20220709

श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री भागिसके, मन्त्री, सांसद, नेताको दिनदिनै राम धुलाई भइरहेको छ, भागाभाग छन्, जनता ब्युँझेका छन् तर ब्युँझिँदा धेरै ढिलो भैसकेको छ, श्रीलङ्का बाट सिकुन् नेपाली जनताले पनि !

सुरु सुरुमा जनता बोलेनन् । चुपचाप सही रहे नेपालमा जस्तै । श्रीलङ्कामा सत्तासीनहरू जब अति गर्दै गए नेपालमा जस्तै आर्थिक सङ्कट मौलाउँदै गयो । आज त्यहाँ पैसा तिरेर खाने खाद्यान्न छैन । पैसा तिरेर किन्न पाइन्न मट्टितेल, डिजेल र पेट्रोल । हर कुराको हाहाकार छ । विदेशी रिनमा चुर्लुम्म डुबेको छ श्रीलङ्का । आर्थिक अवस्था धराशायी छ । बल्ल जनता ब्युँझेका छन् तर ब्युँझिँदा धेरै ढिलो भैसकेको छ । अहिले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री कार्यालय र निवास छोडेर भागिसकेका छन् । जनताले प्रधानमन्त्री निवास जलाएका छन् । मन्त्री, सांसद, नेताको दिनदिनै राम धुलाई भइरहेको छ भागाभाग छन् । ज्यान जोगाउन हम्मे हम्मे छ । देश देश जस्तो छैन पुरै भिड तन्त्रमा परिणत भएको छ । जनताले राष्ट्रपति भवन कब्जा मात्र गरेका छैनन् भित्र पसेर राष्ट्रपतिको स्विमिङ पुलमा पौडिरहेका छन् । हेर्नुस् भिडियोहरू । स्मरण रहोस् नेपाल ठ्याक्कै यही बाटोमा छ तर नेपाली जनता अलिकति छिटो जागुन् ताकी देश रहोस् । सबै सकिए पछि जागेर अर्थ होला र ! श्रीलङ्का बाट सिकुन् नेपाली जनताले पनि । ढिला भैसकेको छ है ।    आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा सत्ताविरुद्ध प्रदर्शन चर्को बन्दै गएपछि राष्ट्रपति गोटाबाया राजपाक्ष र प्रधानमन्त्री रणिल विक्रमासिंघे राजीनामा दिन तयार भएका छन् । हजारौं प्रदर्शनकारी राष्ट्रपति निवास प्रवेश गरेपछि भागेका राष्ट्रपति गोटाबाया राजपाक्षले जुलाई १३ मा राजीनामा दिने जानकारी सभामुख महिन्दा यापा अबेयवार्दनालाई गराएका छन् । प्रधानमन्त्री विक्रमासिंघेले पनि ट्वीट गर्दै सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न राजीनामा दिन लागेको जनाएका छन् । प्रदर्शनकारी शनिबार प्रधानमन्त्री विक्रमासिंघेको निजी निवासमा समेत प्रवेश गरेका थिए ।

आर्थिक संकट गहिरिँदै जाँदा देशभरबाट राजधानी कोलम्बोमा भेला भएका हजारौं प्रदर्शनकारी राष्ट्रपति राजपाक्षको सरकारी र प्रधानमन्त्री विक्रमासिंघेको निजी निवासमा प्रवेश गरेका हुन् । सरकारको गलत नीतिका कारण संकट देखिएको भन्दै उनीहरूले राष्ट्रपति राजपाक्ष र प्रधानमन्त्री विक्रमासिंघेको राजीनामा मागिरहेका छन् । उनीहरूले राष्ट्रपति राजपाक्षले राजीनामा नदिउन्जेलसम्म उनको भवन नछाड्ने बताएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा आगजनी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीले शनिबार अपराह्न राष्ट्रपति निवासमा प्रवेश गरेर स्विमिङ पुलमा पौडिँदै गरेको र शयनकक्षमा प्रवेश गरेर सेल्फी खिचेको भिडियो सामाजिक सञ्जालमा आएका छन् । सरकारी निवासबाट भागेका राष्ट्रपति राजपाक्षलाई राखिएको स्थान खुलाइएको छैन । तर देशबाट कुनै पनि समयमा भाग्नुपर्ने अवस्थामा रहेका कारण उनी विमानस्थलमा रहेको बताइएको छ । अर्कातर्फ कोलम्बो बन्दरगाहमा देखिएका दुईवटा पानीजहाजमा राष्ट्रपतिले सामान लोड गर्दै गरेको देखिएको समाचार पनि आएका छन् । प्रदर्शनकारी राष्ट्रपति निवास बाहिर भेला हुन थालेपछि राजपाक्षलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको एउटा युनिटले सुरक्षा दिइरहेको उच्च सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएका छन् ।

प्रहरीले शनिबार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेका समाचार आएका छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । श्रीलंकाको राजधानीमा घोषित विरोध प्रदर्शनअघि ठूलो संख्यामा सशस्त्र सैनिक र प्रहरी तैनाथ गरिएको थियो । अधिकारीहरूले शुक्रबार राति कर्फ्युको घोषणा गरेर प्रदर्शनलाई रोक्ने कोसिससमेत भएको थियो । विपक्षी दलहरूको चर्को विरोध भएपछि त्यसलाई पछि हटाइएको थियो । बार एसोसिएसनले पनि प्रहरी प्रमुखमाथि मुद्दा चलाउने चेतावनी दिएको थियो । घरमै बस्नका लागि दिइएको चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरू शनिबार राष्ट्रपतिको सरकारी निवास नजिकै जम्मा हुन थालेका थिए । समाचार एजेन्सी एएफपीले केही प्रदर्शनकारीले रेलवेका कर्मचारीलाई कोलम्बो जाने रेल बनाउन बाध्य पारेका थिए ।


संकटका बेला श्रीलंकाका विभिन्न राजनीतिक दलबीच भएको बैठकमा बहुसंख्यक दल राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने पक्षमा देखिएका छन् । विपक्षी दलका एक सांसदका अनुसार बहुसंख्यक दलहरूबीच सभामुखले राष्ट्रपतिको भूमिका निर्वाह गर्नेमा सहमति भएको छ । संविधानअनुसार बढीमा ३० दिन सभामुखलाई राष्ट्रपति बनाउन मिल्छ । दलहरूले सर्वदलीय सरकार गठन गरेर जतिसक्दो चाँडो चुनावमा जाने विषयमा सहमति गरेका छन् । बाँकी कार्यकाल अर्थात् नोभेम्बर २४ सम्म सांसदहरूको गोप्य मतदान गरेर राष्ट्रपति छान्ने विषयमा पनि सहमति जुटेको छ ।

प्रधानमन्त्री विक्रमासिंघेले पहिले निकट नेताहरूलाई राजीनामा गर्न तयार रहेको जानकारी गराएर पछि ट्वीट गरेका थिए । उनले जनताको सुरक्षाका लागि आफूले पद छाड्न तयार भएको बताएका छन् । प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री विक्रमासिंघेसामु राजीनामाबाहेक विकल्प नरहेको बताइएको छ । गत महिनाको प्रदर्शनपछि विक्रमासिंघेलाई प्रधानमन्त्री बनाइएको थियो । राष्ट्रपति गोटाबायाका दाइ महिन्दाले पदबाट राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् ।

२ करोड २० लाख जनसंख्या रहेको हिन्द महासागरस्थित टापु राष्ट्र श्रीलंका आर्थिक रूपमा टाट पल्टिएको छ । श्रीलंकाले इन्धन, औषधि, खाद्यान्न जस्ता आधारभूत वस्तु आयात गर्नसमेत सकेको छैन । १९४८ मा बेलायतबाट स्वतन्त्र भएको श्रीलंका इतिहासमै सबैभन्दा ठूलो आर्थिक संकटमा परेको छ । श्रीलंका सरकारले सामान्य मानिसलाई आइतबारसम्म इन्धन बिक्री गर्न रोक लगाएको छ । सत्तरीको दशकपछि यस्तो कदम चाल्ने श्रीलंका पहिलो देश भएको बताइएको छ ।

गत सप्ताहान्तमा अधिकारीहरूले बस, रेल तथा स्वास्थ्य वहानका लागि आवश्यक पर्ने इन्धन एक साताका लागि पनि नपुग्ने बताएका थिए । विद्यालय बन्द गरिएका छन् । खाद्यान्न र इन्धन अभावको कारण मूल्यवृद्धि भएको छ । मुद्रास्फीति ३० प्रतिशत रहेको छ । औषधिको अभावका कारण स्वास्थ्य प्रणाली पतन हुने अवस्थामा पुगेको छ ।

श्रीलंका रातारात टाट पल्टिएको भने होइन । दशकौं लामो अव्यवस्था, आर्थिक अपारदर्शिता र भ्रष्टाचारका कारण सुरु भएको संकटले यो अवस्था निम्त्याएको हो । राजनीतिक नेतृत्वले पनि लामो समयअघि सुरु भएको यो संकट समाधान गर्नेभन्दा बढाउँदै लैजाने काम गरे । श्रीलंकामा मुख्यतः ठूलो बजेट घाटा र चालु खाता घाटा लामो समयदेखि चल्दै आएको थियो । ‘श्रीलंका दोहोरो घाटा बेहोरिरहेको अर्थतन्त्र हो,’ २०१९ मा प्रकाशित एसियाली विकास बैंकको कार्यपत्रमा भनिएको छ, ‘दोहोरो घाटाले देशको राष्ट्रिय खर्च राष्ट्रिय आम्दानीभन्दा बढी छ भन्ने संकेत गर्छ । साथै देशले उत्पादन गर्ने वस्तु र सेवा व्यापारका लागि अपर्याप्त छ भन्ने देखिन्छ ।’

अहिलेको आर्थिक संकट भने राजपाक्षले २०१९ मा भएको चुनावी प्रचारका क्रममा वाचा गरेको ठूलो मात्रामा कर कटौतीका कारण सिर्जना भएको हो । सत्तासीन भएलगत्तै राजपाक्षले कर कटौती त गरे तर त्यसको केही समयमा नै कोभिड–१९ महामारीले विश्वलाई प्रहार गर्‍यो, जसका कारण श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा धराशायी हुन पुग्यो । त्यसअघि इस्टरको समयमा इस्लामिक अतिवादीहरूले पर्यटकीय स्थलहरूलाई लक्ष्य गर्दै गरेको बम आक्रमणपछि श्रीलंकाको पर्यटन उद्योगमा संकट सुरु भइसकेको थियो ।

महामारीले एकातर्फ देशको मेरुदण्डका रूपमा रहेको पर्यटन व्यवसाय पूर्ण रूपमा बन्द भयो भने अर्कातर्फ देशमा भित्रिने रेमिट्यान्समा पनि कमी आयो । साथै, क्रेडिट रेटिङ एजेन्सीहरूले श्रीलंकालाई ‘डाउनग्रेड’ गरिदिए र अन्तर्राष्ट्रिय सेयर बजारमा लगानी गर्न पनि बन्देज लगाइदिए, जसका कारण देशको विदेशी मुद्राको सञ्चिति दुई वर्षमै ७० प्रतिशतले खस्कियो । २०२१ मा राजपाक्ष सरकारले रातारात रासायनिक मलको प्रयोग पूर्ण रूपमा बन्देज लगायो, जुन केही समयपछि नै फिर्ता लिइएको थियो । तर उक्त निर्णयले त्यहाँको चिया र धान खेतीलाई नराम्रोसँग प्रभावित बनायो । त्यसमा पनि गत फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेपछि विश्वभर नै इन्धनको मूल्यमा भारी वृद्धि भयो । यसै पनि विदेशी मुद्रा कम भएका कारण अर्थतन्त्र डगमगाएको श्रीलंकाको आर्थिक घाउमा त्यसले नुनचुकको काम गर्‍यो ।

राजपाक्षले २०१९ मा चुनाव जितेर राष्ट्रपति भएसँगै त्यहाँको सत्ता पूर्ण रूपमा राजपाक्षको परिवारको हातमा मात्रै सीमित भयो । गोटाबाय राजपाक्ष परिवारको तेस्रो राजनीतिक पिढी‌ हुन् भने चौथो राजनीतिक पिढी पनि गत मार्चसम्म मन्त्री थिए । दाजु महिन्दा गत महिनासम्म प्रधानमन्त्री थिए । उनी २००५–२०१५ सम्म राष्ट्रपति पनि थिए । अन्य दुई बसिल र चमल पनि २०१९ यता मन्त्री थिए । महिन्दाका छोरा नमल केही महिनाअघि मन्त्री थिए । आर्थिक संकट चुलिएपछि र आलोचना सुरु भएपछि मन्त्री रहेका उनीहरू सबैले राजीनामा गरेका छन् ।

कुनै समयमा श्रीलंकाको कुल बजेटको २४ प्रतिशत राजपाक्ष परिवारकै नियन्त्रणमा थियो । राजपाक्षका ९ जना सदस्य मन्त्री थिए भने सरकारका मुख्य ३० वटा पदमध्ये ७ वटा पद पनि उनीहरूकै परिवारकै अधीनमा थियो । देशमा संकट सुरु भए पनि राजपक्ष परिवारले श्रीलंकामा निकै सुविधाजनक जीवन बिताइरहेका छन् । सामाजिक सञ्जालमा उनीहरूको परिवार बस्ने आलिसान घर, अत्याधुनिक गाडी र महँगो बिदा भ्रमणलाई लिएर आलोचना हुने गरेको थियो । यसले पनि अहिलेको राजनीतिक तथा आर्थिक संकटमा आलोचना र प्रदर्शन उनीहरूकै परिवारमाथि केन्द्रित भइरहेको छ ।

राजपाक्ष परिवार र त्यसमा पनि महिन्दाको भूमिकाको आलोचनाकै फलस्वरूप उनले २०१५ को राष्ट्रपतीय चुनावमा हार बेहोरेका थिए । तर उनको परिवारविरुद्ध भएको राजनीतिक एकता धेरै समय टिक्न सकेन र यही परिवार २०१९ को चुनावमा पुनः शक्तिमा आयो । राजपाक्ष परिवारले तमिल विद्रोहलाई दबाउनका लागि खेलेको भूमिकालाई लिएर पनि उनीहरूको आलोचना हुने गरेको छ । तमिल समुदाय राजपाक्षलाई युद्ध अपराधको मुद्दामा कारबाही होस् भन्ने चाहन्छ । तर, परिवारवादको आडमा निरंकुश बनेका उनले युद्ध अपराधमा मुछिएका आफन्तलाई आममाफी दिएका छन् ।

श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन्। शनिबार साँझ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावपूर्ण स्थिति श्रृजना भएको थियो। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो। यसै क्रममा प्रधानमन्त्रीको सुरक्षामा तैनाथ अधिकारीले घरबाहिर उपस्थित पत्रकारमाथि हमला गरेपछि भीड झनै आक्रोशित भयो। त्यसपछि भीडले प्रधानमन्त्रीको निजी घरमा आगजनी गरेको थियो।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरूले शनिबार राष्ट्रपति निवास घेरेका थिए। दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन्। यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिने भएका छन्। उनले बोलाएको सर्वदलीय बैठकपछि ट्विट गर्दै राजीनामा दिने बताएका हुन्। 

उनले भनेका छन्,‘सबै नागरिकको सुरक्षासहित सरकारको निरन्तरताको सुनिश्चित गर्न पार्टीका नेताहरूले दिएको सर्वदलीय सरकार बनाउन दिएको सुझावलाई म स्वीकार्छु। त्यसको लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु।’ प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो। आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन्।

टापु राष्ट्र श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ। समस्या यति जटिल छ कि श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ।

शनिबार श्रीलंकाका शिक्षा अधिकारीले कागज नभएकाले लाखौं विद्यार्थीको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको बताएका छन्। यो निर्णयसँगै श्रीलंकाका झन्डै ४५ लाख विद्यार्थीले यस वर्षको परीक्षा दिन नसक्ने सम्भावना बढेको छ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटले २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर  पारेको छ। पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ। सामान किन्न पसलहरूमा लामा लामा लाइन देखिन्छन्। केही अत्यावश्यक वस्तुमा सरकारले कोटा निर्धारण गरिदिएको छ।   

राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारविरूद्ध प्रदर्शनहरू भइरहेका छन्।

तीन वर्षअघिसम्म श्रीलंकाको आर्थिक अवस्था यति नाजुक थिएन, राष्ट्रपति राजापाक्षेले पनि संकट यति बढ्ला भन्ने सोचेका थिएनन्।  

श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा पर्यटन हो। सन् २०१५-१६ पछि आतंकवादका कारण श्रीलंकामा पर्यटनको आवागमन घट्न थाल्यो। तीन वर्षअघि इस्टर सन्डेका दिन कोलोम्बोका चर्च र पाँचतारे होटलमा भएको आतंकवादी हमलापछि त पर्यटक आउने क्रम रोकिएजस्तै भयो।

सन् २०१९ को अन्तबाट कोरोनाभाइरसको महामारी फैलियो। कोरोनासँगै विश्वभरका अर्थतन्त्रमा धक्का लाग्यो। कोरोनाको संक्रमण रोक्न महिनौंसम्म प्रतिबन्धहरू लगाइए। श्रीलंकामा पर्यटनको मुहान नै सुक्यो।

श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको पनि असर त छ तर यी दुई कारणले मात्रै यति गहिरो संकट ल्याएका होइनन्।  

आर्थिक अवस्था मजबुद् हुँदा श्रीलंकाले चीनलगायत मुलुकबाट ऋण लिएर ठूला-ठूला परियोजना बनाएको थियो। ती परियोजना बनाउन लिएको ऋणको किस्ता वर्षेनी तिरिरहनुपर्छ।

पर्यटक नआएपछि विदेशी मुद्रा आर्जन कम भएर ऋण तिर्न गाह्रो हुन थालेपछि सन् २०१७ मा सरकारले हम्बोनाटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको थियो।

आर्थिक संकटबाट बाहिर निस्कन तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले त्यही वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग पैसा माग्यो। आइएमएफले सरकारी खर्च कटौती, कर वृद्धिलगायत सर्तहरू राखेर श्रीलंकालाई पैसा दिएको थियो।

सन् २०१९ को राष्ट्रपतीय चुनाव गोटवाया राजापाक्षेले जिते। उनले अर्थतन्त्र चलायमान बनाउन आइएमएफले ऋणसँग लागू गर्नुपर्ने भनेका सर्तहरूको पालना गरेनन्। कर र ब्याजदर दुबै घटाए।

श्रीलंकाले त्यो बीचमा अरू अन्तर्राष्ट्रिय ऋण पनि लियो। अहिले श्रीलंकाको अन्तर्राष्ट्रिय ऋणमध्ये करिब ३६ प्रतिशत सोभेरेन बोन्डको ऋण छ। यो ऋण कुनै सरकार वा बहुराष्ट्रिय संस्थासँग नभई निजी कम्पनीहरूसँग हो। अर्थतन्त्र कमजोर भएर क्रेडिट रेटिङ खस्कन थाल्दा त्यस्तो ऋण झन् महंगो पर्छ।

श्रीलंकाको बाँकी ऋणमध्ये जापान र चीनको झन्डै ११/११ प्रतिशत छ। सामान्यत: कुनै पनि देशलाई चीनले दिने ऋणको व्याज जापानको भन्दा महंगो हुन्छ।

राजापाक्षेहरूको पहिलादेखि नै चीनसँग घनिष्ठ सम्बन्ध थियो। सोही सम्बन्धका कारण सन् २०२१ को अन्तिमतिर चीनसँग मुद्रा सट्टापट्टा (स्वाप) गरेर केही विदेशी मुद्राको सञ्चिति बढाइयो। तर त्यसले पनि धानेन।

पछिल्लो समय गत जनवरीमा तिर्नुपर्ने ऋणको समय बढाइदिन र चिनियाँ पर्यटकलाई श्रीलंका आउन खुला गरिदिन राजापाक्षे सरकारले आग्रह गरेको छ। बेइजिङले भने अहिलेसम्म यसको जवाफ पठाएको छैन।

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले केही समयअघि गाडी र मलको आयातमा समेत बन्द गर्‍यो। विदेशबाट मल नआएपछि श्रीलंकाले प्रमुख निर्यात बाली चियालगायत अरू उत्पादनमा समस्या पर्‍यो।

यी सबका बाबजुद् श्रीलंकाले डलरमा आधारित विदेशी ऋणको किस्ता भने तिरिरह्यो। विदेशी सञ्चितिमा पैसा जम्मा हुने स्रोत सुक्दै जाँदा तिर्नु पर्ने ऋणले सञ्चिति घट्दै गयो।

श्रीलंकामा उर्जाका लागि जलविद्युतमात्रै नभई कोइला र डिजेल प्लान्ट पनि चलाउने गरिन्छ।

यसवर्ष श्रीलंकामा कम वर्षा भएका कारण जलविद्युतको उत्पादन झन् घटेको छ। उर्जाको माग पूरा गर्न श्रीलंकाले यसपालि धेरै कोइला र डिजेल किन्नुपर्ने भएको छ। त्यसले गर्दा विदेशी मुद्राको सञ्चिति घट्दै-घट्दै गएको छ।

डिजेल/कोइला किन्न नसकेर प्लान्ट चलाउन मुस्किल भएपछि अहिले श्रीलंकामा दैनिक ७ घन्टासम्म लोडसेडिङ हुने गरेको छ। लोडसेडिङले सबैखाले उद्योग र व्यवसायमा पूर्ण क्षमतामा चल्न सकेका छैनन्। लोडसेडिङका कारण श्रीलंकाको अर्थतन्त्र झन् नकारात्मक असर परेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ। त्यसपछि पेट्रोलियमलगायत उपभोग्य वस्तुको आयात गर्न श्रीलंकालाई झन् मुस्किल हुँदै गएको छ।

यति हुँदा पनि श्रीलंकाले आफ्नो मुद्राको अवमूल्यन नगरेर १ डलर बराबर २०० रुपैयाँमा राखिरहेको थियो। लामो समय श्रीलंकाको मुद्रालाई पहिलाकै अवस्थामा राखिरहन झन् सञ्चिति घट्यो। भर्खरै श्रीलंकाले आफ्नो मुद्रालाई डलरको तुलनामा १५ प्रतिशत अबमूल्यन गर्‍यो। मुद्रा अवमूल्यन भएपछि आयात झन् महंगो बन्दै गयो। १५ प्रतिशतले  अवमूल्यन हुँदा पनि समस्या नसुल्झिएपछि ‘फ्लोट’ गरायो। आइतबार १ अमेरिकी डलर किन्न २७७ श्रीलंकाली रुपैयाँ तिर्नुपर्छ।

लामो समयसम्म अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि राजापाक्षे सरकारले थप सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग थप ऋण लिने प्रक्रिया सुरू नै गरेनन्।

अहिले श्रीलंकाको कोषमा विदेशी मुद्रा १ अर्ब अमेरिकी डलरभन्दा कम छ भने यो वर्षमात्रै डलरमा तिर्नुपर्ने विदेशी ऋणको किस्ता साढे चार अर्ब बढी छ।

पहिलाको ऋण तिर्न फेरि ऋण लिन झन् धेरै महंगो पर्छ। सबैतिरबाट च्यापिँदै गएपछि राजापाक्षे सरकारले गत बुधबार आइएमएफलाई गुहारेको छ।

अब आइएमएफले प्रक्रिया पूरा गरेर श्रीलंकालाई उकास्न सहयोग गर्नेछ। तर आइएमएफको पैसा आउन्जेलसम्म आर्थिक संकटले दैनिक जनजीवन चलाउन आम श्रीलंकनलाई झन् कठिन हुने देखिन्छ। - श्रोत बिभिन्न मिडियाहरु 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक