जबकि जहाज चलाउन निगमसँग भरपर्दो योजना नै नरहेको प्रतिवेदन उनकै हातमा छ। सरकारी स्वामित्वको निगमले आफूसँग भएका जहाज राम्रोसँग उडान गर्न सकेको छैन। अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज रहेकामा निगमले वाइडबडी सञ्चालनमा नोक्सानी खेपिरहेको छ।
लामो दूरीमा उडान नभएकाले र सीट क्षमता ६६ प्रतिशतभन्दा बढी उपयोग गर्न नसकेकाले वाइडबडीमा निगमले नोक्सानी बेहोर्नुपरिरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्री संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। मध्यपूर्व र दक्षिणपूर्वी एसियाका हवाइ सेवा प्रदायकले सीट क्षमता ७२ प्रतिशतसम्म उपयोग गर्दै आएका छन्।
मन्त्रालयले संरचनागत एवं व्यवस्थापकीय सुधारका लागि गठन गरेको समितिले निगम कंगाल हुँदै जानुमा व्यावसायिक योजनादेखि खरिद प्रक्रियामा प्रश्न उठाएको छ।
‘सरकारबाट थप लगानी प्राप्त गर्ने प्रयोजनका लागि मात्र व्यावसायिक योजना तयार पारेको पाइयो। आवश्यक नै नपर्ने सामान लामो समयदेखि मौज्दातमा रहेकाले वार्षिक खरिद योजना पनि सन्देशको घेरामा छ। खरिद प्रक्रिया नियम संगत छैन। छानबिन गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निगमलाई अहिलेको अवस्थाबाट पार लगाउन व्यवस्थापनमा व्यापक सुधार आवश्यक छ। त्यो भनेको व्यवस्थापन विदेशी कम्पनीलाई करारमा दिनु हो।’
निगमको सुधारका लागि सुझाव प्रतिवेदन तयार पारिएको २२ वर्षमा यो ८औं पटक हो। हरेक प्रतिवेदनमा व्यवस्थापन सुधारको विषय परेपनि मन्त्रालयको नेतृत्वमा पुगेका सबैजसो नेताले झैं किरातीले पनि सुधारमा भन्दा जहाज खरिदमा नै जोडबल गरिरहेका छन्।
निगमका पूर्वमहाप्रबन्धक कुलबहादुर लिम्बु अहिलेको भद्रगोल व्यवस्थापनमा थहाज थप्नुको औचित्य देख्दैनन्।
‘निगमले भएकै जहाज राम्रोसँग चलाउन सकेको छैन। व्यवस्थापकीय कमजोरीले जहाज खाली ग्राउण्डेड गरेको देखिन्छ। व्यवस्थापनमा सुधार नगरी जहाज थपेका भरमा निगमले नाफा कमाउँछ भन्ने आधार के छ?,’ उनले प्रश्न गरे।
बाँदरलाई नरिवल दियो भने के हुन्छ? भएकै जहाज उडान गर्न नसकेको अवस्थामा थप जहाज किन्नु भनेको निगमलाई कंगाल बनाउन खोज्नु हो। जहाज किन्नु पहिले निगममा संरचनागत सुधार आवश्यक छ। विद्यमान व्यवस्थापनले निगमलाई मुनाफामा लान सक्दैन
कुलबहादुर लिम्बु, पूर्वमहाप्रबन्धक
निगमसँग २०५० सम्म ४ वटा बोइङ, ३ वटा एभ्रो, ११ वटा ट्विनअटर र एउटा पिलाटस पोटर जहाज थिए। त्यतिखेर निगमले आन्तरिकतर्फ ३९ र अन्तर्राष्ट्रियतर्फ ९ मुलुकका १३ गन्तव्यमा उडान गर्थ्यो।
तर अहिले निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर विमान मात्र छन्। ती ट्विनअटर १९ गन्तव्यमा पुग्छन्। निगमले दैनिक सरदर ६ वटा मात्र आन्तरिक उडान गर्छ। आन्तरिक उडानको २० अर्बको व्यापारमा निगमलाई अहिले १२ करोड कटाउन पनि मुस्किल पर्छ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फका ४ जहाजमध्ये २ वटा प्राय: ग्राउण्डेड भइरहेका हुन्छन्। उडान रद्द निगमका लागि सामान्य भइसकेको छ। गन्तव्य १० वटामा सीमित छ। त्यसैले त लिम्बु व्यवस्थापनमा सुधारविना निगमलाई थप जहाज दिनु भनेको ‘बाँदरका हातमा नरिवल’ दिएजस्तै हुने बताउँछन्।
‘बाँदरलाई नरिवल दियो भने के हुन्छ? भएकै जहाज उडान गर्न नसकेको अवस्थामा थप जहाज किन्नु भनेको निगमलाई कंगाल बनाउन खोज्नु हो। जहाज किन्नु पहिले निगममा संरचनागत सुधार आवश्यक छ। विद्यमान व्यवस्थापनले निगमलाई मुनाफामा लान सक्दैन,’ उनले भने।
लिम्बुले व्यवस्थापनमा सुधारबिना जहाज किन्दा के हुन्छ भन्नेबारे प्रष्ट पार्न एयर इण्डियाको उदाहरण दिए। ‘कुनै जमानामा एयर इण्डियालाई भारत सरकारले ४ पटक पैसा दियो। तर उपलब्धि शून्य भयो,’ उनले भने, ‘अहिले टाटाले पूर्ण स्वामित्व लिएपछि सुधार हुँदै गएको छ।’
निगमका अर्का पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार पनि अहिलेको व्यवस्थापनमा सुधार विना जहाज थप्नुको औचित्य देख्दैनन्। ‘निगमको अहिलेको नेतृत्व नै कमजोर छ। यस्तो नेतृत्वलाई नयाँ जहाज दिएर के काम?,’ उनले भने, ‘पहिला सक्षम नेतृत्व आवश्यक छ। व्यवस्थापनमा सुधार गरेर मात्र जहाज किन्नुपर्छ।’
निगमले अहिले उडान गरिरहेका २ वटा वाइडबडी जहाज कंसाकारको नेतृत्वमा किनिएका हुन्। उनले सरकारलाई जमानी बस्न लगाइ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋण लिएर २०७४ मा वाइडबडी जहाज भित्र्याएका हुन्। कंसाकारले वायु सेवा संचालन गर्ने कम्पनीमा जहाज अनिवार्य चाहिने तर त्यसका लागि चुस्त दुरुस्त र व्यापार गर्न सक्ने व्यवस्थापन अनिवार्य सर्त भएको बताए।
नेपालले अहिलेसम्म ४१ देशससँग हवाइ सम्झौता गरेको छ। तर निगम ८ देशका १० गन्तव्यमा सीमित छ।
निगम व्यवस्थापन नै चुस्त नभएका कारण यो अवस्था सिर्जना भएको पूर्वपर्यटन सचिव वीरेन्द्रबहादुर देउजाले बताए।
‘मुख्य कुरा पहिलेदेखि माथिल्लो तहमा बस्नेले इन्टरफेयर गर्दै आएका छन्। प्रोफेसनली हुनुपर्ने काम भइरहेको छैन। कतिपय वाधा मन्त्रालयबाट पनि भएको देखिन्छ। वायुसेवा कम्पनीबारे मन्त्रीज्यूहरुले बोलिरहनुभएको छ,’ उनले भने, ‘निगमको अवस्था बुझेर बोले जस्तो देखिँदैन। निगम व्यवस्थापन पनि व्यावसायिकरुपमा संचालन भएको छैन। योग्य व्यक्ति राखिएको छैन। जसको परिणाम अहिले देखिएको छ।’
अहिलेको भद्रगोल व्यवस्थापनमा सुधारबिना निगमलाई जहाज खरिद गर्न खोजिनुलाई उनले सकिने मेलो भने।
‘निगमको सुधारका लागि पहिले नेतृत्वमा योग्य व्यक्ति अनिवार्य हुन्छ। अनि भएको जहाज राम्रोसँग चलाउनुपर्यो,’ उनले भने, ‘निगम प्रोफेसनल अर्गनाइजेसन हो। मन्त्रालयले हस्तक्षेप गर्ने संस्था होइन। जहाज किन्ने/नकिन्ने निर्णय निगमले नै गर्ने हो। मन्त्रीले जहाज किन्ने कुरा गर्नुले राम्रो संकेत गर्दैन।’
पूर्वपर्यटन सचिव शंकर अधिकारी जहाज थप्नुअघि व्यवस्थापनको जिम्मा अन्तर्राष्ट्रिय कम्पनीलाई दिनुपर्ने जिकिर गर्छन्।
‘अहिलेको मेजर समस्या भनेको जहाज ग्राउण्डेड हुँदा समयमै मर्मतसम्भार नहुनु हो,’ उनले भने, ‘जहाज खरिद गर्ने हो भने कुनै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवस्थापनको जिम्मा दिन आवश्यक छ।’
निगमका पूर्वमहाप्रबन्धक डिमप्रसाद पौडेल व्यवस्थापनमा सुधारबिना जहाज थप्नु निगमका लागि दुर्भाग्यपूर्ण हुने बताउँछन्।
‘यो व्यवस्थापनले अहिलेकै जहाज व्यवस्थित रुपमा चलाउन सकेको छैन। अनि जहाज थप्नुको औचित्य के?,’ उनले प्रश्न गरे।
व्यवस्थापनमा सुधारबिना निगमले मुनाफा हुने गरी उडान गर्न सक्दैन भन्नका लागि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले अहिले २४० वटा उडान थप्दा निगमले एउटै थप्न नसक्नु सबैभन्दा बलियो उदाहरण हो। उसले चिनियाँ जहाज चलाउन नसकेर तीन वर्षदेखि थन्क्याइरहेको छ। ती जहाजको पार्किङ, ह्रासकट्टी र ब्याजबापत निगमले वार्षिक उल्टै ४८ करोड रुपैयाँ गुमाइरहेको छ। - वसन्तराज उप्रेती / बिजमान्डु
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक