20201004

महात्मा गान्धीको विचार, व्यक्तित्व र व्यवहार: भविष्यमा पनि अहिंसा र शान्तिको कुनै विकल्प हुने छैन ।

महात्मा गान्धी : सत्य र अहिंसाका प्रेरक

- प्रा. पुरुषोत्तम दाहाल  

महात्मा गान्धीको विचार, व्यक्तित्व र व्यवहारमा यौटा फरक प्रकारको आकर्षण छ । त्यो विचार, व्यक्तित्व र व्यवहारको त्रिकोणीय आकर्षण अरू कुनै पनि विचारकहरूमा भेटिँदैन । जुनसुकै भूगोलमा बसेको भए पनि, जुन रंग, वर्ण, धर्म, लिंग वा उमेर समूहको भएको मानिस होस्, यदि उसले गान्धीको जीवन, व्यवहार र विचारबारे थोरै भए पनि अध्ययन गरेको छ भने कुनै न कुनै प्रकारले ऊ गान्धीप्रति आकर्षित भएरै छाड्नेछ । गान्धीको पहिलो र अन्तिम गन्तव्य हो सत्य । त्यस सत्यमा पुग्ने मार्ग हो अहिंसा र सत्यको परीक्षण गर्ने विधि होस्वव्यवहारद्वारा गरिने आत्मपरीक्षण वा प्रयोग । सत्यको खोजी आदिम मनुष्यहरूले, ऋषिमुनिहरूले, अनेक दार्शनिकहरूले गरेका हुन् । उनीहरूको सत्यको खोजीले ईश्वर प्राप्तिको, रहस्य निक्र्याैलको, मुक्तिको, स्वर्ग प्राप्तिको मार्गलाई परिभाषित गरेका छन् । कैवल्यताको खोजी ती आर्षहरूको गन्तव्य

थियो । त्यस खोजीको मार्गलाई अहिंसा वा हिंसा उनीहरूले भनेनन् । सत्यका पक्षमा स्वपरीक्षण पनि भएन । सत्यको परीक्षण गर्ने कठोर विधि रामायणमा सीतालाई अग्निपरीक्षामा बसालेरवा प्रल्हादलाई हिरण्यकश्यपले अग्निमा बसाएर र खम्बामा बाँधेरभएको वर्णित छ । तर, आफैं राम वा कृष्णजस्ता पात्रहरूले स्वपरीक्षणको विधि प्रयोग गरेको कुनै पनि काव्यमा वर्णित छैन । भगवान् गौतम बुद्धले पनि स्वपरीक्षणको विधि अवलम्बन गरेका प्रसंगहरू भेटिँदैनन् । तर, महात्मा गान्धीले आदर्श सत्यलाई बनाउनुभयो, आदर्श प्राप्तिको मार्ग अहिंसा र सत्यको संपरीक्षण आत्मपरीक्षणबाट गर्ने विधि प्रयोग गर्नुभयो । प्रारम्भका दिनमा उहाँ ईश्वरलाई सत्य मान्नुहुन्थ्यो, तर अन्तिममा उहाँले यसलाई उल्ट्याएर सत्य नै ईश्वर हो भन्नुभयो । यस युगका कुनै पनि दार्शनिक वा महामनाहरूबाट यस्तो अद्भूत विचार संयोजन भएको छैन ।

गान्धी विचार निर्मितिको प्रेरक :

महात्मा गान्धीको यस्तो संयोजितविचार कुनै योग साधना, दर्शनको अध्ययन, योगी सन्त महन्त र तपस्वीहरूको संगत अनि अनुसन्धानबाट निःसृत भएको होइन । केही कृतिहरूको अध्ययन, अनुभव, तत्कालीन राजनीतिक, सामाजिक वातावरण र तिनका परिणामहरूले सिकाएको पाठ जस्तो लाग्छ । उहाँको सत्यप्रतिको आकर्षण र सत्यप्रतिको आग्रहको मूलमा ‘अन द ड्युटि अफ् सिभिलडिस्ओविडियन्स्’ कृतिको प्रभाव परेको देखिन्छ । जुन कृतिले समाजको हितमा काम गर्नेलाई सहयोग र अहितमा काम गर्नेलाई असहयोग गर्ने सन्देश दिएको छ । सविनय अवज्ञा अथवा सत्याग्रहको आधार यही सन्देश हो भन्ने धेरैको भनाइ छ । गौतम बुद्धलाई यहाँनेर स्मरण गर्नुपर्ने हुन्छ । राजा शुद्धोधनका छोरा राजकुमार सिद्धार्थ गौतमले बाटोमा हिँड्दै जाँदा उहाँले एक ठाउँमा रोगी भेट्नुभयो, अर्को स्थानमा वृद्ध भेट्नुभयो र अर्को स्थानमा लास लैजाँदै गरेको देख्नुभयो । यी तिन कुराले बुद्धमा विराग सुरु भयो र उहाँ यसयुगको महान् मान्छेमा सीमित रहनु भएन, उहाँ मानिसहरूका मनमा भगवान् रूपमा प्रतिस्थापित हुनपुग्नुभयो । संसारलाई अहिंसाको माहात्म्य प्रदान गर्नुभयो । यद्यपि अहिंसा वेदमा नै वर्णित छ । ‘अहिंसा परमो धर्म ः’ भन्ने वेद वाक्य बुद्धको बुद्धत्वको आधार हो । यदि बुद्धले रोगी, वृद्ध र लासलाई ठीक त्यही समयमा नदेख्नुभएको भए के उहाँ वैराग्यतर्फ उन्मुख हुनु सम्भव थियोर संसारमा अहिंसाको सन्देश दिन सक्नुहुन्थ्यो ? यो प्रश्न गान्धीका सन्दर्भमा पनि गर्न सकिन्छ । ‘डेभिडथोरो’ को यो कृतिको ठीक समयमा अध्ययन गर्न नपाउनु भएको भए महात्मा गान्धीको विचार सत्यकाप्रति प्रतिबद्ध हुने थियो त ? यस्तो प्रश्न गर्न नसकिने होइन । यद्यपि संयोगले मानिसको दिशा परिवर्तन हुन्छ । थोरोको यो कृति अध्ययन गर्ने क्रममा गान्धीमा सत्याग्रहको वीजधान भएको कुरा धेरै लेखक टिप्पणीकार र अनुसन्धानकर्ताले व्यक्त गरेका छन् । ‘जोन रस्किन’ को ‘अन टु दिस् लाष्ट’ को प्रभावले सर्वोदयको मान्यतालाई गान्धीले प्रखर रूपमा स्थापित गर्नुभयो । यो कृतिलाई उहाँ आफैंले अनुवादसमेत गर्नुभएको छ । श्रमको मह-व र चारित्रिक निश्चयताबोध गराउने यो कृतिले गान्धीमा आत्मबल प्रदान ग¥यो । उहाँले सदा अथकित श्रम गरिहनुभयो । चर्खाको विचार त्यसै आएको होइन होला । चर्खाले एकातिर आत्मनिर्भर, परिश्रमी र आलस्यविहीन बनाउन थाल्यो भने अर्कोतिर अंग्रेजी साम्राज्यवादविरुद्ध निरन्तर खट्न गान्धी र आमभारतीय नागरिकलाई प्रेरित गर्नपुग्यो । चर्खाको प्रयोग वास्तवमा भारतको नवनिर्माणमा एक प्रभावशाली माध्यम र आन्दोलन प्रमाणित भएको छ । गान्धीले अहिंसालाई ‘लियो टल्स्टाय’ को कृति ‘द किङडम् अफ् गड् इज विदिन यु’ र ‘एडल्फ जस्ट’ को कृति ‘रिटर्न टु नेचर’ बाट प्रभावित भएर अवलम्बन गर्नुभएको देखिन्छ । यससँगै पहिले अंग्रेजीमा अनुदित र पछि संस्कृत, हिन्दी, गुजराती वा अन्य माध्यमद्वारा प्रकाशित श्रीकृष्णामृत ‘गीता’को अध्ययनले पूर्वीय दर्शनप्रति गान्धीमा जीवन पर्यन्त प्रभाव पारेको देखिन्छ । गीता स्वधर्म र निष्ठाका पक्षमा, सत्यका पक्षमा, मानवीय संवेदनाको विजय र अमानवीयताको विनाशका पक्षमा प्रादुर्भूत आध्यात्मिक दर्शन हो । गीताले अधर्मका विरुद्ध प्रतिबद्ध हुन प्रेरित गर्दछ । जीवनको मूल्यबोध गीताको सर्वश्रेष्ठ उपहार हो मनिसहरूका लागि । गीता दर्शन वेद र उपनिषद्को सार हो । मानिसलाई सुकर्मतर्फ, कर्तव्यबोध गराउने सन्देश गीताबाट प्राप्त हुन्छ । जीवनको अन्तिम क्षणसम्म पनि महात्मा गान्धीले गीताको स्मरण गर्नुभएको प्रसंगहरू हामीले पढ्ने गरेका छौं । योभन्दा पनि बालसुलभ चेतनालाई अमीट छाप बाल्यावस्थाको अनुभवले पार्दछ । आफ्नो जन्म गाउँ गुजरातको कठियावाद पोरवन्दरमा वाल्यावस्थामा गान्धीले ‘श्रवणपितृभक्ति’ र ‘सत्यहरिश्चन्द्र’ नाटक हेर्ने अवसर पाउनु भएको प्रसंगले उहाँमा सत्यनिष्ठा र स्वदेशभक्तिको गहिरो छाप परेको स्पष्ट बुझ्न सकिन्छ । पौराणिक ब्राहृमण कुमार, ‘श्रवणकुमार’ सेवाभावका, लगनका, धैर्य र सहिष्णुताका प्रतिनिधि पात्र हुन् । उनको आदर्श मातापिताको सेवा नै हो । श्रवणकुमारको यो कथाप्रसंग आफ्नो देश भारतलाई मातृशक्ति मान्ने गान्धीकालागि, अन्तरमनको कुनै कुनामा विराजित भएको हुनुपर्छ । गान्धीले बिरामीहरूको सेवामा गरेको समर्पणभाव, अशक्तहरूका लागि देखाएको सहानुभूति र मानवतापूर्ण उच्चआदर्शको प्रस्तुति श्रवणकुमारको पितृ–मातृभक्तिको प्रभाव पनि एक हो भन्न सकिन्छ । सत्यहरिश्चन्द्रको कथा त असलमानव स्वभावको उत्कर्ष नै हो । सायद गान्धीका लागि जीवनको मूल्यबोध गर्ने सैद्धान्तिक, दार्शनिक आधारहरू यी र यस्तै अन्य विषयहरू हुनसक्छन् ।

मानवीय मूल्यको स्थापना :

मानवीय मूल्यको स्थापना विभेदरहित समाजबाट मात्र सम्भव छ । विभेदलाई राजनीतिक, आर्थिक, सामाजिक र योग्यताको कसीमा मूल्यांकन गर्नुपर्ने हुन्छ । यस युगका भौतिकवादका भाष्यकार ‘कार्ल माकर््स्’ ले विभेदको अन्त्य गरी समाजवादको परिकल्पना गर्दा विभेदलाई नै केन्द्रमा राख्नुभएको छ । तर उहाँले ‘द्वन्द्वात्मक भौतिकवाद’ को आधारमा परिभाषित गर्नुभएका सबै सूत्रहरूले स्रोत, उत्पादन र वितरणभन्दा बाहिर मानवमूल्यलाई महŒव दिएको भेटिँदैन । हुनेवर्ग र नहुने वर्गका बीचको विभेदको अन्त्य गर्न वर्ग संघर्ष र वर्ग संघर्षमार्फत् राज्यविहीन समाजको परिकल्पना माकर््स्को छ । मानवताको अर्थ नहुनेहरूमा मात्र खोज्ने र हुनेहरूको भौतिक उन्मूलन गर्ने चिन्तनमा अनेक त्रुटिहरू छन् । यसले समाजलाई क्रूर, हिंस्रक, अमानवीय, प्रतिशोधकारी, शक्ति उन्मुख नियन्त्रणकारीमा रूपान्तरित गर्दछ । यसैकारण सन् १९१७ को अक्टोबर क्रान्तिपछि तत्कालीन सोभियत संघ हुँदै देखापरेको माक्सर््वादी राजनीतिक प्रणाली सात दशक पार गर्न नपाउँदै जग भत्केको घरमा परिणत भएको हामीले देखिरहेका छौं । तर, गान्धीको विचार, दर्शन र व्यवहार यथार्थमा मानवताको विकासका लागि शास्वत र अजेय छ । यद्यपि विचार सदा शास्वत र अजेय नै हुन्छ । विचार कुनै सीमाभित्र बन्दी भएर बसेको हुँदैन । भगवान् गौतम बुद्ध राजनीतिक सीमाको हिसाबले नेपालको भूमिमा जन्मनु भएको भए पनि उहाँका विचार र मानवताका लागि उहाँले दिनुभएको उच्चतम सन्देश आज संसारभर विस्तारित छ । महात्मा गान्धी पनि भारतको राजनीतिक सीमा भित्रमात्र सीमित हुनुहुन्न । कार्लमाकर््स् जर्मनीमा मात्रै रहनु भएन । कन्फुसियसलाई चीनको पर्खालले रोक्न सक्दैन । इसामसिंह र महम्मदको पनि कुनै राजनीतिक सीमा छैन । विचारले सदा सीमाको घेरा तोड्ने काम गर्दछ । यी विचारहरूभन्दा मेरो विचारमा गान्धीको विचार केही अर्थमा फरक छ । जस्तो ः (१) गान्धी कुनै शक्ति राष्ट्रको नियन्त्रण र आधिपत्यविरुद्ध स्वतन्त्रताको संघर्षमा संलग्न हुनुभयो, (२) हातहतियार, परमाणुअस्त्र वा विशाल सैनिक शक्तिले मात्र परिवर्तन संभव छ भन्ने परम्परागत मान्यता र प्रयोगलाई उहाँले गलत सिद्ध गर्नुभयो, (३) उहाँले व्यक्तिमा निहीत इच्छाशक्ति सबैभन्दा शक्तिशाली हुन्छ भन्ने विचारलाई प्रमाणित गर्नुभयो, (४) आफ्नो साध्यका लागि जुनसुकै साधन सही हुन्छ भन्ने मान्यतालाई उहाँले पूर्ण अस्वीकार गर्नुभयो र उचित साध्यका लागि साधन पनि उचित र असल हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नुभयो, (५) उहाँले परिवर्तनको मार्गमा अरूलाई दुःख दिएर होइन आफूले नै दुःख गर्नुपर्छ भन्ने प्रयोग गर्नुभयो, (६) हिंसाको विकल्प हिंसा नै र युद्धको विकल्प युद्ध नै हुन्छ भन्ने शक्तिवादलाई उहाँले पूर्णतः गलत सिद्ध गर्नुभयो, (७) सत्यको बाटो दुष्कर भए पनि भय, लोभ, कष्ट अनुभव नगरी आत्मसाधनाबाट सत्यमा पुग्न सकिन्छ भन्ने बोध संसारलाई गराउनुभयो । अन्ततः यिनै विचारका आधारमा अजेय भएर सर्वत्र सत्ताको महल ठड्याइरहेको अंग्रेज नियन्त्रणबाट तत्कालीन एकीकृत भारतलाई स्वतन्त्र बनाउनुभयो । मानवीय मूल्यको स्थापनाबाटै शासकीय परिवर्तनको आधार गान्धीले प्रदान गर्नुभयो । उहाँले छुवाछूत, ऊँच–नीच, काला–गोरा, अग्ला–होचा, धनी–गरिब, सीमान्तकृत, भूविकटताले पछाडि परेका सबैलाई समानताको सिद्धान्तमा अटाउने काम गर्नुभयो । रक्तरञ्जित युद्धबाट मिल्ने शक्तिभन्दा व्यक्तिभित्रको चेतना शक्तिशाली हुन्छ भन्ने स्थापित गर्नुभयो । समाजबाट पलायन भएर उपदेश दिने दार्शनिकविपरीत समाजका हरेक खराबीविरुद्ध सामना गरेर परिवर्तन गर्न सकिन्छ भन्ने बाटो गान्धीले देखाउनुभयो । 

वर्तमानमा गान्धीको स्मरण :

वर्तमानले महात्मा गान्धीलाई कसरी स्मरण गर्दछ ? यो प्रश्न महŒवपूर्ण हुनसक्छ । वर्तमानले मात्र नभएर भविष्यले समेत कसरी सम्झना गर्दछ होला ? किनकि गान्धीकै जीवनकालमा गान्धीधार विपरीत सुवाषचन्द्र बोसहरूको अर्को अभियान थियो । हतियारविना परिवर्तन असम्भव भन्ने चिन्तनचेत त्यस समयजस्तो थियो अहिले पनि समाजमा त्यो चेत विद्यमान छ । पहिलो विश्वयुद्धको प्रथम प्रहरमा गान्धीले दक्षिण अफ्रिकामा पुगेर सत्याग्रह गर्नुभएको थियो । रंगभेदविरुद्ध यो आग्रहले मानव समानताको र मर्यादाको सन्देश प्रदान गरेको थियो । सन् १९०७ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा भएको सत्याग्रहमा गान्धीको सफलताले उहाँलाई स्थापित गरे पनि सन् १९१४ बाटै संसारमा विश्वयुद्धको भयानकता आरम्भ हुनपुग्यो । पहिलो विश्वयुद्धको समाप्तिपछि गान्धी निरन्तर भारतमा रहेर अंग्रेज शासनबाट भारतलाई स्वतन्त्र गराउनकै लागि सत्याग्रहका अनेक रूप प्रयोग गर्न सक्रिय हुनुभयो । दोस्रो विश्वयुद्ध सन् १९३९–१९४५ पछिमात्र भारत स्वतन्त्र हुनपुग्यो । उहाँले भारतमा फर्केर सत्याग्रह आश्रम (पछि गएर सावरमती आश्रम) को स्थापना गरी अभियान सञ्चालन गर्नुभयो ।

नुन बहिष्कार, विदेशी कपडा परित्याग, भारत छोड आन्दोलनसँगै समुदायबीच एकता, सद्भाव र सहिष्णुता कायम गर्नसमेत सत्याग्रहीका रूपमा अनशनको माध्यममार्फत् आफूलाई समर्पित गर्नुभयो । गान्धीको आन्दोलन रचनात्मक र सकारात्मक देखिन्छ । गान्धीको विचार प्रेरणाबाट प्रभावित भएर नै संयुक्त राष्ट्र संघले गान्धी जयन्तीका दिन अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन सुरु गरेको हो । नेपालमा यो पंक्तिकार अध्यक्ष रहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पनि हरेक वर्ष अक्टोबर २ का दिनमा अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्ती विशेष कार्यक्रम गरी मनाउँदै आएको छ । गान्धी जयन्तीमा मात्र नभएर गान्धीका विचारहरूप्रति नागरिकहरूमा जिज्ञासा बढोस् भन्ने अभिप्रायले नेपालमा अनेक समयमा गान्धी विचारबारे चर्चा हुने गरेको छ । बीपी कोइराला, तुलसी मेहर, गणेशमान सिंह, महेन्द्रनारायण निधि, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, भद्रकुमारी घले, रामहरि जोशी आदि अनेक व्यक्तित्वहरूले नेपालमा गान्धीका विचारहरूलाई प्रसार गरिरहनुभएको थियो । यसबेला गान्धीका लामो समयका स्वकीय सचिव महादेव भाइ देसाईका सुपुत्र एवंअन्तिम समय स्वकीय सचिवालयमा कार्यरत नारायण भाइ देसाईले काठमाडौंमा पाँच दिनसम्म गान्धी कथावाचन गर्नुभएको स्मरण भइरहेको छ । यो पंक्तिकार अध्यक्ष रहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आयोजनामा ५ देखि ९ अप्रैल २०१४ मा आयोजित उक्त कार्यक्रममा नारायण भाइबाट गान्धीका अनेक व्यवहारिक पक्षहरूसँग परिचित हुने अवसर मिलेको थियो । नारायणभाइका शब्दमा ः ‘सत्य, अहिंसा र शान्तिजस्ता बुद्धका उपदेशबाट गान्धीलाई उत्प्रेरणा मिलेको थियो । जीवनको सार्थकता सत्यमा निहीत छ र अहिंसाको मार्गले उत्कृष्टतामा मानिसलाई पु¥याउँछ भन्ने गान्धी विचारको सार हो ।’

नयाँ पुस्तामा गान्धी विचार हस्तान्तरणको प्रश्न :

गान्धी प्रयोगवादी विचारक हुनुहुन्छ । उहाँले तय गरेको एकादश व्रतको नियमलाई आफूले नै सकेसम्म प्रयोग गर्नुभयो । एकादश व्रत थिए ः सत्य, अहिंसा, अस्तेय, अपरिग्रह, ब्रहृमचर्य, अस्वाद, अभय, अस्पृश्यता निवारण, शारीरिक श्रम, सर्वधर्म समभाव र स्वदेश भावना । उहाँले प्रयोगका सन्दर्भमा परिपालन गरेको सत्याग्रह हो र यसका रूप पनि तय भएका छन् । सविनय अवज्ञा, हड्ताल, सामाजिक बहिष्कार, अनशन, धर्ना, स्वनिर्वासन, आक्रमण र युद्धविरुद्ध सत्याग्रह । गान्धीका यी विचार र प्रयोगका नियमहरूलाई नयाँ पुस्ताले कसरी ग्रहण गर्दछ होला ? गान्धीले जुन माटोमा आफ्ना विचार प्रक्षेपित गर्नुभयो, विचार प्रयोगको साधना गर्नुभयो, त्यो भूमिसहित बाँकी संसारलाई गान्धी विचारको सार्थकता अनुभव भइरहेको छ ? के त्यस विचारलाई दैनिक जीवनमा अनुभव गर्ने र अभ्यास गर्ने सोच सबैमा हुन्छ त ? जसरी माक्र्सवाद उनकै अनुयायीबाट विद्वरूप भयो, जसरी बुद्धका अनेक मान्यताहरूमा संशोधनहरू हुँदै आए । इसा मसिहा वा मुहम्मदका विचार चिन्तनहरूका फरक अर्थ र प्रयोगहरू भइरहेका छन्, कतै गान्धी विचारहरूप्रति पनि समाजले आफू अनुकूल व्याख्या गर्ने छैन त ? यी प्रश्न अनुमानितमात्र हुन् तर विल्कुलै असम्भव भने हुँदैनन् । गान्धीले दिनुभएको मुख्य सन्देशमध्ये स्वदेश प्रेम हो । आफ्नो राष्ट्र र राष्ट्रियताप्रति नागरिकहरू समर्पित हुनुपर्दछ । नागरिकहरूको परिचयको राजनीतिक आधार हो राष्ट्रको परिचय । मानवताको असीमित विशालतामा संसारप्रति समान दृष्टिकोण राखे पनि परिचयका आधारमा राष्ट्रर समुदाय नै पहिलो पंक्तिमा आउँछ । राष्ट्रको स्वतन्त्रता र स्वाधीनतासँगै साम्प्रदायिक एकतालाई गान्धीले जोडदिनुभएको छ । अर्थात् गान्धीको अर्को सन्देश हो साम्प्रदायिक एकता, स्वाधीनता र स्वतन्त्रता । व्यक्ति र राष्ट्र, स्वतन्त्र र स्वाधीन हुनु जरुरी छ । किनकि पराधीन व्यक्ति, देश र समुदायले परिचय प्राप्त गर्न सक्दैन । अस्पृश्यताको अन्त्य हुनैपर्छ साम्प्रदायिक र जातीय एकताका लागि । समग्रमा भन्दा महात्मा गान्धी विदेशी शासनको अन्त्य, आन्तरिक कूरीतिको उन्मूलन, साम्प्रदायिक झगडाबाट मुक्तिर मानवताको उच्चतम आदर्शका लागि समर्पित रहनुभएको थियो । अरूलाई कष्ट र यातना दिएर होइन आफैंले कष्ट भोगेर मानवताको उचाइ पाउन सकिन्छ भन्ने यस युगको उदाहरण हुनुभएको छ महात्मा गान्धी । हिंसाको भविष्य हुँदैन र शान्तिको विकल्प छैन भन्ने मान्यतालाई आगामी अनेक पुस्ताले स्मरण गर्नै पर्दछ । यही प्रसंगमा गान्धीलाई समकालीन संसारले कसरी बुझेको छ ? केही भनाइहरू उल्लेख गर्नु उपयुक्त हुनेछ ।

स्वाधीनता र स्वतन्त्रताको संघर्षका क्रममा अंग्रेज शासनले प्रदान गरेका सबै सम्मान र पुरस्कारलाई गान्धीले फिर्ता गर्नुभएर यथार्थमा स्वाभिमानको रक्षा गर्नु भएको थियो । आरम्भमा उहाँले रंगभेद विरोधी आन्दोलनलाई आधार बनाउनु भएपनिक्रमशः जातीय विभेदको अन्त्य, साम्प्रदायिक एकता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र मानवताको आदर्शलाई स्थापित गर्ने हरसम्भव प्रयास गर्नुभयो । उहाँको पार्थिव अवशानमा संसारका ख्यातनामा व्यक्तित्वहरूले अनेक शब्दमा सम्मान गर्नुभएको छ । मलाई प्रसिद्ध वैज्ञानिक ‘अल्वर्ट आइन्स्टाइन’को भनाइ सबैभन्दा बेजोड लागेको छ । उहाँ भन्नुहुन्छ ः‘.... आउने पुस्ताले सायद मुस्किलसंग विस्वास गर्छ कि गान्धीजी जस्तो हाडमासुको पुत्ला कुनै समयमा यो धर्तीमा थियो होला ।’ त्यसैगरी प्रसिद्ध राजनेता र गान्धीका सहयात्री जवाहरलाल नेहरूको अनुभव पनि कम रोचक छैन । उहाँ भन्नुहुन्छ ः ‘गान्धीको नेतृत्व र आहृवानमा सञ्चालित स्वतन्त्रता आन्दोलनमा म यसरी डुबेको थिएँ कि मैले आफ्ना पुराना मित्रहरू, मेरो परिवार, पत्नी र छोरीलाई पनि बिर्सिदिएको थिएँ ।’सन् १९५५ मा प्रकाशित महात्मा गान्धीप्रतिको श्रद्धाञ्जलि संग्रहमा अनेक महान् र ऐतिहासिक व्यक्तित्वहरूले गान्धीको सम्मानमा विशेष विचार प्रकट गर्नुभएको छ । ती विचारहरू भनेका यस युगका वाणी हन् । अमेरिकी नायक मार्टिन लुथर किङ, दक्षिण अफ्रिकी महानायक नेल्सन मण्डेला वा बर्माकी स्वतन्त्रता आन्दोलनकी अग्रणी आङसाङ सुकीजस्ता अनेकौ अनुयायीहरूले गान्धीको इतिहासलाई थप जीवन्त बनाउने काम गरेका छन् ।

नेपालका सन्दर्भमा महात्मा गान्धीः

सन् १९४२ मा गान्धीले अंग्रेज शासनविरुद्ध आरम्भ गर्नुभएको भारत छोड आन्दोलनमा अनेक नेपाली युवाहरू समेत सहभागी भएर जेल पर्नुभएको थियो । तीमध्ये मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी प्रमुख मानिनु हुन्छ । त्यसै समयदेखि नेपालको परिवर्तनको जगमा केही अपवाद बाहेक गान्धी विचारको गहिरो प्रभाव देखिन्छ । राजनीतिक परिवर्तनमा मात्र होइन सामाजिक र आर्थिक परिवर्तनको विषयमा गान्धी विचारको प्रत्यक्ष प्रभाव परेको छ । नेपालमा लोकतान्त्रिक आन्दोलनमा केही अपवाद खासगरी सन् १९५०, १९६२ र १९७४ को केही समय सशस्त्र आन्दोलन भए पनि ती सबै अन्ततः शान्तिपूर्ण रूपान्तरण पछिमात्र परिणाम मिलेको छ । माओवादी सशस्त्र हिंसा पनि अन्तिममा शान्तिपूर्ण जनआन्दोलनसँग जोडिएपछि मात्रै सुरक्षित अवतरण हुनसक्यो । लोकतान्त्रिक आन्दोलनका क्रममा बिपी कोइरालाले सन् १९४४ मा आमरण अनशनको प्रयोग गर्नुभएको थियो भने निर्वाचनकालागि भद्र अवज्ञा आन्दोलन सन् १९५८ मा र परिवर्तनका लागि लोकतान्त्रिक शक्तिले सन् १९८० को दशकमा सत्याग्रह गर्नुपरेको थियो । अहिले पनि नेपालमा शान्ति र स्थीरता अनिवार्य मानिन्छ । लोकतन्त्र, स्वतन्त्रता र स्वाधिनताको विषय नेपालीहरूका मनमनमा छ । राष्ट्रको उन्नति, समुदायबीच एकता, भौगोलिक अखण्डता र स्वतन्त्र सार्वभौमसत्ता प्रतिको जागरूकता नेपालीहरूमा पर्याप्त छ, जसमा महात्मा गान्धीका विचारहरूको सुगन्ध मिल्छ ।

भारतीय स्वतन्त्रता संग्राममा भारतको हजारी जेलमा वस्नु भएका र नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व बीपी कोइरालाले नेपालमा राणाशासनविरुद्ध २९ दिन अनशनमा बस्नुहुँदा गान्धी कै पत्रले उहाँको जीवन रक्षा भएको सर्वविदित छ । गान्धीको पार्थिव अवशानको लामो समयपछि निर्वासनमा रहेको समय भारतको सारनाथमा दिनुभएको एक अन्तर्वार्तामा बीपीले भन्नुभएको विचार यहाँ स्मरण गर्नु उपयुक्त हुनेछ । डा. हरिदेव शर्मासँगको संवादमा बीपीले भन्नुभएको छ : ‘सन् १९४८ जनवरी २८ का दिन अर्थात् गान्धीजीको हत्या हुनुभन्दा ठीक दुई दिनअघि म लोहिया (डा. राममनोहर लोहिया) को साथमा लागेर गान्धीजीलाई भेट गर्न गएँ । उहाँले गान्धीजीसँग मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ । लोहिया पनि साथसाथै हुनुहुन्थ्यो । हामी बिहान नौ बजेतिर बिडला हाउस् पुगेका थियौं र साँझ चार–पाँच बजेतिरमात्र फर्कियौं ।’ भेटघाटका क्रममा गान्धीजीले भन्नुभयो ः ‘म तपाइँलाई सहयोग गर्न सक्दिनँ । जब आफ्नै मानिसले भारतमा मेरो कुरा सुन्दैनन् भने राणाले सुन्लान् भन्ने आसा कसरी गरौं ? म कुनै सहयोग गर्न सक्दिनँ ।’ उहाँका शब्दहरू यस्ता थिए उहाँ धेरै निराश अवस्थामा हुनुहुन्थ्यो । अनि मैले उहाँलाई भनेको थिएँ ः ‘म तपाइँ कहाँ कुनै ठूलो सहयोगको आसा लिएर आएको होइन, म त तपाइँको नैतिक समर्थन र आशीर्वाद चाहन्छु ।’ अनि उहाँले भन्नुभएको थियो ः‘तपाइँलाई मेरो आशीर्वाद छ । जब मानिसहरूले आफ्नो अधिकारको लागिवा शोषण र दमनका विरुद्ध लड्छन् म उनीहरूको साथमा हुन्छु ।’ (विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख संं. प्रदीप गिरी, प्रथम संस्करण विसं २०६६) ।

अर्थात् नेपालको लोकतान्त्रिक आन्दोलनमा सदा गान्धी विचारको प्रभाव, उहाँको नैतिक समर्थन र आशीर्वाद परोक्षमा जीवन्त छ । नेपालको सन्दर्भमा ०४६ को जनआन्दोलन, ०६२ को १२ बुँदे सहमति र जनआन्दोलन, माओवादी हतियारको आतंक र राजाको निरंकुशता अन्त्य गर्नेगरी भएका जनआन्दोलन र परिवर्तन शान्ति र अहिंसाकै मार्गबाट भएका हुन् । भविष्यमा पनि अहिंसा र शान्तिको कुनै विकल्प हुने छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक