20220226

युक्रेनमा निर्दोष नागरिक मारेर रसियाले नाटो र अमेरिकी दादागिरीलाई 'जबाफ' दिएको जस्तो उटपट्याङ् तर्क !

 - नारायण गाउँले 

युक्रेनमा निर्दोष नागरिक मारेर रसियाले नाटो र अमेरिकी दादागिरीलाई 'जबाफ' दिएको जस्तो उटपट्याङ् तर्क पनि पढ़ियो । युक्रेनमा न अमेरिकी सेना छन् न युक्रेन नाटोको सदस्य हो । बीस वर्षदेखि कोसिस गरेपनि युक्रेनले नाटोको सदस्यता पाएको छैन । जबकि रसियासँगै सीमा जोड़िएको र पूर्व सोभियत सङ्घको सदस्य रहेको लाटभियामा अमेरिकी सेना छन् । स्वयं अमेरिका रसियाको सीमामैं छ । अन्य छिमेकी देशमा नाटो र अमेरिकी सैनिक छन् । ती देशमा तीव्र 'एन्टी-रशियन' राष्ट्रवाद पनि छ । तिनले एक इन्च भूमि कब्जा भए रसियालाई देखाइदिने धम्की पनि दिइरहेकै छन् । 

यदि साँच्चिकै अमेरिकी दादागिरीलाई जबाफ दिने भए त तिनलाई पो टार्गेट बनाइन्थ्यो होला ? छिमेकी देशले नाटोको सदस्यता लिँदा रशियन सुरक्षामा असर पर्ने भए सदस्यता लिएका देशमा आक्रमण हुन्थ्यो होला । युद्ध त कुनै पनि बहानामा भर्त्सनीय हुन्छ तर पनि त्यो केही हदसम्म लाजिकल हुन्थ्यो होला । अमेरिकी दादागिरीको जबाफ त उसैलाई पाठ पढाएर पो दिइन्छ । 

एउटा कमजोर छिमेकी देशलाई निलेर र त्यहाँका नागरिकलाई मारेर अमेरिकालाई कसरी जबाफ हुन्छ ? एउटै सांस्कृतिक र ऐतिहासिक धरोहर भएको देशलाई शक्तिको भरमा ध्वस्त बनाएर कसरी अर्को देशलाई जबाफ हुन्छ ? यो त माओवादीले 'जनयुद्ध'का नाममा पाँच हजार (जिम्मा लिएको) मान्छे मारेर अमेरिका र भारतीय विस्तारवादलाई कड़ा जबाफ दिएजस्तो भयो । अनेक विश्वशक्तिको कुत्सित प्रयास र षड्यन्त्रलाई बहादुरीपूर्वक धुलो चटाउँदै एमाले र माओवादी एकीकरण गरेर अमेरिकालाई पराजित गरेजस्तो भयो । अनि फेरि देशी-विदेशी शक्तिलाई पराजित गर्दै एमालेलाई माओवादीबाट अलग्याउने ऐतिहासिक विजय जस्तो भयो । 

रसियाले आक्रमण गर्ने पक्का सूचना पश्चिमी राष्ट्रले महिनौं अघि दिएका थिए । यद्यपि रसियाले चुहिएको गोप्य सूचनालाई सधैँ अस्वीकार गरेको थियो । युद्ध भए रसियासँग लड्न सेना नपठाउने भनेर अमेरिका र पश्चिमले स्पष्टरूपमैं भनेका थिए । नाटो सदस्यमाथि आक्रमण भए लड्न बाध्य हुने भनेकै छन् । 

अमेरिकाले रसियाविरुद्ध उक्साएर अन्त्यमा धोका दिएको  भन्ने तर्क पनि पढ़ियो । केमा उक्साएको भन्नेचाहिँ उहाँहरूलाई नै थाहा छैन । के युक्रेनले रसिया विरुद्ध धावा बोलेको थियो ? रसियाले बलपूर्वक लिएको क्राइमियालाई आफ्नो दाबी गर्नुभन्दा बढ़ी एक इन्च रसियन भूमिमाथि उसले नजर लगाएको थिएन । लगाउन सक्ने अवस्थामा पनि छैन ।  एउटा सार्वभौम देशको नाताले सार्क सदस्य बन्ने कि नबन्ने भन्ने निर्णय नेपालले गर्न पाए जस्तै युक्रेनको हक़ हुँदैन ? नाटोको सदस्य बन्नेबित्तिकै रसियालाई आक्रमण गर्ने भन्ने हुन्छ र ? त्यसो हो भने त पूर्व सोभियत धेरै राष्ट्र नाटोको सदस्य छँदै छन् । तिनले आक्रमण गरेका छैनन् त । यदि असुरक्षा नै हो भने पहिलो प्रहार त तिनलाई पो गर्नुपर्ने । युक्रेन त बन्न चाहेर पनि नबनाइएको र सैनिक सहयोग मागेर पनि नदिइएको कमजोर देश न हो । त्यसलाई हानेर, त्यहाँका गरिब मान्छे मारेर केको बहादुरी ? 

उक्साउनेले त भोलि पनि उक्साउन सक्छ, त्यसैलाई पो हान्नु ! आक्रमणलाई रोक्न सकिन्छ कि भनेर अन्य कोसिस गरेको देखिन्थ्यो सबैले । अमेरिकादेखि चीनसम्म सबैले कूटनीतिक समाधानको कुरा गरेका थिए । आक्रमण भएमा कसैले पनि सेना नै पठाउने कुरो गरेको थिएन । आर्थिक नाकाबन्दीको धम्की दिएका थिए, त्यो गरेकै छन् । सबैभन्दा ठूलो धोका त छिमेकी रसियाले हो दिएको देश नै टुक्ऱ्याएर । 

खासमा कहिले देश नै होइन भन्ने, कहिले मेटाइदिने धम्की दिने, सार्वभौमिकताको सम्मान र समान व्यवहार नगर्ने, सीमा मिच्ने मात्रै होइन, क्राइमियाजस्ता भूभाग नै कब्जा गर्ने, आफै हतियार र सेना दिएर विभिन्न प्रान्तमा गृहयुद्ध मच्चाउने र तिनलाई अलग देश भनेर घोषणा गरिदिने जस्ता कुराले आमयुक्रेनीमा एन्टीरशियन सेन्टिमेन्ट बढ्दो क्रममा छ । हेपिएको आखिर कसलाई मन पर्ला र ? यो दादागिरीलाई चाहिँ नदेख्ने तर अमेरिकामात्रै देख्ने आँखामा पक्कै समस्या छ । के तपाईं चीन या भारतले उक्साएकै भरमा देशमाथि आक्रमण हुँदा भरूवा बन्दुक बोकेर मिसाइल अगाडि उभिन सक्नुहुन्छ ? किन भाषादेखि भेषभूषासम्म मिल्ने रसिया छोडेर युरोपतिर ढल्कियो युक्रेन ? के सहयोग, सम्मान र मित्रता पाउँदा पाउँदै कोही अर्कोतिर ढल्किन्छ ? किन रसियाका छिमेकी देशले एक्लै हुँदा असुरक्षा महसुस गर्छन् ? के एउटा शासकले यसबारे सोच्न पर्दैन ? के भारतले हतियारको बलमा नेपाललाई आफ्नो प्रभावमा राखिरहन सक्छ ?

अमेरिका र रसियाले हतियार बेचेर ठूलो पैसा कमाउँछन् । तर हामीले सोचेजस्तो त्यो एकमात्र ठूलो कमाइ होइन । जीडीपीको साह्रै सानो हिस्सामात्रै त्यसबाट आउने हो । त्यसमा पनि तीव्र प्रतिष्पर्धा छ । फ्रान्स, चीन, जर्मनी, बेलायत, इजरायल जस्ता विश्वका धेरै देश आज हतियार निर्यात गर्छन् । रोचक त के छ भने युक्रेन आफैमा विश्वकै ठूलो हतियार निर्यात गर्ने देश हो । भारतमात्र होइन, टर्की जस्ता नाटोकै सदस्य देशले समेत युक्रेनबाट हतियार किन्दै आएका छन् ।  रसियाले उत्तरी युक्रेनमा विद्रोहीलाई सैन्य सहयोग गर्न थालेपछि मात्रै युक्रेनको हतियार निर्यात घट्न थालेको हो । 

हो, अमेरिका विश्वका धेरै युद्धमा प्रत्यक्ष-अप्रत्यक्ष संलग्न छ । अफगानिस्तानदेखि इराकसम्म, भियतनामदेखि सिरियासम्म युद्धका अनेक बर्बर उदाहरण र घाउहरू छन् ।  अमेरिकालाई यस अर्थमा जति पनि गाली र घृणा गर्न सकिन्छ । दोस्रो विश्वयुद्धमा त अमेरिका, बेलायत, रसिया र चीन एउटै मोर्चामा थिए र तिनले जर्मनी, जापान र इटालीविरुद्धको लड़ाइँमा सफलता हासिल गरेका थिए । 'बिग फोर' भनिने यी देशले एकअर्कालाई सहयोग नगरेको भए शायद आजको युरोपको नक्सा र चीनको नक्सा यस्तो रहन्नथ्यो । अमेरिकाले जापानलाई ध्वस्त नबनाएको भए चीनको धेरै ठूलो भूभाग आज जापानको हुन्थ्यो । आज एकअर्काका लागि थ्रेट जस्तो देखिएका देश हिजो सँगै थिए, आज सँगै भएकाहरू हिजो मुख्य शत्रु बनेर युद्धमा थिए । यो क्रम चलिरहन्छ । 

अमेरिका, रसिया, बेलायत जस्ता देशको इतिहासमात्र होइन, वर्तमान पनि युद्धको रगतले रङ्गिएको छ । शान्तिप्रेमी नागरिकलाई यिनमाथि जस्तोसुकै टिप्पणी गर्ने हक छ । अमेरिकालाई गाली गर्न हजार अन्य कारण उपलब्ध छन् । तर, एउटा बलियो देश रसियाले एउटा निर्धो देश युक्रेनमाथि गरेको आक्रमण र नरसंहारको जिम्मा अमेरिकालाई दिएर रसियालाई समर्थन गर्ने या अमेरिकाको पराजय भनेर निर्दोष मान्छेको मृत्युमा उत्सव मनाउनेहरूबाट चाहिँ के आशा गर्नु ? 

यो आणविक युगमा भोलि रसिया र अमेरिकाबीच युद्ध नै भयो भने जसले जिते पनि र जसले हारे पनि ताली बजाउन हामी रहन्छौं कि रहँदैनौं, कुनै ग्यारेन्टी छैन । त्यसैले युद्ध र तालीबीच आफूलाई उभ्याउनुको कुनै अर्थ छैन ।

**********


युक्रेनको 'एन्टीरशियन' राष्ट्रवाद बुझ्नुअघि नेपाल-भारत बुझ्नुहोस् ! 

अलि टाढा बस्ने सबैको आँखामा नेपाल र भारतबीच केही सय वर्षमात्रै होइन, पौराणिक कालदेखिकै धार्मिक-सांस्कृतिक सम्बन्ध छ । जाति, धर्म, भाषा, संस्कृति, रगत कति हो कति कुरामा सम्बन्ध छ । आज पनि देशको सबै जसो आयात-निर्यात भारतबाटै हुन्छ र नेपालमा सड़कदेखि विद्युतीकरणसम्म भारतीय सहयोग छ । औपचारिक-अनौपचारिक रूपमा लाखौं नेपाली भारतमा रोजगारीमा छन् । यहाँसम्म कि एक-आपसमा बिना भिसा आवतजावत, काम र बसोबास गर्न सकिन्छ । नेपाली भाषा भारतीय संविधानमैं मान्यताप्राप्त छ । नेपाली मूलका लाखौं भारतीय छन् भने भारतीय मूलका लाखौँ नेपाली पनि छन् । लाखौं नेपाली नागरिक त भारतीय सेनामैं पनि छन् । विश्वको कुनै पनि देशले सेना या सुरक्षा निकायमा शत्रु देशका नागरिकलाई नियुक्ति त परको कुरा, पहुँच पनि दिँदैनन् । यसले पनि नेपाल-भारत मित्र देश हुन् भन्ने देखिन्छ । यस्तोमा नेपाल-भारत एकअर्काविरुद्ध उभिने कल्पना पनि असम्भव देखिन्छ । 

तर, नेपालभित्रको राष्ट्रवादमा भारतविरोधी गन्ध दिनहुँ बढ्दो छ र यसमा हाम्रा राजनैतिक दलको अलि चर्कै योगदान पनि छ । धेरै नेपालीलाई लाग्छ, भारतको नियत नै हामीलाई दुःख दिनु हो । लाग्छ, भारत यहाँका कमजोरीमा खेल्न चाहन्छ र हाम्रो राजनीतिलाई म्यानेज गर्न चाहन्छ । हरेक देशका आआफ्नै सीमा समस्या छन्, पक्कै नेपालको पनि छ । तर हामीलाई दिनदिनै भारतले सीमा मिच्दै काठमाडौंसम्मै आइपुग्छ भन्ने लाग्छ । भारतसँग भएका हरेक सन्धि र सम्झौता आसमान छन् र राष्ट्रघाती छन् भन्ने हामीलाई लाग्छ । हामीलाई खुला सीमाका फाइदा-बेफाइदा दुबै अध्ययन गरेर बस्ने फुर्सद र जाँगर छैन । कसैले सीमामा काँढे तार लगाउँछु भन्यो भने हामी गास काटेर दिन तैयार छौं । दिनदिनै आवत-जावत र नातासम्बन्ध भएका तराईका केही नागरिकलाई छोडेर । कसैले भारतविरुद्ध सुरुङ् युद्ध गर्छु भन्यो भने हामी आफ्ना कलिला बालबालिकालाई कलम थुतेर बन्दूक भिराउन उद्यत हुन्छौं । हामीलाई लाग्छ, भारत कुनै न कुनै दिन नेपाललाई क्वाप्प निल्ने दाउ हेरेर बसेको छ ! हामी भारतसँग असुरक्षित महसुस गर्छौं । 

हामी के गर्छौं ? भारतबाहेकका देशसित अलायन्स बनाउन पाए हुन्थ्यो भन्छौं । भारतको एउटा नेताले यहाँको कुनै नेतालाई हाम्रो मित्र हो भन्यो भने त्यो सोझै दलाल हुन्छ तर हाम्रा प्रधानमन्त्रीसम्म चिनियाँ पार्टीसँग प्रशिक्षणमा बसेको फोटो हेरेर हामीलाई गर्व लाग्छ । भारत र पाकिस्तान क्रिकेट खेल्दा पाकिस्तानको समर्थन गर्छौं । चुनाब नजिक आयो भने भारतविरुद्ध अझ चर्को बोल्नेलाई भोट दिन्छौं । नेपाली भूमिबाटै भारतीय विमान अपहरण भएका र नेपाली भूमि प्रयोग गरेर आतङ्ककारीहरू भारत पसेका उदाहरण छन् तर भारतले हामीसँग सुरक्षा चासो अभिव्यक्त गरेको कसलाई मन पर्ला र ? 

आखिर किन यस्तो हुन्छ ? के पहिलो प्याराग्राफ अर्थात् नेपाल र भारत अभिन्न मित्र हुन् भन्ने तथ्य गलत हो ? या भारतविरोधी राष्ट्रवाद गलत हो ? या दुबै गलत हुन् ? के नेपालमा विकास हुने भारतविरोधी भावनामा हाम्रा दलको मात्रै हात छ, या भारत आफैको पनि हात छ ? हाम्रो राष्ट्रवाद अन्धो हो या उसको दादागिरी यसको मुख्य कारण हो ? के हामीले चीन या पाकिस्तानसँग बढाउने सम्बन्ध आत्मनिर्भर बन्नका लागि हो या भारतीय सुरक्षालाई ध्वस्त बनाउन ? यसको उत्तर सबैले एउटै दिन सक्दैनन् । हरेक नागरिकको बुझाइ र व्याख्या फरक हुन्छ । अलिकति सत्य सबै बुझाइमा हुन सक्छ । 

रसिया र युक्रेनबीच त झन नेपाल र भारतभन्दा सघन सांस्कृतिक-ऐतिहासिक सम्बन्ध छ । दुबै नङ् र मासुजस्तै देखिन्छन् । तर राष्ट्रवादचाहिँ ठ्याक्कै नेपालजस्तो छ । 

'रसिया-विरोधी' भावनाले सिर्जित देखिन्छ । 

धेरै युक्रेनीहरूलाई जहिले पनि रसियाले निल्न सक्ने डर छ । तिनीहरू रसियाबाहेकका अन्य देशलाई कुनै फाइदा नभए पनि मित्र ठान्छन् र रसियालाई शत्रु । उनीहरू रशियन प्रभावबाट उम्केर युरोप र अमेरिकासँग जोडिन चाहन्छन् । त्यसका कारण पनि होलान् । हामीलाई माओवादी विद्रोहमा भारतले सहयोग गरेको भन्ने लाग्छ, युक्रेनमा त विद्रोहीलाई रसियाको सैन्य सहयोग नै छ । लाखौं युक्रेनी नागरिकलाई रसियाले नागरिकता नै बाँडेको थियो । आठ वर्षअघि क्राइमिया लिएको त सुन्नुभएकै होला । अहिले दुई वटा प्रान्तलाई त देशकै दर्जा दिएर तिनैलाई जोगाउने नाममा सैनिक कारवाहीकै अवस्था छ । रसियाको दादागिरी र युद्धउन्माद त जिम्मेबार छ नै, अहिले युक्रेनीहरूको यही उग्र राष्ट्रवादले गर्दा देशको अस्तित्व नै नरहने अवस्था सिर्जना भएको छ । रसिया जस्तो शक्तिशाली देशले आफ्नो आँगनमा हुर्किँदै गरेको 'एन्टी-रशियन' राष्ट्रवादलाई किन सहन्थ्यो र ? यद्यपि बीस पच्चीस वर्ष कोसिस गर्दा पनि युक्रेनले नाटोको सदस्यता पाउन सकेको थिएन र तत्काल पाउने सम्भावना पनि देखिन्नथ्यो, तर उसको स्पष्ट उद्देश्य त्यही थियो । यद्यपि एउटा सार्वभौम राष्ट्रले कुन अलायन्सको सदस्यता लिने या नलिने भन्ने आफै निर्णय गर्न पाउने हक हुन्छ भन्ने तर्क उठ्ला तर यो जियोपोलिटिकल राजनीतिमा सबैले त्यो हक निर्बाध उपभोग गर्न पाउने सम्भावना न्यून छ । आज त्यही राष्ट्रवादका कारण साठी वर्षे युक्रेनी नागरिक भरूवा बन्दुक बोकेर रूसी मिसाइलसँग लड्दै छ । बेलायती गुप्तचर संस्थाले रसियाले आक्रमण गर्दै छ भन्ने सूचना युक्रेनलाई महिनौ  अघि दिएको थियो । बेलायत र अमेरिकाले पहिले नै अन्य सहयोग गर्ने तर युद्ध भएमा सैनिक नपठाउने बताएका थिए । विश्वशक्ति रसियालाई  तीन-चार दिन पनि रोक्न सक्ने क्षमता आफूसँग छैन भन्ने युक्रेनलाई थाहा थियो । र पनि राष्ट्रियता भन्ने चीज यस्तै हुने रहेछ । यस्तो खालको राष्ट्रियताले पक्कै देशलाई बचाउन सक्दैन । 

आफ्नै आँखाले मात्रै हेर्दा र एकछिन अरूको ठाउँमा राखेर हेर्दा देखिने दृश्य फरक हुन्छन् । तर लिन सकिने पाठ भने उस्तै र उही हुन सक्छ । लिने नलिने या कति लिने भन्ने त ग्राहकको जिम्मा हो ! लाग्छ, यो युग बल र बुद्धिको हो । दुबै भए उत्तम, कम्तिमा एउटा भए पनि राम्रो तर दुबै नहुनेहरूलाई त के भन्नु र !

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक