भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ ।
उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ । आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो ।
क्यानाडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका बताउनुभएको थियो ।
क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।
भारतको विदेश मन्त्रालयले बुधबार भारतीय नागरिक, क्यानडामा रहेका विद्यार्थी र भारत फर्कने योजनामा रहेकाहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । भारत विरोधी गतिविधि भएका क्षेत्र र हुनसक्ने सम्भावित स्थानमा नजान भारतीय नागरिक र भारतीय विद्यार्थीहरूलाई आग्रह गर्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक