राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएको छ । १०१ वर्षका घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएको थियो ।
निवासमा बुधबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेर राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो ।
आफन्त, साहित्यकारहरु, शुभचिन्तकहरुसहित सीमित मलामीको उपस्थितिमा राष्ट्रकवि घिमिरेको अन्त्येष्टि भएको हो । उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम विदाईका केही तस्बिरहरु खिचेका छन् ।
एक शताब्दी पार गरेका परिपक्व र सिर्जनशील राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन मंगलबार बेलुका अनपेक्षित रुपमा आयो। उनको नियमित जीवन या दैनिकी र सिर्जनाको निरन्तरताका आधारमा १ सय २ वर्ष टेकेका माधवप्रसाद घिमिरेको कायालाई ‘जीर्ण’ भन्न सकिने कुनै आधार थिएन।
‘म ऋतम्भरा महाकाव्य पूरा नगरी मर्दिनँ’, उनी पटक–पटक भन्ने गर्थे। ‘भाखा’ नदिने र नबुझ्ने मृत्युले टिपेर लगेपछि त्यो ‘महाकाव्य’ जुन अवस्थामा छ, त्यसैलाई अब पूर्ण मानी प्रकाशित गर्नेपर्ने अवस्था उत्पन्न भएको छ। अर्थात राष्ट्रकवि छिट्टै जन्मिने छन् ‘ऋतम्भरा’ कृतिका रुपमा, यद्यपि आफ्नै जीवनकालमा प्रकाशन गर्ने उनको चाहना अपूरो रह्यो।
लमजुङ पुस्तुनको बाहुन डाँडाबाट नयाँ सम्भावना र जीवनको गोरेटो समात्दै करिब २० वर्षको वयमा ‘कान्तिपुर’ आएका घिमिरेलाई समग्र नेपालले अपनायो। सम्मान गर्यो। उनका केही कृतिहरु हिन्दीमा अनुवादित भए। केहीको अनुवाद अंग्रेजीमा भएको हेर्ने चाहना उनको सन्तुष्टि अनुरुप हुन सकेन।
बहुआयामिक कविले नेपालीमा बाल साहित्यलाई रोचक उचाइ दिए, पुराण, धर्मशास्त्र आदिबाट नैतिक मूल्य ती साहित्यमा पस्केर। राष्ट्रियता, नेपालीहरुको वीरगाथा, विश्वयुद्धमा उनीहरुले देखाएको बहादुरीलाई लिपिवद्ध गर्न सफल माधव घिमिरे ‘टेली युग’भन्दा पहिला नै अर्थात रेडियो युगमा नै आम नेपालीका जिब्रो र भाका बन्न सके, त्यसलाई नै उनी आफूले पाएको ठूलो सम्मान मान्ने गर्थे।
उनको सिर्जनाको व्यापकता र सम्भाव्यताले एकातिर उनलाई जरासँग जोडिराख्यो भने खासगरी कविहरुको सम्मानमा कञ्जुस्याइँ नगर्ने राजा महेन्द्रको पालामा कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, जनकवि केशरी धर्मराज थापासँगै उनले पनि राजकीय हैसियत या मान्यता बटुल्न सफल भए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति र पछि सरकारबाट राष्ट्रकविको उपाधि हासिल गर्न सफल भएका थिए। तर उनको जीवनको अर्को पाटो या सामाजिक सम्बन्ध अनि समकालीन वस्तुस्थितिबारेको चासो, आफूले भेटेका व्यक्तिबारे उनको स्मरण अद्भूत थियो।
समयले दिँदा मनोरञ्जनका लागि शनिबार तास खेल्ने क्रमले विगत केही वर्षयता विश्राम पाएको थियो। विहान प्रणायम र योगअभ्यास, अत्यन्त अनुशासित रुपमा, प्राज्ञिक अनुसन्धानकर्ताहरुसँगको सिलसिलेवार अन्तर्क्रिया, पत्रकारहरुलाई अन्तर्वार्ता र ‘ऋतम्भरा’ पाण्डुलिपीको नियमित समीक्षा र सुधार अनि बीचबीचमा ‘अस्पताल’ यी राष्ट्रकविका अन्तिम ५ वर्षका गतिविधि बन्न पुगे। २०७४ सालमा सरकारले नेपाली सेनाको मानार्थ रथी बनाएपछि स्वास्थ्योपचार सम्बन्धी खर्च उनका लागि सहज बन्न पुगको थियो।
लमजुङबाट काठमाडौँ आउँदाका प्रारम्भिक वर्षमा ‘मै मिरी मिच्चे म्या म्या ब्रुक’ जस्ता बाल साहित्य र नेपालको पहिलो राष्ट्रगान ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली’ देखि सयौँ फुटकर गीत कविता रचनाबाटै समकालीन मूर्धन्य कवि संगमका सदस्य बन्न पुगेका थिए।
वि.सं. २००४ सालमा पत्नी गौरीको मृत्युपछि रचित शोक काव्य ‘गौरी’ले खासगरी साक्षर नेपाली महिलाहरुका जिब्रोमा झण्डै त्यसरी नै ठाउँ पाउन थाल्यो, जसरी महाकवि देवकोटाको मुनामदनले।
राष्ट्रकविको दीर्घायुले उनलाई आफ्ना समवयीहरुबाट अलग गर्यो। यद्यपि धर्मराज थापाको ‘मेरो नेपाल भ्रमण’ पुस्तकमा देवकोटा, घिमिरे र थापाको फोटो मुनि ‘कुसुमतूल्य सधैं रहुँला फुली’ भन्ने प्रतिवद्धता कोरिएको थियो। आफ्ना समवयीबाट छुटेका घिमिरेमा आफूभन्दा धेरै कान्छा पुस्तासँग समवयीजसरी नै घुलमिल हुने र रमाउने अद्भूत क्षमता थियो। त्यसैले त आभासले पलेँटी श्रृंखलाका लागि निमन्त्रणा पठाउँदा उनले कहिल्यै नाइँ भनेनन्। भेट हुँदा अमृत गुरुङसँग जिस्किन कहिल्यै छाडेनन्।
राष्ट्रियता, माटो, पानी, हिमाल, संस्कृति, समग्र भूगोल र व्यक्तित्वको समग्र स्वरुप र सहअस्तित्व हो। यो मान्यता उनका गीतहरुमा कुनै न कुनै रुपमा आउने गर्थे। छहरा, लेक, बेसीँ, हिमालसँग उनी सधैँ रमाए । सभ्यता बास बसेकाे, सृष्टि र शान्तिको पहिलो भूमि अर्थात नेपालले जन्माएका एउटा महान सपूतको भौतिक चोलाले विश्राम लिएको छ। ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ जस्ता कालजयी गीतका सर्जक र त्यसमा निहित चिन्तन, ज्ञान र सम्भावनाको खोजीमा काठमाडौँ आउँदाको प्रारम्भिक चरणमा रचित उनको एउटा गीत रेडियो नेपालबाट जनार्दन समको आवाजमा निकै बर्षसम्म गुञ्जियो-
लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो
हिमालचूली मन्तिर पानी भर्ने पधेँरो
नेपाल राष्ट्रका पञ्चतत्व उनका अत्यन्त प्रिय वस्तु थिए। तिनै पञ्चतत्वमा उनी पूर्ण रुपमा विलीन भए।
श्रद्धाञ्जलि कविवर!” उनकी धर्मपत्नी महाकाली र समस्त परिवारमा समवेदना!
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक