20210219

प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्छौं - प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको बताउनुभएको छ ।  पाँचौ निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा उहाँले इतिहासको विरासत र साखलाई खुम्चन नदिइ उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा आयोगलाई पहिचान दिलाउन कृतसङ्कल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

 आयोगले विक्रम सम्वत् २०१५ मा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । यस बर्षको निर्वाचन दिवसको मूल नारा “निर्वाचनमा सबै, सधैँ, सँगै” भन्ने  रहेको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते गरी २ चरणमा निर्वाचन गर्ने घोषणा गरेअनुरुप आयोग आन्तरिक तयारीमा तीव्ररुपमा जुटिरहेको छ ।

 प्रमुख आयुक्त थपलियाले भन्नुभयो “स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्न÷गराउन प्राविधिक तथा व्यवस्थापकीयरुपमा आयोग सक्षम छ, राजनीतिक दलले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने हुन्छ ।”

आयोगका पदाधिकारी तथा सचिवालयका कर्मचारी आयोगको सभाहलमा र जिल्ला निर्वाचन कार्यालयका भर्चुअल माध्यमबाट सहभागी भई आयोजना गरिएको उक्त कार्यक्रमको उहाँले डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा जानकीकुमारी तुलाधरले आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवाला र कर्मचारीले आ–आफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन आह्वान गर्नुभयो ।

निर्वाचन दिवसकै अवसरमा “निर्वाचन” बिषयमा आयोजित कविता वाचन प्रतियोगिता उपसचिव कोमलप्रसाद धमला प्रथम, जिल्ला निर्वाचन कार्यालयका अधिकृत टेकबहादुर कोईराला दोश्रो र जिल्ला निर्वाचन कार्यालयअधिकृत कोपिला राईले तेश्रो घोषित हुुुनुभयो ।

समारोहमा  २० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका १४ कर्मचारीलाई प्रसंशापत्र र नगद पुरस्कारबाट सम्मानित तथा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्ने आयोग र अन्तर्गत कार्यालयका सात जना कर्मचारीलाई“उत्कृष्ट कर्मचारी पुरस्कार” सहित प्रसंशा गरिएको थियो । रासस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक