बाहुबलीको अखडा बन्यो संसद । अदालतले संसदमाथि हमला गरेर प्रधानमन्त्री तोकिदियो । संसद बोलेन ।
सरकारले प्रधानन्यायाधीशलाई महाभियोगमा झुण्ड्याएर राखेको छ, निर्णय गर्न गराउन सक्दैन । वकिल र न्यायाधीश भ्रष्टाचारीलाई उम्काउन घूस लेनदेनको कुरा गर्छन्, संसद सुन्दैन । आमनागरिक ठगिनेक्रम रोकिएन, संसद देख्दैन । व्यापारीले बजेट बनाउँछन्, सरकारलाई जिम्मेवार बनाउने कुरा संसदमा निर्णय नै हुँदैन । हत्या, बलात्कारलाई चमत्कार ठानेर टुलुटुलु हेर्छमात्र, संसद लाटो, बहिरो, कानो बनिरहन्छ । यस्तो गैरजिम्मेवार संसद किन चाहियो ? जनताप्रति जवाफदेही नहुने संसदको औचित्य नै कति छ र ? नीति, सिद्धान्त, नैतिकता केही पनि बाँकी छैन, यो लोकसंसद हो कि बाहुबलीको अखडा ? कोरोनाको महामारीमा नागरिकले उपचार पाएनन्, अक्सिजनसम्म पाएनन् । नेताहरू भ्रष्टाचार गरिरहे । जनताको ज्यानमा खेलबाड गरेर पैसा कमाइरहे । आमनागरिक मरिरहेको हेर्नसक्ने तन्त्र, कस्तो लोकतन्त्र हो ? अहिले पनि सत्ता, शक्ति र सम्पत्तिका लागि नेतृत्व झुत्ती खेलिरहेका छन् । जनप्रतिनिधि भनेका जनताको मृत्यु बेच्ने व्यापारी हो ?
राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवीभित्र मानवीय संवेदना मरेकै हो ?
भनिन्छ, नागरिक नै राष्ट्र हो, राष्ट्रियता हो । यसकारण त मान्छे सामाजिक जीव हो । शक्तिको स्रोत नागरिक हो, सत्ता प्रभावशाली हुन नागरिकको सम्मान आर्जन गर्नपर्छ । संविधान, संसद र सांसद सबै प्रभावहीन छन्, प्रभावहीनहरूको झुण्ड यसैलाई लोकतन्त्र मानिरहेका छन् । वास्तवमा नेपालमा लोकतन्त्र होइन, लूटतन्त्रले सफलता पाइरहेको छ ।
अन्धो हुनु नराम्रो कुरा हो । आँखा भएर पनि नदेख्नु हदैसम्मको खराव आचरण हो । यही खरावीले राष्ट्र र जनताका सबै अपेक्षाहरुमाथि दलहरुको निरन्तर बलात्कार चलिरहेको छ ।
एक विद्वानले उहिले भनेका थिए— पार्टीहरु विचारका दलाल हुन् । नेपालका सन्दर्भमा पार्टी नेतृत्व र तिनका अधिकांश कार्यकर्ता भ्रष्टाचारका, व्यभिचारका दलाल साबित भएका छन् ।
शंकराचार्यले उहिल्यै भनेका थिए— जो अत्यन्त तृष्णावान छ, तृष्णापूर्तिका लागि नैतिक धरातल बिर्सन्छ, ती दरिद्र हुन् । यो मापदण्डमा भन्ने हो भने नेपाली राजनीति दरिद्रहरुले चलाइरहेका छन् । दरिद्र दरिद्रबीच प्रतिस्पर्धा भइरहेको छ । जो आफै यस प्रकारको दरिद्र छ, उसले देश र दुनियाँलाई कसरी समृद्धि, सुख र शान्ति दिनसक्छ ?
यस्ता बदमास, बदनाम दरिद्रहरू भन्छन्– नयाँ नेपाल बनाउँछौं । हामी नागरिक यस्ता दरिद्रलाई जनप्रतिनिधि बनाइरहेछौं । हामी आफैले गरेको भूलको महगो मूल्य चुकाइरहेका छौं ।
नीतिज्ञान भन्छ— जसले एकपल्ट विश्वासघात गर्छ, पुनः त्यसको विश्वासमा पर्नुहुन्न । हामी नेपालीहरु यति सहृदयी, सहनशील छौं कि पार्टी नेताहरू पटक पटक जनघात गरिरहेका छन् र तिनैलाई देवत्वकरण गरिरहन्छौं । नागरिकमा चेत कहिले खुल्छ ?
०४६ सालपछिका दिनहरूमा देशको राजनीतिक परिदृश्य जे देखियो, नेपाल मूर्खहरुको पूजा हुने देश हो ।
नैतिकपतन भएपछि आत्मसम्मान, आत्मनिर्णय, साहस र विनम्रता मर्नेरहेछ, व्यभिचार बढ्यो, लोक शासन पतन भयो । देशका आधारहरू सबै कृष्णभीरको पहिरो खसेझैं खस्दै गएका छन् ।
आलु कुहिएझैं कुहियो राजनीति, गनायो, महामारी फैलियो । नीतिको मुहान प्रदूषित भएपछि राष्ट्र धरासायी हुँदैछ ।
जनयुद्ध, जनआन्दोलनमा विदेशीले समेत ठूलै लगानी गरे, पार्टीहरुले पनि सत्ताका लागि विदेशीका हरेक शर्तहरु मान्दै गए । जनताको सुझाव लत्याएर राजतन्त्र फाले, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाए, सेतो हात्ती पालेसरह नेता–कार्यकर्तालाई लुटाउन संघीयता अपनाए । चीन मौन छ, भारतले यो संविधानमा सहमति जनाएन । नेतृत्वको अदूरदर्शिताका कारणले नेपाल भूराजनीतिको भूमरीमा फस्न पुगेको छ । राष्ट्रमा महाविपतको डढेलो लागिसक्यो, नेताहरू निरोझैं भ्रष्टाचारको रागमा लीन बनेका छन् ।
मार्क्सवादका ठेली पढ्नेहरु छन्, समाजवादका सिद्धान्त बुझनेहरु छन्, सर्वहारावाद जिन्दावाद भन्नेहरू छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक फोड्नेहरू छोराको शालिक ठड्याउन थालेका छन् । सामन्त बढे, सामन्ती बढे ।
खुकुरीले हरेक क्षण जनता र देशको घाँटी रेटिरहेको छ । खुकुरीको काम मृत्यु दिने हो। बाँच्नेलाई मृत्यु, बाँच्न चाहनेलाई पनि मृत्यु । देशको अस्तित्वको मृत्यु । यसैलाई भनिन्छ, इनफ इक इनफ ।
जनता चारदिने जिन्दगीमा चारपल पनि खुशीसाथ बाँच्न पाउँदैनन् । नेतालाई हरेक दिन दशैं छ, हरेक दिन उत्सव छ । पञ्चायत निरङ्कूश भनेर फालेर ल्याएको लोकतन्त्र, यो त लोकमारा। देशमारा सावित भयो ।
इतिहासमा ताजमहलको एउटा कथा छ । मुगल सम्राट शाहजहाँ र मुमदाजबीच गहिरो प्रेम थियो । दुर्भाग्यवस मुमताजको पहिले नै निधन भयो । त्यसपछि चिन्तित सम्राटले २० वर्ष लगाएर आगरामा संसारकै आश्चर्यपूर्ण ताजमहल बनाए । छोरा औरङ्गजेवलाई राजा हुने महत्वाकांक्षा जाग्यो । शाहजहाँका शत्रुहरुले उनलाई सम्राट हुनुप¥यो भनेर उचाले । उनले बाबुलाई जमुना किनारको एक महलको कोठामा कैद गरेर आफू सम्राट बने । कोठामा ताजमहलको प्रतिविम्व देखिने गरी भित्तामा ऐना साइजको हीरा जडान गरिदिए । शाहजहाँले ताजमहलको प्रतिविम्वमा मुमताजलाई हेरी हेरी देहत्याग गरे । १९४७ मा भारत स्वतन्त्र भएपछि अंग्रेजहरुले त्यो ऐना आकारको हीरा झिकेर लगे, आज त्यो हीरा जडान भएको ठाउँ खाल्डोमात्र छ ।
नेपालको लोकतन्त्र हीरा झिकिएको महलजस्तो छ । जनता दधिचिले झैं रगत, हाडछाला सबै लोकतन्त्र नामका नेतृत्वलाई दान दिइरहेका छन् र नेताहरु जनताको हाडबाट बज्र बन्दै गएका छन् । जनताको आँखामा आँसुमात्र देखिन्छ । जनता रुवाउने शासनको बागडोर, रजगज यिनै नेताहरुको मुठ्ठीमा कैद छ ।
नेपालमा २०४६ सालमा भारतीय नेताहरूलाई समेत बोलाएर देशमाथि विदेशी बलात्कार गराउनेहरुको जीत भयो, बहुदल आयो । २०५८ सालमा दरवार हत्याकाण्ड मच्चाइयो, विदेशीकै जीत भयो । २०६३ सालमा विदेशीको ठूलो लगानीमा जनतालाई सडकमा उतारेर मरेको संसद ब्यूँताइयो र संविधानसभाको चुनाव गराइयो । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गराईयो । विदेशीकै जीत भयो । बहुदललाई गणतन्त्रको हीरा भनेर खूब प्रचार गरियो । अब नयाँ नेपाल बन्छ भनियो । १५ वर्षभयो त्यो गणतन्त्रे हीरामा नेताहरुमा सल्केको नैतिकहीन कीरा लाग्यो । जनता रुवाउने, देशको आकार खुम्च्याउने, अस्तित्व मेटाउने रजगजमा विदेशी कै जीत भइरहेको छ ।
स्मरणरहोस्, हरेक जीवको मृत्यु हुन्छ हुन्छ । अमर कोही छैनन् । देश र जनताको मृत्युमा रमाउने लोकतन्त्रका नाइकेहरु यथार्थमा जनताको घृणामा मरिरहेका छन् । अनैतिक भएर बाँच्नु के बाँच्नु ? सम्मान आर्जन गर्न नसकेर राजनीति गर्नु, के गर्नु ? आकाशतिर फर्केर थुक्नु र नेपालमा लोकतन्त्र छ भन्नु उस्तै हो । जो जुनसुकै बादी हुन्, यिनीहरूले अँगालेको भ्रष्टाचार बाद हो । व्यभिचार बाद हो । यसकारण नेपालको लोकतन्त्रका परिदृश्यमा देखिएका नेता र पार्टीहरू सबैको चारित्रिक विशेषता मृत्यु हो । किनकि यी कसैमा जिवन्तता भन्ने बाँकी छैन । यिनीहरुले सिद्धान्त बगार्नु, दर्शन र विचारका गुड्डी हाँक्नु भनेको भ्रमको खेतीमात्र हो । यिनीहरु कोही पनि न्यायमुखी, बिधिव्यवहार न्यायपूर्ण छैनन् । यी अन्यायका काँडेघारी हुन्, सिस्नोका झाडी हुन् । यिनले दिने भनेको पीडामात्र हो । मृत्युमात्र हो । एयरपोर्टमा हरेक दिन विदेशीने २ हजारभन्दा बढीको लर्को हेरे थाहा हुन्छ– नेपालमा लोकतन्त्र व्यवसाय बनेको छ ।
हत्याराहरूको जालझेल, भ्रम र सपनामा दैनिक बली चढेर नेपालीत्व कतिञ्जेल बाँच्ला ?
प्रतिक्रियाका लागिः rajan2012karki@yahoo.com
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक