अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो पूर्ण कब्जामा लिएको छ । यस सँगै तालिवानले पुरै अफगानिस्तान कब्जा गरेको छ । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल पुगेका छन् । यद्यपि सोमबार अमेरिकी सेनाले विमानस्थललाई नियन्त्रणमा लिँदै सबै व्यवसायिक उडान रद्द गरेको छ । अहिले हामिद कारजाई विमानस्थलबाट केवल सैन्य उडान मात्र भइरहेको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरिएको भिडियोमा ठूलो संख्यामा मानिसहरु विमानस्थलमा भेला भएको देख्न सकिन्छ । मानिसहरु विमानतर्फ दौडिरहेको देखिन्छ । यहाँ न कुनै नियम छ न कुनै कार्यान्वयन गराउने निकाय देखिन्छ, केवल मानिसहरु मात्र एकोहोरो दौडिरहेका छन् ।
यतिमात्र होइन, मानिसहरु उड्न लागेको विमानमा पनि झुण्डिरहेका छन् । त्यस्तै उड्नको लागि रनवेमा गुडिरहेको विमानलाई पनि मानिसहरुले घेरिरहेका छन् ।
‘भिसा वा पासपोर्ट छैन भने कसैले पनि यो मुलुक छाड्न सक्दैनन्, अधिकांश अफगानीसँग यो छैन, त्यसैले उनीहरु मुलुकबाहिर जान सक्दैनन्’, मासुद फाउन्डेसनका वरिष्ठ सल्लाहकार कमल आलमले सञ्चार संस्था सीएनबीसीसँगको कुराकानीमा भनेका छन् । उनी पनि अहिले अफगानिस्तानमा फसेका छन् । सोमबार उनको विमानको उडान पनि रद्द भयो ।
पछिल्लो केही दिनमा तालिबानले आफ्नो कब्जा बढाएसँगै अफगानिस्तानबाट बाहिरिने र सरकारप्रति आक्रोशित हुनेको संख्या बढेको आलम बताउँछन् । उनी केही दिनदेखि हामिद कारजाइ विमानस्थलमा छन् ।
‘भीआईपीलाई सबैभन्दा पहिला बाहिर उड्नलाई अनुमति दिइएको छ । उनीहरुले दिएको मोटो रकमको कारण व्यावसायिक उडान र निजी उडानले उनीहरुलाई प्राथमिकता दिँदै आएका छन्’ आलमले भनेका छन् । उनका अनुसार धेरैजसो मानिस खाडी मुलुकतर्फ उडेका छन् । यद्यपि उनले मुलुकको नाम भने खुलाएका छैनन् ।
सामाजिक सञ्जालमा शेयर गरिएको अर्को भिडियोमा मानिसहरु विमानमा चढ्नको लागि तँछाडमछाड गरिरहेको देखिन्छ ।
मानिसहरुमा निरन्तर सन्त्रास फैलिरहेको र करिब ६ हजार अमेरिकी सेना पश्चिमा मुलुकका कूटनीतिक अधिकारीलाई उद्धार गर्न अफगानिस्तान आइपुगेका छन् । सोमबार अमेरिकी विदेशमन्त्रालयले दूतावासका सबै कर्मचारीलाई सुरक्षितरुपमा उद्धार गरिएको बताएको छ ।
आइतबारसम्ममा अफगानिस्तानका प्रमुख सहरमध्ये काबुलमात्र तालिबानको नियन्त्रणमा थिएन । तर, यो सहर पनि तालिबानको नियन्त्रणमा आएपछि मानिसहरु अत्तालिएर मुलुक छाड्न तँछाडमछाड गरिरहेका हुन् ।
तालिबानका प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सबै सैनिक फिर्ता गर्ने म्याद सेप्टेम्बर ११ लाई तोकेका थिए । तर, त्यो समय नआउँदै तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको हो ।
यति छिटो अफगानी सेना र सरकार तालिबानसामु घुँडा टेक्नुले समग्र विश्वलाई नै चकित पारेको छ । यस्तोमा दुई दशकसम्म अमेरिकालगायतका मुलुकको तालिम पाएको अफगानी सेना कसरी कमजोर बन्यो भन्ने प्रश्न उठेको छ ।
नेपाल प्रेसका अनुसार बीस वर्षअगाडि अमेरिका काबुल छिर्यो, तालिवानको भागाभाग भयो । २० वर्षपछि तालिवान काबुल छिर्यो, अमेरिकाको भागाभाग भयो ।
सन् २००१ सेप्टेम्बर ७ मा अमेरिकी विमानले काबुलमा बम बर्साएका थिए । त्यसको दुई दशकको सेरोफेरोमा तालिवान काबुल फर्किए । अमेरिकाले आफ्ना नागरिक र कर्मचारीलाई हवाई उद्धार गरेर लग्यो ।
बीस वर्षअगाडि यस्तो होला भन्ने कल्पना कसैलाई थिएन । सायद यही कारण हुनसक्छ, तालिवान नेताहरू आफूहरूले अमेरिकालाई जितेको दावी गर्दैछन् । चार महिनाअगाडि नै बीबीसीसँग अफगानिस्तानको बाल्क जिल्लाका तालिवानी छायाँ मेयर हाजी सिक्मतले भनेका थिए, ‘हामीले युद्ध जित्यौँ । अमेरिकाले हार्यो ।’
सिक्मतले भनेका कुरा अमेरिकी तथ्यांकले पनि एक हदसम्म पुष्टि गर्छन् । हार्भर्ड विश्वविद्यालयको केनेडी स्कूलकी लिन्डा बिल्म्स र ब्राउन विश्वविद्यालयको कस्ट्स् अफ वार प्रोजेक्टको तथ्यांक हेरौँ । अमेरिकी समाचार एजेन्सी एपीले यही तथ्यांक साभार गरेर समाचार बनाएको छ । जसअनुसार सुरक्षा दस्ताको हताहती तथ्यांक यस्तो छ :-
अमेरिकी सैनिकहरूको मृत्यु संख्या : २४४८
अफगान सेना तथा प्रहरीको मुत्यु संख्या : ६६,०००
न्याटोलगायतका अन्य अमेरिकी साझेदारी सैनिकको मृत्यु संख्या : ११४४
तालिवान र अन्य विपक्षी लडाकुको मृत्यु संख्या : ५१,१९१
सैन्य तथा प्रहरीको मृत्यु संख्या हेर्दा अमेरिकी, युरोपेली तथा अफगान सरकारका तर्फबाट एकमुष्ट संख्या ६९ हजार ५ सय ९२ हुन्छ । तालिवान र अन्य विद्रोही लडाकुको संख्या ५१ हजार १ सय ९१ मात्रै छ । यो आँकडाले पनि तालिवान तथा अन्य विद्रोहीको मृत्यु संख्या सत्ताधारीको भन्दा १८ हजार ४ सय १ थोरै देखिन्छ । अर्थात सैन्य मोर्चामा अमेरिकी तथा अफगानी सत्ताधारीको धेरै क्षति भएको छ ।
७२ जना पत्रकार, ४४४ सहायताकर्मीहरू, ३८४६ अमेरिकी ठेकेदारदेखि ४७,२४५ अफगान नागरिक मरेका छन् । यो आँकडाले गैरसैन्य पक्षको मृत्यु संख्या ५१ हजार ६ सय ७ देखिन्छ । यो हताहतीको मुख्य नोक्सानी सत्तापक्षकै मान्नुपर्छ । किनभने नागरिकहरूको जीउधन रक्षाको प्रमुख नेतृत्व राज्यकै हो । सत्ताकै हो ।
अब आर्थिक पक्षको कुरा गरौँ । करिब दुई दशक लामो युद्धमा अमेरिकाको प्रत्यक्ष खर्च २ ट्रिलियन अमेरिकी डलर भनिएको छ । यो भनेको २० खर्ब अमेरिकी डलर हो । यो सानो रकम होइन । अहिलेको सटही दर ११८.८१ ले नेपालीमा रूपान्तरण गर्दा यो ३३७६.२ खर्ब नेपाली रूपैयाँ हुन आउँछ । साढे १६ खर्बमात्रै वार्षिक बजेट भएको नेपालका लागि यो १४४ बर्ष पुग्ने रकम हो ।
हुन त बालमृत्यु दर घटाएर ५० प्रतिशत पुर्याएको देखि अफगानिस्तानका ३७ प्रतिशत महिलाहरू पढ्नसक्ने हुनु आफ्नो उपलब्धी भएको अमेरिकी दावी छ ।
भियतनाम भाग- २
दोस्रो विश्वयुद्धपछि एसियाका विभिन्न युद्ध मोर्चामा सहभागी भयो अमेरिका । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध, सन् १९५५ देखि १९७५ सम्मको भियतनाम युद्ध, सन् २००१ को अफगानिस्तान युद्ध र सन् २००३ को इराक युद्धमा अमेरिका सहभागी थियो ।
यी चार मुख्य युद्धमध्ये दुई युद्धमा अमेरिका विजयी भयो । कोरियाली युद्धमा उसले आफ्नो लाइनको दक्षिण कोरिया बनाउन चाहेको थियो । बनायो । इराक युद्धमा सद्दाम हुमेनको सत्ता ढाल्न खोजेको थियो । ढाल्यो ।
भियतनाम र अफगानिस्तानमा भने अमेरिकी मिसन सफल हुन सकेन । ओसामा बिन लादेन मारिए पनि तालिवानलाई निमिट्यान्न पार्न अमेरिका असफल भयो । ठीक यसैगरी भियतनाममा दक्षिणी भियतनाम दक्षिण कोरियाजस्तै बनाउने अमेरिकी अभियान असफल भयो ।
भ्वाइस अफ अमेरिकाका अनुसार सन् १९७३ को मार्च २९ मा अमेरिकाले लडाकु दस्ता फिर्ता लगेको थियो । त्यसको ठीक दुई वर्षपछि सन् १९७५ मा उत्तर र दक्षिण भियतनाम एक भयो । एक भयो भन्दा पनि कम्युनिष्ट उत्तरको कब्जामा आयो । र, सन् १९७५ को अप्रिल ३० मा बाँकी रहेका अमेरिकिलाई सैगुन क्षेत्रबाट हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
सन् १९७५ अप्रिल ३० मा अमेरिकी नागरिकलाई सैगुन (अहिलेको हो चि मिन्ह्) शहरबाट नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको र आइतबार काबुलबाट गरिएकोलाई अमेरिकीहरूले एकै भएको तुलना गरेका छन् । ४६ वर्षअगाडि सैगुनबाट जस्तै आइतबार काबुलबाट उद्धार हुनेहरूको तस्बिर एकैजस्तो देखिएकोले यस्तो तुलना भएको हो ।
सैगुन र काबुलको व्यापक तुलना भएपछि अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्कनले आइतबार अमेरिकी च्यानल एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै खण्डन गरेका थिए । दी गार्जियनका अनुसार ब्लिङ्कनले २० वर्षअगाडिको ९/११ आक्रमण गर्नेलाई तह लाउने लक्ष भएकोले त्यो लक्ष भेटेको भन्दै बचाउ गरेका थिए ।
अमेरिकाको भियतनामा युद्ध धेरै अलोकप्रिय युद्ध हो । यूएसए टुडेको एक तथ्यांकअनुसार ५८ हजार २ सय २० अमेरिकी सैनिकहरूको मृत्यु भएको थियो । आर्थिक क्षेत्रमा समेत ठूलो क्षति भएको थियो । सन् १९६८ को कुल गार्हस्थ उत्पादनको २.३ प्रतिशत खर्च भएको सन् २०१९ मा सार्वजनिक भएको यूएसए टुडेको तथ्यांक छ ।
यसरी झन्डै बीस बर्षको अफगानिस्तान युद्ध र साँढे उन्नाइस बर्षको भियतनाम युद्ध अमेरिकाले एसियामा पाएको ठुलो झट्का हो । ४६ बर्षअगाडि कम्युनिष्टसँग युद्धबाट बाहिरिएको अमेरिकाले ४६ बर्षपछि धार्मिक कट्टरपन्थीहरूसँगको युद्धबाट पनि विश्राम लिएको छ ।
यसरी जत्ति नै तर्क गरेपनि अफगानिस्तान युद्ध अमेरिकाको लागी भियतनाम युद्ध भाग २ भएको छ । र, यही खालको तर्क अमेरिकीहरूले आफैं गर्न थालेका छन् । विदेश मन्त्रीले बचाउ गर्न एबीसी च्यानलमा बोल्नु परेको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक