विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ ।
राससका अनुसार राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।
उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो । संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराउनुभएको थियो ।
प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानन्यायाधीश राणाबाट राष्ट्रिय दलित आयोगका नवनियुक्त अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि पद तथा गोपनीयताको शपथ लिनुभयो ।
उक्त समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नवनियुक्त प्रमुख आयुक्त राईले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधरलाई शपथ गराउनुभएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त अध्यक्ष मगरले नवनियुक्त सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिलीहजुर बस्न्यातलाई शपथ गराउनुभयो ।
उक्त समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका सदस्यद्वय कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगका सदस्यत्रय मीनादेवी सोब, टुञ्जे कामी र मेहले पार्की तथा राष्ट्रिय समावेशी आयोगका सदस्यद्वय रामचन्द्र जोशी र हरिदत्त जोशीलाई समेत सम्बन्धित निकायका प्रमुखले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
यस्तै आदिवासी जनजाति आयोगका सदस्यत्रय डा मीनबहादुर श्रीस, रीना राना र शरण राईलाई अध्यक्ष मगरले शपथ गराउनुभएको थियो । मधेशी आयोगका सदस्यत्रय जीवछ शाह, रेणुदेवी शाह र विजयकुमार गुप्ता तथा मुस्लिम आयोगका सदस्यद्वय महमद्दिन अली र मिर्जा अर्सद वेगलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ गराउनुभयो ।
समारोहमा अध्यक्ष सहभागी हुन नसक्नुभएकाले थारू आयोगका नवनियुक्त सदस्य सुबोधसिंह थारू र भोलाराम चौधरीको पद तथा गोपनीयताको शपथ भने पछि गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसै बिच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिनुभएको छ । उहाँले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक