गंगा त६टमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पुण्य कार्य र यो विशाल समारोहमा म यहाँहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनमा सरिक छु । यहाँहरूको श्रद्धायुक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु । यहाँहरू सबैप्रति साधुवाद !
हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मुताविक मैले सुने बुझे अनुसार कूम्भ घट अमृत तत्वले भरिपूर्ण घट हो । सत्य युगमा समुन्द्र मन्थनबाट उत्पन्न अमृतका घडाहरू पहिले दानवहरूद्वारा लुटिएका थिए, ती घडाहरू पछि गरुडद्वारा खोजी गरि ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोही परम्परा अनूरुप हरेक बाह्र बर्षमा लाग्ने कूम्भ मेलाको विशिष्ट महत्व रहन गएको देखिन्छ ।
अमृतका तिनै कूम्भ घडाहरूबाट थोपाथोपा गरि विभिन्न नद नदीमा प्रवाहित भएकाले नै पूर्वीय दर्शनमा हाम्रा नद नदीहरुको, हाम्रा पर्वतीय घाँटीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृति पुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणकाे सम्मान गर्दछु ।
जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कूम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण ढंगले बुझ्न सकिन्छ। हराभरा स्वच्छ प्रकृति, निर्मल नद नदी तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषण मुक्त बनाउने आजको विश्वव्यापी अभियानमा कूम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुन्छन् भन्ने मेरो दृष्टिकोण छ।
भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भूखण्ड-हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदीको महत्व महान छ-हजारौं वर्ष अघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ ।
हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्-तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन छन् ।
नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता छन्-जसले सदैव-सर्वे भवन्तू सूखिनको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रीतिस्थितिलाई के कति बुझ्दछन् कुन्नि, तर सारभूतरूपमा भन्नु पर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आदर्शहरू विश्व कै मानवीय मूल्यलाई डाेर्याउँदछन्।
सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ बडाे चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिंइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नु भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।
अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद नदीहरूको प्रवाह स्वच्छ पार्नु छ। भगवान रामले भन्नु भएको थियो “अपि स्वर्णमणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।
यिनै प्रयोजन हेतु यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहाँ उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पुगोस्–यही अवधारणा छ मेरो – फेरि पनि सबैमा साधूवाद । धन्यवाद !
अप्रिल ११, २०२१
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक