20231030

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रमा राख्नुपर्ने : राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस


 नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुहुँदै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।”


सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न  सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गर्नुभएको हो । 


शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पार्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रमा राख्नुपर्ने स्मरण गराउनुभयो ।


महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार  नेपालले खेपेका र हिमशृङ्खला पग्लिन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन गरेर काम गर्नुपर्ने बताउनुभयो ।  


नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गर्नुभयो । संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उहाँको भनाइ थियो ।


कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गर्नुभएको थियो भने समारोहपश्चात् महासचिव गुटेरेसले राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गर्नुभएको थियो । चारदिने भ्रमणमा लागि महासचिव गुटेरेसले यही कात्तिक १२ गते नेपाल आउनुभएको हो । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक