20211011

सक्षम महिला, कांग्रेसको १४औं महाधिवेशन र सन्तुलनको खोजी

- सरस्वती तिमल्सिना 

म महिला भएर महिलाको कुरा गरिरहेकी छैन । म सभ्यता निर्माणको कुरा गरिरहेकी छु । मलाई संस्कार दिनु छ र सभ्यता उठाउनु छ मेरै पौरखमा । पुरुषप्रति कुनै द्वैष छैन र वैरभाव पनि छैन । सँगै गर्ने हो यात्रा तर सँगै यात्रा गर्न हैसियत पनि समान हुनुपर्छ भन्ने धारणा अघि सारेकी हुँ । कसैको भाग खोस्न होइन, वितरण सहज होस् र समानुपातिक होस् भन्ने आग्रह हो तर यहीँनेर लोकतन्त्र र यसको मूल्यको विषय बिर्सेकी छैन ।

आज म राजनीतिमा होमिइरहँदा मेरो रोडम्याप के हो भनेर मै प्रष्ट हुनुपर्छ । सय वर्षपछि मान्छेले मलाई किन सम्झने ? के गरेँ भने त्यो सम्झना लायक हुन्छ ? यो मेरो मूल प्रश्न हो र चिन्ताको विषय हो ।

रानी पोखरी कसले बनायो ? पुरुषले । अब कुनै महिलाले त्यसो गर्न र त्यस्तै इतिहास रच्न सक्तिनँ ? धरहरा कसले बनायो ? पुरुषले । अब कुनै महिलाले कुनै नयाँ उचाइ स्तम्भ उठाउन सक्तिनँ ? ताज महल कसले बनायो ? पुरुषले । शाहजाँले मुमताजलाई गरेजस्तै माया कुनै मुमताजले शाहजाँलाई गरिन् होला ? गरिन् पक्कै गरिन् तर त्यो स्मारक खोइ ? बीपीलाई बीपी बनाउने सुशीला पनि हुन् तर कुनै सुशीलालाई सुशीला बनाउने बीपी पनि त होलान् नि ! म यो सन्तुलनको खोजीमा छु । बीपी सम्झँदा सुशीला सम्झेझैँ आजकी कुनै सुशीलालाई सय वर्षपछि सम्झँदा सम्झनै पर्ने कुनै बीपी छन् छैनन् ? पुरुषहरूसँग त यत्ति आग्रह हो ।

आजको समय समस्या फरक छ, जनअपेक्षा फरक छ । अर्थ नीतिमा नयाँपन दिने महिला को ? समाजको रूपान्तरणमा नयाँपन दिने को ? संस्कृतिको विश्लेषण गर्ने महिला को ? संगीत र साहित्यमा नयाँपन दिने महिला को ? राजनीतिमा शुद्धीकरण गर्ने महिला को ? सय वर्षपछि आजको समयको योगमाया को हो ? सय वर्षपछिको गार्गी, मैत्रेयी को ? सय वर्षपछि नौ लखा जस्तै मन्दिर बनाउनेमा पर्ने महिला नाम कस्कोे ?


मूलतः आज राजनीति गर्ने महिलालाई भोलिले किन सम्झने ? केका लागि सम्झने ? के भनेर सम्झने ? कुनै पार्टीमा लागेर, पार्टीभित्र गुट उपगुटमा मिसिएर र क्षणिक पद पाएर जीवन बित्यो भने सभ्यताले हामीलाई किन सम्झने ? के हामी सधैं सहयोगी करिया र भरिया भइरहने ? आफूले आफैंलाई शिक्षित संस्कारित र दूरदर्शी बनाउनु पर्दैन ? मृत्युपछि खरानीमात्रै बाँकी राख्ने कि ? पौरखको स्मारक ? पौरखको धरहरा ? र सिर्जनाको रानीपोखरी ?

यी केही विषय हुन् जसका विषयमा सोचिएकै छैन । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा होमिएका दिदीबहिनीहरू, सांसद, मन्त्री तथा पार्टीको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका दिदीहरू महाधिवेशनमा आउँदा यी कुराहरूको उत्तर पनि लिएर आउनुस् है । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा सांस्कृतिकलगायत मानवअधिकारका आधारभूत अधिकारको प्रयोग कस्तो छ ? सन्तोषजनक छैन ।

परम्परागत मान्यता र अन्धविश्वासका कारण सदीयौंदेखि जरा गाडेर रहेको कुप्रथा अन्त्यका लागि कति काम भएको छ ? सन्तोषजनक छैन । बालविवाह, बहुविवाह, देहव्यापार, गरिबी, बेरोजगारी, चेलीबेटी बेचबिखन र ओसारपसार, यौन शोषणलगायत हिंसाप्रति समाज कति संवेदनशील छ ? सन्तोषजनक छैन ।

कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायमा हुने ढिलाइ, सम्वेदनशीलताको कमी, प्रक्रियागत जटिलता, पीडितमुखी न्यायप्रणालीको अभाव र आर्थिक भार पीडितले नै व्यहोर्नुपर्ने आदि समस्या समाधान गर्ने पहल कस्तो छ ? सन्तोषजनक छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू, सन्धि, महासन्धिहरू, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरू र घोषणपत्रहरूको प्रभावकारी कार्यान्वयन कस्तो छ ? सन्तोषजनक छैन । दाइजो कम ल्याएका कारण दैनिक प्रताडित हुने र हत्यासमेत हुने स्थिति कस्तो छ ? सन्तोषजनक छैन । 


बस्, यी केही समस्या हुन् । यिनको समाधानको जिम्मा हाम्रै हो । नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई केवल नेतृत्व छान्ने मेलोमात्र नबनाऔं । माथिका गम्भीर विषयमा छलफल गर्ने थलो बनाऔं ।

नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । देशभरि नै महिलाहरूले प्रतिस्पर्धामा आफूलाई उभ्याएका सुखद् खबरहरू आएका छन् । यतिखेर नेतृत्वमा पुग्ने होडसँगै महिलाहरूले अधिकार प्राप्ति र क्षमता वृद्धिलाई सँगै लैजानुपर्ने छ । नीति नियमको कानुनी व्यवस्था र महिला अधिकारका विषयमा भएका अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका विषयमा यथेष्ट ज्ञान राख्न जरुरी छ । क्षमता वृद्धिविनाको नेतृत्व सफल हुँदैन । महाधिवेशनमा यी र यस्ता विषयमा खोजी अध्ययन र अनुसन्धान गरी अब्बल हुनेगरी प्रतिस्पर्धा गरौं । दिदी बहिनीहरूमा विनम्रतापूर्वक आग्रह छ । त्यही प्रयोजनका लागि बहसका थोरै विषय प्रस्तुत गरेकी छु ।

समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुषसरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ, खोजी गरौं । नेपालमा महिलाहरूलाई विशेषअधिकार प्रदान गरिएको छ । दाबी गरौं ताकि एक कुनै पनि पुरुषले महिलालाई कुनै पनि प्रकारको भेदभाव गर्न पाइँदैन । सचेत बनौं । संविधानले महिलाहरूको स्थितिको सुधारमा विशेष ध्यान दिएको छ, अध्ययन गरौं । राजनीतिक प्रतिनिधित्वमा ३३ प्रतिशत सिट संविधानले सुरक्षित गरेको छ, त्यसको सदुपयोग गरौं । 


महिला र पुरुषबीच आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानतालाई कम गर्ने सन्दर्भमा सर्वप्रथम १९१० मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाहरूको संगठित रूपमा थालनी गरेका थिए । यो इतिहास खोतलौँ । महिलाहरूको सामाजिक, राजनीतिक तथा आर्थिक विकासका लागि कानुनी, नीतिगत तथा विकास कार्यक्रमहरूको विस्तारका माध्यमबाट राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्ने प्रयास हुनु जरुरी छ, सक्रिय बनौं । महाधिवेशनलाई सार्थक बहसको अवसरको रूपमा सदुपयोग गरौं र सक्षम महिलालाई नेतृत्वमा ठाउँ दिऔं र बाँकीलाई सक्षम बनाउने पहल गरौं । सबैलाई शुभकामना । 

( नोट : तिमल्सिना पूर्वीनवलपरासीको महिला संघ तथा नेपाली कांग्रेसकी नेतृ हुनुहुन्छ ।)


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक