20220916

देश र जनताको सेवामा समर्पित एक जिद्दी मान्छे। एक जबर्जस्त मान्छे। यिनै हुन् मैले चिनेका डाक्टर गोविन्द केसी !


- शिव प्रकाश

जसका आफ्ना कोही छैनन् तर सबै आफन्त हुन्, तिनै हुन् डा. गोविन्द केसी!

जसले सत्यलाई ईश्वर र निष्ठालाई धर्म मान्छन्, तिनै हुन् डा. गोविन्द केसी!

डा.केसीलाई मैले यसरी नै चिनेको छु। यसरी नै बुझेको छु।

त्यसपछि मैले डा. केसीलाई यसरी पनि चिनेको छु।

सत्यको माध्यमबाट सत्यको खोजी गरी, सत्यमा पुगी, सत्यमा अटल रहने एक सत्याग्रही डाक्टर हुन् गोविन्द केसी!

‘परोपकार पुण्याय, पायाय परपीड्न (अरुको उपकार गर्नु पुण्य हो, अरूलाई दुःख दिनु पाप हो)’ भन्ने व्यास वचन आत्मसात गर्ने एक परोपकारी डाक्टर हुन् गोविन्द केसी!

सांसारिक सुख–सुविधा,धन–सम्पत्ति र भोग–विलासभन्दा माथि उठेर सधैं सबैप्रति समान दृष्टि राख्ने एक सन्त–सादगी डाक्टर हुन् गोविन्द केसी !

यसपछि मैले डा. केसीलाई नेपालको एकमात्र जीवित कम्युनिष्ट धरोहरका रुपमा पनि देखेको छु। कम्युनिष्ट त्यो हो, जसको आफ्नो केही हुँदैन।

मार्क्सवादले समतामूलक समाजको परिकल्पना गरेको छ भने माओवादले वर्गविहीन समाजको! देशमा अहिले सच्चा कम्युनिष्ट कोही छ भने डा. गोविन्द केसी नै छन्। डा. केसीले उठाएका सबै सवालले सधैं समतामूलक र वर्गविहीनताको बोली बोलेको छ। आम जनताका आधारभूत आवश्यकता र समस्यालाई उठाएका छन्। डा. केसीको सत्याग्रहको सार पनि यही हो।

भन्दाखेरी कम्युनिष्टहरू आफूलाई गरीबको सहारा भन्छन्। तर नेपालका कुन कम्युनिष्ट कुन गरीबको सहारा बनेका छन्?


अहिले डा. केसी सातबुँदे मागसहित बीसौं आमरण अनशनमा छन्। ती सबै माग सत्ताले कहिल्यै नदेखेका, नभेटेका, नछोएका र नचिनेका गरीबदुःखी जनताको पक्षमा छन्। डा. केसीका आजसम्मका जुनसुकै माग कम्युनिष्ट, नीति, विधि, सिद्धान्त र कार्यसँग शतप्रतिशत मेल खान्छन्। ती मागले एउटा सच्चा कम्युनिष्टको चरित्र र व्यवहारलाई बोकेका छन्।


लेखक राजकुमार बानियाँले कतै लेखेका थिए, ‘डा. गोविन्द केसी दृष्टान्त हुन्।’


कम्युनिष्ट नेता र कार्यकर्ताले प्रयोग गर्ने सुगा रटान शब्द र जाललाई छोडिदिउँ। बुझ्ने भाषामा भन्नुपर्दा मार्क्सवाद र माओवादले देशका गरीब, निमुखा र शोषित–पीडित जनताको पक्षमा लड्न सिकाएको छ। तर नेपालका कथित कम्युनिष्टले ठीक उल्टो बुझे। दलाल, पुँजीपति र भ्रष्टाचारीका अगाडि घुँडा टेक्न सिके। भ्रष्ट, दलाल र पुँजीपतिको जुठोपुरो खाएर बाँच्न सिके। उस्तै बन्न सिके। उस्तै भए।


मार्क्स र माओ समाजवाद र साम्यवादका सिद्धान्त हुन् भने डा. गोविन्द केसी दृष्टान्त हुन्।


मैले डा. गोविन्द केसीलाई नेपालको सबैभन्दा बलियो एक लोकतन्त्रवादीका रुपमा पनि देखेको छु। लोकतन्त्र भनेको पद्धति हो। विधि हो। नातावाद, कृपावाद, बेथिति, भ्रष्टाचार र दुराचार विरुद्धको व्यवस्था हो। सुशाशनको शासन हो। उनले उठाएका सबै मागले सधैं लोकतन्त्रिक विधि र पद्धतिलाई स्थापित गर्ने र बचाउने बाटो देखाएका छन्। उनका कुन माग नातावाद, कृपावाद, बेथिति, भ्रष्टाचार र दुराचार विरुद्धका छैनन्? कुन माग सुशासनको पक्षमा छैनन्? कुन माग अलोकतान्त्रिक छन्?


नेपाली कांग्रेसका नेतालाई प्रश्न गर्न चाहन्छु, अझै आफूलाई लोकतान्त्रिक भन्न किञ्चित लज्जा लाग्दैन? हामी विधि र पद्धतिको पक्षमा छौँ भन्न अप्ठ्यारो लाग्दैन? डा. गोविन्द केसीलाई बीसौं पटक भोकै भुइँमा लडाउँदा पनि हामी लोकतन्त्रवादी हौँ भन्न नेपाली कांग्रेसका ‘बौद्धिक लखनटट्टू’लाई शरम लाग्दैन?


मैले डा. गोविन्द केसीलाई नेपालको एक महान राष्ट्रवादीका रुपमा पनि चिनेको छु। महान् राष्ट्रवादी त्यही हो, जसले देश–जनतालाई कहिल्यै कुनै घाउचोट लगाउँदैन। खुन–खत लगाउँदैन। हानि–नोक्सानी गर्दैन। छलकपट गर्दैन।समग्रमा जसले देशलाई कहिल्यै हानि पुर्‍याउँदैन। जसले देशलाई सधैं दिन्छ, देशबाट कहिल्यै लिँदैन। मनसा, वाचा, कर्मणा दिन्छ। त्यही हो सबैभन्दा महान् र ठूलो राष्ट्रवादी।


मैले चिनेको डा. गोविन्द केसी तिनै महान् राष्ट्रवादी हुन्। जसले सधैं दिए। अझै दिइरहेका छन्। आफ्नो कुनै निजी स्वार्थ छैन। निमुखा–गरिबको स्वार्थ नै उनको स्वार्थ बनेको छ। निशुल्क र निस्वार्थ डाक्टरी सेवा नै उनको जीवनको अर्थ बनेको छ।


कसरी चिनेँ डा. केसीलाई? तर पृष्ठभूमिमा एउटा प्रश्न थियो, ‘किन बस्छन् डा. केसी अनशन?’


पहिलो अनशन थियो, २०६९ वैशाख २१ देखि । यो चारदिने अनशनमा मेरो ध्यान गएन। दोस्रो अनशन थियो, २०६९ साउन २७ देखि । यो छ दिने अनशनले पनि मेरो ध्यान तानेन । तेस्रो अनशन थियो, २०७० पुस २७ देखि। दश दिन लम्बियो।अनशन बढ्दै जाँदा मेरो मनमा उही प्रश्न उब्जियो, ‘किन बस्छन् डा. केसी अनशन?’


नेपालमा राजनीतिक नेताबाहेक अनशन बसेको जानकारी पनि त्यति थिएन। त्यसमाथि एउटा डाक्टर! मेरा आँखाले डा. गोविन्द केसी खोज्न थाले, ‘को हुन् डा. गोविन्द केसी ? किन बस्छन् अनशन?’


मैले चिनेको डा. गोविन्द केसी तिनै महान् राष्ट्रवादी हुन्। जसले सधैं दिए। अझै दिइरहेका छन्। आफ्नो कुनै निजी स्वार्थ छैन। निमुखा–गरिबको स्वार्थ नै उनको स्वार्थ बनेको छ। निशुल्क र निस्वार्थ डाक्टरी सेवा नै उनको जीवनको अर्थ बनेको छ।


डाक्टर पढे छोराछोरीले राम्रो पैसा कमाउँछन्। धनी हुन्छन्। छोरो डाक्टर, छोरी डाक्टर भन्न पाइन्छ। चिनाउन पाइन्छ। पैसाले नै समाजमा इज्जत बढाउँछ भन्ने जीर्ण मनौवैज्ञानिकीको शिकार बनेको हाम्रो समाज। त्यही समाजको एउटा डाक्टर अनशन बस्न थालेको छ! खुल्दुली झन् बढ्न थाल्यो। मैले उनका माग पढेँ। त्यतिबेलै लाग्यो,उनी आफ्ना लागि हैन, सबैका लागि भुइँमा भोकै लडेका छन्।


उनका बारेमा खोज्दै गएँ। थाहा भो, उनको कुनै क्लिनिक छैन। उनी अरु कुनै निजी अस्पतालमा ‘टायम’ दिँदैनन्। आफ्नो सम्पूर्ण समय सरकरी अस्पतालमा बिताउँछन्। ड्युटीका समयमा ड्युटी गर्छन्। फुर्सदको बाँकी समय त्यही अस्पतालको बिरामीका सेवामा खर्चिन्छन्। विपन्न बिरामीलाई सकेसम्म थोरबहुत पैसाको जोहो पनि गरिदिन्छन्।वर्षको एकदुई पटक दूरदराजका गाउँमा निशुल्क क्लिनिक चलाउँछन् । कसैसँग कुनै दान–चन्दा लिँदैनन्। कसैसँग कुनै शुल्क वा फिस लिँदैनन्। कसैको खाँदैनन्। जे गर्छन्, आफ्नै कमाइले गर्छन्।आफ्नै सरकारी कमाइमा बाँच्छन्।


सरकारी अस्पतालमा हाजिर गरेर निजी क्लिनिक र अस्पतालमा लर्को लाग्न जाने डाक्टरभन्दा फरक थिए, डाक्टर गोविन्द केसी।


उत्सुकता बढ्दै गयो। थाहा पाउँदै गएँ, महामारी लाग्दा हिउँद भन्दैनन्। बर्खा भन्दैनन्। बाढी–पहिरो भन्दैनन्।अनेक पहाड नाघ्दै, नदीनाला–जँघार तर्दै दबाइमुलोको कुम्लो–कुटुरो बोकेर सरकारभन्दा उनी अगाडि पुग्छन्। जस्तोसुकै विकट होस्, उनी पुगेका हुन्छन्। सम्भव भएसम्म सधैं सार्वजनिक सवारी साधनको प्रयोग गर्छन्।


डाक्टर भएर सेवा गर्छन् तर आममान्छे भएर बाँच्छन्! मनमनै सोचें, ‘यस्ता डाक्टर नेपालमा मात्र छन् । र, सायद यस्ता डाक्टर यिनै एक गोविन्द केसीमात्र हुन्!’


सोध्दै, खोज्दै र बुझ्दै जाँदा त्यस्तै पाए, जस्तो सोचेको थिएँ। त्यसपछि थाहा भयो, यी डाक्टर कुनै राजनीतिक दलका पेशागत संघ–संगठनसँग कहिल्यै आवद्ध छैनन्। सधैं पेशाप्रति मात्र आवद्ध छन्।


यी कर्तव्यनिष्ठ डाक्टर, धर्मपरायण मान्छे गोविन्द केसीसँग मेरो पहिलो भेट २०७२ साल मङ्सिरमा भएको थियो। दिन सायद २९ गते मङ्लबार थियो।


तिनै डा. गोविन्द केसीलाई आज फेरि आमरण अनसनमा होमिन बाध्य बनाइयो। बीसौं सत्याग्रहसम्म आइपुग्दा यी परोपकारी डाक्टरको ६६ वर्षे वृद्ध कायाले बिना अन्नपानी २६२ दिन बिताइसकेको छ।


सधैंजस्तै अहिलेका मागमा पनि उनले कुनै पद मागेका छैनन्। भाग मागेका छैनन्। कुनै दल र गुटका स्वार्थ लुकाएका छैनन्। निजी वृत्ति खोजेका छैनन्। गरीब, निमुखा जनताले सस्तो र सुलभ स्वास्थ्य सेवा पाउन् भनेर मागेका छन्।


डा. गोविन्द केसी व्यक्तिमात्र हैनन्, लोकतान्त्रिक राज्यका एक जिउँदो सम्पदा हुन्। उनको स्वास्थ्य दिनानुदिन नाजुक बन्दैछ। यी सन्त डाक्टरलाई पटकपटक अनशन बस्न बाध्य बनाउनु र सधैं मरणासन्न अवस्थामा पुर्‍याउनु भनेको शैतानी शासन शैली हो, लोकतान्त्रिक हैन। लोकतान्त्रिक सरकारले छिटोभन्दा छिटो विवेकको प्रयोग गरोस्। एउटा सत्याग्रहीप्रति लोकतान्त्रिक आचरण देखाओस्।


देशको पुर्पुरोमा अकर्मण्यताको बञ्चरो र छातीमा दुराचारको बज्रबजार्ने विरुद्ध एक्लै लड्ने एक जनामात्र कोही छन् भने ती तिनै डा. गोविन्द केसी हुन्।


देश र जनताको सेवामा समर्पित एक जिद्दी मान्छे। एक जबर्जस्त मान्छे। एक असल मान्छेका रुपमा मैले चिनेको मान्छे। गरीब–निमुखा जनताका लागि जीवन–मरणको लडाइँ लडिरहेका एक डाक्टर!

यिनै हुन् मैले चिनेका डाक्टर गोविन्द केसी। - देश संचार 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक