20210619

यात्रीको सगरमाथा यात्रा र अनुभूतिहरू !

 
कालापत्थरबाट सगरमाथा ऐनामा प्रतिबिम्ब हेरेजस्तै सर्लक्क हेर्न सकिन्छ। गोरक्सेपबाट पूर्वोत्तार लागेपछि भने ३ घण्टामा पुगिन्छ सगरमाथा आधारशिविर। केहीबेर हिँडेपछि परैबाट प्रष्टसँग देखिन्छ, आधारशिविर जहाँ बनेको छ टेन्टको सहर। हिउँले छपक्कै ढाकिएको हिमाली पठारपछि भेटिने ठाउँ हो, ‘खुम्बु ग्लेसियर’ बाट पक्लिएर बहेको दूधकोशी नदीको मुहान ‘सगरमाथाको आधारशिविर’।टीकाराम यात्री



विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर चुम्ने आकांक्षा राख्दैमा पनि मनमा एक प्रकारको उमंग भरिएर आउँछ। प्रकृतिको सन्निकटता र नेपाललाई विश्व मानचित्रमा चिनाउने सबैभन्दा दर्विलो गौरव स्पर्शको अनुभूतिले मन यसै यसै पुलकित मात्रैहुँदैन, पूरै तन तरंगित भएर आउँछ।

वैशाख २९ गते बिहान। ५ हजार ५ सय ५० मिटर उचाइमा अवस्थित आधारशिविर स्पर्श गर्न मन आतुर थियो। लुक्लाका लागि उडान भर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सखारै पुग्यौं। प्रतिकूल मौसमका कारण पट्यारलाग्दो कुराइले पहिलो गाँसमै ढुंगा लगायो। प्रतिकूल परिस्थितिभित्र अनुकूल अवस्था खोजिरहेथ्यो मन। पंक्तिकारसँग एपीवान सहकर्मीहरू फूर्वा शेर्पा, सरोज गौतम, नवराज अधिकारी, धन योञ्जन तामाङ, सञ्जय पौडेलसहितको ६ जनाको टोली बन्दाबन्दी र निषेधाज्ञाका बाबजुद पूर्वनिर्धारित समयतालिका र कार्यतालिका पच्छ्याउँदै सिमसिमे पानीमा हेलिकोप्टर उडान अनुकूलताको सहज मौसमको प्रतिक्षामा थियौं। बन्दाबन्दीले विमान सेवा दुरुह भएका कारणहेलिकोप्टरको रोमाञ्चक यात्राको अवसर सदुपयोग गर्ने संयोग जुरेको थियो। स्वप्निल यात्राको कल्पनाले निमेसभरमै सुखानुभूतिमा परिणत भयो समय। 


दूधकोशी नदीको तिरैतिर पहाडी सौन्दर्यलाई मनमुटुमा संगाल्दै कतै हिउँले ढाकिएका थुम्काथुम्की त कतै घना जंगलैजंगलका भिराला फाँट अनि कतै कपाल खौरिएझैं मुडुला पहाडका ढिस्काआदि छिमल्दै,नाघ्दै लुक्ला पुग्छौं। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्यामु गाउँपालिकामा अवस्थित छ लुक्ला। साविकका चौंरीखर्क, नाम्चे र खुम्जुङ गाविस मिसाएर बनाइएको खुम्बु पासाङल्यामु गाउँपालिका १५ सय ३९ वर्गकिलोमिटरमा फैलिएको छ। लुक्लादेखि नाम्चे हुँदै सगरमाथा शिखरसम्म समेटिएको यो गाउँपालिकामा अधिकांश शेर्पा जातिको बाहुल्यता छ।

लुक्लामा लुकामारी
शरद ऋतुको उषाकालमा कौमार्य धोएर सिनित्तै नुहाएकी नवदुलहीझैं केशराशी फिजाएर ओसिलो मौसममा बादलुको घुम्टोमा बेरिएर स्वागतमा लजालु भावमा उत्सुकतापूर्वक कुरिरहेकी रहिछ लुक्ला। आकासमा कावा खाइरहेका बादलका थेग्लाथेग्ली अरू सघन हुँदै गए र थपक्क अँगालोमा बेरेसरी फुसफुसे तुसारोमा मसिना पानीका थोपाले स्वागतमा सिञ्चित गर्न थाले।
पर्यटकीय सिजनमा काठमाडौंपछि नेपालकै सबैभन्दा व्यस्त लुक्ला विमानस्थल बन्दाबन्दीका कारण एकाध चार्टर उडान मात्रै भइरहेका थिए। प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सम्मानमा सन् २००८ मा तेन्जिङ–हिलारी एयरपोर्ट नामाकरण गरिएको यो विमानस्थल २०२१ सालमा हिलारीकै अग्रसरतामा स्थानीयलाई तत्कालीन समयमा साविकको मोलभन्दा निकै बढी रकम(२६ सय ५० अमेरिकी डलर) तिरेर धावन मार्ग तयार भयो। रोचक कुरा त के छ भने त्यतिबेला अग्लो–होचो भई नमिलेको जमिन सम्याउन हिलारीले स्थानीयवासीलाई घरेलु मदिरा खुवाएर र पारिश्रमिक दिएर जमीनमा नाच्न, उफ्रिन र दौडन लगाएका थिए रे। निर्माण सुरु भएको दुई वर्षमा तयार भएको विमानस्थलको पाँच सय २६ मिटर लामो र ३० मिटर चौडा धावनमार्ग छ।


लुक्लालाई आँखामा मात्र सजाएर मनले मानेन।मुटुमैसाँचेपछि गन्तव्यतर्फ सोझिए पाइलाहरू। कस्सिएर हिँड्दा एकै दिनमा पुगिने गन्तव्य।कस्सिनु र गन्तव्यमा पुग्नु मात्र हाम्रो लक्ष्य थिएन।यात्रामाप्रकृतिसँग लुकामारी खेल्नु थियो। संस्कृतिलाई सुम्सुम्याउनु थियो। फाग्दिन, मोञ्जु या जोरसल्लेहरूसँग मित लाउनु थियो। खानु तर स्वाद लिएर नचबाउनुजस्तै हुन्थ्यो केवल गन्तव्यमा पुग्नु। ती बासस्थानको पाहुना बन्नु पनि थियो। फाग्दिनले पहिलो रात अँगालोमा बेर्‍यो। खुम्बुक्षेत्रभर काटमार बर्जित रहेछ। आस्था र विश्वास न होकाटमार रोकिएपछि खुम्बुक्षेत्रमा बाढी, पहिरो, भूक्षय लगायतका प्राकृतिक प्रकोप रोकिएको स्थानीयको मान्यताले मनमा भिन्दै तरंग ल्यायो। यसै पनि घन्टौं हिँड्नुपर्ने यात्रामा शाकाहारी भोजन नै उचित मानिन्छ। यद्यपि मांसाहारका पारखीका लागि काठमाडौंबाटै हवाइजहाजबाट मगाएर अथवा सोलुखुम्बु सदरमुकाम सल्लेरी या रामेछापदेखि व्यापारीमार्फत् काटेको मासु आपूर्ति गरिँदोरहेछ।

सूर्योदयसँगै सिमसिमे पानीले स्वागत गर्न थाल्यो। उकालो, ओरालो, भिरालोको यात्रामा भने यो स्वागत सहज हुने कुरो भएन। बर्सादी ओढेर अगाडि बढेको टोली मोञ्जु पुगेर रमायो। मोञ्जुअघि जोरसल्लेसँग साक्षात्कार हुने मौका मिल्यो। जहाँ कला पारखी नवाङ शेर्पा भेटिए।सम्झना स्वरूप उनैले काठमा कुदेको मायाको चिनो उपहार दिएर मनभरि बाँधे। त्यसो त अपरिचित स्थानमा चिनिएको अनुहार हुनुका सधैंगुण मात्रै होइन, अवगुण पनि हुन्छन्। तर यात्रामा यो बाध्यता र अवसर दुवै हो।अधिकांश स्थान र यात्रामा भने सार्वजनिक छविले सहयोग, सद्भाव, सम्मान र समन्वय नै पाउँदोरहेछ। नवाङ त प्रतिनिधि पात्र मात्र हुन् जसमार्फत् १० दिने यात्राका क्रममा भेटिएका तमाम् शुभचिन्तक भोलिका दिनमा पनि एल्बम पल्टाउँदा देखिने तस्वीरझैं मनमा रहेका छन्। 

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेश विन्दु जोरसल्लेसम्म सामान्य र स्वाभाविक उकाली, ओराली भए पनि त्यसपश्चात् सुरु हुन्छ यात्राकै सर्वाधिक कठिनमध्येको उकालो। जुन दूधकोशी नदीमाथि बनेको झोलुंगे पुल पार गरेपछि मित लाउन आइपुग्छ। तीन वर्षअघि पुग्दा नाकै ठोक्किने उकालो भए पनि अहिले सापेक्षितरूपमा बाटो केही अनुकूल बनाइएको रहेछ। लगातार ३/४ घण्टाको सकसपूर्ण उकालो काटेपछि पुगिन्छ सगरमाथाको प्रवेशद्धार भनेर विश्वपरिचित नाम्चेबजार।

निर्बन्ध नाम्चे
मोटरबाटोको सुविधा नभएको, लुक्लाबाट १९ किलोमिटर हिँडेर पुग्नुपर्ने नाम्चे टेक्दा सुखद्र आश्चर्य मिश्रित यथार्थसँग साक्षात्कार भइन्छ। आकास खुलेको दिन झिसमिसेदेखि नै लागेको पारिलो घाम, बिहान उठेदेखि आँखै अगाडि चारै दिशामा लहरै मुस्कुराइरहेका मोतीलहर हिमालमा ठोक्किएर बहिरहने शितल हावा, त्यही हावामा कावा खाइरहेको स्निग्ध, कञ्चन, सौम्य वातावरण। अझ क्षणभरमै आसपासका टाकुरामा ठोक्किने ओसिलो वायुले गराउने हल्का वर्षा।प्रकृतिप्रेमी कविले उनेको सुन्दर कविताजस्तो काव्यात्मक छ नाम्चे, स्वर खिचेर मखमली आवाजमा गाउन सक्ने स्रष्टाको गीतझैं गेयात्मक छ नाम्चे।

नाम्चेको वर्णन शब्दातीत छ, यसको व्याख्या तर्कातीत छ। शाब्दिक व्याख्या त केवल तत्क्षणको आत्मपरण अभिव्यक्तिको लिपिवद्धता मात्र न हो। निमेषभर भए पनि निर्बन्ध याम काट्नेले मात्रै यसको सर्वांगीण सौन्दर्यको मर्मबोध गर्न सक्छ,यो अनुभूतिलाई हृदयको कुनामा तुनाले कस्न सक्छ। म त फगत ‘यात्री’ कसरी यसको महिमालाईत्यो उच्चता र गहिराइमा नाप्न सकुँला? कसरी शब्दचित्रको बयानले अखबारी लेखनमा समेट्न सकुँला ?लहरै हरिया, निला र राता टिनका छाना पारिलो घाममा टलक्कै टल्केको नाम्चेबजारबाट उत्तर, दक्षिण, पूर्व, पश्चिमचारै दिशा होचा अग्ला शिमशौल मुस्कुराइरहन्छन्। क्षणमै पारिलो घाम लाग्ने यहाँ केहीबेरमै बादलुले घुम्टो हाल्छ, कहिले कुहिरोमा लुकामारी खेल्ने नाम्चे एकै क्षणमा वर्षामा नुहाउँछ। करिब २४ घण्टे नाम्चे बसाइमा सबै जसो रूप रंगसँग परिचित हुन पायौं।

हरेक सामान लुक्लासम्म हवाइजहाजमा र यहाँबाट मान्छे,याक, जोक्पे, गधा, खच्चडमा बोकाएर ल्याउनुपर्ने भए पनि काठमाडांैको ठमेल, दरबारमार्ग या पोखराको लेकसाइडको चकमधमक भन्दा कम छैन नाम्चे। विश्वप्रसिद्ध पोशाक, खानपान या पेयपदार्थ सहज उपलब्ध हुने नाम्चेमा अधिकांश बैंकका शाखा कार्यालय र एटिएम सेवा उपलब्ध छन्। दिनभर टहल्न मात्रै होइन, रात्रिजीवन पनि उत्तिकै रंगीन बनाएका छन् यहाँकारेष्टुरेन्ट, बार र नाइट क्लबहरूले। समुद्री सतहबाट ३४ सय ६० मिटरमा अवस्थित नाम्चे बजारको बान्कीलाई हेलिप्याडबाट झन् राम्ररी नियाल्न सकिन्छ। 



सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय परिसर बाहिरको फराकिलो चौर जहाँ प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा शालिक बनाइएको छ। त्यसको संघारैबाट आकास खुलेको बेला अघाउञ्जेल सगरमाथा शिखरको दूरदर्शन गर्न पाइन्छ।नाम्चेबजार भन्दा मास्तिर उक्लिन समय, सामथ्र्यले नभ्याउनेहरू यहाँसम्म आएर विश्वको सर्बोच्च शिखरलाई परैबाट अवलोकन गरेर धित मार्ने गर्दछन्। सगरमाथा आरोहण गर्ने या आधारशिविरसम्म पुग्नेहरू समान्यतया वातानुकुलन(एक्लमाटाइजेसन)का लागि २ दिनसम्म नाम्चेमै बस्नु राम्रो मानिन्छ। ३८ सय/४ हजार मिटर उचाइसम्म उक्लिएर फेरि नाम्चे झरेर रात बिताउनु झनै राम्रो मानिन्छ।

उकालो ओरालो अनि फेरि उकालो

आधार शिविरसम्म अब देखिने र भेटिने सबै सबै नौला हुनेछन् पंक्तिकारलाई। नपुग्नेलाई लाग्दो हो विश्वको सर्वोच्च शिखर पुग्न लगातार उकालैउकालो चढ्नु पर्छ। तर नाम्चेबाट माथि लागेपछि नै उकालो मात्रै होइन केही सय मिटर उकालो चढेपछि फेरि ओरालो झर्नुपर्छ। घरी उकालो घरी ओरालो गर्नुपर्ने गरी निर्माण गरिएको पदमार्ग सम्भवतः वातानुकूलनका लागि नै यसरी तयार पारिएको हो। उकाली ओरालीको उपक्रम सगरमाथा आधारशिविरसम्म नै चलिरहन्छ। लुक्लादेखि सुरुभएको दूधकोशी नदीसँगको लुकामारी पनि यसको मुहान क्षेत्र आधारशिविर पुगेपछि मात्रै टुंगिन्छ। नाम्चेबाट माथि लागेपछि स्याङ्बोचे जाने मार्ग पार गरेर केही घण्टामै तेङ्बोचे पुगिन्छ जहाँ अवस्थित छ एक शताब्दीभन्दा अघि निर्माण गरिएको तेङ्बोचे गुम्बा।



सन् १९१६ मा हालको स्थान र स्वरूपमा सङ्वा दोर्जेका पाँचौं अवतार मानिने नवाङ तेन्जिङ नोर्वोले बनाएको यो गुम्बा खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो र प्रसिद्ध धार्मिक स्थल हो। ३ सय ५० वर्षअघि लामा सङ्वा दोर्जेले पाङ्बोचेमा निर्माण गरेको गुम्बाको पदचाप पछ्याउँदै यो गुम्बा निर्माण गरिएको रहेछ। सङ्वा दोर्जेध्यानमा बस्दा चट्टानमा बनेको पैतालाको आकृति माथि गुम्बा बनाइएको विश्वास गरिन्छ। दूधकोशी नदी र इम्जा खोलाको संघारमा ३८६७मिटर उचाइमा अवस्थित तेङ्बोचेबाट सगरमाथा, नुप्से, तुप्चे, लोत्से, आमादब्लम, थामसेर्कु लगायतका हिमाल दर्शन गर्न सकिन्छ। बास बस्नका लागि यहाँ उचित होटल र आवासको प्रबन्ध छ। पावन भूमि दर्शनगरेर अघि बढ्दा डिबोचे पुगिन्छ। डिबोचेमा पनि बासस्थानका लागि होटल, लजको प्रबन्ध रहेछन्।

३९८५ मिटरको उचाइको पाङ्बोचे पुग्दा साँझ झमक्क परिनसकेकाले आसपासका हिमाली टाकुरामा सुनौलो रंग पोतिएको थियो। आहा ! कति नजिक हिमाल ?हिमाली सौन्दर्यको साँझको सुनौलो आकृति मात्रै होइन, त्यहीँ बास बसेर झिसमिसे बिहानीमा उदाउँदै गरेको सूर्यको प्रकाश आमादब्लम र आइसल्याण्ड पिकमा परेको मनोरम दृष्यले आफूलाई त्यहीँ विलय गराएको अनुभूति भयो।मन्त्रमुग्न भएर प्रकृतिलाई नमन नगरी सकिएन। चौथो दिनको यात्रा थियो फेरिचे।४२७० मिटर उचाइमा अवस्थित फेरिचेको आफ्नै महत्व छ। सगरमाथा शिखर आरोहरण गर्नेहरू कयौंपटक त्यहाँको उचाइ र अवस्थितिसँग वातानुकूलित हुन फेरिचेसम्म ओहोरदेहोर गर्ने गर्दछन्। फेरिचेमा हेलिप्याड पनि रहेछ।

आधारशिविरबाट केही मिनेटकै उडानमा आइपुगिने फेरिचेलाई हेलिकोप्टरमार्फत् सामान तथा पर्यटक ओसार्नेले ट्रान्जिट विन्दु मानिन्छ। हेलिकोप्टरले एकपटकमा आधारशिविरबाट बढीमा दुई यात्री ल्याउन मिल्ने भएकाले यो स्थानलाई पर्यटक तथा मालसामान ओसारपसारको बिन्दु बनाइएको हो। फेरिचेदेखि उता दूधकोशी नदीको किनारसम्मनिकै फराकिलो पठार छ। पठारै पठार अघि बढेपछि थुग्ला र डिङ्बोचे जाने बाटो छुट्टिने स्थान–बर्से आइपुग्छ। यी दुवै स्थान भएर आधारशिविर पुगिने भए पनि अधिकांश पदयात्री डिङ्बोचे भएर अगाडि बढ्छन्। दूधकोशी नदी तरेर थुग्ला फेदीमा रात आफ्नु बनाउनुको मजा अन्त कहाँ ?

थुग्लाको ठाडो र फेरिचे फिर्ता
पाँचौ दिनको यात्रामा थुग्लाको ठाडो उकालो छिचोल्नुपर्ने हुन्छ। चट्टानै चट्टानको अक्करे भीरजस्तो प्रतीत हुने थुग्लाको उकालो काटेपछि आइपुग्छ लुबुचे। हामीलाई हतार गरेर नआउन, उचाइसँग अनुकूलन हुन लुबुचेमै बास बस्न आधार शिविरमा सूचना अधिकारीका रूपमा खटिएका खिमलाल गौतमले टेलिफोनमा सुझाए। अटेर गरेर गोरक्सेप पुग्ने आकांक्षामा अनवरत लम्कियौं। लुबुचेभन्दा अलि माथि ‘हाइ अल्टिच्युड रिसर्च सेन्टर’ छ। बास बस्न गोरक्सेप पुग्नुपर्ने दबाब तथा थकानका कारण हामीलाई यो ‘सेन्टर’ पुगेर अवलोकन गर्ने उर्जा र जाँगर पलाएन। दुई जना भरिया सहयोगीसहित ८ जनाको टोली भए पनि सबैको हिँडाइको गति समान नहुँदोरहेछ। सबैजना आआफ्नै सुर, ताल, लय र गति। कहिलेकाँही त हरेस खुवाउने उकाला पनि भेट्टिए। आधारशिविर तथा कालापत्थर पुग्न चाहना राख्नेमध्ये कतिपय यो उकालो पार गर्न नसकेर फर्किएका रहेछन्।

युवावयको जोसका कारण धन र सञ्जय उकालोमा पनि अघिअघि हुन्थे। हातमा क्यामरा लिएर दुर्लभ दृष्य कैदगर्र्दै हिँड्ने उनीहरूको फूर्ति नै बेग्लै। ‘शेर्पा’ भएर हुनसक्छ ‘जिनेटिक’ कारणले भोजपुरमा जन्मिएर विराटनगरमा हुर्किएको भएर पनि फुर्वालाई उकालो उक्लन उति सकस थिएन। सरोजर मेरो गति भने न छिटो, न ढिलो। आधा शताब्दी उमेर काटेकाले हुन सक्छ नवराज भने पछिपछि हुन्थे। सम्भवत उनलाई लेक लाग्न थालेको हुनुपर्छ। लुबुचेबाट उभो लागेपछि त निकैबेर कुरेर पर क्षितिजसम्म हेर्दा पनि उनी देखिनै छाडे। सम्पर्कका लागि मोबाइल फोनको टावर पनि उपलब्ध थिएन। केही घण्टापछि अर्का एक पदयात्रीले खबर ल्याए–एकजना लुबुचेतिरै उधो लागे। फर्केर फेरिचेमा बासबस्ने खबर पठाएका रहेछन् उनले।

गोरक्सेप : सगरमाथा पुग्नुअघिको अन्तिम मानवबस्ती

कठिन बाटो पार गरेर गोरक्सेप पुग्यौं। शरीर थकित थियो। ओठतालु सुकेका थिए। भाउन्न भएर रिँगटा लाग्लाजस्तो भयो। खान पट्टक्कै रुचि भएन।टाउको दुख्न थालिसकेको थियो।जोसिला सहयात्री पनि लखतरान भई पल्टिए। ५१ सय मिटरभन्दा उचाइको त्यो पठारमा लगातार स्याँठ चलिरहेको थियो। चिसोले बास बसेको होटल बाहिर निस्किसक्नु थिएन। सगरमाथा पुग्नुअघिको अन्तिम मानवबस्ती हो गोरक्सेप। चिन्ता थियो बाटोमा छोडिएका उनै नवराजजीको। धन्न यहाँ भने नेपाल टेलिकम र एनसेलले सेवा बिस्तार गर्न भ्याएका रहेछन्।

घन्टौं रुमलियौं। त्यो निर्जन स्थान, बाँदर लड्ने भीर, साँझ पर्न लागेको समय। सुदूर क्षितिजसम्म पनि न कोही ओहोरदोहोर गरेको देखिन्छ, न कुनै संकेत चिह्न, न त राम्ररी हिँड्न मिल्ने बाटो नै। बेस्कन चलेको बतास, घरिघरि भीरबाट खस्ने सुख्खा पहिरो। कुहिरामा काग हराएजस्तै भयौं हामी।

दुई घण्टापछि फोन आयो,‘लुबुचे ओर्लिएर केहीबेर सुस्ताएर ‘गार्लिकसुप’ पिएर, तात्तातो खाना खाएपछि एकाएक शरीरमा जोस भरिएर आयो अब तल फर्किन्नँ। सोधखोज गर्दै भएनि गोरक्सेप नै आउँछु।’बल्ल मन ढुक्क भयो। यति सुनेपछि सहृदयी भरिया दाइहरूनिकै तलसम्म झरे। झमक्क साँझ परेपछि नवराजजी आलसतालस भएर गोरक्सेप आइपुगे। सुत्न त  सुतियो तर राम्ररी निन्द्रा परेन। होचो सतहबाट एक्कासि अग्लो स्थानमा आउँदा निद्रा कम लाग्नु, निदाए पनि क्षणक्षणमा व्युँझिनु,लगभग तन्द्राको अवस्था हुनु स्वाभाविक पनि रहेछ।

स्वायन्तसुखाय र विश्वकीर्तिमान
उमेरको काँचोवायुमा राखिएको उपनाम नै सही ‘यात्री’ शब्दले यी र यस्ता स्थानको अनवरत यात्राको सुसंयोग जुरेर सार्थकता पाइरहेको छ। अझ त्यो संयोगको सिलसिला पेशासँग समेत जोडिँदा रमण/परिभ्रमण नै कर्म भइदिन्छ। पुगेको स्थानको कथा, व्यथा र अवस्थाबारे समाख्याता मात्रै भोक्ता र साक्षी नबनी दर्शक, पाठकसम्म सम्प्रेषित हुने अभ्यासले‘यात्रा’ फगत यात्रामा सीमित नरहेरअभिलेख तथा सार्वजनिक दस्तावेज बन्न पुग्छ। मेरा लागि यात्रा र अन्तर्वार्ता दुवै स्वायन्त सुखायका आधार हुन्।

अझ यी दुईएकअर्कामा अडेस लाग्ने भित्तो भएपछि त के चाहियो ?आधारशिविर यात्राका क्रममा कार्यक्रम तमसोमा ज्योतिर्गमय विश्वकै सबैभन्दा अग्लो स्थान(५५५० मिटर) मा छायांकन भएको ‘वर्ल्ड बुक अफ रेकर्डस् लन्डन’ बाट अनुमोदन भएपछि यात्रा र अन्तर्वार्ताको दोभानमा कीर्तिमानको त्रिवेणी मिसियो।उच्चस्थानमा अन्तर्वार्ताको कीर्तिमानी आकांक्षाभन्दा पनि स्वायन्तसुखायको स्वाभाविक पटाक्षेपको रूपमा प्रकटीकरण भएको मान्नुमै बढी सन्तोष मिल्छ। ३२ वर्षको उमेरमा आठ हजारभन्दा उचाइका विश्वका सबै १४ वटै हिमालको सफल आरोहणको कीर्तिमान राखेका मिङ्मा शेर्पासँगको अन्तर्वार्ताले अर्को कीर्तिमानको संयोग रचेको हो।

कुहिराको काग बन्दाको त्यो क्षण !

हिउँमा लुकामारी गरेको रोमाञ्चक क्षणको अतिरञ्जित जस्तो लाग्ने चर्चाले हामीले भोगेको सकस र पाएको हुर्मत बिर्सिएला तर त्यतिबेलाका कठिनाइ र सीमाबारे चर्चा गरिएन भने अपनाउनुपर्ने आवश्यक सर्तकता र सावधानीको पाटो विलोपीकरण हुनसक्छ। लाग्न सक्छ, विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो फराकिलो, चिटिक्क पारेर मिलाएको, ढुंगा बिच्छ्याएको, ठाउँठाउँमा विश्रामस्थल, अस्थायी आवासस्थल भएको, पर्याप्त संकेत सूचकसहित बीच–बीचमा सम्पर्क सूत्र भएको छ। तर यहाँसम्म पुग्ने बाटो सकसपूर्ण तथा अपेक्षा गरेभन्दा कठिन छ। कतिपय ठाउँमा त दोबाटोमा स्पष्ट संकेत चिह्नको अभावमा पदयात्री बाटो बिराएर अन्यत्र पुग्ने खतरा हुन्छ।

त्यस्तै उल्झन र विलखबन्द आइलाग्यो हाम्रो टोलीलाई पनि। फेरिचेभन्दा अगाडि मान्छे नै उडाउलाझैं गरी चल्ने स्याँठबाट ठेलिँदै, धकेलिँदै दूधकोशी नदीको तिरैतिर अघि लाग्ने क्रममा केही उकालो दोबाटोमा थुग्ला जानुपर्ने।तर नवराजजी, सरोजजी र पंक्तिकार अन्यत्रै घन्टौं रुमलियौं। त्यो निर्जन स्थान, बाँदर लड्नेभीर, साँझ पर्न लागेको समय। सुदूर क्षितिजसम्म पनि न कोही ओहोरदोहोर गरेको देखिन्छ, न कुनै संकेत चिह्न, नत राम्ररी हिँड्न मिल्ने बाटो नै। बेस्कन चलेको बतास, तल दूधकोशी नदीको पानीको प्रवाह ढुंगामा बजिँ्रदा आउने आवाज अनि घरिघरि भीरबाट खस्ने सुख्खा पहिरो। कुहिरामा काग हराएजस्तैभयौं हामी।
यात्राको रोमाञ्चकता पनि मिसिएको थियो यो अलमलमा। पर्यटक, पदयात्री हिँड्ने मानक बाटो नै छैन। सगरमाथा आरोहण शुल्कवापत सरकारले वर्षेनी ३० करोडभन्दाबढी राजस्व संकलन गर्छ। जसको ३० देखि ४० प्रतिशतसम्म सोलुखुम्बु जिल्लाले पाउने गरे पनि खुम्बु क्षेत्रको स्तर अभिवृद्धिमा भन्दा अन्यत्र उक्त रकम खर्च हुनेगरेको स्थानीयको गुनासो छ।

खुम्बुक्षेत्र जाँदा गर्नुपर्ने तयारी
तपाई जति जति उचाईमा जानुहुन्छ, उतिउति वायुमण्डलमा अक्सिजनको मात्रा र तापक्रम घट्दै जान्छ। सामान्यतया टाउको दुख्ने, खान रुचि नहुने, वाकवाक भए जस्तो हुने, निन्द्रा नलाग्ने उचाइमा पुगेपछि हुने समस्या हुन्। बढी नै सकस भयो भने तत्काल केही सय मिटर ओरालो लाग्नु श्रेयकर हुन्छ। अनि फेरि सुस्ताएर सहज भएपछि उकालो लाग्नु शारीरिक अनुकूलनका दृष्टिले उपयुक्त मानिन्छ। तपाईंले लगाउने पोशाक, हिँड्ने गति, खानेकुराको जोहोमा विशेष ध्यान पुर्‍याउनुपर्छ।

सगरमाथा आधारशिविरमा घाम नलागेको समयमा तापक्रम माइनसमा झर्ने र रातको समयमा माइनस १५ देखि २५ डिग्रीसम्म पुग्ने भएकाले त्यही अनुसार जुत्ता, मोजादेखि ट्राउजर, थर्मकोट, ज्याकेट, पञ्जा, टोपी, गलबन्दीको प्रबन्ध गर्नुपर्छ। घाम चर्किएको बेला हिमालमा ठोक्किएर हुने प्रतिबिम्बका कारण आँखालाई सहजता र शितलता प्रदान गर्न सनग्लास तथा घामले अनुहार खुइलिने, डढ्न सक्ने भएकाले आफ्नो छाला अनुकूलको सनस्क्रिनको जोहो गर्न भुल्नु हुँदैन। बाटामा आफूलाई आवश्यक पर्ने तातोपानीको तुम्लेट, थर्मस, उचाइमा लेक लाग्न सक्ने भएकाले भुटेको मकै, सातु, लसुन, अदुवा, टिमुर, ज्वानो साथमा लान बिर्सनु हुँदैन। यो रुटका साना ठूला हरेकजसो होटल, रेष्टुरेन्टमा ‘गार्लिक सुप’, ‘जिञ्जर सुप’ उपलब्ध हुने भएकाले भेटेसम्म खायो भने आराम मिल्छ।

टाउको दुख्दा, रुघा लाग्दा तथा बान्ता हुँदा चाहिने आधारभूत औषधिको पनि प्रबन्ध गरे राम्रो। आडिलो र तागतिलोका लागि काजु, हाडे बदाम, भटमासजस्ता सामल तथा मुख रसिलो–गुलियो पार्न चकलेट, बिस्कुट बोकियो भने ल्याउन बिर्सिएछ नि भनेर बिस्मान मान्नु पर्दैन। खुम्बु क्षेत्रमा अधिकांश ट्वाइलेटमा पानीको प्रबन्ध नभएकाले ट्वाइलेट पेपर छुटाउनै नहुँने सरदाम हो। हात धुने साबुन, स्याम्पु, ब्रस, टुथपेष्ट त अत्यावश्यक वस्तु भइहाले। हिँड्ने साहारा र सहजताका लागि लौरोले पनि सारथीको काम गर्छ।

सबै स्थानमा फोन नलाग्ने भएकाले सहयात्री नछुटाइयोस्, बाटो नबिराइयोस् भन्ने सावधानीका लागि सो स्थानको नक्सा बोकियो भने स्थान, अवस्थितिबारे अन्यौल हुँदैन। नाम्चेभन्दा माथि लागेपछि अधिकांश स्थानमा सौर्य उर्जा बिजुली बत्तीको विकल्प हो। त्यसैले मोबाइल फोन, पावर बैंक, ल्यापटप, क्यामरा लगायतका विद्युतीय उपकरणको चार्जिङ शुल्क विद्युत् खपत क्षमता हेरेर ३ सयदेखि १००० रुपैयाँसम्म लाग्न सक्नेबारे पूर्वजानकारी भए यो खबर सुन्दा अत्तालिइँदैन।

राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले तोकेभन्दा बढी जंगलबाट दाउरा संकलन गर्न नपाइने नियमले खाना पकाउनेदेखि पानी तताउनेसम्म काठमाडांैबाटै ढुवानी गरेर लगिएको मट्टितेल, ग्याँसमा भर पर्नुपर्ने भएकाले पिउने पानी प्रतिथर्मस ५ सयदेखि १५ सय रुपैयाँसम्म तथा नुहाउन ५०० रुपैयाँ पर्न सक्छ भन्नेबारे पूर्वजानकारी भएकै राम्रो। पर्यटकको आवागमन कम भएको समय मनकारी होटल व्यवसायी भए पिउने पानी र चार्जिङ सुविधा सित्तैमा पनि पाउन सकिन्छ। यो रुटमा पर्ने होटलमा सामान्यत बास बस्न सित्तैमा वा केही सय तिरेर पाइन्छ तर त्यसको पूर्वसर्त खाना भने सोही होटलमै खानुपर्छ। एटेज बाथरुम भएका विलासी प्रकृतिका होटलमा भने एक हजार रुपैयाँदेखि सुविधाअनुसारको मोल तिर्नुपर्छ।

अन्त्यमा
जति हेर्दा पनि नअघाउने चित्ताकर्षक हिमश्रृंखलाको तस्विर या श्रव्यदृष्यले आँखालाई जति शितलता प्रदान गर्दछ नजिक पुगेर अभिभूत हुन भने उत्तिकै सकस छ। यात्राका क्रममा साक्षात्कार हुने हिमाली रहनसहन, शेर्पा संस्कृति, ठाउँठाउँमा हुने हिमाली झरनाको दृश्यपान, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका गुम्बा तथा चैत्यको दर्शन, छुँदै चिसोले आङ सिरिङ हुने हिमनदीसँगको अविच्छिन्न लुकामारीले यात्रालाई अविस्मरणीय बनाउँछन्। नेपाललाई बाँकी संसारसँग परिचित गराउने सबैभन्दा ठूलो प्राकृतिक सम्पदा नै सगरमाथा हो। तसर्थ सके आरोहण नसके पनि आधारशिविरसम्मको यात्रा हरेक नेपालीको सपना मात्रै होइन,साकार पार्न सक्ने विपना हुनुपर्छ।


सिटी अफ टेन्टस्को सौन्दर्य

गोरक्सेपबाट केही घन्टा पश्चिमोत्तर लागेपछि कालापत्थर पुगिन्छ, जहाँबाट सगरमाथा ऐनामा आफ्नो प्रतिबिम्ब हेरेजस्तै सर्लक्क हेर्न सकिन्छ। यता गोरक्सेपबाट पूर्वोत्तर लागेपछि करिब तीन घन्टामा पुगिन्छ सगरमाथा आधारशिविर। केहीबेर हिँडेपछि परैबाट प्रष्टसँग देखिन्छ आधारशिविर जहाँ बनेको छ टेन्टको सहर। हिउँले छपक्कै ढाकिएको ५३ सय ६४ देखि ५५ सय ५० मिटरको उचाइमा रहेको हिमाली पठार जता हेरे पनि हिउँ नै हिउँले सेताम्मे फुलेको हिमाली साम्राज्यजस्तो प्रतीत हुन्थ्यो।

‘खुम्बु ग्लेसियर’बाट पग्लिएर बगेको दूधकोशी नदीको मुहान हो आधारशिविर। टेन्ट लगाउन मिल्ने क्षेत्र लगभग एक किलोमिटर लम्बाइ र तीन सय मिटर चौडा चट्टानी आइस र ग्रेगरमाथि फैलिएको आधारशिविरको एक छेउबाट अर्को छेउ पुग्न करिब एक घन्टा लाग्छ भने पूरै परिक्रमा गर्न झन्डै ५ घन्टा। हरेक वर्ष परिवर्तन भइरहने भूगोलमा ढुंगा पन्छाएर वा सम्याएर अस्थायी टेन्ट लगाइएर बस्न मिल्ने ठाउँ बनाइन्छ। कुनै कुनै वर्ष त चार हजारसम्म पर्वतारोही, पथप्रदर्शक, सहयोगी पुग्ने आधारशिविर यो वर्ष कोभिडको कहरका बाबजुद करिब दुई हजारको अस्थायी आवास बनेको थियो।

सगरमाथा प्रदूषण नियन्त्रण समितिको सक्रियता तथा समन्वयका कारण हुनसक्छ, बाटामा फोहोर नगण्यप्रायः थियो। आधारशिविरबाट नष्ट नहुने फोहोर अनिवार्य काठमाडौं नै फर्काउनुपर्ने, सड्ने, गल्ने फोहोर तथा आरोहीले गर्ने मल बिसर्जनसमेत फेरिचेभन्दा तल लगेर व्यवस्थापन गर्नुपर्ने नियम कडिकडाउसँग लागू गरिएको छ। ‘एक्पिडिसन अपरेटर’ले राखेको धरौटी जफत हुने नियमले चुस्तता कायम गर्न मद्दत पुगेको रहेछ। तर आरोहणको स्वीकृति, सुपरीवेक्षण, अनुगमन तथा अनुमोदन गर्नुपर्ने सरकारी निकायको उपस्थिति भने शून्यप्रायः छ। यसै वर्षलाई आधार मान्ने हो भने पनि करिब ५० जनाको दरबन्दी रहेकोमा मोटो भत्ता रकमका लागि अधिकांश कर्मचारी पर्यटकको शैलीमा पुगे। ५० जना खटाइएको स्थानमा अलि लामोसमय तीन कर्मचारी बसे भने आरोहण अभियान अन्त्यसम्ममा त एक कर्मचारी मात्र आधारशिविरमा थिए।

हाम्रा लागि भने आधारशिविरको ४८ घण्टे बसाइ उचाइको उमंगभन्दा बढी सास्ती र सकसको सिलसिला थियो। उचाइमा पुग्दा वातानुकूलन नहुँदाको आलस्यता, लेक लाग्ने, टाउको दुख्ने, खान रुचि नहुने, निन्द्रा नपर्ने, हिँडडुल गर्न उर्जा नहुने भयो। रात काट्न पहिलोपटक पुग्ने अधिकांशको व्यथा उस्तै हुनेरहेछ। माइनस १५ देखि २५ डिग्री सेल्सियसको तापक्रममा हिउँको थुप्रोमा बनाइएको अस्थायी टेन्टमा त्यो पनि रातभर फुसफुसाइ रहेको हिउँका बीचमा रात बिताएको क्षण आज कल्पना गर्दा पनि रोमाञ्चकता मिश्रित अकल्पनीय दुस्साहस प्रतीत हुन्छ।
सरकारी जनसम्पर्क अधिकारीका रूपमा खटिएका खिमलाल गौतमको हिमाली रहनसहनले धेरै पाठ सिकायो। उनको अभिभावकीय दिग्दर्शन, सहृदयी सक्रियता र ४८ घन्टे आधारशिविर बसाइमा हाम्रो सकसलाई सहजपार्ने ढाडस साँच्चिकै अनुकरणीय थियो। आधारशिविरमा बास बस्दा समन्वय गर्ने सेभेन समिट र आधारशिविरदेखि लुक्लासम्मको हवाई उडानका लागि हेली एभरेस्ट दुवै धन्यवादका पात्र छन्। २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वप्रथम चुचुरो चुमेको दिन २९ मेको सम्झनास्वरूप नै सन् २००८ बाट नेपालले सगरमाथा दिवसको रूपमा मनाउन थालेको हो। हालसम्म यस वर्षको बाहेक सगरमाथा चढ्नेको संख्या ६५०७ पुगिसकेको छ। यो वर्ष ४०४ विदेशी र ६४८ शेर्पाले आरोहण अनुमति पाएकोमा पाँच सय जनाले सफल आरोहण गरेको जोड्दा नेपाली मोहडाबाट आरोहण गर्नेको संख्या सात हजार पुगिसकेको छ। 

सगरमाथा चढ्ने तुलना हेर्दा २०३७ सालसम्म ११५, २०४७ सालसम्म ३३४, २०५७ सालसम्म ८९३ जनाले सफल आरोहण गरेका रहेछन्। २०६० अर्थात् सगरमाथा आरोहणको ५० वर्षसम्म १२ सय ८ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘माउन्टेनियरिङ इन नेपाल फ्याक्ट एन्ड फिगर’ भन्ने प्रकाशनबाट देखिन्छ। त्यसयता भने सगरमाथा आरोहणको लहर नै चलेको देखिन्छ। यो वर्षसमेत गर्दा करिब सात हजारले सफल आरोहण गरेकोमा महिला आरोहीको संख्या सात सय पुगेको छ। अहिलेम्म ९९ देशका आरोहीले सगरमाथा चुमेकोमा एक पटकभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोहीको संख्या १४ सय भन्दा माथि छ। सामान्यतया आधारशिविरबाट शिखर आरोहण गर्न चार दिन लाग्छ तर पेम्बा दोर्जी शेर्पाले सन् २००४ मा ८ घन्टा १० मिनेटमा आधारशिविरबाट चुचुरोमा पुगेको कीर्तिमान बनाए। द्रुतगतिमा चल्ने बतास, साँघुरो ठाउँ तथा माइनस ५० भन्दा तल झर्ने तापक्रम भएकाले शिखरमा केही मिनेटभन्दा बढी बस्नु आत्मघाती मानिन्छ तर सन् १९९९ मा बाबुछिरी शेर्पा सगरमाथा शिखरमा रात मात्रै बिताएनन् लगातार २१ घन्टा बसे। 

मोनी मुलेपानी र पेम दोर्जी २००५ मे ३० मा एक साथ सगरमाथा आरोहण मात्रै गरेनन्, चुचुरोमै विवाह गरेर अर्को कीर्तिमान बनाए। मे ५, २००८ मा म्याग्दीका मीनबहादुर शेरचन ७६ वर्षको उमेरमा आरोहण गरी जेष्ठ नागरिकको कीर्तिमान बनाए भने योपटक समेत जोडेर कामीरिता २५ पटक आरोहण गरी सर्वाधिक आरोहणको कीर्तिमान बनाए। सन् १९७५ मे १६ मा जापानकी जुनको तावेइ सगरमाथा चुम्ने पहिलो महिला बनिन् भने सन् १९९३ अप्रिल २३ मा पहिलो नेपाली महिलाका रूपमा पासाङ ल्यामु शेर्पाले गरेको आरोहण कीर्तिमान बन्यो। आरोहण पूरा गरेर फर्किने क्रममा उनको निधन भएको थियो।

सगरमाथा आरोहण अभियान कीर्ति राख्ने पौरख मात्रै होइन, ज्यान जोखिममा राखेर गरिने दुस्साहस पनि हो। ७० वर्षे आरोहणका क्रममा तीन सयभन्दा बढी त्यहाँबाट जीवित फर्किन सकेनन् भने त्यसमध्ये करिब एक सय आरोहीको शव अहिलेसम्म सगरमाथाकै गर्तमा रहेको हिमालयन डाटाबेसको तथ्यांकले बताउँछ। यो वर्ष सफल आरोहण गरेर फर्किने क्रममा एक अमेरिकी, एक स्वीस र दुई शेर्पासहित चार जनाको मृत्यु भयो। यसै पनि सगरमाथा आरोहणभन्दा पनि फर्किन कठिन छ। आरोहणको उमंग, अतिरिक्त आत्मविश्वास तथा लापरबाहीपूर्ण बेवास्ताले पनि चढ्दाभन्दा ओर्लिने क्रममा ज्यान जाने जोखिम बढी रहेको जानकार बताउँछन्।

-यात्री एपीवान टेलिभिजनका प्रमुख सम्पादक हुन्। * साभार- अन्नपूर्ण)


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक