प्राक्कथनः वि.सं. २०१८ मङ्सिर ८ गतेका दिन स्याङ्जा जिल्लाको भीरकोट ९, आङवाङ (ठूलीभन्ज्याङ) मा जन्मिई हाल बुटवललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका डा. बालकृष्ण चापागाईं पत्रकार मात्र होइन अधिवक्ता र प्राकृतिक चिकित्सा तथा योगविज्ञानका जानकार पनि हुनुहुन्छ । पछिल्लो समय बौद्धर्शनमा उहाँको
चाखलाग्दो अध्ययन तथा लेखन कार्य अगाडि बढिरहेको देखिन्छ । बौद्धदर्शन र सञ्चार विषयमा विद्यावारिधी (पि.एच.डि.) अध्ययन पूरा गर्नु भएका चापागाईंले आफ्नो अनुसन्धान कार्यलाई सम्पादन गरी बौद्धदर्शन र सञ्चार नामक पुस्तक प्रकाशन गर्नु भएको छ । यस कृतिमा बुद्धको जीवनकाल र तत्पश्चात् उनका शिष्य र अनुयायीहरुले अन्तर्मुखी सञ्चार (मौन सञ्चार), अन्तर्वैयत्तिक सञ्चार, समूह सञ्चार तथा आमसञ्चारलाई उपयोग गरी बौद्धदर्शनको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा उल्लेख गरिएको छ । Dr. Balkrishna Chapagai - Writer, अनुसन्धानात्मक कृति ‘बौद्धदर्शन र सञ्चार’
बुद्धको जीवनकालदेखि हलसम्म आइपुग्दा उनका निर्वाणका निम्ति चतुर्आर्यसत्य र आर्यअष्टाङ्गिक मार्गको दर्शनले विश्वलाई शान्ति बोध गर्न सजग गराएको छ । खास गरी बुद्धकालीन सञ्चारको अवस्था, बौद्धदर्शनको विकासमा सञ्चारको भूमिका तथा विश्वशान्तिका लागि बौद्धदर्शन एवम् शान्तिको भूमिका के कस्तो रहेको छ भन्ने कुराको जानकारी दिने प्रयास यस पुस्तकले गरेको छ । आठ खण्डमा विभाजित कृतिमा विषयवस्तु तथा भूमिका एवम् सन्दर्भसामग्री गरी कूल ३२८ पृष्ठ समावेश छन् । बौद्धदर्शन र सञ्चार, ऐतिहासिक सन्दर्भ, सैद्धान्तिक अवधारणा, बुद्धकालीन सञ्चार, बौद्धदर्शनको विकासमा सञ्चार, विश्वशान्तिका लागि बौद्धदर्शन र सञ्चार तथा कृति मुख्य अंश गरी कुल आठ खण्डमा समाविष्ट आफ्ना लेखनबाट लेखकले बौद्धदर्शनलाई सञ्चारसँग जोड्ने प्रयास गर्नु भएको छ ।
अनुसन्धानात्मक कृति ‘बौद्धदर्शन र सञ्चार’
अनुसन्धान व्यवस्थित तथा बैज्ञानिक रूपमा नयाँ ज्ञानको खोजी गर्ने विधा हो । यसले व्यक्तिमा भएको ज्ञानमा बिस्तार र बुझाइमा प्रष्टता ल्याउँछ । कुनै नयाँ विषयको खोज तथा खोज भइसकेको कुरामा नयाँ विषयको जानकारी अनुसन्धानको उद्देश्य हो । प्रस्तुत पुस्तक ‘बौद्धदर्शन र सञ्चार’ पनि अनुसन्धानात्मक कृति हो । बौद्धदर्शनलाई सामाजिक, आर्थिक, व्यवस्थापकीय, राजनैतिक, धार्मिक, नीतिगत एवम् विविध विषयसँग सम्बन्धित गराई अध्ययन अनुसन्धान भइरहेको सन्दर्भमा सञ्चारसँग यसलाई जोडेर लेखकले नयाँ विषयको उठान गर्नु भएको छ । वास्तवमा बुद्धका विचारको प्रभावकारी सञ्चार गराउन सके त्यसले समाजमा शान्ति स्थापना कायम गर्न सहज हुन्छ भन्ने निष्कर्ष यस कृतिले निकालेको छ । साथै बौद्धदर्शनको प्रभावकारी र दू्रत सञ्चारमा आधुनिक सञ्चारका विविध माध्यम, सञ्चारकर्मी, पत्रकार तथा लेखकहरुको भूमिको विषयमा थप अनुसन्धान गर्न मार्ग दर्शन पनि गरेको छ ।
बौद्धदर्शन र सञ्चारलाई जोडेर यी दुई बीचको अन्तरसम्बन्ध स्थापित गर्दै बुद्धका जीवन दर्शनहरुलाई विश्वमाझ पु¥याउन सके विश्वमा शान्ति र विकासले गति लिन सक्ने तर्क यस पुस्तकले गरेको छ । अनुसन्धानका क्रममा प्राप्त तथ्याहरुलाई दर्शन, सिद्धान्त र तर्कका आधारमा पुष्टि गर्ने प्रयास गरिएको छ । विवरणात्मक एवम् विवेचनात्मक प्रस्तुति रहेको यस अनुसन्धानात्मक कृतिमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको पाइन्छ । हिन्दी, अंग्रेजी, पाली, संस्कृति तथा नेपाली भाषाका कृतिहरुको अध्ययन, प्राप्त तथ्यांक, पुरातात्विक वस्तुहरुको अध्ययन अनुसन्धानबाट पुस्तकमा तर्कहरू समाविष्ट गरिएका छन् । खासमा बौद्धदर्शन र सञ्चारको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने र चाख मान्नेहरुका लागि यो पुस्तक अत्यन्त्य उपयोगी हुने मान्न सकिन्छ ।
‘बौद्धदर्शन र सञ्चार’ पुस्तकको सार संक्षेप
गौतम बुद्धले सुनेको आधारमा ज्ञानको सञ्चार (श्रुतिमय प्रज्ञा), चिन्तनको आधारमा ज्ञानको सञ्चार (चिन्तनमय प्रज्ञा) र ध्यानको आधारमा हुने ज्ञानको सञ्चार (भावनात्मक प्रज्ञा) लाई सैद्धान्तिक अवधारणालाई लिइएको पाइन्छ । बुद्धले सञ्चारका यी सैद्धान्तिक अवधारणालाई धम्म, धर्मसभा र संघका माध्यमबाट व्यवहारमा उतार्नुभएको थियो ।
‘अरणविभङ्गसुत्त’ अनुसार बुद्धले गोप्य राख्नु पर्ने कुरा, अरुले नरुचाउने कुरा, अनुचित कुराहरू सही भए तापनि अर्थहितसँग सम्बन्धित छैन भने मानिसलाई भन्नु हुँदैन । अर्थयुक्त कुरा भए तापनि समय र परिस्थिति हेरी भन्नु पर्दछ । त्यस्ता कुरा भन्ने बेलामा पनि हतारो मानी भन्नु हुँदैन । विस्तारै विस्तारै भन्नु पर्दछ भनेका छन् । त्यसैगरी मञ्झिमनिकायको सेवितब्बासेवितब्ब सुत्तमा अरुलाई आघात पु¥याउने निकृष्ट र कडा वचन, सारहीन फजुल कुरा, निरर्थक कुरा, न्यायानुकूल नहुने अनुशासनविहीन कुरा, कारण–निदान नभएको कुरा गर्ने स्वभाव भएको व्यक्तिमा अकुशलहरू वृद्धि हुन्छन् भनिएको छ । उल्लिखित कुराबाट पनि बुद्धको सञ्चार सम्बन्धि अवधारणा दर्शाउँछ ।
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्ने क्रममा सात दिनसम्म आफूले प्राप्त गरेको ज्ञानलाई मनमनै दोहो¥याउने र तिनलाई विचार गर्ने काम पनि गरे, जसलाई अन्तर्मुखी सञ्चारको रुपमा लिन सकिन्छ । बुद्धत्व प्राप्त गरिसकेपछि गौतम बुद्धले ४६ वर्षसम्म विभिन्न ठाउँमा गई आफूले प्राप्त गरेको चतुआर्यसत्य, आर्यआष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद, पञ्चशील लगायतका विविभन्न ज्ञानहरुको सञ्चार गर्नुभयो । प्रत्येक वर्षामासमा बुद्धले गरेको ज्ञानको सञ्चारबारे यस पुस्तकमा उल्लेख गरिएको छ । भिक्षु संघमा हुने ज्ञानको सञ्चार एवम् भिक्षु, भिक्षुणीहरुले समेत बुद्धका विचारहरुको सञ्चारमा भुमिका खेले । खासमा बुद्धका विचारहरू मानवकल्याणमा आधारित भएको हुनाले नै तत्कालीन समयमा त्यसको लोकप्रियता बढ्दै गएको मान्न सकिन्छ ।
यस पुस्तकमा लेखकले बौद्ध दर्शनलाई सार संक्षेपमा निकै सरल ढंगले प्रस्तुत गर्नु भएको छ । चारआर्यसत्य र दुःखको निरोधको उपायको रुपमा आर्यअष्टाङ्गिक मार्गबारे उल्लेख गरिएको छ । त्यसै गरी बुद्धत्व प्राप्तिको साधनालाई पूर्णता प्राप्त गर्ने साधनाको रुपमा रहेको पारमिता (दश पारमिता) को व्याख्या होस् वा बुद्धको दार्शनिक विचारको रुपमा रहेको मध्यमप्रतिपत् मार्ग होस् तिनको सरल विश्लेषण गर्ने काम लेखकबाट भएको छ । साथै प्रत्यीत्यसमुत्पाद एवम् अनित्य, दुःख र अनात्मा जस्ता बौद्धदर्शनका त्रिलक्षणाका विषयमा पनि यस कृतिले प्रकाश पारेको छ ।
बौद्ध सम्प्रदाय र तिनका खास विशेषता, बौद्ध दर्शनमा त्रिपिटक र पालि साहित्यसञ्चार एवम् पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैठौँ संगायानले बौद्धदर्शनको सञ्चारमा खेलेको भुमिका समेत यस कृतिमा प्रस्तुत गरिएको छ । तत्कालीन समया विभिन्न प्रतिष्ठान एवम् विश्वविद्यालयहरुले बौद्धदर्शनको सञ्चारमा योगदान पु¥याएका थिए, जसलाई यस पुस्तकमा उल्लेख गर्न छुटाइएको छैन । यो यस कृतिको एक सुन्दर पक्ष हो ।
पछिल्लो समय विश्व शान्तिका सन्दर्भमा बौद्धदर्शनलाई श्रीलंका, थाइल्याण्ड, म्यानमार, चीन लगायतका देशहरुमा निकै चासो र श्रद्धाका रुपमा लिइने गरिन्छ । भारत र नेपालमा भनेजस्तो बौद्धदर्शनको सञ्चार हुन नसके पनि जातीयवादको सङ्कीर्ण जालोबाट बाहिर रहेको हुँदा बौद्धदर्शनलाई युवा पुस्ताले समेत चासोको रुपमा हेरेको पाइन्छ । त्यसैले सञ्चार क्षेत्रले बौद्धविचारहरुलाई समाचारको रुपमा मात्र नहेरी विश्व शान्तिका निम्ति बौद्धदर्शनले खेल्न सक्ने भूमिकाका विषयमा विचार सम्प्रेषण गर्नु आवश्यक देखिन्छ ।
विश्वमा देखापरेको मानव–मानवबीचको वैमनस्यताको न्यूनीकरण गर्दै सम्पूर्ण मानव जातिमा नैतिक जीवनका लागि प्रेरित गरी शान्ति स्थापनार्थ छापा, चलचित्र, नाटक, रेडियो, टेलिभिजन, इन्टरनेट तथा सामाजिक सञ्जाल जस्ता विविध सञ्चारका माध्यमहरुले पहल गर्नुपर्ने देखिन्छ । खास गरी गौतम बुद्धको जन्मथलो लुम्बिनीको विकास र यहाँको पर्यटनबाट समृद्धि हासिल गर्न सक्ने सम्भावनालाई समेत सञ्चार जगतले जोड दिनु पर्दछ ।
‘बौद्धदर्शन र सञ्चार’ पुस्तकबारे संक्षिप्त टिप्पणी
प्रस्तुत पुस्तक आकारको दृष्टिकोणले ठूलो छ । पुस्तकले बौद्धदर्शन, यसको इतिहास, विकासक्रम, शान्ति र विकासमा यसको उपयोग तथा सञ्चार, यसको प्रकार, बौद्धदर्शनको विकासमा यसको भूमिका, विभिन्न देशमा बौद्धदर्शनको विकास, नेपालमा यसको अवस्था र सम्भावनालगायतका विविध विषयवस्तुहरू समेटेको छ । अनुसन्धानका विषयमा चासो राख्नेहरुका लागि पुस्तक सङ्ग्रहणीय देखिए पनि आम पाठकलाई पुस्तकको आकारले पढ्न उत्प्रेरित गर्छ गर्दैन सन्देह देखिन्छ । त्यसैले पुस्तक पढ्दै गर्दा सानो तर सारभूत कुराहरु मात्र समावेश गरिदिए हुन्थ्यो भन्नेजस्तो लाग्छ । तर लेखकले आफ्नो अनुसन्धानात्मक कार्यलाई पुस्तकाकार दिन खोज्दा यस्तो भएको कुरामा सहमत हुन सकिन्छ । त्यसैगरी आम पाठक वर्गलाई बौद्धदर्शनसँग सम्बन्धित केही शब्दहरू क्लिष्ट लाग्न सक्छन्, त्यस्ता शब्दहरुको अर्थ स्पष्ट पार्ने गरी सङ्क्षेपीकृत शब्दसूचीमा थप्न पाएको भए सुनमा सुगन्ध हुने थियो । समग्रमा विस्तृत अध्ययन, खोज, अनुसन्धानमार्फत् बौद्धदर्शन र सञ्चारलाई जोडेर महत्वपूर्ण अनुसन्धानात्मक कृति प्रकाशन गर्नुभई लेखक डा. बालकृष्ण चापागाईंले अनुकरणीय कार्य गर्नु भएको छ । यसको लागि उहाँको यो कार्य अति नै प्रसंशनीय छ ।
उपसंहार
मानवकल्याण र शान्तिका निम्ति समर्पित बौद्धदर्शनलाई आम मानिससम्म पु¥याउन सके विश्व शान्ति र विकासलाई समेत पछ्याउन सहज हुने भएकाले बौद्धदर्शनको प्रचार प्रसारका निम्ति सञ्चारको उपयोग गर्नु आवश्यक देखिन्छ । एक व्यक्तिबाट अर्काे व्यक्तिमा, एक स्थानबाट अर्काे स्थानमा र एक देशबाट अर्काे देशसम्म बौद्धदर्शनको सञ्चारका लागि आमसञ्चारको महत्वपूर्ण भूमिका रहन्छ । साथै बौद्धदर्शनले आमसञ्चारलाई मध्यममार्ग एवम् शान्तिको पक्षमा वकालत गर्न उत्प्रेरणासमेत दिन्छ । त्यसैले बौद्धदर्शन र सञ्चारबीच घनिष्ट सम्बन्ध रहेको देखिन्छ । यही कुरालाई बौद्धदर्शन र सञ्चार पुस्तकले प्रष्ट पारेको छ ।
अनुसन्धानात्मक ढाँचामा लेखिएको प्रस्तुत पुस्तक बौद्धदर्शन र सञ्चारमा रुचि राख्ने जो कोहीको लागि पठनीय सामग्री बन्न सक्छ । आम पाठकका निम्ति यस्तो गहकिलो पुस्तक सुम्पेर डा. बालकृष्ण चापागाईंले ठुलो गुन लगाउनु भएको निष्कर्ष निकाल्न सकिन्छ । सङ्क्षेपमा भन्नु पर्दा विस्तृत अध्ययन, खोज, अनुसन्धानमार्फत् बौद्धदर्शन र सञ्चारलाई जोडेर महत्वपूर्ण अनुसन्धानात्मक कृति प्रकाशन गर्नुभई लेखक डा. बालकृष्ण चापागाईंले प्रशंसायोग्य काम गर्नु भएको छ । यसको लागि उहाँलाई हार्दिक बधाई एवम् थप सफलताको शुभकामना !
ecosuraj@gmail.com
click on this logo for home page
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक