श्रीमानलाई खाडी पठाइएकै छ
श्रीमतीलाई कुवेत, इजरायल पठाइएकै छ
कहीँ न कहीँ
कतै न कतै
अन्त कतै उपाय नलागे,
दिल्ली बम्बई तिर भएपनि
पठाइएकै छ दिन दिनै
अलि टाठा, बाठा, पढे लेखेका
युरोप, अमेरिका, अस्ट्रेलिया पठाइएकै छ
डिभी चिट्ठा भर्नेको लाइन लाग्छ लामै
कोरिया र जापानको पठाइएकै छ भाषा सिक्न
पठाइएकै छ तन्नेरी छोरो
पठाइएकै छ बैशालु छोरी
पठाइएकै छ पढ्नेलाई
पठाइएकै छ पढाउनेलाई
पठाइएकै छ काम गर्न सक्नेलाई
पठाइएकै छ काम गराउन सक्नेलाई
गाउँ गाउँबाट उठ
बस्ती बस्ती बाट उठ भन्दै
पठाइएकै छ लामा लाइनहरुमा बस्न
बेला बेला खुल्छ भारतीय सिपाहीमा भर्ती
गोर्खा सिपाहीमा भर्ती
नपाइएकै छ छाती
पिँढीमा बसेर रुन्छिन् आमा
आँखा भित्रै लुकाउँछन् आँसु रोगी बाउ
अलि अलि देशमै बाँकी रहेका भविष्यहरू
आरती उतार्न व्यस्त छन् नेताको
नेतै नेताले छाइएको छ
कोही विद्यार्थी नेता
कोही युवा नेता
कोही महिला नेता
कोही के नेता
कोही के नेता
गाउँ देखी केन्द्र सम्म
नेतै नेता
कार्यकर्तै कार्यकर्ता
फैलिएको छ नेता कार्यकर्ताको जालो
पद नपुगे फुटाउँछन पार्टी
सबैको आउँछ नेता हुने पालो
खेत बारी बाँझै रहे त के भो ?
छिमेकी देशबाट आउँछन सब कुरा
छैन कोही सानो
छैन कोही नजान्ने
पत्रकार नभएको घर छैन
न्यायाधीश नभएको मान्छे छैन
सर्वज्ञ र विद्वान नभएको टोल छैन
टिकटकका स्टुडियो नभएको गाउँ छैन
फेसबुक, युट्युब, जुम नपुगेको परिवार छैन
छैन कसैलाई कसैको कुनै डर
गाउँ घर सुनसान भए त के को चिन्ता ?
बाँदरहरू बास बस्न आउंछन घर घरमा
बाँदरहरू खेती गर्छन् खेत बारीहरुमा
फिस्टा फिस्टीको झन् के चिन्ता भो र !
बुहारी बोर्डिङ पढाउन सहर पसेकी छन्
आधुनिक भएकी छन्
उनको लवाइ खवाइ बोलाई फेरिएको छ
कहिले काहीँ कार सवार भएर,
आउंछिन गाउँ अपरिचित सँग
घर घरमै मोटर बाटो आइपुगेकै छन् क्यार
सिंह दरबार पुगेको छ गाउँ गाउँमा
सङ्घीयता मौलाएको छ ठाउँ ठाउँ मा
पिर्का र टेबुल माथि चढेर
खाइन्छ आजकाल सलामी
एम्बुलेन्स, सब वाहन नपुगेर के भो र,
ट्र्याक्टरमा लास राखेर गइन्छ मलामी !
- रामप्रसाद खनाल
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक