर्जाहरू लिने ग्राहकलाई यो खुसीको खबर हो। बैंकहरूले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन्। चालू आवको पहिलो त्रैमासमा सार्वजनिक आधार दर (बेस रेट)मा आधारित भएर बैंकहरूले 

कर्जाको ब्याजदर निर्धारण गरेका छन्। आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ ।

यदि आधार दर बढ्दै गए ऋणको ब्याजदर पनि बढ्छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले हरेक त्रैमासमा आधार दर गणना गरी सार्वजनिक गर्नुपर्छ। सोही आधारमा गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्न निर्देशन दिएको छ । यसैले स्थिर ब्याजदरमा कर्जा लिएका बाहेकको कर्जा सम्झौताअनुसार नयाँ होस् वा पुराना दुवै ऋणीको ब्याजदर परिवर्तन हुन्छ। 

यसैले अब कुन बैंकको कर्जाको ब्याजदर कत्ति पुग्ला भन्ने कौतुहलता ऋण लिन चाहनेलाई हुनु स्वाभाविक हो। आधार दरकै तथ्यांकअनुसार यस महिना कर्जाको ब्याजदरमा थोरैले कमी आउने देखिएको छ। किनभने पछिल्ला महिनामा बैंकहरूको आधार दर थोरै भए पनि घट्दै गएको थियो। सोअनुसार ऋणको ब्याज पनि थोरै भए पनि नियन्त्रण भएको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासिक (असोज मसान्तसम्मको) वित्तीय विवरणअनुसार तीन महिनामै औसत ब्याजदर करिब ०.०५ प्रतिशत बिन्दुले घटेको छ। यसअघि असार मसान्तसम्म औसत आधार दर १०.०५ प्रतिशत रहेकोमा असोज मसान्तसम्म आउँदा १० प्रतिशतमा झरेको छ। यद्यपि गत आवको असोजमा औसत आधार दर १०.१० प्रतिशत थियो। 

यसर्थ सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको छ।  यसको क्रमशः ८.४२ र ८.७० प्रतिशत छ। एकल अंकमा आधार दर रहनेमा ९ वटा बैंक छन्। उक्त दुईबाहेक क्रमशः नेपाल बैंकको ९.१९, सिद्धार्थको ९.५३, नबिलको ९.५८, एभरेस्टको ९.७०, सानिमाको ९.७५, एनएमबीको ९.८५ र नेपाल इन्भेस्टमेन्ट मेगाको ९.९९ प्रतिशत आधार दर कायम रहेको छ। यसबाहेकका ११ बैंकको आधार दर भने दोहोरो अंकमा अर्थात् १० प्रतिशतदेखि ११ प्रतिशतको बीचमा छन्।

आधार दरसँगै प्रिमियम र स्प्रेडदरले ब्याज निर्धारण

बैंकको जति कम आधार दर हुन्छ त्यसको ब्याजदर प्रायः कम हुने भएकाले ती बैंक ग्राहकको छनोटमा पर्छन्। तर, कर्जाको ब्याजदर बढी र कम कत्ति छ भन्नेबारे आधार दरसँगै स्प्रेड दर (कर्जा– निक्षेपको ब्याजदर अन्तर), प्रिमियम दरले निर्धारण गर्छ। बैंकहरूले आधार दरमा जोड्ने प्रिमियम दर पनि ऋणीलाई तोकिने ब्याजदरका लागि महत्वपूर्ण बन्छ। बैंकहरूले आधार दरमा २ देखि ५ सम्म प्रिमियम जोडेर ऋणीका लागि ब्याजदर तोक्ने गरेको देखिन्छ। यद्यपि प्रिमियममा मनोपोली भएको भन्दै  केन्द्रीय बैंकले यसलाई कडाइ पनि गरेको छ।

कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियम दर तय गरी मासिक रूपमा कर्जा तथा सापटको ब्याजदर निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। ‘ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ। प्रकाशित प्रिमियम दर वृद्घि गर्दा अर्धवार्षिक रूपमा गर्न सकिनेछ। तर, प्रिमियम दर घटाउनु पर्ने भएमा अर्धवार्षिकभन्दा कम समयावधिमा पनि प्रकाशित प्रिमियम दर घटाउन सकिनेछ।

कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ,’ एकीकृत निर्देशनमा उल्लेख छ। यसर्थ यदि कुनै बैंकको आधार दर १० प्रतिशत छ र त्यसले २ प्रतिशत प्रिमियम तोकेको छ भने ऋणीलाई १२ प्रतिशत ब्याजदर पर्न जान्छ। तर, बैंकले प्रिमियम दर व्यवसायको प्रकृति, धितोको मूल्य र ऋणीसँगको विगत कारोबार जस्तालाई हेरेर निर्धारण गर्दै आएको छ। 

आधादर्जन बैंकको स्प्रेडदर ४ प्रतिशतमाथि

निक्षेपमा दिने र कर्जा तथा सापटमा लिने ब्याजदर बीचको औसत ब्याजदर अन्तर अर्थात् स्प्रेड दरको पनि सीमा तोकिदिएको छ। कर्जा लिनुअघि यसबारे पनि जानकार हुन जरुरी छ। किनभने राष्ट्र बैंकले यसअघि निर्देशन दिँदै सो अन्तर २०८० असार महिनाबाट ‘क’ वर्गका वाणिज्य बैंकहरूको हकमा ४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.६ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरेको छ। यसो नगर्नेलाई कारबाही तोकेको छ। तर, असोजसम्ममा आइपुग्दा पनि आधादर्जन वाणिज्य बैंकको स्प्रेडदर ४ प्रतिशतमाथि छन्। 

सीमाभन्दा माथि स्प्रेडदर हुनेमा प्रभु बैंकको ४.९५ प्रतिशत, हिमालयनको ४.८६, नेपाल इन्भेस्टमेन्ट मेगााको ४.४१, ग्लोबल आईएमईको ४.३४, कुमारीको ४.३० प्रतिशत छ। यसबाहेकका बैंकको स्प्रेड दर भने ३ प्रतिशतदेखि ४ प्रतिशतको बीचमा छ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक