- पुरुषोत्तम दाहाल
सपना देख्दै छन् सायद उनी । सपना त सपना नै हो नि ! जीवनका लागि त बिपना हुनुपर्छ । बिपनाविनाको सपनाको के अर्थ ? १० वर्षकी एक्ली छोरी । समकालीन साना नानीहरूसँग पुतली खेलिरहेकी हुन्छिन् । आज फरक छ उनको लुगा र खेल ।
‘भैलेनी आइन् आँगन, गुन्यू चोलो माग न… ।’
समवेत स्वरमा नानीहरू पुतलीजस्तै नाचिरहेका छन् । भैरे काम्रेडको आँगनमा राम्रा–राम्रा चिटिक्क परेका राता, पहेँला, हरिया, नीला रङ्गीविरङ्गी लुगा लगाएका नानीहरू छन्, कुनै फूलबारीमा ढकमक्क फुलेका सप्तरङ्गी फूलजस्तै सुन्दर दृश्य छ । आहा, कति मनोहर !
भैरे काम्रेड आफैैँ मुस्कुराउँछन् । उनी मनमनै दङ्ग पर्छन् ।
एक मात्र छोरी, केही दिनपहिले आमाले बजारबाट ल्याइदिएको चिटिक्क परेको रातो कुर्ता र सुरुवालमा फररर घुम्दै नाचिरहेकी छिन् । रातो कुर्ता, छोरीको रोजाइ थिएन तर भैरे काम्रेडको मनपर्ने रङ नै रातो हुनाले छोरीको
इच्छा नभए पनि आफ्नो रोजाइमा सधैँ रातो लुगा किनिदिने गर्दछन् । उनकी धर्मपत्नी पनि श्रीमानको रोजाइविपरीत जान सक्दिनन् ।छोरीका साथीहरू पुतलीजस्तै आँगनभरि छरिएर नाचिरहेका छन् । घरको डिलमाथि फुलेका सयपत्री, जुही, चमेली, मखमली फूलहरूजस्तै हेरिरहूँ लाग्ने मनमोहक दृश्य ! यसो बगैँचामा आँखा डुलाउँछन् भैरे काम्रेड ।
सप्तरङ्गी फूलहरूको रङ, सुगन्ध, दृश्य सबैले तान्छ उनको मन । बिहानदेखि साँझसम्म अविश्रान्त अनेक भमराहरू, मौरीहरूको यात्रा चलिरहन्छ ती फूलहरूमा । एकपछि अर्को गर्दै ती प्रत्येक फूलहरूमा पुग्छन्, केही चुसे झैँ, केही सुँघे झैँ उनीहरूको यात्रा यसरी नै निरन्तर छ । दृश्य अनुपम छ । अवर्णनीय लाग्छ । आज किन हो कुन्नि, भैरे काम्रेडलाई अझ यो दृश्यको आकर्षण थपिए जस्तो लाग्छ ।
घरको चारै सुर, दलान, आँगन तला, झ्याल, यत्रतत्र साना माटाको दीयो र रङ्गीचङ्गी मैनबत्तीको प्रकाशमा छोरीहरूको यो नृत्य जीवन स्पन्दनजस्तै सुखदायी, आनन्ददायी छ ।
‘आमा, हामीलाई सिदा दिनू र चाँडै बिदा दिनु न ! उता सानी काकीको घरमा समेत जानु छ । फेरि राति भएपछि त सुतिसक्नु हुनेछ । आफ्नो घरमा मात्रै खेलेर त पुग्दैन नि आमा !
छोरीले अत्यन्त मायालु स्वरमा आग्रह गरेपछि उनको सबै पुतलीजस्ता साथीहरूले समर्थनमा पररर ताली बजाए । छोरीको प्रेमपूर्ण आग्रह कति मीठो र प्रिय लाग्छ । खाटमा बसेका भैरे काम्रेड पनि रोमाञ्चित भएर सानी छोरीको अनुनय सुनिरहेका थिए ।
भित्रबाट आमाको स्वर सुनियो– ‘एकछिन त खेल न ! रात जति भए पनि के फरक पर्छ र ! म नाङ्ग्लोमा सिदा सजाउँदै थिएँ, केही समय त लागिहाल्छ त !’ उँचो स्वरमा आमाले बोल्नुभएको हुनाले नानीहरूको हल्लाले त्यो स्वरलाई छेक्न सकेन । सबैले सजिलै सुन्न सके । उनीहरूको खुशीको कुनै पारावार रहेन ।
आमाले ढोकाबाट बिस्तारै नाङ्ग्लो बाहिर ल्याउनुभयो । नाङ्ग्लाका चारैतिर सेलरोटी, अर्सा, अनर्सा, फुरौला, केही फलफूल, सयपत्रीले जोडिएका फूलपाती र माला । ती सबैलाई हार मिलाएर घेरा गर्दै चारैतिर मालाजस्तो बनाएर सजाएका नोटहरू ।
नानीहरूका आँखा पहिले नोटको घेरामा नै परे । सुकिला नोटमा आँखा गाड्दै सबै नानीहरू आशीर्वचन दिन लागे । उनीहरूको आवाज प्रतिध्वनित भएर पर पल्लो डाँडाबाट समेत फर्केर आँगनमा सुनिन लागे जस्तो भयो, ‘यो घरमा लक्ष्मीको बास होस्, सन्तानहरूले सुख दिऊन् ! बा–आमा कस्ता जाति !’ आदि–आदि ।
आमाले सबै नानीहरूका बीचमा नाङ्ग्लो राख्नुभयो । छोरीहरू कराउन लागे– ‘यो त आमाको मात्रै भाग हो, खै त बुवाको ?’ खाटमा बसेका भैरे काम्रेडतर्फ नानीहरूले सङ्केत गर्दै फेरि कराए– ‘बुवाको भाग पनि चाहियो ।’
दिलदार थिए काम्रेड भैरे । उनले खल्ती छाम्दै गोजीबाट फुत्त एक हजारको नोट निकाले र भने– ‘तिमीहरूलाई लौ मेरो पनि दक्षिणा ! मलाई आशीर्वादचाहिँ के दिन्छौ ?’
नानीहरू निकै बाठा थिए । उनीहरू भैरे काम्रेड नेता हुन् भन्ने थाहा थियो । सधैँ जुलुस नारा लगाउँदै कुदेका बाको इच्छा नबुझ्ने कुरै भएन छोरीहरूले । तुरुन्त आशीर्वाद दिए– ‘बुवा, हजुर चाँडै मन्त्री हुनुहोस् !’
भैरे काम्रेडले चाहेको आशीर्वाद यही नै त थियो । त्यही पाए र मख्ख परे । मनमनै नानीहरूलाई धन्यवाद दिए । उनलाई एक मन तलाग्यो, अर्को हजार पनि थपिदिऊँ कि ! तर गोजीमा पुगिसकेको हात पनि बिस्तारै बाहिरै निकाले ।
– ‘भयो, अब अर्को साल थपिदिऊँला । तिमीहरूको आशीर्वाद लाग्यो भने मन्त्री भएपछि निकै थपिदिने छु । बुवाको आजैदेखिको वचन हो । हुन्छ ?’
किन नहुनु ? नानीहरू प्रसन्न भए । भैरे काम्रेडकी छोरीले साथीहरूसँग पोज मार्दै भनिन्– ‘देख्यौ, मेरो बुवा कति असल हुनुहुन्छ ? हेरौं न, तिमीहरूको घरमा कति झर्ने हो !’
अतिथिले आफ्ना बुवाको यति सारो प्रशंसा गरे पनि उनका साथीहरूलाई कुनै ईष्र्या भएन । किनकि सबैलाई थाहा छ, भैरे काम्रेडजति धनी त्यहाँ अरू कोही पनि छैनन् । उनी चल्तापूर्जा छन् । सबैलाई पट्याउन सिपालु छन् । अतिथि उनकी एक्ली छोरी हुन् र अतिथिले लाडे पल्टेर जे भने पनि भैरेले पूरा नगर्ने कुरै हुँदैनथ्यो ।
कास्की स्याजाङ्को सीमा नजिकै छ भैरे काम्रेडको घर । वरिपरि स–साना थुम्कीहरूको लहरै शृङ्खला देखिन्छ । चारैतिर हरियो वनले यो गाउँको सुन्दरतालाई मनमोहक बनाएको छ । चिसो बढ्दै छ ।
आँगनमा छोरीहरूको स्वर सुनिन छाड्यो । उनीहरू दियो र नाङ्ग्लो त्यहीँ छाडेर पल्लो घरतिर लागिसकेछन् ।
आखिर सपना त हो यो काम्रेड भैरेको । आज बिपना विपरीत भएर आँगनमा देखापरेको छ । गाउँभरिका मानिसहरू आँगनमा जम्मा भएका छन् । उनीहरूका अगाडि एउटी नानीको शव चित्रामा राखिएको छ । उसको शरीरभरि विषालु काँडाहरूका डोब स्पष्ट देख्न सकिन्छ । आँखा फुलेका छन्, गाला सुन्निएका छन्, हात–गोडामा डामैडाम छ । टिलपिल फोकाजस्ता शरीरका हरेक ठाउँमा छन् र खिल परैबाट देख्न सकिन्छ ।
कति क्रूरतापूर्वक आक्रमण गरेछन् ! कति थिए होलान् यसरी मान्छे मार्न सक्नेहरूको जमात ! हेर्नै नसकिने दृश्य !
अस्ति मात्रै आफ्ना साथीहरूसँग उफ्रदै आँगनमा भैलो खेल्न आएकी अतिथि आज यसरी निर्जीव पल्टिरहेकी छे । पल्लो घरकी काकीले आँसु थाम्नै सक्नु भएन । मजेत्रोले आँसु पुछ्नुभयो । उहाँ मात्रै होइन सबै उपस्थितहरूसँग कुनै शब्द र आवाज थिएन । अतिथिका साथीहरू कोही मूच्र्छित जस्तै छन्, कोही आमाको सारीमा मुख लुकाएर रोइरहेका छन् । भगवान् पनि कति निर्दयी ! कसैसँग वाणी छैन, होस् हराएको छ । सिंगो गाँउ जम्मा भएको छ । कोही कसैसँग सुखदुःख र समाचार सोध्ने कुनै अरू विषय छैन । शोकमग्न छ यो आँगन, शोकमग्न छ यो घर, शोकमग्न छ यो गाउँ ।
अतिथिकी आमा घरी सचेत हुँदै कराउँछिन्, ‘मेरी आँखाकी नानी, कहाँ हराइस् हामीलाई टुहुरो पारेर ? हामी पनि तँसँगै आउछौँ । हे दैव, त्यो नाबालकले के गरेकी थिई र चुँडेर लगिस् …..।’ उनको स्वर मधुरो हुँदै पुनः बिलाउँछ । उनी अचेत ढल्छिन् ।
भैरे काम्रेड आफैँ सँभालिन सकेका छैनन् । चर्को स्वरमा गाउँभरि भाषण गदै हिँड्ने र सबैलाई थर्काउने भैरेसँग कुनै शब्द छैन । न आफूलाई सम्झाउने शब्द छ, न आफ्नी पत्नीलाई बुझाउने कुनै वाक्य छ । उनी आफैँ अर्धबेहोश छन् ।
कति–कतिखेर कसैसँग प्रतिशोध लिन खोजे जस्तो गरी भुतभुताइरहेको सुनिन्छ । कुनै बेला उनका मुठ्ठी कस्सिएको देखिन्छन् । व्याकुल छन् उनी । तर कोसँग प्रतिशोध लिने ? कसरी लिने ?
उनका हात–खुट्टा लल्याकलुलुक हुन्छन् । पानी भन्न पनि सक्दैनन् उनी । श्रीमतीलाई के भनेर सम्झाउने खै ! आफैँ चेत हराएको मान्छेले अरूलाई कसरी सम्झाउन सक्छ ? सक्दैन ।
कतिखेर उनी पूरै बेहोश हुन्छन् र बेहोशीमा केही बरबराउँछन् । सपनामा कराएको जस्तो के बोल्छन्, के भनिरहेका छन्, कसैले बुझ्दैनन् । उपस्थित कसैलाई बुझ्ने सोच पनि छैन । सबै अतिथिको निर्जीव देहमाथि आँसु चुहाइरहेका छन् ।
आँगनको बीचमा चन्द्रमाजस्तो उज्याली, कलकलाउँदो उमेरकी छोरीको शव छ । त्यो शवले केही भनिरहे जस्तो केही जानकारी दिइरहे जस्तो गरी भैरे काम्रेडका कानमा सुसाए जस्तो सुनिन्छ, ‘पिताजी, मलाई टोक्ने अरू कोही थिएनन्, तल बारीका गरामा गुँड बनाएर बसेका अरिङ्गाल थिए । ती अरिङ्गाल अकस्मात् मलाई टोक्न आए, धपाउन सकिनँ र ढलेँ ।’
तल कान्लोमुनि छट्पटाइरहेकी छोरीको शरीर आँगनमा ल्याइपुर्याउँदै गर्दा निर्जीव भइसकेको थियो, प्राणपखेरु उडिसकेको थियो । जुन बेला भैरे काम्रेड पल्ला गाउँमा पार्टीको सभालाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै थिए ।
भाषण गर्नु त उनको दिनचर्या नै हो ।
पार्टीका नेता कार्यकर्ताको दिन भाषणमै बितिरहेको छ । उनीहरूको जीविका यसैबाट चलिरहेको हुन्छ । गरिखानेहरू त पार्टटाइमर हुन् राजनीतिमा । उनीहरूको कुनै मूल्य हुँदैन । निर्वाचनमा टिकट अरूको नै हुन्छ । बरु काम गर, पसिना समर्पण गर, नेता र पार्टीलाई चन्दा देऊ, स्वयम्सेवक भएर सेवा गर ! राजनीतिमा नेता मालिक र नागरिकदेखि अरू सदस्यहरू सबै कामदार हुन् । नेताले भनेपछि कामदारहरूले मान्नै पर्ने भयो । गाउँ–ठाउँअनुसार यसरी नै राजनीति चलेको छ ।
पद, शक्ति, पैसा, बाहुबल जोसँग हुन्छ, त्यही हो असली राजनीतिकर्मी । त्यसका लागि भाषण गर, चन्दा उठाऊ, ठेक्कापट्टा मिलाऊ कि आफैँ लिऊ, सरुवा–बढुवामा यसो कोसेली लिऊ, अरू केही नभए दलाली गरेर खाऊ अनि तलकाले माथिका सन्देश प्रवाह गर र गुलामी गर ! नेताका वचन ब्रह्मवाक्य हुने गर्छन् । आँखा चिम्लेर दोहो¥याउने गरिन्छ, जो यसो गर्दैन ऊ पार्टीबाट बहिष्कृत हुने गर्छ ।
नेतृत्वमा बस्नेहरू कि सधैँ उनीहरूका पछि लागेर झोला भर्नेहरूलाई चिन्छन् कि त झोला भरेर नेताको वैठकमा खाली गर्नेहरूलाई चिन्छन् । उनीहरू कि दिनेलाई चिन्छन् कि लिनेलाई । यी दुईबाहेक भाषण गर्नेहरूको काम हुन्छ । नेताका महान् वाणीहरू बोकेर जनतामा छर्नु र जनतालाई सकेसम्म आफूतिर आकर्षित गर्नु, भ्रमित गर्नु उनीहरूको दैनिकी हो, हुने गर्छ ।
केही महिनाअघि काम्रेड भैरेका ठूला नेताले भनेका थिए, ‘विपक्षीहरूमाथि अरिङ्गालजस्तै भएर खनिनू, जाइलाग्नू ! अरिङ्गालको आक्रमण सहने सामथ्र्य विपक्षीहरूमाथि रहनु हुँदैन । उनीहरूलाई डसेर निस्तेज गर्नुपर्छ ।’
काम्रेड भैरेका लागि यो वाक्य ब्रह्मवाक्य– जस्तै थियो । उनी जता गए पनि विपक्षीमाथि खनिन थालिहाल्थे । आफ्ना पक्षविरुद्ध लाग्ने आरोपहरूविरुद्ध उनी यसरी जाइलाग्थे कि विपक्षीहरू धराशायीजस्ता हुन्थे । अरिङ्गालको टोकाइजस्तै विषालु, प्रभावकारी र तत्काल विपक्षीलाई निस्तेज गराउने आफ्नो भाषण हुने गरेकोमा काम्रेड भैरे आफैँ मख्ख पर्थे । जुन अस्वाभाविक थिएन ।
उनी आज पनि अरिङ्गालजस्तै विपक्षीमाथि जाइलाग्दै थिए । उनी आफ्ना नेताको निर्देशनअनुसार भन्दै थिए– ‘हाम्रा विरोधीहरू विकासविरोधी हुन्, लोकतन्त्रविरोधी हुन् । समाजवादविरोधी हुन्, राष्ट्रविरोधी हुन् । हाम्रा नेताले गरेको कामले यिनीहरू तर्सिएका छन्, अर्को चुनावमा यिनीहरूको जमानत कतै पनि जोगिने छैन ।…’
उनको यो भाषणको पर्रा छुटिरहेको बेला तल्ला घरका काइँलो आतङ्कित भएर सभामा आइपुगे । काम्रेड भैरेलाई केही भन्न खोजे तर काम्रेड एकोहोरो विपक्षीलाई अरिङ्गालको टोकाइजस्तै तीखो गरी टोकिरहेका थिए । जाइलागिरहेका थिए । निरीह तल्लाघरे काइँलोले आहत मौन सुनिरह्यो ।
भाषणको अन्त्यमा उनले मुठ्ठी कस्दै भने– ‘सबै साथीहरू, अरिङ्गालको सलहले टोके जस्तै गरी हामी सबै मिलेर यसरी नै विपक्षीमाथि जाइलाग्नुपर्छ ।’
श्रोताहरूले पररर ताली बजाए । निकैबेर ताली बजिरह्यो ।
तल्लो घरको काइँलालेले भैरे काम्रेडका कानमा केही भने । फुसफुसाएर भनेको अरूले सुनेनन्, तर भैरे काम्रेडको अनुहार एक्कासि बादल लागेको जस्तो भयो । उनी गलित, पराजितजस्तो हुँदै घरतिर लागे । उनकी छोरी अतिथि बेहोशजस्तै लमतन्न आँगनमा सुतेको देखे । सुतेको जस्तो भए पनि स्पन्दन समाप्त भएको थियो । शव मात्रै भेटे उनले ।
घरमुनि गुँड लगाएर बसेको अरिङ्गालको पोको भैरेले नदेखेका थिएनन् । तर उनलाई त यस्तो होला भनेर केही शङ्कै थिएन । भरखर त्यतिविधि अरिङ्गालको बखान गरेर आएका भेरै काम्रेड छोरी मार्ने अरिङ्गाललाई सराप्न पनि सक्दैनन्, अङ्कमाल गर्न पनि सक्दैनन् ।
छोरीको अनुहारले भनिरहे जस्तो लाग्यो, ‘बाबा, विषालु मानिस हुन् कि कीराफटेङ्ग्राहरू हुन् ? उनीहरूको जस्तो कुनै काम गर्नु हुँदैन है बाबा ! उनीहरूको सङ्गत पनि गर्नु हुँदैन ।’
भैरे काम्रेड अचेत भए, अतिथिकी आमाको होश खुलेकै छैन । कतिखेर शव उठ्ने हो, थाहै छैन ।
गाउँलेहरू आँखाभरि आँसु पारेर आँगनमा कोही उभिएका छन्, कोही बसेका छन् । केही भन्न कोही सकिरहेको छैन । के भन्नु र यस्तो बेलामा !
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक